
तल्लो सोलुखुम्बुकी सनम डोका शेर्पालाई कुनै दिन अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामासँग भेट होला, एउटै मञ्चमा भइएला र त्यही मञ्चबाट नेपाल चिनाउने प्रवचन दिउँला भन्ने कल्पनासम्म थिएन । तर निरन्तर साधना र मिहिनेतले उनलाई त्यो सफलता दिलाएरै छाड्यो ।
‘ओबामा फाउन्डेसन’ ले सन् २०२४ मा छोरीहरूको शिक्षा र सशक्तीकरणमा उत्कृष्ट काम गर्ने संसारका पाँच जनामध्येमा सनमलाई पनि छनोट गर्यो । त्यतिबेला उनलाई ‘शिक्षा च्याम्पियन नेपाल’ को उपमा समेत दिइएको थियो । सनमले द स्मल वर्ल्ड (टीएसडब्लू) को निर्देशकको रूपमा आफ्नो सत्कर्म जारी राखेकी छिन् ।
बाल्यकालमा एक जना अमेरिकी पदयात्रीको सहयोगले विद्यालयको दैलो देख्न पाएकी सनम अहिले एक हजार बढी विद्यार्थी पढाइरहेकी छिन् । समाजमा महिला र पुरुष बीचको विभेद देख्न नसकेर छोरी पढाउने अभियानमा लागेकी सनमले आफ्नो संघर्षका कथा हामीसँग साटेकी छिन् ।
उनले बाल्यकालको एउटा घटनाबाट कथाको पोयो फुकाइन्– ‘धुलो–मैलो भएर बाटोमा खेलिरहेको अवस्थामा एक अमेरिकी पदयात्रीले मलाई देखेछन् । स्कुल जाने उमेरको बच्चा किन यसरी बाटोमा खेलेर बसेको भनेर सोधखोज गर्दै जाँदा थाहा पाएछन्– कमजोर आर्थिक अवस्था, टाढा विद्यालय र छोरी भएका कारण पो गाउँका बच्चालाई विद्यालय नपठाइने रहेछ ।’ सनमले बाल्यकाल कोट्याइन् ।
त्यसपछि तिनै अमेरिकी पदयात्रीले सनमलाई पढाउने बन्दोबस्तका लागि आर्थिक सहयोग गरेका रहेछन् । ‘बाटोमा हिंड्दै गरेको यात्रीले मलाई शिक्षा गिफ्ट गर्नुभयो’ उनी भन्छिन्, ‘अमेरिकाबाट ट्रेकिङ आएका एक व्यक्तिको सहयोगमा मैले पढ्न पाएँ । त्यहींबाट मेरो जिन्दगी बदलियो ।’
गाउँमा ५ कक्षासम्मको विद्यालय थियो । विद्यालयको वाल थियो, छाना थिएन । पढ्न किताब–कापी हुँदैनथ्यो । ‘किन्न पैसा थिएन । माटोमा कोरेर अक्षर सिकेकी हुँ । हजुरआमाले चियापत्तीको बक्सा च्यातेर कापी जस्तो बनादिनुहुन्थ्यो । त्यसैमा लेखेर पढेकी हुँ’, उनले विगत सम्झिइन् ।
लुक्लामा एअरपोर्ट बन्नुअघि तल्लो सोलुमा निकै चहलपहल हुन्थ्यो । हिमाल चढ्नेहरू यतैबाट आउजाउ गर्थे । एअरपोर्ट बनेसँगै तल्लो सोलु ओझेलियो । सनमका बुबा सिजनमा ‘पोर्टर’को काम गर्न माथिल्लो सोलु उक्लन्थे ।
‘वास्तविक जीवन तल्लो सोलुमा छ । खासै खेती पनि नहुने । एक सिजनमा आलु र लसुन मात्रै हुने । घरका लागि खर्चबर्चको जोहो गर्न बुबाले पोर्टरको काम गर्नुहुन्थ्यो । जेनतेन चुल्हो बलेको थियो’, बाल्यकालको गरिबी सम्झिंदै सनम भन्छिन् ।
हिमालको आँगनमा सुनौलो भविष्य बुन्दै सनमको स्कूले जीवन अगाडि बढिरहेको थियो । १४ वर्ष टेकेकी मात्रै थिइन्, बुबा र आमा नै गुमाउन पुगिन् । एक जना बहिनी थिइन् । बहिनीको रेखदेख र पालनपोषणको जिम्मा पनि अब सनमको काँधमा आइपर्यो ।
बुबा–आमाको मृत्युपछि छर–छिमेकबाट प्रहार भएका तिखा वचनले दिदी–बहिनीको मनमा घोच्थ्यो । सनम पुराना दिन सम्झन्छिन्, ‘आमा–बुबा नभएपछि समाजले घृणा गर्न थाल्यो । सबैले अलच्छिना भन्थे । बिहान हाम्रो अनुहार देख्यो भने दिनभरि काम बिग्रिन्छ भनेर मुन्टो बटार्थे ।’
घरको मियो नै ढलेपछि दिदी–बहिनीको गुजारा कसरी चलाउने अन्योल थियो । सनमले जुक्ति निकालिन्– पढाइमा सहयोग गर्ने तिनै अमेरिकी पदयात्रीसँग सम्पर्क गर्ने । नेपाल घुमेर अमेरिका फर्किसकेका पदयात्रीलाई सहयोगका लागि सनमले पत्र लेखिन् । त्यसपछि उनले सहयोग गरिरहे ।
०००
गाउँमा बस्न कठिन भएपछि सनम काठमाडौं आइन् । यतैबाट एसएलसी उत्तीर्ण गरिन् । एसएलसीपछि नर्स बनेर सेवा गर्ने उनको अठोट थियो । ‘बुबा–आमा के कारणले बित्नुभयो, थाहा पाउन सकिएन । गाउँमा अस्पताल नभएकोले रोगको पहिचान हुन सकेन । त्यसैले नर्स बनेर बिरामीको सेवा गर्छु भन्ने सोच आयो’, उनी भन्छिन् ।
सनमले नर्सिङ त पढिन् तर अस्पतालमा काम गर्न भने सकिनन् । ‘अस्पतालमा बिरामी छट्पटाएको देख्दा मलाई निकै गाह्रो हुन्थ्यो । अन्तिम अवस्थामा पुगेका बिरामी त हेर्नै सक्दिनथें’, उनले सुनाइन् । त्यसपछि कोर्स बदलिन् । स्नातक तहमा जनस्वास्थ्य (पब्लिक हेल्थ) पढिन् । विस्तारै परिस्थितिले उनलाई मजबुत बनाउँदै लग्यो ।
समाजमा महिला र पुरुष बीचको विभेद एवं छोरीले केही गर्न सक्दैनन् भन्ने भाष्यले सनमलाई पोल्थ्यो । त्यसैले समाज बुझ्ने र रूपान्तरण गर्ने लक्ष्यका साथ स्नातकोत्तर तहमा सामाजिक विज्ञान पढ्ने निधो गरिन् । यो पढाइले सनमले समाज, गरिबी र छोरीहरू बीचको सम्बन्ध थाहा पाइन् । अनि गरिबीका कारण पढ्न नपाएका छोरीहरू पढाउने अठोट लिइन् ।
‘मैले जसरी पढें, त्यस्तो नियति गरिब बालबच्चाले भोग्नु नपरोस् भनेर काम शुरू गरेकी थिएँ’, उनी सुरुआती दिनमा फर्किइन् । सनमले शुरूमा व्यक्तिगत तवरबाट विद्यार्थी पढाउन थालेकी थिइन् । उनले संस्थागत रूपमा जाँदा धेरैलाई पढाउन सकिने बुझिन् । सन् २००६ मा सोलुखुम्बुमै विद्यालय निर्माण गरेर अघि बढ्ने उनको निर्णय कार्यान्वयनमा आयो ।
उनको पहलमा सोलुमा १५ वटा विद्यालय भवन बने । ‘स्कूल बनाएपछि छोरीहरू पनि पढ्छन् भन्ने लाग्यो । तर प्रत्येकलाई नजिकबाट हेर्न सकिएन’, उनी भन्छिन् । भवन बनाएर मात्र परिवर्तन नहुने देखेपछि सनमले विद्यार्थीलाई किताब, कापी र छात्रवृत्ति दिन थालिन् । विद्यार्थीको स्तरोन्नतिका लागि अझै केही गर्नुपर्छ भन्ने आभास उनलाई भयो ।
‘कम्प्युटर सिकाइ, अंग्रेजी भाषा, पब्लिक स्पिकिङमा जोड गर्यौं’ उनी भन्छिन्, ‘यसले छोरीहरूलाई अगाडि बढाउने र उत्प्रेरणा जगाउने काम भयो ।’ यो अभियानले छोरीहरू पनि समाजमा खुलेर अगाडि आउन र प्रश्न गर्न सक्ने भएको सनमको बुझाइ छ ।
सोलुमा शिक्षा र स्वास्थ्यको अवस्था नाजुक थियो । ‘सोलुका आमाहरू घरमै सुत्केरी हुन बाध्य छन् । राम्रो स्वास्थ्य सेवा छैन । हामीले मेडिकल पढ्ने छात्राहरूलाई फोकस गर्यौं’ उनी भन्छिन्, ‘एचए, ल्याब टेक्निसियन, फार्मेसी, नर्सिङ लगायतमा विद्यार्थी पढिरहनुभएको छ ।’
व्यवस्थापन, कानून, कम्प्युटर र ग्रामीण विकासमा पनि सनमको सहयोगमा विद्यार्थीहरू पढिरहेका छन् । सामुदायिक विद्यालयमा सनमको सहयोगमा कम्प्युटर र अंग्रेजी विषयका अतिरिक्त शिक्षकको पनि व्यवस्था गरिएको छ ।
‘सोलुमा राम्रो जनशक्ति तयार गरिरहेका छौं । कोहीले सोलुको स्कूलमा पढाउनुहुन्छ । कोही हेल्थपोस्टमा काम गर्नुहुन्छ । कोही रेडियोमा कार्यक्रम चलाउनुहुन्छ’ सनम भन्छिन्, ‘अब नेतृत्व तहमा आउने तयारीमा महिलाहरू हुनुहन्छ ।’
यसरी कक्षा १ देखि स्नातकोत्तरसम्म गरी १ हजार बढी विद्यार्थीलाई सनमले पढ्न सहयोग गरिरहेकी छिन् । आमाहरूको समूह बनाएर महिला सशक्तीकरणमा पनि उनले वकालत गरिरहेकी छिन् ।
‘कहिले पानी नपर्ने । कहिले धेरै पर्ने भइरहेको छ । खेतीमा असर गरेको छ । त्यसैले नयाँ तरिकाले कसरी खेती गर्ने भनेर तालिम दिने, उत्पादन भएका अनाज बजारमा लैजाने विषयमा आमाहरूलाई हाम्रो संस्थाले सहयोग गरेको छ’ सनम भन्छिन्, ‘आमाहरू महिनाको एक पटक भेला भएर कुरा गर्ने वातावरण बनेको छ । उहाँहरू आज स्पष्टसँग प्रश्न गर्न सक्नुहुन्छ ।’
बाटोमा यात्रीले देखेर सहयोग गरेकी सनम समाजमा ‘रोल मोडल’ बनिन् । ती सहयोग गर्ने अमेरिकी नागरिकसँग उनको एक पटक मात्रै भेट भयो । भेटमा उनले आफूले गरेका यी सबै कामहरू सुनाइन् ।
‘मैले म जस्तै छोरीहरू पढाइरहेको सुनाउँदा उहाँ खुशी हुनुभयो’ उनी आफूलाई शिक्षा ‘गिफ्ट’ दिने दाताप्रति कृतज्ञता व्यक्त गर्छिन्, ‘मलाई उहाँको बारेमा धेरैले सोध्छन् । मेरो एउटा पत्रकै भरमा उहाँले सहयोग गर्नुभयो तर आफ्नो परिचय सार्वजनिक गर्न चाहनुभएन ।’ सनमलाई सहयोग गर्ने ती अमेरिकी पदयात्रीको सन् २०१२ मा निधन भइसकेको छ ।
अनि परिन् ओबामाको नजरमा
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामा संस्थापक रहेको ‘ओबामा फाउन्डेसन’ ले गत वर्षको ८ मार्चमा ग्रासरुटमा काम गरिरहेका संसारभरिका ४ हजार महिला नेतृमध्येबाट उनलाई उत्कृष्ट ५ मा छनोट गर्यो । फाउन्डेसनले सनमलाई ‘शिक्षा च्याम्पियन नेपाल’को उपमा दिएको छ । सन् २०२३ मा ओबामासँग उनको भेट ग्रिसमा भएको थियो ।
भेट हुनुअघि सनमलाई मेल आएको थियो । शुरूमा त उनलाई विश्वासै लागेन । ‘ओबामा फाउन्डेसनबाट आएको मेल फेक हो कि भन्ने लाग्यो । वेबसाइटमा गएर हेरें । त्यसपछि विश्वास लाग्यो’ उनी भन्छिन्, ‘मलाई कार्यक्रममा सहभागी हुन ग्रिस बोलाइएको रहेछ । चार दिनको कार्यक्रम थियो ।’
छलफल सामूहिक थियो । ९–१० जना महिला थिए । सनमकै छेउमा बसेका थिए ओबामा । कार्यक्रममा सनमले नेपालबारे आफ्नो धारणा राखिन् । ‘हाम्रो देश राम्रो छ । गोर्खाली र शेर्पाले इतिहास बनाएको छ । एभरेष्ट पनि छ भनें’, उनी सुनाउँछिन् ।
ओबामाले पनि नेपालबारे आफू जानकार रहेको बताएका थिए । ‘मलाई नेपाल थाहा छ । नेपालबारे जानकारी राख्छु भन्नुभयो’, सनम भन्छिन् ।
आफूले तयार पारेको युवा जनशक्तिले नेपालको राजनीतिमा पनि ज्ञान राखुन् भन्ने चाहन्छिन् सनम । भन्छिन्, ‘यो वा त्यो पार्टीभन्दा पनि राम्रो नेतृत्वको विकास होस् भन्ने हो ।’ सनम युवालाई आर्थिक रूपमा सबल बनाउन मेन्टरको काम पनि गरिरहेकी छिन् । ‘प्रत्येक दिन आफू पनि सिकिरहेकी छु । सिक्दै/सिकाउँदै अगाडि बढेकी छु’, कुराकानीको बिट मार्दै सनमले भनिन् ।