+

अन्तरिक्ष पछ्याइरहेकी नेपाली छोरी

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
‘एरोस्पेस इन्जिनियरिङ’ को अध्ययन पूरा गरेकी दाङ, भालुवाङकी ज्योति केसी अहिले अमेरिकी वायुसेनामा सेवारत छिन् । त्योभन्दा पर उनी ठूलो सपना पूरा गर्ने तयारीमा छन् । त्यो हो— अन्तरिक्षमा जाने ।
ज्योति केसी

८ वर्षमै आकाशतर्फ नियाल्थिन्; ताराहरू हेर्थिन्, चन्द्रमा हेरेर टोलाउँथिन् । उनले एकदिन निकै नजिकबाट जहाज उडेको पनि देखिन् । त्यो क्षण उनलाई अहिले पनि याद छ । जहाजभित्र मान्छे हुन्छन् । जहाजमा चढेर टाढा–टाढासम्म पुग्छन् भन्ने थाहा पाइन् । उनलाई अन्तरिक्षप्रतिको हुटहुटी त्यतिबेलैदेखि पलाएको थियो ।

दाङ भालुवाङकी तिनै ज्योति केसी (३०) का अहिले अनेक परिचय छन् । अमेरिकी वायुसेनाको मेडिकल अफिसर रहेकी उनी ‘लुनारेस रिसर्च स्टेशन’ मा भाग लिने पहिलो नेपाली–अमेरिकी एनालग एस्ट्रोनट (पृथ्वीमा बनाइएको अन्तरिक्ष जस्तै ठाउँमा बसेर अभ्यास गर्नु) पनि हुन् । एरोस्पेस इन्जिनियरिङको अध्ययन पूरा गरेकी ज्योतिका अनेक परिचय छन् । तर उनको उद्देश्य अहिले एउटै छ । त्यो हो– ‘अन्तरिक्षमा पुग्ने र अन्वेषण गर्ने ।’

बाल्यकालदेखिको हुटहुटीले ज्योतिलाई अहिले पनि छोडेको छैन । उनी सपना मात्रै देख्दिनन्, प्राप्तिका लागि अथक् प्रयास र कडा मिहिनेत गर्छिन् । अमेरिकी वायुसेनामा भर्ती, एरोस्पेस इन्जिनियर र पोल्याण्डको लुनारेस रिसर्च स्टेसनको मिसन पूरा गर्ने पहिलो नेपाली–अमेरिकी एनालग एस्ट्रोनट । यी सबै ८ वर्षको अन्तरालमा उनले गरेको मिहिनेतकै प्रतिफल हो ।

पछिल्लो समय नासासँग पनि जोडिएकी ज्योति भन्छिन्, ‘नासा सोलार सिस्टम एम्बासडरको रूपमा भोलेन्टियर काम गर्ने अवसर पाएकी छु ।’ थप जिम्मेवारी सहित नासासँग भविष्यमा काम गर्ने उनले अनलाइनखबरलाई सुनाइन् ।

ज्योतिको विश्वास छ, अबको १०–१५ वर्षमा प्रविधिले ठूलो फड्को मार्छ । ‘अन्तरिक्षमा पुग्न अब आम मानिसलाई पनि सहज हुनेछ । अब अन्तरिक्षमा म मात्रै होइन, धेरै सामान्य मानिसहरू पनि पुग्न सक्छन्’ उनी भन्छिन्, ‘मानौं, तपाईंले टिकट काट्न सक्नुभयो र उड्नु पनि भयो तर पनि तपाईं पाइलट त हैन नि !’

भनाइको तात्पर्य– अबको केही वर्षपछि सामान्य मानिस पनि अन्तरिक्ष यात्रामा सजिलै निस्कन सक्छन्, मात्र उनीहरूले खर्च व्यहोर्न सक्नुपर्‍यो । न ती यात्रु अन्तरिक्ष यानको कमाण्डर हुनुपर्छ न त कुनै इन्जिनियर नै !

त्यसैले ज्योति यात्रुको रूपमा मात्रै होइन, कुनै जिम्मेवारी सहित अन्तरिक्षमा पुग्न चाहन्छिन् । ‘प्रविधिको यो रफ्तार देख्दा मेरो सपना कुनै ठूलो उद्देश्य होइन’ उनी भन्छिन्, ‘अबको केही दशकमै अन्तरिक्ष सपना सामान्य बन्दै जानेछ ।’

सजिलो के भने अमेरिकामा जस्तोसुकै कामको पनि सम्मान हुने । काम सानो–ठूलो नहुने । नर्सिङ होममा रिसेप्सनिष्टबाट काम सुरु गरेकी उनी ब्युटी सलोनसम्म पुगिन् ।

पोल्याण्डको एनालग एस्ट्रोनट मिसनमा सहभागी बनेपछि ज्योतिको अन्तरिक्ष सपनाले थप जरा हालेको हो । अबको एक डेढ दशकमा सपना पूरा हुनेमा उनी विश्वस्त छिन् । त्यसो त, सामान्य यात्रुको रूपमा कमर्सियल स्पेस कम्पनी मार्फत ५–१० वर्षभित्रै अन्तरिक्षमा पुग्न सकिन्छ । ‘तर, कुन भूमिकामा त्यहाँ पुगियो भन्ने कुरा मुख्य हो, यात्रुको रूपमा पुगेर अन्तरिक्ष अनुभव गर्नु मेरो लक्ष्य होइन’, उनी भन्छिन् ।

के होला त्यो जिम्मेवारी ? ज्योति भन्छिन्, ‘एरोस्पेस इन्जिनियर, मेडिसिन वा कमान्डरकै रूपमा पनि जिम्मेवारी लिएर अन्तरिक्ष पुग्ने मेरो लक्ष्य छ ।’ त्यसो त, मानिसहरू उनको लक्ष्यलाई त्यति सहज रूपमा लिंदैनन्, न नेपालमा न अमेरिकामा । ‘अरूलाई सामान्य नलागोस्, तर मैले सपना देख्न छोडेकी छैन, मेरो मिसन नै अन्तरिक्ष पुग्ने हो ।’

अमेरिका, वायुसेना र अन्तरिक्ष

मध्यमवर्गीय परिवारमा जन्मिएकी ज्योतिले दाङकै मुनलाइट बोर्डिङ स्कुलबाट अध्ययन सुरु गरिन् । पढाइमा अब्बल उनी सानैदेखि बुवाले ल्याइदिनुभएका विभिन्न पुस्तक पढ्थिन् । पढ्ने बानीले उनलाई सानैदेखि जिज्ञासु बनायो । उनी क्रमशः पुस्तक बाहिर अतिरिक्त क्रियाकलापमा पनि व्यस्त हुन थालिन् ।

‘स्कुले जीवनमा भलिबल अनि फूटबलसम्म खेल्थें’ बाल्यकाल सम्झिंदै ज्योति भन्छिन्, ‘तर पनि म पढाइमा कक्षाभित्र टप फाइभमै पर्थें ।’

ज्योति प्लस टु गर्न मणिमुकुन्द कलेज बुटवल गइन् । त्यसपछिको पढाइ केन्द्रित भयो, आर्किटेक्ट इन्जिनियरिङ, इन्टेरियर डिजाइनतिर । पढाइ राम्रै चलिरहेको थियो । साथीहरूको लहलहैमा लागेर अमेरिकी सरकारको ‘डीभी’ (डाइभर्सिटी भिसा) मा आवेदन दिएकी उनी भाग्यशाली ठहरिइन् ।

ज्योतिले सोचेकी थिइनन्, डिभी भर्छु, अमेरिका जान्छु । तर उनी सन् २०१७ जुलाइमा अमेरिकाको टेक्सस आइन् । यहींबाट उनको जीवनको नयाँ मोड सुरु भयो । उनले बाल्यकालदेखिको सपना र हुटहुटी साकार पार्ने जमिन भेटिन् ।

दाङबाट अचानक ठूलो शहर टेक्सास पुगेकी ज्योतिलाई त्यहाँ अनुकूलन हुन सजिलो भएन । ‘अंग्रेजी जानेको भए पनि राम्ररी नबुझिने, घुलमिल हुन समय लाग्यो’ उनी भन्छिन्, ‘तर जीवन सिकाइ नै हो, सिकेरै, सुधारेरै पूर्णतातिर जाने प्रक्रिया न जीवन रहेछ ।’

सजिलो के भने अमेरिकामा जस्तोसुकै कामको पनि सम्मान हुने । काम सानो–ठूलो नहुने । नर्सिङ होममा रिसेप्सनिष्टबाट काम सुरु गरेकी उनी ब्युटी सलोनसम्म पुगिन् ।

यही सिलसिलामा ज्योति एयर फोर्सका सेवा निवृत्त सेनासँग घुलमिल भइन् । एयर फोर्सबारे विस्तृतमा बुझ्न पाइन् । यही क्रममा उनमा नयाँ सोच पलायो, अमेरिकी वायुसेनामा भर्ती हुने । समयसँग आफूलाई यति छिटो दौडाइन् कि अमेरिका पुगेको केवल तीन महिनामा नै उनले अमेरिकी वायुसेना बन्ने तयारी थालिसकेकी थिइन् ।

सन् २०१९ मा अमेरिकी वायुसेनामा भर्ती भएसँगै फक्रिएको हो उनको अन्तरिक्ष पुग्ने बाल्यकालीन सपना । हरेक दिन उनको आत्मविश्वास बढ्दो छ । ‘मैले त्यतिबेला आईटी, नर्सिङमा लागेको भए पनि धेरै राम्रो आम्दानी गर्न सक्थें तर, मैले पैसालाई भन्दा आफ्नो सपनालाई रोजें’ उनी भन्छिन्, ‘जीवनको मुख्य लक्ष्यमा केन्द्रित भएकोले नै वायुसेनामा भर्ती भएकी हुँ ।’

१४ महिना लामो प्रक्रियापछि अन्ततः ज्योति अमेरिकी वायुसेनामा छनोट भइन् । ग्रीन कार्ड वा नागरिकतादेखि कम्तीमा प्लस टुसम्म अध्ययन पूरा गरेकै हुनुपर्ने योग्यतासँगै सेनामा भर्ती हुन अरू पनि क्षमता हुनुपर्छ । ‘मेरो तौल कम थियो, तौल बढाएँ । भाषा त महत्वपूर्ण भइहाल्यो’ उनी भन्छिन्, ‘त्यसको अलावा शारीरिक, मानसिक रूपमा फिट रहनुपर्छ नै । सेनामा भर्ती हुँदा अरू पनि विभिन्न टेष्टहरू पास गर्नुपर्छ ।’

अन्तरिक्ष यात्री बन्न वायुसेना नै हुनुपर्छ भन्ने होइन । ‘तपाईंको जुनसुकै पृष्ठभूमिबाट भए पनि सहभागी बन्न सक्नुहुन्छ । तर, कति अब्बल र योग्य हुनुहुन्छ त्यसमा पनि भर पर्दछ’, ज्योतिले भनिन् । जेहोस्, वायुसेना हुँदा अवसर र क्षमता दुवैमा बढोत्तरी हुन्थ्यो । अनि ज्योतिले ११ महिनामा वायुसेनाको तालिम पूरा गरेरै छाडिन् ।

अनि ‘एनालग एस्ट्रोनट’

ज्योतिले एयर फोर्समा काम गर्दैगर्दा साथीहरूबाट एनालग एस्ट्रोनट मिसनबारे जानकारी पाइन् । उनका कतिपय साथी अमेरिका र कतिपयले पोल्याण्डबाट यो अनुसन्धानमा भाग लिइसकेका थिए । स्पेसमा पुग्ने आफ्नो सपना पूरा गर्न कोसेढुंगा बन्न सक्ने भन्दै यो मिसनमा सहभागी बन्न उनी निकै उत्साहित थिइन् ।

‘समय, अर्थ, स्रोत, जनशक्ति यी सबै कुराहरूलाई ध्यान दिएर नै ल्याइएको हो । जुन अन्तरिक्षमा गर्न धेरै खर्चिला हुन्छन् । जनशक्तिको अभाव हुन्छ । त्यसैले पृथ्वीमा नै यस्ता एनालग मिसनहरू गरिन्छन् । त्यो अवसर मैले पाइरहेकी छु ।’

अन्ततः २२ मे २०२२ देखि ११ जून २०२२ सम्म पोल्याण्डको लुनारेस रिसर्च स्टेसनमा ज्योतिले भाग लिइन् । ‘म पहिलो नेपाली–अमेरिकी एनालग एस्ट्रोनट हुन पाएकोमा धेरै खुशी छु’ उनी भन्छिन्, ‘नेपाली युवालाई अमेरिकाभन्दा पोल्याण्ड पुग्न सजिलो हुन्छ, एकप्रकारको प्रेरणा हुनसक्छ भनेर मैले पोल्याण्ड रोजें ।’

उनका अनुसार एक–दुई जना युवा अहिले लुनारेस रिसर्च स्टेसनमा जाने प्रक्रियामा छन् र ज्योतिले उनीहरूलाई सघाइरहेकी छन् । निकै सानो ठाउँमा अन्तरिक्षमा जस्तै वातावरण बनाइएको पोल्याण्डको उक्त स्टेसनमा ज्योति लगायत विभिन्न देशका ५ जना अनुसन्धाताहरूको टोली थियो । ‘मैले सिरियस मिसनको कमान्डरको जिम्मेवारी पाएकी थिएँ । त्यसैले पनि मेरो भूमिका अझ बढी थियो’, उनले आफ्नो अनुभव साटिन् ।

एनालग एस्ट्रोनट ट्रेनिङ एस्ट्रोनट बन्नु अघिको एउटा प्रयोग जस्तै हो । ‘त्यहाँ म अन्तरिक्ष यात्री बन्न सक्छु कि सक्तिनँ, ममा त्यो क्षमता छ कि छैन ? शारीरिकदेखि मानसिक चुनौती कस्तो हुन्छ ? मानसिक चुनौतीको सामना गर्न सक्छु कि सक्दिनँ भनेर एउटा मिसन बनाइएको हुन्छ’ उनले अगाडि थपिन्, ‘एस्ट्रोनटहरूले दुई तीन वर्षसम्म यस्तै तालिम लिएर मात्रै बल्ल स्पेसमा जाने मौका पाउँछन् ।’

इन्जिनियरिङ, मिलिटरी र मेडिसिन तीनवटै क्षेत्रको अनुभवले ज्योतिलाई निकै सहज भयो । ‘म कुन तहमा छु, के के गर्नुपर्छ लगायत सबै आइडियाहरू त्यहाँबाट पायौं । यो एउटा अनुभव त हो नै, साथमा त्यहाँ अवसर पाउनु नै सबैभन्दा ठूलो कुरा हो ।’

एनालग एस्ट्रोनट र एस्ट्रोनटमा के फरक छ ? ‘एनालग भन्ने शब्द भनेकै कुनै पनि चिज लगभग उस्तै, समान वा दुरुस्तै भने जस्तै हो । एनालग अन्तरिक्ष यात्री भनेको अन्तरिक्षको जस्तै लगभग उस्तै अनुभव लिएको भन्ने बुझिन्छ । ‘त्यसैले मैले एस्ट्रोनटको अगाडि एनालग लेख्ने गरेकी छु’, उनले भनिन् । एस्ट्रोनट भनेको अन्तरिक्ष यात्री भयो । जसले अन्तरिक्षको यात्रा गरेको छ ।

एनालग मात्रै नभई एस्ट्रोनटको तालिम पनि पृथ्वीमा नै हुने गरेको उनले बताइन् । नासाले सन् २०१७ देखि यस्ता छोटा मिसनहरू पनि सुरु गरेको उनले सुनाइन् । ‘एस्ट्रोनट मिसन भनेको त्यो तीन, दुई वा एक वर्षको पनि हुन सक्छ । ६ महिनाको पनि हुन सक्छ । यी दुई मिसन करिब–करिब उस्तै छन् तर समय अवधि भने फरक छ ।’

एनालग एस्ट्रोनटबाट समयसँगै आर्थिक बचत पनि हुने उनले बताइन् । ‘समय, अर्थ, स्रोत, जनशक्ति यी सबै कुराहरूलाई ध्यान दिएर नै ल्याइएको हो । जुन अन्तरिक्षमा गर्न धेरै खर्चिला हुन्छन् । जनशक्तिको अभाव हुन्छ । त्यसैले पृथ्वीमा नै यस्ता एनालग मिसनहरू गरिन्छन् । त्यो अवसर मैले पाइरहेकी छु ।’

बसन्त रानाभाट