+

वादी सन्तानका ‘भगवान्’

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
कर्णालीका सीमान्तकृत वादी समुदायका केटाकेटीको भविष्य बदल्ने दुस्साहसपूर्ण अभियानमा लागेका पात्र हुन्, हिक्मत वादी । एउटा व्यक्तिको आँट र पहलमा अहिले कर्णालीका १२६ वादी बालबालिका होस्टल बसेर पढ्छन् ।
हिक्मत वादी

वीरेन्द्रनगर˗८ क्याम्पस रोडको आडमै छ, वादी सरोकार मञ्चको होस्टल । टिनले छाएको यो टहरो झट्ट हेर्दा स्कुल जस्तै देखिन्छ । सुर्खेत बहुमुखी क्याम्पस र मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको बीचमा रहेको यो होस्टलमा वादी समुदायका १२६ बालबालिका बस्छन् ।

यी तिनै बालबालिका हुन्, जसमध्ये अधिकांश केही वर्ष अघिसम्म जीविका चलाउन सडकमा गीत गाएर हिंड्थे । दैलेखको तल्लो डुङ्गेश्वर हुँदै चल्ने सवारी साधन घेर्ने र गीत सुनाएर यात्रुहरूबाट पैसा संकलन गर्थे ।

आज उनीहरूको हातमा कापी–कलम छ, होस्टल र विद्यालयका कोठाहरू आउजाउ गर्नु दिनचर्या बनेको छ । हिजो जीविका चलाउन सडकमा गीत गाउने बालबलिकाहरू आज होस्टल बसेर स्कूल पढ्दैछन् । र यो परिवर्तन हिक्मत वादी (३१) को असम्भव जस्तो लाग्ने प्रयत्नबाट सम्भव भएको हो ।

‘केहीलाई मन्टेसरी, केहीलाई बोर्डिङ र केहीलाई सरकारी स्कुलमा पढाइरहेको छु । केहीको फिस तिर्छु, केहीलाई विद्यालयले निःशुल्क पढाइदिएको छ’, हिक्मतले भने ।

दैलेखको दुल्लू नगरपालिका–१, तल्लो डुंगेश्वरका हिक्मतले २०७४ सालबाट यो होस्टल सुरु गरेका हुन् । भाडामा घर लिएर थालेको उनको ‘हिक्मत होस्टल’ मा त्यसबेला १८ जना वादी बालबालिका बस्थे । ती १८ बालबालिकालाई पढाउने/बढाउने उद्देश्यले होस्टल सुरु गरेका थिए । त्यसैले होस्टलमा बसेर पढ्नेहरूको सम्पूर्ण दायित्व उनकै थियो ।

हिक्मतको बुझाइ थियो, वादी समुदायलाई शिक्षित नबनाएसम्म घृणा, विभेद र गरिबीको कथा सकिने छैन । उनको यो पवित्र कर्मका कारण होस्टलमा थपिने वादी बालबालिका बढिरहे । चार वर्ष अगाडि हिक्मतले आफ्नै बस्तीका २६ बालबालिकालाई पनि वीरेन्द्रनगर ल्याए । अरू पनि थपिंदै जाँदा यो संख्या १२६ पुग्यो ।

हिक्मतको होस्टलमा बसेर पढ्ने मध्ये डुंगेश्वर दैलेखकी हस्तिकला वादी (३३) का तीन छोराछोरी छन् । उनका पाँच सन्तान मध्ये दुई छोरी र एक छोरालाई हिक्मतले पढाउन ल्याएका हुन् । हस्तिकलाले भनिन्, ‘श्रीमान् कालापहाड (भारत) गएका छन्, म गिटी कुटेर छाक टार्छु । हिक्मत भाइ भएर आज मेरा छोराछोरी अक्षर चिन्ने भएका छन् ।’

हस्तिकला आफ्ना छोराछोरीले पढ्न पाएकोमा खुसी छन् । ‘वादीहरू नाच्ने, गाउने हुन् भन्ने चलन थियो, हामीले अक्षर चिन्न पाएनौं’ उनले भनिन्, ‘हामी अनपढ गाउँलेका लागि हिक्मत भाइ सप्पै हुुन् । हाम्रा लागि उनले सानो दुःख पाएका छैनन् !’

पत्रकार प्रकाश अधिकारी कर्णालीका वादी समुदायका बालबालिकाको भविष्यप्रति चिन्ता गरिरहेका हिक्मत साँच्चिकै पे्ररणादायी युवक भएको बताउँछन् । ‘आफ्नो व्यक्तिगत जीवन पर्वाह नगरी उनले आफ्नो समुदायलाई अगाडि बढाउने साहस गरे, कष्ट बेहोरे तर हरेस खाएनन्’ २०७० सालदेखि यता हिक्मतलाई जान्ने पत्रकार अधिकारी भन्छन्, ‘आउने पुस्ताको भविष्य उज्यालो बनाउन उनले जोखिम मोलिरहेका छन् ।’

हुन पनि वादी समुदायमा उज्यालो ल्याउने भनेर हिम्मत कसेका हिक्मतले यही अभियानका कारण असाध्यै कष्टदायी दिनहरू खेप्नु पर्‍यो । ‘भाडा तिर्न नसक्दा कहिले साहुले लखेटे । कहिले बाटोमै कुटाइ खाएँ’ विगत सम्झिंदै हिक्मतले भने, ‘महिनाको खर्च ३–४ लाख रुपैयाँ आउन थाल्यो । आयस्रोत केही थिएन । उधारो खाद्यान्न मागेर पनि बालबालिकाको पेट भरें ।’

संघर्षको यो शृंखलामा आइलागेका हैरानीबाट उनी एक समय त विरक्तिए पनि । ‘तर मर्न कहाँ सजिलो रहेछ र, मर्न पनि सकिनँ’ अनलाइनखबरसँग भने, ‘बालबच्चालाई खुवाएको उधारो तिर्न नसक्दा बजारभरी नराम्रो आरोप खेप्नुपर्‍यो ।’

त्यसबेला उनको थाप्लोमा ४०/४५ लाख ऋण पुगेको थियो । होस्टलमा खाद्यान्न सकिएको थियो । अब के गर्ने भने केही सोच्न सकिरहेका थिएनन् । तर ‘तँ चिता म पुर्‍याउँछु’ भने जस्तै उनको अभियानमा अर्को ‘सरप्राइज’ मोड आयो ।

हिक्मतको संघर्षबारे सामाजिक सञ्जाल र मिडियामा देखेर ‘हेर्ने कथा’ नामक कार्यक्रम खिच्न भन्दै पत्रकार विद्या चापागाईं सहितको समूह त्यो होस्टलमा पुग्यो । उनले क्यामरामा आफूले गरिरहेको संघर्षको कथा सुनाए ।

वादी समुदायका बालबालिकाहरूसँग आवाजको जादु छ । कर्णालीका समाजसेवी, मनकारी चिकित्सक डा. नवराज केसीले उनीहरूलाई हप्तामा एक पटक होस्टलमै संगीत सिकाउँछन् ।

वास्तवमा त्यो ‘हेर्ने कथा’ नै वादी बालबालिकाको सफलताको कथा बनिदियो । हिक्मतको कथा युट्युबमा सार्वजनिक भएपछि देश, विदेशबाट सहयोगी हातहरूको भीड लाग्न थाल्यो । एक करोड भन्दा बढी सहयोग रकम उठ्यो । ‘५० लाख भन्दा बढी घरभाडा र खाद्यान्नको ऋण थियो, त्यो तिरें । बचेको रकमले अहिलेको होस्टल बनाएँ’, हिक्मतले भने ।

उनको होस्टलमा अहिले नर्सरीदेखि क्याम्पस पढ्नेसम्मका वादी विद्यार्थी छन् । अमेरिका निवासी मनकारी राजु कार्कीले प्रत्येक हप्ता दुई पटक माछा–मासु र अण्डा खुवाउने पैसा पठाइदिन्छन् । विद्यालयमा लाग्ने खर्च, स्कुल ड्रेस, स्टेशनरीदेखि खानपानको लागि अमेरिका निवासी सहृदयी प्रकृति केसी र अरुण बास्कोटाले सहयोग गर्दै आएका छन् ।

कतिसम्म भने कतिपयले नाम गोप्य राखेर सहयोग गरिरहेका छन् । वीरेन्द्रनगर नगर विकास समितिले होस्टल बनाउन जग्गा उपलब्ध गराएको छ । प्रदेश सरकारले एउटा भवन बनाइदिएको छ । केही दातृ निकायले अरू तीन वटा भवन बनाइदिएका छन् ।

वादी समुदायका बालबालिकाहरूसँग आवाजको जादु छ । कर्णालीका समाजसेवी, मनकारी चिकित्सक डा. नवराज केसीले उनीहरूलाई हप्तामा एक पटक होस्टलमै संगीत सिकाउँछन् ।

आफ्नै विगतको पाठ

एउटा युवकको संकल्प र संघर्षकै कारण यति ठूलो संख्याका वादी बालबालिकाले पढ्ने–लेख्ने अवसर पाउने संयोग मिल्नुका पछाडि भने हिक्मतको पृष्ठभूमिले काम गरेको छ । किनकि हिक्मत आफैंले देखे, भोगेका कष्टहरू बदल्न नै यी कामहरू गरिरहेका छन् ।

अर्थात् आजका यी वादी बालबालिकाकै जस्तो अवस्था हिक्मतले पनि खेपेका थिए । उनका मावली हजुरबुवा बस्नेत थरका थिए । तर, वादी समुदायकी महिलासँग विवाह गरेपछि घरपरिवारले निकाला गरे । वादी समुदायमै हुर्किइन् हिक्मतकी आमा मैसरा । सानै उमेरमा विवाह गरेकी मैसरा २७ वर्षकी हुँदा ५ छोरी जन्माइसकेकी थिइन् ।

तर जोरा वादी छोरो चाहन्थे । छोराकै आशामा जोराले दोस्रो बिहे गरे । तर बुवा जोराले दोस्रो विवाह गरेकै वर्ष, २४ फागुन २०५० सालमा जन्मिए, हिक्मत । हिक्मत जन्मिए पनि जोरा अब सँगै बस्न सक्दैनथे । केही छोरी र कान्छी पत्नी लिएर उनी अछाम बसाइँ सरे ।

‘अर्को विवाह गरेपछि अन्यत्रै जाने समुदायको चलनै थियो । बुवाले छाडेपछि हाम्रो परिवारमा बज्रपात भयो । दुःखका दिन थपिए’ उनले सुनाए । उनकी आमा र दिदीहरूले ज्याला–मजदुरी गर्थे । घरपरिवारको आर्थिक अवस्था कमजोर थियो । आफू पढ्न नपाएका दिदीहरूले भाइलाई पढाउनुपर्छ भनेर संघर्ष गरेको हिक्मत सम्झिन्छन् ।

‘दिदीहरू सबैको १२/१३ वर्षकै उमेरमा बिहे भयो । त्यसपछि फेरि मेरा दुःखका दिन सुरु भए’ उनले भने । उनलाई स्कूल छुटाएनन् । भलै वादी भएकै कारण स्कुल पढ्दा थुप्रै घटनाहरू सहनु पर्‍यो । सबै सहपाठीसँग एउटै बेन्चमा कहिल्यै बस्न पाएनन् ।

तर पनि उनले पढाइ छोडेनन् । गुराँस गाउँपालिका–२ स्थित महादेव माविमा कक्षा ३ सम्म पढे । ४ देखि ७ कक्षासम्म दुल्लु–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पढे । त्यतिबेलासम्म वादी समुदायका धेरैले पढाइ छोडिसकेका थिए ।
आठ कक्षा आइपुग्दा उनी वादी समुदायका एक्ला विद्यार्थी भइसकेका थिए । कक्षा ८ देखि अछामको तुर्माखाद गाउँपालिकामा रहेको विन्द्रासैनी माविमा पढे । त्यहींबाट २०६५ सालमा एसएलसी गरे ।

‘हो, त्यही कुरा बदल्नु छ’

कष्ट खेप्दै शैक्षिक योग्यता बनाए पनि हिक्मतले जीविका चलाउन मजदुरीकै सहारा लिनुपर्थ्यो । तर मिहिनेत लगाउँदा ज्याला मजदुरीबाट पनि राम्रै कमाउन उनी सफल भए । मजदुरीकै पैसाले तल्लो डुंगेश्वरमै एउटा कस्मेटिक पसल खोले । व्यवसाय विस्तारै फस्टाउन थालेपछि सुर्खेतमा फेन्सी र पुस्तक पसल खोले ।

आम्दानी बढ्दै गएपछि वीरेन्द्रनगरमै घडेरी किने । भाइलाई रोजगारीको लागि विदेश पठाए । आर्थिक रूपले सबल बन्दै गए । गाडी किने । प्लस टुसम्म पढेका हिक्मतले २०७२ सालमा वादी समुदायकै संगीतासँग विवाह गरे । जिन्दगी ठिकठाक चल्दैथियो । श्रीमतीले फेन्सी पसल हेर्थिन् । आफू स्टेशनरी चलाउँथे । मासिक एक–डेढ लाख रुपैयाँसम्म आम्दानी हुन्थ्यो ।

‘मलाई अशिक्षाको अन्धकार मेट्नु छ । मलाई मेरी आमा र दिदीहरूले भोगेको चरम घृणा र विभेद समाप्त गर्नुछ’ हिक्मत विगत सम्झिंदै भन्छन्, ‘कतिपयले ‘वदेनी’ जस्ता अश्लील शब्दले बोलाउँदै विभिन्न लाञ्छना लगाएको याद छ । हो, त्यही कुरा बदल्नु छ ।’।

‘तर मेरो लक्ष्य विवाह गर्नु र पैसा कमाउनु मात्रै थिएन । जुन समुदायमा जन्मिएँ, हुर्किएँ त्यही समुदायको हितमा काम गर्ने सोच थियो । त्यही सोचबाट जन्मिएको हो, वादी सरोकार मञ्च नेपाल’ हिक्मत सम्झिन्छन् । तर उनले समुदायमा परिवर्तन ल्याउन जुन संकल्प थाले, त्यसले बनिसकेको उनको घरव्यवहार भत्कन थाल्यो ।

बालबालिका पढाउन फेन्सी पसल बेचे । श्रीमती संगीताले चलाउँदै आएको फेन्सी पसल उनले ११ लाख रुपैयाँमा बेचेको थिए । त्यतिले ११० जना बालबालिका पढाउन एक वर्ष पनि पुगेन । त्यसपछि उनले वीरेन्द्रनगर पिपिरामा रहेको पुस्तक पसल साढे ६ लाखमा बेचे ।

होस्टल सञ्चालनकै क्रममा उनले वीरेन्द्रनगरमा दुई वटा घर भाडामा लिएका थिए । दुई घरको भाडा मासिक एक लाख तिर्नुपथ्र्याे । ती दिन सम्झिंदै हिक्मतले भने, ‘खर्च नपुगेर घडेरी बेचें । तर पनि ५० लाख बढी ऋण लागिसकेको थियो ।’

हिक्मतका अनुसार त्यतिबेला पनि कर्णालीका समाजसेवी डा. नवराज केसीले मासिक २५ हजार रुपैयाँ सहयोग गर्थे । बालबालिका बिरामी हुँदा निःशुल्क औषधि उपचार गरिदिन्थे । तर त्यो २५ हजारले ग्याँस र चामल किन्न पनि पुग्दैनथ्यो ।
‘बजारभरी उधारो हुन्थ्यो । होस्टलमा खाने चामल थिएन’ हिक्मतले भने, ‘दुःख गरेर जोडेको सम्पत्ति सबै सकेको थिएँ । श्रीमतीसँग आँखा जुधाएर कुरा गर्न सक्दिनथें ।’

तर आफ्नो संकल्पप्रति हिम्मत नहारी लागिरहँदा दिन फेरिए । सहयोगी हातहरू थपिए । अहिले हिक्मतसँग कर्णालीका मात्रै होइन, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका वादी समुदायका बालबालिका समेत बस्छन्, पढ्छन् ।

तर धेरै बालबालिका कर्णालीकै छन् । २०७८ को राष्ट्रिय जनगणना अनुसार पनि कर्णालीमै धेरै वादी समुदायको बसोबास छ । यो प्रदेशमा मात्रै ४ हजार ७६२ वादी छन् । ‘अझै पनि मेरो समुदाय समाजको पिंधमा छ । हामीलाई हेयभावले हेर्ने दृष्टिकोण बदलिएको छैन’ हिक्मत भन्छन्, ‘हामीलाई समाजले त हेपेको थियो नै राज्यले पनि हेप्छ ।’

‘मलाई अशिक्षाको अन्धकार मेट्नु छ । मलाई मेरी आमा र दिदीहरूले भोगेको चरम घृणा र विभेद समाप्त गर्नुछ’ हिक्मत विगत सम्झिंदै भन्छन्, ‘कतिपयले ‘वदेनी’ जस्ता अश्लील शब्दले बोलाउँदै विभिन्न लाञ्छना लगाएको याद छ । हो, त्यही कुरा बदल्नु छ ।’

यज्ञ खत्री