
अरूले बनाएका बाजा जसले पनि बजाउन सक्छ । झुमा लिम्बूले आफैं बाजा बनाइन् । अरूले हालेका आलापलाई जसले पनि सुरमा ढाल्न सक्छ । झुमाले संगीतमा आफ्नै आलाप खोजिन् । उनले खमारीको रूख ढालेर बनाएको ढेला बाजा दुई वर्षअघि ललितपुरमा पहिलोपल्ट सार्वजनिक प्रस्तुति गरियो ।
संगीत भनेको विरह र रोमाञ्चको नरम सुर मात्रै होइन, आक्रोशमा बाघ झैं गर्जिने कुरा पनि हो भन्ने प्रमाणित गर्न उनले बनाएकी थिइन् ढेला । ढेला अर्थात्, गोरु मारेर काढिएको छाला सुकाएर बनाएको बाजा ।
‘हाम्रो संस्कृतिमा मोटो आवाज दिने बाजाको कमी रहेछ, त्यसैले ढेलासँगै अरू २३ वटा बाजा बनाएँ, पहिलो लकडाउनका बेला त्यसलाई संखुवासभा, चुलाचुली इलामतिर सुकाएँ’ झुमा भन्छिन्, ‘त्यसलाई गुणस्तरीय बाजामा ढाल्न पाटनमा ल्याएर काम गरियो ।’
एक महिनासम्म गोरुको छाला सुकाइयो । त्यसपछि चार महिना लगाएर बाजा बनाइयो । एउटा बाजासँग मुन्धुमी संस्कृतिको इतिहास यसरी जोडिन पुग्छ ।
झुमा पहिलेदेखि नै बाघ झैं गर्जिने बाजासँग अभ्यस्त कलाकार भने होइनन् । उनी कुनै बेला संगीतज्ञ अम्बर गुरुङकी चेलीका रूपमा साधना गर्थिन् । अम्बरले उनलाई छोरी भन्थे । मायाले ‘तँ’ भनेर बोलाउँथे । अम्बरकै प्रेरणामा उनले अम्बर संगीत अल्बम नै निकालिन् ।
सात वर्षअघि अम्बर बिते । झुमा त्यसताका पनि लिम्बू जनजातीय संगीतको खोजीमा थिइन् नै । खासाम अल्बम त्यसबेलै निस्किसकेको थियो । बीचमा अलिक चटपटे र छटपटे खालका गीतहरूमा पनि कोसिस नगरेकी होइनन् । तर ती उनका लागि थिएनन् । उनी तिनका लागि थिइनन् । आफ्नो मौलिकता जेमा थियो, झुमाले त्यसैमा आफ्नो सामथ्र्य खोज्न थालिन् । झुमाले बाटो बिस्तारै मोड्दै लगिन् । उनी रैथाने संगीतमा सोची–सम्झी नै आइपुगिन् ।
संगीतमा नयाँ खोजीको बाटो त्यति सजिलो भने छैन । न त आफ्नो भनिएको मौलिक संगीत मात्रै बजाएर विश्वमानमा पुगिने, न त विश्वको दाँजोमा पुग्ने बहानामा अरूकै संगीत मात्रै गाएर बजाएर पुग्ने । झुमाले नेपाली संगीतमा आफूले उभिने स्पेस खोज्न थालिन् । सुदूरपूर्वको हाक्पारेदेखि सुदूरपश्चिमको देउडासम्म, मधेशको मिथिलास्वरदेखि कर्णालीको आवाजसम्म झुमाको गायकी सेरोफेरो बन्न पुग्यो । त्यसपछि उनी विदेशका स्टेजसम्म पनि पुगिन् । विश्वभरिका लोकगायकहरूसँग उनको भेट हुनथाल्यो ।
‘नेपालको गीत लिएर बाहिरका स्टेजमा गाउन पाउँदा अर्कै अनुभूति हुँदोरहेछ, त्यसैगरी अरू समुदायका गीत सुनेर गाउन कोसिस गर्दा आफू अझै फराकिलो भइएछ जस्तो लाग्छ’ झुमा भन्छिन्, ‘संगीतलाई पहिलेभन्दा अझै बृहत्तर अर्थमा बुझ्न थालेकी छु । यो केवल सुरताल र बाजासँग मात्रै होइन, मान्छेको इतिहास र सभ्यतासँग पनि जोडिएको हुँदोरहेछ ।’
यसरी झुमालाई आफ्नोपनतर्फ फर्काउन योगदान दिने व्यक्ति थिइन् रूसी पियानोवादक तथा गायिका भिक्टोरिया अनुफियाबा । २०६३ सालतिर बालुवाटारमा झुमालाई संगीत सिकाउने क्रममा उनले भनेकी थिइन्, ‘सबैतिरको संगीत सिकेर मात्रै पुग्दैन, नेपालको समाजभित्र पसेर संगीत खोज ।’
झुमालाई भिक्टोरियाको सुझावले प्रभावित पार्यो । आफ्नै रुचिले गाएका लोक तथा आधुनिक गीतहरू, जसमध्ये केही राम्रैसँग हिट भइसकेका थिए । ‘भञ्ज्याङ कुर्न गाह्रो भो ए साइँला’ लगायत गीतहरूमा उनको नाम आउन थालिसकेको थियो । तर झुमाले त्यसबीचमा मुन्धुम अध्ययन गर्न थालिन् । आफ्नै संगीतको इतिहास खोज्न थालिन् । कतिपय पारिवारिक उतारचढावका बीच उनले लामो यात्रा संगीतमै गर्न खोजिन् ।
‘काठमाडौं विश्वविद्यालयमा संगीत विभाग बनाउन गेड वार्नर र जगदीशशमशेर राणाले जुन मिहिनेत गर्नुभयो, मलाई त्यसको ठूलो प्रभाव परेको छ’ झुमा सम्झिन्छिन्, ‘चीनको कुनै गाउँको संगीत पढ्दा त्यहाँको समाजदेखि इतिहाससम्म जान्नुपर्ने, दक्षिणएशियाका अरू गीत पनि त्यस्तै । त्यसपछि नेपालका गीतहरूको बारेमा पनि खोज्न सुरु गरियो ।’
साम्सोघा मुन्धुम ६–७ दिनसम्म निरन्तर गाइने विधा हो । असमयमै बितेको मान्छेको बिदाइ गर्दा बाँचेकाहरूले विभिन्न भावमा साम्सोघा मुन्धुम भन्ने गर्छन् । यस्तो क्रममा तङ्सिङ बस्दा आउने भावहरूलाई माया, प्रेम, रिस, डाहा, आक्रोश, पीडा सबै भावमा व्यक्त गरिन्छ । संगीतका साथै त्यहाँ नृत्य पनि छ । यसै वर्ष झुमाले त्यो साम्सोघा मुन्धुमलाई पनि संगीतमा ढालिन् ।
झुमाले सुनुवारको, थारूको, देउडा, कर्णालीको भाका आदिलाई आफ्नो आवाजमा ढालेकी छन् । लोकलय खोज्ने क्रममा स्थानीय कलाकारहरूसँग पनि भ्रमण र संगत गरेकी छन् । यसरी झुमा एकातिर नेपाल बाहिरका कलाकार र स्रोतलाई नेपाली संगीतहरूको साक्षात्कार गराउने पात्र बन्न पुगेकी छन् भने अर्कातिर उनी नेपाली संगीतलाई बाह्य संगीतको संगत गराउने पात्र पनि बन्न पुगेकी छन् ।
पहिले १८ वा २० बार/नोटमा नेपाली कलाकारहरूले गाउँदै बजाउँदै आएको संगीतलाई यतिबेला अझै परिस्कृत स्वरुपमा पस्किन झुमाले देखाएको जागरुकता विशेष चर्चायोग्य छ । यसका लागि उनले काठमान्डू ज्याज कन्जरभेटरीमा गएर सहकार्य गरिन् । उनले युरोप र दक्षिण अमेरिकाका कलाकारहरू तोमस कारास्कोभ, नोआ एडमन्स ग्वेभारा लगायतसँग मिलेर काम गरिरहेकी छन् ।
यसले नेपालको मौलिक संगीतमा प्रयोगशीलताका लागि ठाउँ खुला भएको छ । उनीहरू पनि झुमाको प्रशिक्षण पाएर नेपाली संगीतमा झुम्मिएर लागेका छन् । अर्को महिना राजधानीको झम्सिखेलमा हुने काठमान्डू इन्टरनेशनल ज्याज फेस्टिभलमा यो टिमले थुप्रै नयाँ संगीतहरू विश्व कलाकारहरूसामु पेश गर्नेछ ।
मान्छेहरू संगीतको सिमाना हुँदैन भन्छन् । तर झुमा विभिन्न सिमाना वारिपारिका संगीतलाई गाउन हिंडेकी छन् । उनको सपनालाई साथ दिने टिम पनि यसैका लागि सक्रिय छ । एकातिर रैथाने आवाज छ, अर्कोतिर विश्वसँग जोडिने सपना ।
त्यसैले संगीत सबैका लागि हो, सबैका लागि होइन पनि । एउटै संगीतले सबैलाई एकैपल्ट काम नगर्न सक्छ । बच्चादेखि बुढासम्म, सुखीदेखि दुःखीसम्म सबैलाई आ–आफ्नै खालको संगीत चाहिन्छ । उसोभए महिलाहरूका लागि पनि त संगीत चाहिएला । वा उनीहरूका लागि संगीत हुनुको के अर्थ होला ? झुमालाई यो प्रश्न हामीले सोध्यौं ।
झुमालाई लाग्छ, कुनै पनि संगीतले आफ्नो भिन्दै प्रकारको इतिहास बोक्छ । संगीत मार्फत महिलाहरूले आफ्नो इतिहास भन्न सक्नुपर्छ ।
‘पुरुषले महिलाको बारेमा गाउँदा आँखा, ओठ, कपाल, कम्मर गाए । धेरै गाएका भए आमा र दिदीबहिनीका अलिअलि गाए होलान्’ झुमा भन्छिन्, ‘महिलासँग विचार पनि हुन्छ, ऊसँग सोचाइ र भावना पनि हुन्छ भन्ने देखाउनलाई भए पनि अब महिलाले आफ्ना लागि आफैं गाउनुपर्छ ।’
झुमाले टुंग्याइन्, ‘हरेक महिलाभित्र संगीत हुन्छ, आफूभित्रको त्यो संगीत खोज्न सिक्नुपर्छ ।’
– बसन्त बस्नेत