+

ईः विद्रोही

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
सडक व्यवसायीका पक्षमा घण्टौं उभिने, इनफ इज् इनफ अभियानका सुरुवातकर्ता, मधेश आन्दोलनताका सिंहदरबारमा रंग छ्याप्ने र श्रमिकको खुट्टा ढोग्दै हिंड्ने विद्रोही अभियन्ता ईःको परिचय हो । त्यसबाहेक उनी एक पैदलयात्री र लेखक हुन् ।
ईः

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले चुनावअघि विपन्न वर्गको पक्षमा वकालत गर्ने युवाको छवि बनाएका थिए । ‘गरिबको चमेली बोल्दिने कोही छैन…’ बोलको गीत नै उनको चुनावी नारा थियो ।

तर, १२ जेठ २०७९ मा महानगरको मेयर निर्वाचित भएपछि बालेन फेरिए । पहिले फुटपाथ व्यवसायलाई हटाउने होइन, व्यवस्थापन गर्नुपर्ने मत राख्ने उनी सडक व्यवसायीप्रति निर्मम देखिन थाले ।

बालेन नेतृत्वको महानगरले सडक व्यवसायीलाई लखेटी, लखेटी सामान लगेको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल हुनथाले । यस्तोमा सामाजिक अभियन्ता ईःलाई लाग्यो, ‘कसैले बालेनलाई उनकै चुनावी वाचा सम्झाइदिए हुन्थ्यो !’

त्यसबेला उनी दक्षिणएशियाको १४ हजार किलोमिटर पैदलयात्रा सकेर यात्रा वृत्तान्त लेख्न भारतको कोचीमा बसेका थिए । भारतमा कार्गिलदेखि कन्याकुमारीसम्म, श्रीलंकामा जाफ्नादेखि डोन्ड्रासम्म, बंगलादेशमा म्यान्मारसँगको सिमाना टेकनाफदेखि झापासम्म उनले पैदलयात्रा गरेका थिए ।

‘दक्षिण एशियाभरिको पैदल यात्राका क्रममा यदि मैले कोहीबाट सबैभन्दा न्यानो माया पाएको थिएँ भने त्यो अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक नै थिए’ उनी सम्झन्छन्, ‘२०७७ देखि २०७९ को सुरुवातसम्म म जहाँ जहाँ पुगें, त्यहाँ मैले अनौपचारिक व्यवसायमा संलग्नबाटै सद्भाव पाएको थिएँ ।’

असिन–पसिन भएर एक्लै लुखुर–लुखुर हिंडेको व्यक्ति । मैलो कपडा, धुलाम्ये शरीर । उनी सुकिला–मुकिलाहरूको नजरमा पर्थेनन् । ‘तर, बंगलादेशमा हिंड्दा सानो खाजा पसल चलाउनेले हिंडिरहेको मान्छेलाई मद्दत गर्नुपर्छ भन्नुहुन्थ्यो, पैसा लिनुहुन्थेन’ उनी थप्छन्, ‘कत्ति दिन म उहाँहरूसँगै सुतेको छु, त्यहाँ अरूले यो वर्गलाई एकदमै सम्मान गरेको पनि देखेको थिएँ ।’

यही यात्राको वृत्तान्त शब्दमा उतार्न लागिरहेका बेला आफ्नो शहरमा सडक व्यवसायीप्रति स्थानीय सरकारले कुटपिट गरिरहँदा उनलाई बेचैनी भइरहेको थियो । ‘सुरुमा कसैले यो विषयमा प्रश्न उठाइदिए हुन्थ्यो भन्ने थियो, कोही नबोलेपछि मलाई आफैं अघि सर्नुपर्छ भन्ने लाग्यो’, ईः सम्झन्छन् ।

आमनागरिकमा बालेनको जुन क्रेज थियो, त्यसको सामु महानगरमाथिको प्रश्न कमजोर सुनिन्थ्यो । अन्ततः धर्नाले मात्र नपुग्ने निष्कर्ष सहित उनले काठमाडौं महानगर अगाडि उभिने निर्णय लिए । १९९ घन्टा उभिएपछि महानगर र ईः बीच चारबुँदे सहमति भयो ।

जफत गरिएका सामान सम्बन्धित धनीलाई फिर्ता र अनौपचारिक क्षेत्रमा हुने व्यापारलाई व्यवस्थित बनाउने लगायत सहमति भए । महानगरले ईःसँग गरेका सहमतिको पूर्ण कार्यान्वयन भएन । तर, विगतमा जस्तो नगर प्रहरी अनौपचारिक क्षेत्रका व्यवसायीप्रति क्रूद्ध देखिएको छैन ।

मेयर बालेनको कदम विरुद्ध भद्र आन्दोलन गरेर ईः ‘नयाँ विद्रोही युवा’का रूपमा उदाए । तर, उनलाई नजिकबाट चिन्नेहरूका लागि काठमाडौंका रैथाने ईः सामाजिक मुद्दामा आवाज उठाउने पुरानै विद्रोही हुन् ।

अनि विद्यालय छाडेर हिंडे

उनलाई लाग्यो, सिंहदरबारलाई नझक्झक्याई हुँदैन । त्यसपछि उनले सुरु गरे, ‘सिंहदरबारमा रातो रंग छ्याप्ने अभियान ।’ उनले इतिहासदेखि नै राज्यको चरित्र आम जनताको रगत बगाउने छ र त्यसले अहिले पनि निरन्तरता पाइरहेको छ भन्ने सन्देश दिन खोजेका थिए

अभियन्ता ईःलाई नजिकबाट बुझ्न २०६७ सालतिर फर्किनुपर्छ, जतिबेला उनी जावलाखेलको सेन्ट जेभियर्स स्कुलमा कक्षा १० मा पढ्थे । विद्यार्थी जीवनको फलामे ढोका मानिने एसएलसीको तयारी गर्नुपर्ने एउटा विद्यार्थीले प्रिन्सिपललाई ‘राजीनामा पत्र’ बुझायो ।

पत्रको निष्कर्ष थियो– विद्यालय शिक्षा कर्मकाण्डी मात्रै छ, बाहिर बसेर अध्ययन गर्नु र काम गर्नु नै बढी प्रभावकारी छ । ‘सो आई रिजाइन (त्यसैले म राजीनामा दिँदैछु)’, उनको यो पत्रलाई सुरुमा शिक्षकहरूले विश्वास गरेनन् ।

एउटा विद्यार्थीले आवेगमा लेखेको होला भन्ने ठानेर त्यति धेरै महत्व दिएनन् । तर, त्यसबेलै उनी आफ्नो निर्णयप्रति यति दृढ थिए कि फेरि कहिल्यै स्कुल फर्किएनन् । त्यसबेला उनी जम्माजम्मी १४ वर्षका थिए ।

कक्षा १० सम्म आइपुग्दा पनि उनी विद्यालय बाहिरकै किताबहरू बढी पढ्थे । राजनीतिज्ञदेखि अन्य क्षेत्रका व्यक्तिहरूको जीवनी पढ्थे । त्यसबेला पारिवारिक पृष्ठभूमि ‘राजावादी’ थियो । उनलाई लाग्यो, ‘समाज परिवर्तन गर्न राजनीतिमा लाग्नुपर्छ ।’

बुबा विदेश गएपछि उनी हजुरबुबा कहाँ बसेर हुर्किएका थिए । उनी आफ्नो तरिकाले हिंड्ने, डुल्ने गर्थे । मनमौजी थिए । विद्यालय छाडेर आएपछि उनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटेर ‘आफूलाई राजनीतिमा लाग्ने इच्छा’ रहेको बताए ।

घरबाट राजनीतितिर नलाग्न दबाब थियो, उनी जबरजस्ती भेट्न गए । तर, थापाले उनलाई ‘यो पढ्ने उमेर भएको’ भन्दै सम्झाईबुझाई गरेर फर्काइदिए । बरु विद्यार्थी राजनीतिमा लाग्ने भए स्नातक पढ्दा राम्रो हुने उनले बताए ।

‘तर म त्यसमा अडिनेवाला थिइनँ, मलाई राजनीतिमा लाग्नु थियो’, ईः सम्झन्छन्, ‘त्यसपछि म फोन नम्बर लिएर पार्टीको कार्यक्रम जताजता हुन्छ, त्यहीं जान थालें । दुई वर्षसम्म पार्टीको पूर्णकालीन सदस्य जस्तै भएर काम गरें । जिल्ला–जिल्ला गएर प्रचार गरें । पोस्टर र पम्प्लेट बनाएँ, जिल्लामा नेता, कार्यकर्ताको घरमै बसें ।’

‘त्यतिबेला पनि मलाई म देशको सेवा गरिरहेको छु भने जस्तो लाग्थ्यो’ उनी भन्छन्, ‘कहिलेकाहीं एक्लै हिंडेर हप्तौंसम्म पृथ्वीनारायण शाहको पोस्टर टाँस्दै हिंडेको थिएँ ।’ पोस्टरमाथि उनी लेख्थे, ‘नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे !’ त्यो यात्राले उनलाई देश बुझ्ने मौका दियो ।

विद्यार्थी जीवनभर नेपाली भाषामा उनको राम्रो पकड थिएन । जिल्लामा जान थालेपछि त्यो पनि सुधार भयो । उनले पार्टीको पत्रिकाका लागि पनि लेख्न थाले । दस्तावेजहरू अध्ययन गर्न थाले । यद्यपि, दुई वर्षमै उनले ‘आफू ठिक ठाउँमा छैन कि’ भन्ने महसुस गरे ।

उनलाई पार्टीमा आफू जस्तोका लागि उपयुक्त माहोल छ जस्तो लागेन । हुनत खद्दरको कपडा, हात्ती छाप चप्पल, खानापानी केही वास्ता नगर्ने स्वभाव देखेर धेरैले उनलाई जिस्काउँथे, ‘स्वभाव चाहिं कम्युनिस्ट छ, कहाँबाट कन्जरर्भेटिभ पार्टीमा लाग्यौं ?’

२०६८ सम्ममा उनको अन्य पार्टी र विचारधाराका व्यक्तिहरूसँग पनि बाक्लै भेट हुन थालिसकेको थियो । त्यहीबेला उनले बाबरी मस्जिदमा भएको घटनाबारे अध्ययन गरे । भारतमा भएका अन्य दंगाका घटनाहरूको इतिहास पनि पढे । त्यसपछि उनलाई लाग्यो, ‘पार्टी मेरो लागि होइन ।’ उनी यस बारेमा यति बलियो निष्कर्षमा पुगे कि नेपालगञ्जमा एउटा कार्यक्रम चल्दाचल्दै काठमाडौं हिंडे ।

उज्ज्वल थापासँग भेट

काठमाडौं आए पनि उनलाई खाली बस्नु थिएन । उनी दलीय राजनीतिको सीमितता बुझेर फर्किएका थिए । नेपालगञ्जबाट फर्कंदा स्वतन्त्र भएर गरेको काम चाहिं शक्तिशाली हुन्छ भन्ने मान्यता बोकेर आएका थिए ।

‘त्यतिबेला मैले अब कहिल्यै पार्टीमा लाग्दिनँ भन्ने सोच लिएर आएको थिएँ’ उनी भन्छन्, ‘समाजमा केही योगदान गरौं भन्ने जाँगर अझ बढी लिएर आएको थिएँ ।’ त्यहीबेला प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले संविधानसभा भंग गर्‍यो । मुलुक फेरि द्वन्द्वमा जान सक्ने जस्तो परिस्थिति बन्यो ।

‘त्यति बेला मैले भर्खर कक्षा ११, १२ पढ्दै गरेका विद्यार्थीलाई भेला गरेर सद्भाव र्‍याली निकालें’ ईः ले सुनाए, ‘त्यो र्‍यालीपछि मैले उज्ज्वल थापा दाइ (विवेकशील नेपालीका संस्थापक) सँग भेट्ने अवसर पाएँ ।’ सन् २०६८ देखि २०७३ सम्म ईः का लागि यस्तो समय थियो, उनी सुनेका र थाहा पाएजति जुनसुकै सामाजिक अभियानमा स्वस्फूर्त सरिक हुन्थे ।

उज्ज्वल थापाहरूले त्यसबेला संविधान निर्माणमा दबाब दिन ‘नेपाल युनाइट्स– परिवर्तनका लागि हामी नेपाली एक’ अभियान चलाइरहेका थिए । त्यसमा विद्यार्थी, पेशाकर्मी, अधिकारकर्मी र समाजमा प्रभाव पार्ने विभिन्न वर्गका व्यक्तिहरू सरिक भएका थिए । अभियानको नारा थियो– ‘ज्याला पूरा लियौ, अब संविधान देऊ !’ ईः त्यसमा पनि जोडिए ।

विवेकशीलका संस्थापक थापाले त्यसबेला आफ्नो अभियानलाई कसरी अगाडि लैजाने भन्ने सोचिरहेका थिए । त्यहीबेला ईः पनि जोडिए । केही फरक गरौं भन्ने थापाको विचार उनलाई मन पर्‍यो । ‘उहाँले पार्टी गठनको कुरा सुनाउनुभयो, त्यसबेला म उज्ज्वल दाइको घरमा बसेर हप्तौंसम्म दस्तावेजीकरणमा सघाएको थिएँ’ ईःले सम्झिए, ‘पहिले गरेको दस्तावेजहरूको अध्ययन र जिल्ला घुमेर सिकेका कुराहरू काम लाग्यो ।’

त्यतिबेला थापासँग भर्खरका युवाहरू मात्रै साथमा थिए । ‘त्यतिबेला राजनीतिक शब्दहरू राम्रोसँग बुझ्ने, गाउँ–गाउँ डुलेको मान्छे एकदम कम थिए’ उनी थप्छन्, ‘त्यसैले मैले उहाँले पार्टी गठन गर्दा योगदान गर्ने मौका पाएँ ।’ तर, आफू चाहिं पार्टीमा नलाग्नेमा उनी दृढ थिए । त्यसपछि उनी विवेकशीलको आन्दोलनमा त जोडिए, तर पार्टी सदस्यता भने लिएनन् ।

२०६९ माघतिर साउदी अरेबियाबाट फर्किएकी सीता राई विमानस्थलका प्रहरी जवानबाट बलात्कृत भएकी थिइन् । त्यसबेला महिला हिंसाका अन्य घटनाहरू पनि बढिरहेका थिए । स्वतन्त्र युवाहरूले ‘अकुपाई बालुवाटार’ नामक दबाबमूलक अभियान चलाए । ‘१०७ दिनसम्म चलेको अभियानपछि बलात्कारमा संलग्नलाई साढे ५ वर्षको जेल सजाय भयो’, उनी सम्झन्छन् ।

त्यसबेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको मुख्य गेट अगाडि भादगाउँले टोपी लगाएर ईः पुगेका थिए । अन्य युवाहरूको भीड अगाडि उनी गएर झ्याप्प गेटको बीच भागमै बसिदिए । त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच तनावको स्थिति सिर्जना भयो । आन्दोलनले उग्र रूप लियो ।

चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग गर्दै त्यसबेला त्रिवि शिक्षण अस्पतालमा डा. गोविन्द केसी अनशन बसिरहेका थिए । विवेकशील पृष्ठभूमिका युवाको उनलाई समर्थन थियो । यो त्यस्तो बेला थियो, जतिबेला केसीको स्वास्थ्य अवस्था बिग्रिंदो थियो, सरकारले उनको कुरा सुनिरहेको थिएन ।

त्यसपछि केसीको अभियानलाई फरक रूपमा रि–ब्रान्डिङ गर्ने कुरा भयो । उज्ज्वल थापाहरूले यसबारे सल्लाह गरिरहेका बेला ईः ले आइडिया निकाले– ‘आन्दोलनलाई सत्याग्रह भनेर अघि बढाउने ।’ ईः महात्मा गान्धीको विचारधाराबाट प्रभावित थिए ।

गान्धी आफ्नो राजनीतिक जीवनमा पटकपटक सत्याग्रह बसेका थिए । नेपालमा बीपी कोइरालाको पालामा मात्र सत्याग्रह भनिन्थ्यो । ‘उज्ज्वल दाइलाई मेरो प्रस्ताव ठिकै लागेछ, क्यारे’ ईः सम्झन्छन्, ‘त्यसपछि तत्कालै टिचिङ अस्पतालमा ठूलो ब्यानरमा सत्याग्रह लेखेर टाँगियो ।’

दोस्रो संविधानसभाको निर्वाचन हुन लागेका बेला नयाँ अनुहारहरू आउनु पर्‍यो भन्दै आन्दोलन चल्यो । त्यसबेला पनि ईः अग्रमोर्चामा थिए । ‘संविधानसभामा पुरानै दोहोरिनुभएन, नयाँ र युवा अनुहार आउनुपर्‍यो भनेर दबाबमूलक आन्दोलन गरेका थियौं’ उनी भन्छन्, ‘त्यसबेला आपराधिक पृष्ठभूमि, भ्रष्टाचार आरोप लागेकालाई टिकट दिनुहुँदैन भनेर हप्तौंसम्म आन्दोलन गर्‍यौं, निर्वाचन आयोगमा समेत धर्ना दिएका थियौं ।’

शीर्ष नेताको घर घेर्ने आन्दोलन

२०६८ देखि २०७३ सम्म उनी अधिकांश सामाजिक मुद्दामा सडकमा उत्रिने विद्रोही पात्र थिए । ‘विपद् हुँदा पीडितलाई आर्थिक संकलन गर्नेदेखि अधिकारी दम्पतीको न्यायका लागिसम्म आन्दोलन गर्‍यौं’, उनी सम्झन्छन् ।

अधिकारी दम्पतीका लागि न्याय माग्दै त्यसबेलाका चार मुख्य दलका नेताको घर घेर्न ईः सहितका युवाहरू गए । प्रचण्डको घर बाहिर प्रदर्शन गर्दा प्रहरीले उनीहरूलाई लखेट्यो भने सुशील कोइरालाको घर बाहिर चाहिं रोचक घटना भयो । ‘विरोध प्रदर्शन सकेर टोली निस्किन लागेको थियो, भित्रबाट कोही सहयोगी आए’ ईः सम्झन्छन्, ‘ती सहयोगीले शुशील दाले चिया खुवाएर मात्र पठाउनु भन्नुभएको छ भन्नुभयो ।’

सहयोगीहरूले चिया पनि ल्याए । आन्दोलनमा सहभागी धेरैले चिया खाए । ‘तर, मैले चाहिं जहाँ विरोध गर्न आएको हो त्यहीं किन चिया खाने भनेर खाइनँ’, उनी भन्छन् । त्यहीबेला हनुमानढोकाको टिकटिङ प्रणाली निजी कम्पनीलाई दिने प्रयास विरुद्ध भएको आन्दोलनमा पनि ईः जोडिए ।

सामाजिक सञ्जालबाट युवा जुटाएर उनी सहितका युवाले हिटी सरसफाइ अभियान पनि चलाएका थिए । त्यसबेला एकदम धेरै नेपाल बन्द भइरहन्थ्यो । यसको विवेकशील नेपालीले विरोध गरिरहन्थ्यो । बन्द विरुद्ध ‘नेपाल खुला छ’ अभियानका तस्वीरहरूमा ईः, गोविन्द नारायण, उज्ज्वल थापा लगायत अग्रपंक्तिमै देखिन्छन् ।

२०६९ मा चक्रपथ विस्तारका क्रममा बस्ती विस्थापन र रूख कटानविरूद्धको आन्दोलनमा उनी जोडिए । ‘त्यसबेला काठमाडौंमा ८ लेनको सडक नभई ६ लेनले हुन्छ कि हुँदैन भनेर डिस्कोर्स चलाउन खोजेका थियौं’ उनी भन्छन्, ‘त्यतिबेला सडक विभाग नै घेर्न पनि गएका थियौं ।’

२०७२ सालमा करिब ९ हजारको मृत्यु हुने गरी भूकम्प गयो । त्यसबेला ईः सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय थिए । ‘त्यस्तो बेला कोहीसँग रिसोर्स छ र कोही समस्यामा परेको व्यक्ति छ भने उनीहरूलाई जोडिदिने काम गरें’, उनी सम्झन्छन् ।

भूकम्प आएको भोलिपल्ट उनी केही साथीहरू लिएर टुँडिखेलमा पुगेर अस्थायी शौचालय बनाउन थाले । ‘समस्याको बेला बनाएको हो, त्यति राम्रो भएन होला’ ईः भन्छन्, ‘तर, आवश्यक पर्छ भन्ने भएपछि खाल्डो खनेर बनाउन सुरु गरेका थियौं ।’

सिंहदरबारमा रातो रंग

ईः सहितको समूहले बनाएको केही पुस्तकालय भूकम्पले भत्कायो । अरू कामहरूमा पनि त्यसको असर देखियो । उनलाई औधी छटपटी भयो । ईःलाई २०७१ मा टीबी पनि लाग्यो ।

‘यत्तिका वर्ष घर छाडेर सामाजिक काममा मात्र हिंडेको मान्छे, त्यतिबेला चाहिं मलाई परिवारको सहारा चाहियो’ उनी भन्छन्, ‘सास फेर्नै नसक्ने जस्तो स्थितिमा पुगेपछि मैले घरमा गएर आराम गरें, त्यो समय मेरो जिन्दगीको एउटा असाध्यै धेरै रचनात्मक बनेर आयो ।’

घरमा बसेका बेला उनले उपन्यास र पुराना साहित्य पढे । फिल्महरू हेरे । त्यसले उनले जिन्दगीलाई हेर्ने र सोच्ने दृष्टिकोणमा भिन्नता ल्यायो । नेपालको इतिहास र अन्तर्राष्ट्रिय राजनीतिबारे पनि उनले अध्ययन गरे । मधेशको इतिहासबारे अध्ययन गरे । त्यही बेला उनले देश बुझ्नलाई कञ्चनपुरदेखि झापासम्म हुलाकी मार्ग हुँदै पैदल यात्रा गर्ने निधो गरे ।

मधेश आन्दोलन चलिरहेको थियो । ‘त्यतिबेला तराई–मधेशको कुुरा पनि सिंहदरबारले सुन्नुपर्छ, मेलमिलापको वातावरण हुनुपर्छ भन्ने सन्देश दिन पैदल यात्रा गरेको थिएँ’ उनी सम्झन्छन्, ‘हिंसाले कसैलाई राम्रो गर्दैन भन्ने सन्देश दिन हिंड्दा मसँगै लोचन आचार्य, सुरेन्द्र बजगाईं लगायत पनि जोडिनुभएको थियो ।’

त्यसबेला मधेशमा त्रासको वातावरण थियो । कति मधेशमा हिंड्नै डराउँथे । ‘तर हामी सही कुरा लिएर हिंडिरहेका छौं भने केको डर भन्ने भयो’ उनी भन्छन्, ‘त्यो बेला मलाई स्कुलदेखि अन्य बेला नबुझेर वर्णका आधारमा धेरै मान्छेप्रति भेदभाव गरें होला भन्ने लाग्यो र म मधेशका किसान, मजदुर र श्रमजीवीहरूको खुट्टा ढोग्दै क्षमा माग्दै हिंडेको थिएँ ।’

तनावका बीच सरकारले कुनै प्रतिक्रिया दिइरहेको थिएन । त्यसपछि उनलाई लाग्यो, सिंहदरबारलाई नझक्झक्याई हुँदैन । त्यसपछि उनले सुरु गरे, ‘सिंहदरबारमा रातो रंग छ्याप्ने अभियान ।’ उनले इतिहासदेखि नै राज्यको चरित्र आम जनताको रगत बगाउने छ र त्यसले अहिले पनि निरन्तरता पाइरहेको छ भन्ने सन्देश दिन खोजेका थिए ।

‘अरूतिर जे गरे पनि केही फरक परेन, आन्दोलन गर्नू तर, सिंहदरबारमा नआउनु भन्ने कुरा थियो’ उनी भन्छन्, ‘त्यसपछि मैले साथीहरूसँग मिलेर शहरमा सबैतिर भएका राजनीतिक दलका नारा रातो रंगले मेटाइदिएँ ।’

पदयात्री अवतार

२०७२ को बाँकी समय र २०७३ मा अधिकांश समय उनले पाटनढोकाको रूख र फल्चामा पढेर बिताए । त्यतिबेला उनले लियो टोल्सटोय, काफ्का लगायतका ‘क्लासिक फिक्सन’ पढे । त्यहीबेला उनले मुलुकको हिमाली क्षेत्रमा पदयात्राका लागि जाने निधो गरे ।

‘२०७४ देखि २०७५ सम्म मैले ग्रेट हिमालय ट्रेल पूरा गरें, दार्चुलादेखि मुक्तिनाथसम्म मेरो अध्यात्मिक यात्रा जस्तो भयो’ ईः सम्झन्छन्, ‘त्यसबेला म माला जपेर हिंडेको थिएँ, हिंड्नुमै सार्थकता पाएको थिएँ ।’

विचार र अध्यात्मिक ज्ञान सम्बन्धी पुस्तक अध्ययन र संगतले आफू त्यस्तो भएको हुनसक्ने ईः बताउँछन् । ‘त्यसबेला म बौद्धमा थिन्ले रिम्पोछेसँग आशीर्वाद लिएरै हिंडेको थिएँ’ उनी भन्छन्, ‘रुद्राक्षको माला पनि उहाँले नै दिनुभएको थियो ।’

यो पदयात्रामा उनी कञ्चनजंघादेखि डोल्पासम्म, उपल्लो हिमाली भेगहुँदै कञ्चनजंघादेखि बैतडीसम्म पनि पुगेका थिए । बैतडीबाट कञ्चनपुर झरेर त्यहाँबाट पूर्व–पश्चिम राजमार्ग हुँदै झापा पुगेका थिए । २१९ दिनमा उनको यो पदयात्रा सकिएको थियो ।

फर्किंदा झापादेखि उदयपुरसम्म पनि पैदलै आएका थिए । ‘काठमाडौंसम्म नै हिंडेर आउने लक्ष्य थियो, तर खुट्टा पाक्न थालेकाले सम्भव भएन’ उनी भन्छन्, ‘लिगामेन्टमा समस्या देखिएपछि चप्पल लगाएर पनि हिंड्न मिलेन ।’

यात्राका क्रममा उनी प्रायः पाटीपौवा, होमस्टे, कहिले चिनजानका व्यक्तिहरूकहाँ बस्थे । सकभर सरल र सस्तोमा दिन बिताउँथे । २०७६ मा उनले पैदलयात्राबारे यात्रा वृत्तान्त लेखे । २०७७ मा इन्स्टाग्रामबाट साथीभाइसँग प्रि–अर्डर आह्वान गरेर आएको पैसाले साढे ५०० प्रति पुस्तक छापे । ‘त्यसलाई व्यवसायीकरण गर्दिनँ भन्ने थियो, त्यसैले जति–जति सहयोग आउँछ, त्यो लिएर पुस्तक छापेको थिएँ’, ईः भन्छन् ।

सन् २०७७ महामारीको वर्ष पनि भयो । उनले नेपाल बाहिर पदयात्रामा जाने सोच बनाएका थिए । तर, सम्भव भएन । त्यसपछि घरमै बसेर सरकारका गलत काम, कारबाहीबारे उनले खबरदारी गरिरहेका थिए ।

‘मैले विदेशमा यस्तो भइरहेको छ, यहाँ यस्तो गर्नु जरूरी छ कि छैन भनेर इन्स्टाग्राममा हालिराख्थें’ उनी भन्छन्, ‘मेरो पोष्टहरू धेरै सेलिब्रेटीहरूले शेयर गरिरहनुहुन्थ्यो ।’ पछि आफूलाई महामारीमा सरकारको कामगराइ त्यति चित्त नबुझेको उनी बताउँछन् ।

मानिसहरू हिंडेर घरघर गइरहेका थिए । सीमावर्ती क्षेत्रमा नागरिकले दुःख पाइरहेका थिए । ईःले समाजिक सञ्जालमा यसबारे विमर्श त चलाइरहेका थिए तर, त्यतिले पर्याप्त नदेखेपछि उनले सामाजिक सञ्जालमा ग्रुप बनाए, ‘इनफ इज् इनफ ।’ त्यसमा उनले आफूले चिनेजतिलाई जोडे र अरू साथीभाइलाई पनि मानिसहरूलाई जोड्न भने ।

अन्ततः बालुवाटारको आन्दोलनले ठूलो रूप लियो र कोभिड महामारीमा आफ्नो नीति परिवर्तन गर्न सरकार बाध्य भयो । पछि उनी पीसीआर टेष्टको संख्या बढाउन र क्वारेन्टिनहरूलाई व्यवस्थित बनाउन माग गर्दै फेरि अनशन बसे ।

महामारीमा पनि भ्रष्टाचार बढेको भन्दै अनशन बसेको २३ दिनपछि स्वास्थ्य मन्त्रालयले उनीसँग १२ बुँदे सहमति गर्‍यो ।

महामारीपछि उनले फेरि पुस्तक बिक्रीबाट बचेको पैसाले भारत, बंगलादेश र श्रीलंकाको पैदलयात्रा गरेका थिए । फर्किएपछि दक्षिणएशियाको पैदल यात्राबारे अर्को पुस्तक लेखिरहेका छन् ।

सामाजिक रूपमा सक्रिय भएर एउटा पहिचान बनाए पनि उनले आफ्नै नाम बारेको प्रश्न चाहिं प्रायः सामना गरिराख्नुपर्छ । उनी आफूलाई ‘ईः’ मात्र भनेर चिनाउन चाहन्छन् । धेरैले यसलाई अनौठो मान्छन् ।

ईः प्रष्ट्याउँछन्, ‘स्कुल पढ्दै घर छाडेर हिंडें, मेरो पहिचान नै यात्रा र प्रयोगबाट बन्यो । त्यसैले यात्राले बनेको बेग्लै पहिचानबाट मात्र चिनिनँ चाहेको हुँ ।’

धेरैले उनलाई राजनीतिमा आउने सम्भावनाबारे पनि सोध्छन् । मेयर वा अन्य कुनै पदमा उम्मेदवारी दिन पनि सुझाउँछन् । तर, उनी अहिलेको परिस्थितिमा राजनीतितिर जाने सम्भावना देख्दैनन् ।

‘हुनत जीवनले कहाँ डोर्‍याउँछ के थाहा तर, मेरो अन्तरात्माको चाहना अहिले त्यो छैन’ उनी भन्छन्, ‘बरु यो दक्षिण एसियाको यात्रा वृत्तान्त लेखिसकेपछि फेरि नेपाल बाहिर पैदलयात्रामा जाने सोचेको छु ।’

गौरव पोखरेल