+

ह्विलचेयरबाट खेलाडी हुँदै सांसद

पूरा सूची
Shares
ह्विलचेयरबाट जीवन यात्राको पाङ्ग्रा गुडाउनु परेपछि लक्ष्मीका सपनासँगै जिन्दगीको गोरेटो पनि मोडियो । त्यही मोडिएको बाटोले उनलाई आज प्रदेशसभा सांसदसम्म ल्याइपुर्‍याएको छ ।
लक्ष्मी घिमिरे

डेढ दशकअघि जीवनमा एक्कासि आइपरेको त्यो दर्दनाक घटना उनी सम्झिन पनि चाहन्नन्, जसले उनको जीवनको लय सदाका लागि बदलिदियो । र, उसैगरी उनको जीवनका हरेक सपना पनि स्मृतिको गर्तमा लगेर विलाइदियो ।

अहिले उनी जुन स्थानमा पुगेकी छिन्, त्यसले उनलाई जीवन–सन्तुष्टि दिएको छ । किनकि, आज उनी जहाँ छिन्, त्यहाँबाट जनताको आवाज बुलन्द गर्न पाइरहेकी छिन् । दुर्घटनावश अपाङ्गता जीवन भोग्न पुगेपछि विस्तारै सम्हालिंदै आएकी रामेछापकी ३० वर्षीया लक्ष्मी घिमिरे अहिले बागमती प्रदेश सभा सदस्य छिन् ।

४ मंसिर २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समानुपातिक सांसद बनेकी लक्ष्मीले प्रदेश सभामा अर्थपूर्ण सहभागिता जनाउँदै आएकी छिन् । ह्विलचेयरको सहारामा घिमिरे प्रदेश सभाका नियमित बैठकमा उपस्थित हुन्छिन् । त्यहाँ प्रस्तुत विधेयकमाथि गहन बहस गरिरहेकी हुन्छिन् ।

चुनावलगत्तै उनले प्रदेश सभा सचिवालयलाई प्रदेश सभाको संरचना अपाङ्गतामैत्री बनाउन ज्ञापनपत्र बुझाइन् । त्यसपछि संसद्मा प्रदेश सभा भवन अपाङ्गतामैत्री बनाउन आवाज पनि उठाइन् । फलतः अपाङ्गता भएकालाई ह्विलचेयर गुडाउने संरचना बनाइयो ।

पहिला संरचना बनाउन लगाएर प्रदेश सभा यात्रा थालेकी लक्ष्मीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ संशोधन गर्न बनेको विधेयकमाथि अपाङ्गता भएकाहरूको सेवा र अधिकारमा चासो राखिन् ।

२४ भदौ २०८० मा बसेको प्रदेश सभा बैठकमा पेश भएको विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ संशोधन गर्न बनेको विधेयकमा उनले सशक्त आवाज उठाइन् ।

‘म कानुन निर्माण क्रममा सक्रियतापूर्वक मत राख्छु, तर सरकारी पक्षले आफ्नै तरिकाले कानुन बनाउने गर्छ’, लक्ष्मी गुनासो गर्छिन् । १९ जेठ २०८० को प्रदेश सभा बैठकमा लक्ष्मीले ‘प्रतिपक्षले आफ्ना धारणा राख्नै नपाउने भए यो संसद् किन चाहियो ?’ भन्ने प्रश्न गर्दा सभामा मौनता छाएको थियो ।

सभामा उनले सरकारको नीति तथा कार्यक्रममा अपाङ्गता सम्बन्धी प्रादेशिक नीति तर्जुमा गरिने भने पनि स्पष्ट रूपमा नआएको बताइन् । सार्वजनिक संरचना अपाङ्गतामैत्री बनाउने सरकारले कार्यक्रममा उल्लेख गरे पनि स्पष्ट नआएकाले कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो ।

‘नयाँ संसद् भवन कहिले बन्छ र म कहिले रोस्ट्रममा गएर बोल्न पाउँछु ?’ लक्ष्मीले भनेकी थिइन्, ‘राज्यलाई अपाङ्गता भएकाहरूले अरू सरह नै कर तिर्छन्, त्यसैले अपाङ्गता भएकाहरूले पनि अरू सरह नै सेवा सुविधा पाउनुपर्छ ।’

उनले सदनमा सार्वजनिक यातायात अपाङ्गतामैत्री हुन नसकेको बताउँदै प्रदेश सरकारले नयाँ ढंगले योजना बनाउनुपर्ने बताएकी थिइन् । तर, उनलाई सरकारले अपाङ्गता भएकाहरूको क्षेत्रमा प्रभावकारी काम गरेको महसुस भएको छैन । ‘सरकारले प्रतिपक्षको कुरा सुन्दो रहेनछ, यो राम्रो होइन’, सदनमा अर्थपूर्ण सहभागिता जनाउँदै आएकी लक्ष्मी भन्छिन् ।

उनी हाल अध्ययनमा पनि व्यस्त छिन् । एक वर्ष अगाडि पत्थरीको शल्यक्रिया गरेपछि काठमाडौंस्थित डेरामै आराम गरिरहेकी उनी हाल काठमाडौं पद्मकन्या क्याम्पसमा राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहेकी छन् ।

‘स्नातकोत्तर अन्तिम वर्ष भएकाले अध्ययन सिध्याउँछु र राजनीतिमा पूर्णरूपमा सक्रिय हुन्छु । खेलाडी पनि भएँ । अब राजनीतिमा सक्रिय भएर देशलाई केही गर्छु’, लक्ष्मी दृढ सुनिन्छिन् ।

स्कुले जीवनमा नेपाली सेना बनेर देश सेवा गर्ने लक्ष्य लिएकी लक्ष्मीको सपना राजनीतितर्फ मोडिएको छ । उनी भन्छिन्, ‘त्यो आर्मी बन्ने कुरा अब नगरौं । के–के भयो भयो । अब राजनीतिमै लाग्छु । अपाङ्गता भएकाहरूका लागि र सिंगो देशलाई केही गर्छु ।’

जीवन लय बिथोलिंदा

करिब १५ वर्ष अगाडि १६ वर्षको उमेरमा एउटा भयानक दुर्घटनामा परेर मेरुदण्डको पक्षघात हुँदा लक्ष्मीको जीवनको लय बिथोलियो । घाँस काट्न जाँदा भीरबाट लडेर लक्ष्मीलाई मेरुदण्डको पक्षघात भयो । ढाडको स्पाइनल नसा च्यापिएपछि शरीरको कम्मर मुनिको भाग नचल्ने भयो ।

त्यसपछि ह्विलचेयरबाट उनको जीवन यात्रा सुरु भयो । दुर्घटना हुँदा उनी स्थानीय जनजागृति माविमा कक्षा ११ पढ्दै थिइन् । दुर्घटनापछि रामेछाप गोकुलगङ्गा गाउँपालिका–४ स्थित घर छाडेर लक्ष्मीको परिवार काठमाडौं सर्‍यो ।
त्यसपछि बी एन्ड बी अस्पताल र पछि छाउनीमा रहेको सैनिक अस्पतालमा एक वर्ष उपचारपछि उनी गाउँ फर्किइन् । २०६८ को दशैं–तिहारपछि भने लक्ष्मी काठमाडौंमै बसेर पढ्ने गरी आइन् ।

काठमाडौंको चामुण्डा माविमा ११ कक्षा भर्ना भएर लक्ष्मीले जीवनको नयाँ अध्याय सुरु गरिन् । पढाइ सँगसँगै उनी खेलकुदमा सक्रिय भइन् ।

आजको दिनसम्म आइपुग्दा परिवारले दिएको साथ उनी भुल्न सक्दिनन् । बुबा शेषनाथ र आमा सीतादेवीले नै पढाउन धेरै दुःख गरेको लक्ष्मी सम्झिन्छिन् । लक्ष्मीका बुबा अवकाशप्राप्त सैनिक र आमा गृहिणी हुन् ।

‘छोरीको भविष्य राम्रो बनाइदिनुपर्छ भनेर बुबाआमाले धेरै दुःख गर्नुभयो’ उनी भन्छिन्, ‘मैले पनि पढाइमा त्यसैगरी ध्यान दिएँ ।’

ह्विलचेयरबाटै खेलाडी हुँदै सांसद

ह्विलचेयरबाट जीवन यात्राको पाङ्ग्रा गुडाउनु परेपछि लक्ष्मीका सपनासँगै जिन्दगीको गोरेटो पनि मोडियो । त्यही मोडिएको बाटोले उनलाई आज प्रदेश सभा सांसदसम्म ल्याइपुर्‍याएको छ । सांसद हुनुअघि उनी बास्केटबल, क्रिकेट, भारोत्तोलनको सक्रिय खेलाडी थिइन् । बास्केटबल टिमको त कप्तान समेत हुन् ।

उनले ह्विलचेयरमै बसेर भारोत्तोलन (पावर लिफ्टिङ) को विश्वकप खेलिन् । सन् २०१८ मा युनाइटेड अरब इमिरेट्स (यूएई) मा आयोजना भएको अपाङ्गता भएकाहरूको भारोत्तोलन विश्वकप प्रतियोगितामा सहभागिता जनाइन् । नेपालमा भएको भारोत्तोलनमा लक्ष्मी २०१९ मा तेस्रो र २०२० मा दोस्रो भइन् ।

लक्ष्मीले २०६८ सालबाट स्पाइनल कर्ड इन्जुरी खेलकुद संघमा आबद्ध भएर बास्केटबल खेल्न सुरु गरिन् । २०६९ बाटै संस्थागत टिमको बास्केटबल कप्तानी गरेकी उनी राष्ट्रिय ह्विलचेयर बास्केटबल टिमको पनि कप्तान हुन् ।

लक्ष्मी सम्मिलित टिम २०२२ मा भारतमा भएको एशिया कप बास्केटबलमा उनको टिम प्रथम भएको थियो । २०१७ मा काठमाडौंमा भारत, बंगलादेश, पाकिस्तान र नेपालबीचको चारदेशीय बास्केटबल स्पर्धामा पनि प्रथम भएको थियो । नेपालमा हाल १० वटा ह्विलचेयर बास्केटबल टिम छ ।

‘मेरो खुट्टा नचले पनि केही गर्छु भन्ने हिम्मत छ । कहिल्यै हार खाएको छैन । पहिलो कुरा आत्मबल बलियो बनाउनुपर्दो रहेछ । साहससाथ अगाडि बढ्दा उपलब्धि भइरहन्छ’ उनी भन्छिन्, ‘मेरो खुट्टाले हिंड्न सक्दैन भनेर अरूसँग तुलना गरेर बसेको भए म अहिले यो अवस्थामा हुन्नथें । मसँग जे थियो, त्यसैबाट केही गर्न सक्नुपर्छ भनेर म सोच्थें ।’

मानव जीवन एकपटक पाउने हुँदा विगत सम्झिएर बाँकी जीवन अप्ठेरोमा पार्न नचाहेको उनी सुनाउँछिन् । ह्विलचेयरकै सहारामा आत्मविश्वास बलियो बनाउँदै अगाडि बढेको उनी बताउँछिन् ।

अपाङ्गता भएपछि संघर्षपूर्ण यात्रा गरेकी लक्ष्मीलाई अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने समाजको नजर परिवर्तनको चिन्ता र हुटहुटी अझै छ । यही चिन्ताको अन्तिम विकल्प राजनीति नै हो भन्ने उनको बुझाइ छ ।

२०७४ सालमा स्थापना भएको साझा पार्टीबाट उनले राजनीतिक जीवन सुरुवात गरिन् । राजनीति सुरु गरेको पाँच वर्षमै सांसद बन्ने थोरै व्यक्तिमध्ये पर्छिन् । अपाङ्गता भएका व्यक्तिको हकअधिकारका लागि राजनीतिमा लागेको बताउने उनी विवेकशील साझा पार्टीको २०७६ मा केन्द्रीय सदस्य र सदस्यता विभाग प्रमुख थिइन् ।

विवेकशील साझामा भएको टुटफुटपछि उनी रवीन्द्र मिश्रको टोलीसँगै १२ असोज २०७९ मा राप्रपा प्रवेश गरिन् । राप्रपाले बागमती प्रदेश सभा सदस्यको समानुपातिकतर्फको बन्द सूचीमा नाम राखे पनि आफू सांसद हुन्छु भन्ने उनलाई लागेकै थिएन ।

‘बन्द सूचीमा नाम परे पनि मलाई सांसद हुन्छु भन्ने लागेको थिएन’ ३ पुस २०७९ मा निर्वाचन आयोगबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिंदै गर्दा अनलाइनखबरसँग लक्ष्मीले भनेकी थिइन्, ‘अपाङ्गता भएका व्यक्तिलाई संसद्मा पुर्‍याएर पार्टीले समावेशिताको उदाहरण पेश गर्‍यो ।’

दलहरूले बन्द सूचीमा अपाङ्गता भएका व्यक्तिको नाम राखे पनि संसद्मा पठाउँदा भने छनोट नगरेकोमा उनको चित्तदुःखाइ थियो । ‘संसद्मा हामी एक–दुई जना मात्र भएर हुँदैन, अपाङ्गता भएका व्यक्तिको संख्या धेरै हुनुपर्छ’, उनले भनेकी थिइन् ।

लक्ष्मीले केही समयअघि काठमाडौंमा भएको अपाङ्गता भएका महिलाहरूको प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै राजनीतिले उपेक्षा गरेको प्रति चित्त दुखाएकी थिइन् । अपाङ्गता भएका व्यक्तिको अधिकारका क्षेत्रमा सक्रिय उनले दक्षिणकोरियामा आयोजित ‘अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि’ मा नेपालको प्रतिनिधित्व पनि गरेकी थिइन् ।

‘अझै पनि अपाङ्गता भएका व्यक्तिलाई हाम्रो समाजले विचरा र दयाको दृष्टिकोणले हेर्ने गर्छ । यही समाज र समाजका मान्छेको सोचाइलाई परिवर्तन गर्ने अन्तिम विकल्प राजनीति नै हो । आफूलाई राजनीतिबाट परिवर्तन सम्भव छ भन्ने लागेर यात्रा सुरु गरेकी हुँ’, लक्ष्मी थप्छिन् ।

– नवीन तिमल्सिना