
दुई वर्षअघिसम्म उनी सिरहाको मिर्चैया नगरपालिका–१० मथिलेश्वर बजारमा मुरही, कचरी र तरकारी सहितको चियाखाजा पसल चलाउँथिन् । परिवारको गुजाराका लागि स्थानीय हाटमा सानो चिया पसल चलाउने ३१ वर्षीया भाग्यश्री चौधरी अहिले मधेश प्रदेशको सभासद् छिन् ।
प्रदेश सभाको महिला बालबालिका समितिकी सदस्य जनमत पार्टीकी यी सांसद अहिले प्रदेश सभामा महिला बालबालिका सम्बन्धी कानून र नीति बनाउने भूमिकामा छिन् । चर्को महिला हिंसा सामना गर्नुपर्ने समाज र विद्यालय जाने उमेरका धेरै केटाकेटी स्कूल बाहिर भएको परिवेशमा महिला बालबालिका समिति सदस्यका रूपमा भाग्यश्रीको काँधमा ठूलो जिम्मेवारी छ ।
जनमत पार्टीको संसदीय दलकी सचेतक समेत रहेकी भाग्यश्रीले प्रमुख सचेतकको अनुपस्थितिमा त्यो जिम्मेवारी पनि पूरा गर्नुपर्छ । सदन बाहिर समाजले पनि उनको भूमिकाको खोजी गर्छ । समाज रूपान्तरण अहिले उनको मुख्य कार्यसूची हो । ‘हाम्रो गाउँठाउँ, पालिका र क्षेत्रमा रहेका जनताका समस्या सदनमा उठाउँछु । समाधानको प्रयास गर्छु । विकासका लागि समाजमा छलफल गर्छु’, भाग्यश्रीको कार्यसूची स्पष्ट छ ।
दुई वर्ष अघिसम्म चिया बेचेर घर चलाउने विपन्न परिवारकी त्यो पनि बुहारी भाग्यश्री सांसद बन्नुमा उनको लगाव र समयको साथ दुवैले काम गरेको छ । यो थाहा पाउन पाँच वर्ष जति पछाडि फर्कनुपर्छ । २०७५ सालमा मधेश आन्दोलनको रापताप सेलाउँदै गएको बेला डा. सिके राउतको ‘स्वतन्त्र मधेश गठबन्धन’ ‘जनमत पार्टी’मा बदलियो ।
मधेशमा पछि पारिएका, दलित उत्पीडित र निम्न आर्थिक हैसियतका व्यक्तिहरूले ‘अमेरिका पढेका डा. साब’ को नयाँ पार्टी भेटे । यही मेसोमा मथिलेश्वर हाटको ‘आयुष चियापसल’ की पसले भाग्यश्री चौधरी आफ्ना श्रीमान्को साथ र रुचिका कारण विस्तारै राजनीतिमा तानिइन् ।
भन्छिन्, ‘चियापसलमा राजनीतिका कुरा मात्रै सुनेकी म थाहै नपाइँ राजनीतिमा जोडिइसकेकी रहेछु ।’ तर, उनले ‘थाहै नपाई’ भने पनि यस क्षेत्रमा उनी चिनिएकी अभियन्ता भइसकेको तथ्य यहाँका राजनीतिक अगुवाहरूले चाहिं थाहा पाइसकेका थिए ।
‘चियावाली’ संसद्मा
टहरामा खोलेको सानो भए पनि भाग्यश्रीको चिया पसलको कथा दुई दशक पुरानो छ । गाउँको मथिलेश्वर हाटमा २०५४ सालमा पाएको १० ‘स्क्वायर फिट’ जग्गामा भाग्यश्रीका ससुरा धनिकलाल मण्डल र सासू रामोदेवी चियापसल चलाउँथे । पसलमा चियासँगै मुरही, कचरी, चप र समोसा पाइन्थ्यो । सम्पत्तिको नाममा अरू केही नरहेको धनिकलालको परिवारको साँझ–बिहानको चुलो बाल्ने आधार यही ‘आयुष चिया पसल’ थियो ।
‘२०५४ सालमा हाटमा यो ठाउँ पाएपछि माटो र खरको छाप्रोमा पसल चलाएर छोराछोरी हुर्काएँ । पछि बुहारीले सम्हालिन्’, धनिकलाल भन्छन् । २०६६ सालमा धनिकलालका जेठो छोरा निर्मलसँग भाग्यश्रीले अन्तरजातीय विवाह गरिन् । विवाह पछि पनि घर चल्ने आधार यही पसल थियो । सासू–ससुरालाई सघाउने हात थपिए । तर यही बीचमा सासू रामोदेवी परलोक भइन् र पसल चलाउने अभिभारा भाग्यश्रीको जिम्मामा आयो ।
बेलाबखत श्रीमान् निर्मल पनि सघाउँथे । तर २०७० सालदेखि निर्मलको उद्देश्य मोडियो । उनी डा. सिके राउत नेतृत्वको ‘स्वतन्त्र मधेश गठबन्धन’ मा जोडिए । २०७४ सालदेखि यो आन्दोलनमा उनी सक्रिय रूपमा लागे । मिर्चैया र गोलबजार क्षेत्रबाट पटक–पटक पक्राउ परे । राज्यको दमन बढ्यो । निर्मललाई नभेटेका बेला प्रहरीले आएर भाग्यश्रीलाई हप्काउन थाल्यो । थुप्रै पटक उनले अपमानित हुनु पर्यो ।
विस्तारै यो परिवारै राजनीतिमा जोडियो । यस बीचमा तीन सन्तान थपिएपछि परिवार ठूलो भयो । हाटको चियापसलबाट मात्रै घर चलाउन सकस भएपछि २०७५ सालमा निर्मल वैदेशिक रोजगारीमा साउदी अरेबिया पुगे । त्यहाँ पनि उनी डा. सिके राउतको अभियानसँगै जोडिएर गैरआवासीय मधेशी संघको अध्यक्ष बने । २० महिना विदेशमा खटेर निर्मलले पठाएको पैसाले चियापसलको टहरोसँगै पछाडि जोडिएको दुई धुर घडेरी किने ।
निर्मल घर फर्कंदासम्म मिर्चैयाको मथिलेश्वर बजारमा दुई वटा कुरामा ठूलो परिवर्तन आइसकेको थियो । पहिलो त्यस बेलासम्म डा. सिके राउत स्वतन्त्र मधेशको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्केर जनमत पार्टी स्थापना गरिसकेका थिए । अनि भाग्यश्री पनि मथिलेश्वर हाटकी एउटी चियापसले मात्रै नभएर त्यस क्षेत्रमा चिनिएकी जनमतकी कार्यकर्ता भइसकेकी थिइन् ।
२०७९ को संसदीय चुनाव नजिक आइपुग्यो । जनमत पार्टी पहिलो पटक संसदीय राजनीतिमा चुनाव लड्ने सुरसार गर्न थाल्यो । हिजोसम्म एउटा चिया पसलमा बसेर अरूका राजनीतिका कुरा सुन्ने भाग्यश्री विस्तारै मधेशका हेपिएका र विपन्न मानिसका लागि राजनीति किन महत्वपूर्ण छ भन्ने बुझ्न थालिसकेकी थिइन् ।
गरिब र असहायप्रतिको उनको यो लगाव बुझेका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आदिवासी जनजातिको सूचीमा भाग्यश्रीको नाम राखे । महिलामा आदिवासी जनजातितर्फ भाग्यश्रीको नाम ७ नम्बरमा थियो । चुनावी नतिजा आयो । महिलातर्फ जनमतबाट सात जना सांसद बने । यसरी तराईको एउटा हाट बजारमा चिया बेच्ने महिला मधेश प्रदेशको सभासद् हुन पुगिन् ।
उनको गाउँ–टोलमा धेरैले ‘भाग्यश्रीको भाग्य चम्कियो’ भने पनि यो पछिल्ला परिवर्तनहरूको जगमा बनेको नयाँ संविधानले समावेशी नेपालका लागि गरेको व्यवस्थाको एउटा नतिजा थियो । ‘म राजनीति गर्छु, सांसद बन्छु भन्ने सोच्न पनि नसक्ने परिवारबाट आएकी हुँ । मलाई समयले यो मौका दियो’, खुसी हुँदै उनले भनिन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका–८, पिपराकी भाग्यश्रीले कक्षा १२ सम्म पढेकी छिन् । परिवारकी एक्ली छोरीले गरिब धानुक केटासँग अन्तरजातिय प्रेमविवाह गरेपछि बाबुआमाले उनलाई करिब करिब माया मारेका थिए । तर, विस्तारै आमा र भाइ उनलाई भेट्न आउन थाले पनि बुबाले वास्ता गरेका थिएनन् । तर भाग्यश्री प्रदेश सभा सांसद भएपछि चाहिं बुबाले फोन गरेर बधाई दिएका थिए ।
‘संविधानले दिएको अवसर’
२३ माघ बिहान सवा ११ बजे भाग्यश्रीको घर पुग्दा उनी जनकपुरधाम जान ठिक्क परेकी थिइन् । आफ्नो पुरानो चियापसल अगाडि (अहिले सटर) उभिएर भाग्यश्रीले भनिन्, ‘चुनावभन्दा केही अघि मात्रै यो पसल बन्द गरियो । अहिले त्यहाँ अतिथि राख्ने ठाउँ बनाइएको छ ।’
एउटा जरूरी बैठकमा जान लागेकी भाग्यश्रीले भनिन्, ‘यस क्षेत्रका योजनाहरू कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा छलफल गर्न आज मुख्यमन्त्रीले समय दिनुभएको छ । त्यो बैठकमा जान तयार भएर बसेकी छु ।’
सांसद बनेपछि उनको दिनचर्या फेरिएको छ । अहिले उनी सदनमा कसरी बोल्ने भन्ने अघिल्लो दिन नै तयारी गर्छिन् । कुनै कार्यक्रममा बाहिर जानुपर्ने दिन उनी झिसमिसेमै उठ्छिन् । कहिले सार्वजनिक यातायात चढ्छिन् त कहिले श्रीमान् निर्मल वा स्वकीय सचिव जयनारायणसँग मोटरसाइकलमा ५५ किलोमिटर टाढाको जनकपुरधाम पुग्छिन् ।
भाग्यश्रीको हिजोको संघर्ष देखेका स्थानीयहरू उनी सांसद बनेपछि पनि स्वभाव, व्यवहार र विचार उस्तै रहेको बताउँछन् । स्थानीय बुधनी मण्डलले भनिन्, ‘पहिले पसल चलाउँथिन् । दिनभर पसलमा दुःख गर्थिन् । अहिले उनी बोलेको हामी टिभीमा हेर्छौं । तर, पनि स्वभाव र व्यवहार पहिला जस्तै छ ।’
सदनमा भाग्यश्रीले उठाउने कुरा सरल हुन्छन् । उनी देश किन बनेन भन्ने खालका प्रश्न गर्दिनन् । आफ्ना गाउँठाउँका जनताले भोगेका कुलो, पोखरीका समस्या, महिलाले न्याय नपाएका र तिनमा जोडिएका कानूनका विषयमा आवाज उठाउँछिन् । सदनमा सधैं समय नपाए पनि, शून्य समय वा विशेष समयको सदुपयोग गर्दै आफ्नो धारणा राख्ने गरेको भाग्यश्रीको भनाइ छ ।
उनी भन्छिन्, ‘विशेष समय दल अनुसार बाँडिन्छ । त्यसैले कहिलेकाहीं मात्रै मलाई विशेष समय मिल्छ । तर म दुवै अवसरको उपयोग गर्ने प्रयास गर्छु ।’ उनको अनुभवमा सदनमा उठाउने समाजका मुद्दाहरूमध्ये केही तुरुन्त समाधान हुन्छन् भने केहीलाई समय लाग्छ । ‘गाउँ–पालिका क्षेत्रका मुद्दाहरू बारम्बार उठाउने गरेकी छु । सरकार सुन्छ या सुन्दैन, त्यो बेग्लै कुरा हो । तर, म निरन्तर आवाज उठाउँछु’, उनी भन्छिन् ।
मथिलेश्वर सदाटोलकी कविता सदालाई त अचम्मै जस्तो लाग्छ । उनी भन्छिन्, ‘हिजोसम्म मुरही, कचरीवाली भनेर चिनिने भाग्यश्री अहिले सांसद भएर समाजमा हिंड्नुहुन्छ । सानातिना विवाद त उहाँले गाउँमै मिलाउनुहुन्छ ।’
शुरुआती दिनमा भाग्यश्रीलाई नीति र कानूनका बारेमा सदनमा बोल्नु बहुत मुस्किलको कुरा थियो । राजनीतिका धेरै कुरा उनले चिया पसलमा ग्राहकहरूबाट सुनेको मात्रै थियो । अनुभव थिएन, समाजमा उभिएर बोल्न समेत धक मान्ने उनलाई सदनको पोडियममा पनि बोल्न कठिन भयो । चिट्चिट् भयो, पसिना आयो । तर हिम्मत हारिनन् ।
‘धेरै हिम्मत गरेर बोल्न जान्थें, तर बोल्ने बेलामा मुटुको धड्कन तेज हुन्थ्यो । सोचेको कुरा पनि बिर्सिन्थें’ भाग्यश्री भन्छिन्, ‘एक वर्ष त सिक्नमै लाग्यो । अनि थाहा भयो, शून्य समय र विशेष समयमा कसरी बोल्ने ।’
‘पहिले मलाई राजनीति गन्दा खेल जस्तो लाग्थ्यो । तर, अहिले समाज र देश परिवर्तनको मुख्य माध्यम यही हो भन्ने महसुस हुँदैछ । किनभने जनताको भाग्य र भविष्य तय हुने ठाउँ नै सदन हो । जनताको आवाज उठाउने र सम्बोधन गर्ने जिम्मा राजनीतिलाई छ’ उनले भनिन्, ‘बाहिरबाट देखिने राजनीति र भित्रको वास्तविकता चाहिं निकै फरक छ ।’
आफ्नो क्षेत्र भ्रमणमा जाँदा जनताले सडक निर्माण, खानेपानी, सिंचाइ, मलखाद लगायत विकासका अपेक्षा सांसदलाई राख्छन् । तर, सदन नीति नियम बनाउने ठाउँ भएकाले जनतालाई यो बुझाउन भाग्यश्रीलाई कठिन भइरहेको छ । ‘जनताले भोट दिंदा विकासको अपेक्षा गर्छन्, तर यहाँ आएपछि हाम्रो मुख्य भूमिका नीति, नियम र कानून निर्माण गर्नु हो भन्ने थाहा भयो’, भाग्यश्रीले भनिन् ।
भाग्यश्रीलाई सांसद भन्दा जनता बुझ्ने भइसकेको लाग्छ । ‘आजकल माननीय भन्दा जनता धेरै सचेत र जानकार छन् । हातहातमा मोबाइल र सामाजिक सञ्जालमा सबै कुरा हेर्छन्, बुझ्छन् । अब जनतालाई झुक्याउन गाह्रो छ’, उनी भन्छिन् ।
उनी प्रदेश सभामा पनि महिलामाथि विभेद हुने गरेको बताउँछिन् । दलहरूमा क्षमता अनुसार होइन, लिंग अनुसार पद दिने र हेप्ने गरेको भाग्यश्रीको बुझाइ छ । ‘महिलामाथि सदनमा पनि समानता छैन । कुनै महिला सांसदमा जति धेरै क्षमता भए पनि उनलाई महिला भएकै आधारमा सीमित जिम्मेवारी दिइन्छ । बुझ्नुस्, हेपेरै राखिन्छ’, उनी सुनाउँछिन् ।
आफ्नो काम आफैंलाई चाहिं कस्तो लाग्छ ? भाग्यश्री भन्छिन्, ‘समानुपातिक सांसदलाई धेरै बजेट हुन्न । तर पनि विभिन्न संघ–संस्थासँग सहकार्य गरेर काम गरिरहेकी छु । संविधानले म जस्तालाई जुन अवसर दिएको छ, त्यसको सदुपयोग गर्न कुनै कसर बाँकी राख्दिनँ ।’