+

आरोही फिल्ममेकर

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
‘आरोहीलाई हिमाल चढ्ने र सकुशल फर्किने मात्रै ध्यान हुन्छ’ मनिष भन्छन्, ‘सकुशल फर्कने मात्रै हैन, मैले त त्यहाँका दृश्यहरू नछुटाई खिच्नु पनि पर्छ ।’
मनिष महर्जन

सन् २०२३ अप्रिलतिर ३० वर्षीय मनिष महर्जनको कानमा एउटा सूचना पर्‍यो– नर्वेजियन आरोही क्रिस्टिन हरिला नयाँ रेकर्डका लागि नेपाल आउँदैछिन् । उनी छोटो समयमै विश्वका १४ अग्ला शिखरहरू उक्लिएर आरोही निर्मल पुर्जाको रेकर्ड तोड्न चाहन्थिन् ।

मनिषको काम थियो, हरिलालाई पछ्याउँदै सगरमाथा सहित विश्वका अग्ला हिमालहरू उक्लेको दृश्य कैद गर्नु । ८ हजार मिटरका १४ वटा हिमाल उक्लनु चानचुने कुरो होइन, त्यो पनि छोटो समयमै । कम्तीमा हिमाल आरोहणमै जीवन समर्पित गरेका शेर्पाका लागि पनि यो सजिलो काम हैन ।

६ महिना लगाएर १४ वटा हिमाल चढेका निर्मल पुर्जाको काम अद्भुत भएको भनेर नेटफ्लिक्सले उनीमाथि डकुमेन्ट्री नै बनाएको थियो– ‘१४ पिक्स् : नथिङ इज इम्पोसिबल !’ तिनै पुर्जा यतिबेला यौन दुर्व्यवहारको आरोप झेलिरहेका छन्, त्यो बेग्लै प्रसंग हो ।

कीर्तिमान बनाउन खोजेकी आरोही हरिलालाई मात्र हैन, उनको कदम पछ्याउँदै छोटो समयमै अग्ला शिखरहरू चढ्नुका साथै दृश्यहरू खिच्ने जिम्मेवारी बोकेका मनिषलाई अझ बढी चुनौती थियो । मनिषकै भाषामा ‘लगभग असम्भव जस्तै ।’

हिमाल चढ्न भनेर आरोही हरिला र तेन्जिन लामा शेर्पासँग मनिष पनि क्यामेरा बोकेर उकालो लागे । करिब ९२ दिनमै आरोही हरिला र तेन्जिनले नयाँ रेकर्ड बनाए, जुन निकै कठिन काम थियो । त्यसैको साक्षी बने, मनिष । १४ वटा मध्ये ९ वटा अग्ला हिमालहरूको बेसक्याम्पसम्म पुगेर उनले तीे ऐतिहासिक क्षणलाई क्यामेरामा कैद गरे । हरिला र तेन्जिनमाथि अहिले नेटफ्लिक्समा डकुमेन्ट्री बन्दैछ ।

***

अहिलेका सबैभन्दा तेज दौडने धावक किलियन जोर्नेट सन् २०१९ मा नेपाल आएका थिए । मनिष उनलाई पछ्याउँदै सगरमाथाको बेसक्याम्प पुगे । धावकको गतिसँग उनले सगरमाथा उक्लेको दृश्य रोमाञ्जक ढंगले खिचे । पछि त्यो डकुमेन्ट्रीको रूपमा आयो र चर्चा कमायो ।

विश्वकै तेज धावक, विश्वकै अग्लो चुचुरोका फेदमा दौडिएको दृश्यले दुनियाँलाई लोभ्यायो । ध्यान हिमालतर्फ तानियो ।

***

विश्वका १३ अग्ला चुचुरा चढ्ने कान्छा आरोही हुन् निमा रेञ्जी शेर्पा । सन् २०२३ मा उनले १७ वर्षको उमेरमा १३ हिमालहरू उक्लिएर विश्व रेकर्ड बनाए । ती शिखरहरूका बेसक्याम्पसम्म पछ्याउँदै मनिषले उनी हिमाल चढेका दृश्यहरू खिचे । अन्नपूर्ण हिमालमा त उनलाई पछ्याउँदै चुचुरोसम्मै पुगे ।

कान्छा आरोहीले शिखर चढेको विषयमा अहिले मनिषले खिचेको दृश्यहरू समेटेर नेटफ्लिक्सका लागि डकुमेन्ट्री बनाउने तयारी गरिरहेका छन् ।

***

देशमा कोरोना महाव्याधिका कारण लकडाउन थियो । त्यहीबेला सगरमाथा चढ्ने भनेर आइपुगे बहराइनका राजकुमार नेतृत्वको २० जनाको टोली । राजकुमार हिमाल उक्लेको भिडियो खिच्ने जिम्मेवारी मनिषकै काँधमा आइलाग्यो । उनी राजकुमारलाई पछ्याउँदै सगरमाथाको बेसक्याम्पसम्म पुगे ।

मनिषले आफ्नो शिल्प र क्षमता प्रयोग गरेर राजकुमार हिमाल उक्लँदै गरेको रोमाञ्चक दृश्यहरू आफ्नो क्यामेरामा कैद गरे । ‘राजकुमारले मेरो काम मन पराए र खुसी भए’ उनले भने, ‘पछि त्यो भिडियो बहराइनको राष्ट्रिय टेलिभिजनमा प्रसारण पनि गरियो ।’

त्यहीताका मनिषलाई महसुस भयो, ‘यहाँ केही नयाँ कुरा छ ।’ किनकि आरोहीका दृश्यहरू खिच्ने कोही थिएनन् । शेर्पाले क्यामेरा नचलाउने । सीमित थिए, जो गाइडको भूमिकामा बढी व्यस्त हुन्थे । हिमाल उक्लिएर आरोहीका दृश्य खिच्ने जनशक्तिका रूपमा उनले आफूलाई अगाडि बढाउने निधो गरे ।

‘यस्तो जनशक्ति नहुँदा आरोहीहरूले एकदमै महँगोमा विदेशबाटै दृश्य खिच्न मान्छे ल्याउनुपथ्र्याे’ उनले भने, ‘मैले यहींनेर अवसर देखें ।’

सन् २०२० पछि मनिष एड्भेन्चर फिल्म मेकिङमा लागे । नेपालका सर्वाधिक हिमाल आरोहण गराउने कम्पनी सेभेन समिट ट्रेक्स र फोर्टिन पिक्स एक्सपेन्डिचर मार्फत उनी हिमाल चढ्ने आरोहीका दृश्य सामग्रीदेखि डकुमेन्ट्री बनाउने काममा तल्लीन भए । हिमाल चढ्न आउने सबैखाले आरोहीको अद्भुत दृश्यहरू क्याप्चर गर्न मनिषले मिहिनेत गरे ।

‘कीर्तिमानी मात्र होइन, एड्भेन्चरका लागि पनि आरोही आउँछन्’ उनले भने, ‘म उनीहरूका हिमाल आरोहणका दृश्यहरू खिचिदिन्छु ।’ मनिष कीर्तिमानीका लागि विश्वभरबाट नेपाल आएका खेलाडी, सेलिब्रेटी लगायत चर्चित व्यक्तिका हिमालसँगको दुर्लभ दृश्य र ‘अद्वितीय क्षण’ क्याप्चर गरिरहेका छन् ।

‘हिमाल जोखिम थाहा छ, तर जब क्यामरा समाउँछु, ती सबै कुराहरू बिर्सन्छु । फिल्मिङले सबै कुरा ब्यालेन्स गरिदिन्छ’ उनी हाँस्दै भन्छन्, ‘बरु क्यामरा भएन भने चाहिं हिमाल चढ्न सक्दिनँ होला ।’

सबैलाई थाहा छ, हिमाल आरोहण आफैंमा साहसिक र जोखिमपूर्ण काम हो । मनिष थप जोखिम उठाएर यी दृश्यहरू क्यामेरामा कैद गर्दै आइरहेका छन् । जोखिमहरू छिचोल्दै, हिमपहिरोहरूबाट जोगिंदै सिर्जनात्मक ढंगबाट आरोहणका दृश्य क्यामेरामा कैद गर्नु उनको नियमित काम बनेको छ ।

मनिषले खिचेका ती दृश्यहरू नेटफ्लिक्स जस्तो सबैभन्दा विश्वको ठूलो ओटोटी प्लाटफर्ममा डकुमेन्ट्री समेत बनेका छन् । केही डकुमेन्ट्री अझै बन्ने क्रममै छन् । चार वर्षदेखि यही काम गरिरहेका मनिषले एक एड्भेञ्चर फिल्ममेकरको पहिचान स्थापित गरेका छन् ।

विश्वविख्यात आरोही, खेलाडी वा सेलिब्रेटीहरूका पदचिह्न पछ्याउँदै कहिले हिमालका आधारशिविरसम्म त कहिले चुचुरोसम्मै उक्लिएका छन् मनिष । कोही विश्व कीर्तिमान बनाउन त कोही साहसिक अनुभव लिन हिमाल आरोहणमा निस्कन्छन् । मनिष उनीहरूलाई पछ्याउँदै स्वदेश–विदेशका अग्ला चुचुरासम्म पुगेका छन् । हिमाल आरोहणका रोचक दृश्यहरू खिच्छन् ।

यो चार वर्षको दौरान भने मनिषले जोखिम छिचोल्दै प्यासनका रूपमा आफ्नो काम गरिरहेका छन् । ‘हिमाल जोखिम थाहा छ, तर जब क्यामरा समाउँछु, ती सबै कुराहरू बिर्सन्छु । फिल्मिङले सबै कुरा ब्यालेन्स गरिदिन्छ’ उनी हाँस्दै भन्छन्, ‘बरु क्यामरा भएन भने चाहिं हिमाल चढ्न सक्दिनँ होला ।’

हिमालका दृश्यहरू खिच्दाखिच्दै उनी स्वयं पनि हिमालका चुचुरोमा पुग्ने मौका पाएका छन् । विश्वका ८ हजार मिटर माथिका १४ वटामध्ये सबैजसो हिमालका बेसक्याम्पसम्म पुगेका छन्, उनी । २०२० अप्रिलमा उनले विश्वकै अग्लो शिखर सगरमाथा, २०२२ मा मनामस्लु चढे अनि २०२४ मा उनी अन्नपूर्ण ।

छायाँमा शेर्पाका दुःख

हिमालसँग नजिक हुनु भनेको शेर्पा समुदायसँग नजिक हुनु पनि हो । मनिष शेर्पालाई चिन्न, बुझ्न र महसुस गर्न थालेका छन् । डोरी टाँग्ने, गाइड गर्ने, भारी बोक्ने, अक्सिजनदेखि खानासम्म पुर्‍याउने काम अधिकांशतः शेर्पाले नै गर्छन् ।

उल्लेख्य मानिसले विश्व कीर्तिमान बनाउँछन्, तर यसका पछाडि जीवन धरापमा राखेर काम गर्ने शेर्पा समुदाय गुमनाम जस्तै छन् । यसरी आरोहणमा दुःख गर्ने र जोखिम उठाउने शेर्पा तर कीर्तिमान बनाउने अन्य आरोही । ‘डोरी नटाँगी हिमाल चढ्न सकिन्नँ, त्यो सबै काम शेर्पाले नै गर्छन्, कति शेर्पाहरूले यहीक्रममा ज्यान गुमाउँछन्’ मनिषले भने, ‘तर शेर्पाहरूको यस्तो योगदान कसैले मूल्यांकन गर्दैनन् ।’

सन् २०१८ मा सगरमाथा बेसक्याम्पमा आयोजना भएको म्याराथन खिच्न जाँदा सुरु भएको मनिषको यात्रा अब हिमाल आरोहणसम्म पुगेको छ । चर्चित फोटोग्राफर शिशिर महर्जनको क्यामरा लिएर त्यहाँ पुगेका मनिष भन्छन्, ‘त्यतिबेला न म फिल्म मेकिङमा त्यति सिरियस थिएँ, न त यसैमा करिअर बनाउँछु भनेर सोचेकै थिएँ, म त रहरै रहरमा त्यहाँ पुगेको थिएँ ।’

सगरमाथाको बेसक्याम्पमा मनिषले म्याराथन दौडको दृश्य राम्रै खिचे । अमेरिकामा बस्ने छेवाङ शेर्पाले भिडियो मन पराउँदै प्रस्ताव राखे, ‘मनिष, शेर्पाहरूमाथि डकुमेन्ट्री बनाऔं ।’

अर्को वर्ष, त्यही मौसममा मनिष क्यामेरा बोकेर पुनः हिमालतिर पुगे । ‘टु वुइडो’ डकुमेन्ट्री हिमाल चढाउने दुई शेर्पाको मृत्युपछि विधवा भएका दुई जना श्रीमतीको कथामा आधारित थियो । यही कथा पछ्याउँदै हिमाली भेग पुगेका मनिषले भरिया बनेर विदेशीलाई हिमाल चढाउने शेर्पाको मृत्युपछि उनीहरूको परिवारले भोग्ने दुःखको कथालाई दृश्यमा उतारे ।

‘हिमाल चढाउने शेर्पाको जीवनको मूल्य के रहेछ, मैले त्यहाँ देखें’ मनिषले भने, ‘म हिमालसँग मात्र हैन, त्यो समुदायसँग पनि नजिक भएँ ।’ शेर्पाको मृत्युपछि परिवारमा के हुन्छ भनेर दृश्य खिचेको खबर थियो सन् २०१९ तिरको । उनले त्यही बेला देखेका थिए, शेर्पाको मृत्युपछि उसको परिवारमा केसम्म हुन्छ भनेर ।

हिमाल आरोहणमा जीवन समर्पित गरेका गुमनाम शेर्पाहरूको भूमिका देखाउन, नेपालको पर्यटनमा उनीहरूको योगदान अभिलेखीकरण गर्न मनिष शेर्पाहरूको कथा भन्न चाहन्छन् । उनी शेर्पा जनजीवनका अँध्यारा–उज्याला पक्ष र कथाहरू दृश्यमा उतार्न चाहन्छन् । ‘शेर्पा यस्तो समुदाय हो, जसको कथा भनिनुपर्नेछ, लेखिनुपर्नेछ’, उनी भन्छन् ।

यही पृष्ठभूमिमा मनिष सन् २०१९ देखि नै शेर्पाहरूमाथि डकुमेन्ट्री बनाउने काम गरिरहेका छन् । जसले भन्नेछ हिमाल आरोहणमा ज्यान गुमाएका शेर्पा समुदायको परिवारको कथा । यसपछि पनि उनी हिमालका कथा भनिरहन चाहन्छन्– दृश्य सामग्री मार्फत ।

जोखिम छिचोल्दै फिल्मिङ

२०८० वैशाखमा विश्व कीर्तिमानी कान्छा आरोही निमा रेञ्जीको डकुमेन्ट्री खिच्दै मनिष अन्नपूर्ण हिमाल उक्लँदै थिए । ड्रोन सट लिने धुनमा उनी पछाडि छुटे । अगाडिबाट अचानक ठूलो हिमपहिरो खस्न थाल्यो । ‘म त झल्याँस्स भएँ किनकि त्यहाँ म एक्लै थिएँ’ उनले भने, ‘सुरुमा त हिमपहिरोले नभेट्ला भन्ने लाग्यो, तर दृश्य फरक थियो । म त आफैंतिर आइरहेको हिमपहिरोको भयानक दृश्य खिचिरहेको थिएँ ।’

सौभाग्यवशः हिमपहिरो पातलो रहेछ । ‘हिम पहिरोमा परियो भने भाग्ने उपाय हुँदैन’ उनले भने, ‘त्यो हिमपहिरो बाक्लो नभएकोले बचियो, अन्यथा जे पनि हुनसक्थ्यो ।’

हिमालमा अधिकांश मानवीय क्षति हिउँपहिरोले हुन्छ । हिमालमा चढ्न सिपालु र अनुभवी शेर्पा र आरोहीहरूले पनि हिमपहिरोमै परेर ज्यान गुमाइरहेका हुन्छन् । हरिलासँगै ९२ दिनमै हिमाल चढेर विश्व रेकर्ड बनाएका तेन्जिन लामा शेर्पा २०२३ कै अगष्टमा चीनतर्फको हिमपहिरोमा परेर बिते । जबकि उनी हिमाल चढ्ने बलियो र अनुभवी शेर्पा मानिन्थे ।

कति शेर्पाले भिडियो खिच्ने क्रममा ज्यान गुमाएको सम्झँदा मनिषको मनमा एकप्रकारको डर पैदा हुन्छ । तर डरलाई नजिती कहाँ अघि बढ्न सकिन्छ र ?

मनिषले भने, ‘हिमाल आरोहण भनेको पाइलैपिच्छे मृत्युसँग पौंठेजोरी खेल्नु हो किनकि यहाँ कतिबेला के हुन्छ भन्न सकिन्न । हिमालमा कतिबेला मौसम बदलिन्छ, कतिबेला हिउँपहिरो खस्छ, भरै हुँदैन ।’

हिमाल चढेभन्दा थप मुस्किल छ हिमालको फोटोग्राफी । एड्भेन्चर फिल्ममेकिङमा त पटक–पटक जोखिम मोल्दै आरोहीसँगै हिमाल चढ्नुपर्छ र जोगिंदै दृश्यहरू खिच्नुपर्छ । ‘आरोहीलाई चढ्ने र सकुशल फर्किने मात्र ध्यान हुन्छ’ मनिष भन्छन्, ‘चढेर सकुशल फर्कने मात्र हैन, मलाई त त्यहाँको दृश्यहरू नछुटाई खिच्नुपर्छ, मोमेन्टहरू क्याप्चर गर्नुपर्छ ।’

अझ विशेष ख्याल गर्नुपर्छ कीर्तिमान बनाउन आएका आरोही र नेटफ्लिक्स जस्ता ठूला डकुमेन्ट्रीमा काम गर्दा । ‘हरेक दृश्य कलात्मक र एड्भेन्चर शैलीमा खिच्नुपर्छ’ उनी भन्छन्, ‘प्रत्येक दृश्य एकदमै ध्यान दिएर खिच्नुपर्छ । एकचोटि छुट्यो भने त्यो फेरि खिच्न सकिंदैन ।’

९२ दिनमै १४ अग्ला हिमाल चढेर विश्व कीर्तिमान राखेकी क्रिष्टिन हरिलासँग काम गर्दा मनिषलाई त्यस्तै भयो । विश्वकै अग्ला हिमालमा छोटो समयमै चढ्नुपर्ने थियो । क्रिष्टिन सँगसँगै सगरमाथा सहित ९ वटा हिमालसम्म पछ्याए । उनले ९ वटा हिमालका बेसक्याम्पसम्म पुगेर डकुमेन्ट्रीका लगि एड्भेन्चर दृश्य क्यामरामा कैद गरे ।

कति शेर्पाले भिडियो खिच्ने क्रममा ज्यान गुमाएको सम्झँदा मनिषको मनमा एकप्रकारको डर पैदा हुन्छ । तर डरलाई नजिती कहाँ अघि बढ्न सकिन्छ र ?

हिमालका सदृश्य कथावाचक

मनिष आरोहीले हिमाल चढेको दृश्य कैद गरेर विश्वसामु नेपालका हिमालको कथाहरू भनिरहेका छन् । कीर्तिमानी आरोही, धावक, सेलिब्रेटी लगायतका विश्व चर्चित व्यक्तिहरू मार्फत उनले नेपालको अद्भुत दृश्यहरू विश्वभर पुर्‍याइरहेका छन् । नेटफ्लिक्ससँग काम गरिरहेका छन् ।

नेटफ्लिक्समा निर्मल पुर्जाको १४ वटा हिमाल चढेको डकुमेन्ट्री बनेपछि आरोहण व्यवसाय बुम भएको थियो । त्यसपछि त ती शिखरहरू चढ्ने आरोहीको लहर नै सुरु भयो । मनिषले नेटफ्लिक्सकै ‘आवर लिभिङ वल्र्ड’ डकुमेन्ट्रीको नेपालमा खिचिएको दृश्यहरूमा काम गरेका छन् ।

उनी अहिले नेटफ्लिक्सले नै निर्माण गरिरहेको क्रिष्टिन हरिला र निमा रेञ्जी शेर्पाको दुइटा डकुमेन्ट्रीका लागि दृश्य खिचिरहेका छन् । अहिले त्यसको पोस्ट प्रोडक्सनको काम भइरहेको छ र केही समयमै विश्वभर प्रदर्शन हुनेछ ।

त्यसअघि मनिषले सगरमाथाको बेसक्याम्पबाट ३६० डिग्रीमा खिचिएको विश्व चर्चित र केही अवार्ड पाएको डकुमेन्ट्री ‘द क्वेस्ट’ मा समेत केही दृश्यहरू खिच्ने काम गरेका छन् । प्रयोजन जे भए पनि उनले अन्ततः हिमालकै कथा भनिरहेका हुन्छन् । नेपालका हिमशिखरका रोमाञ्चक दृश्यहरू विश्वका मानिससामु देखाइरहेका छन् ।

‘यहाँ खिचेका दृश्यहरू डकुमेन्ट्री बनेर विश्वका कुना–कुनामा हेरिन्छन्’ मनिषले भने, ‘त्यसले अरूलाई पनि हिमालतिर डोर्‍याएर ल्याइरहेको हुन्छ ।’ धावक किलियनको डकुमेन्ट्री प्रदर्शनमा आएपछि विश्वका धेरै धावक हिमाल आरोहणमा आइपुगे ।

केही वर्षअघि अमिताभ बच्चन सहितको टोली सगरमाथामा सुटिङका लागि आए । फिल्म रिलिज भएपछि सगरमाथा चढ्न आउने भारतीयको भीड नै लाग्यो । फिल्मको प्रभाव सामान्य छैन । ‘हामीसँग भएका हिमाल, प्राकृतिक सुन्दरतालाई विश्वसामु देखाउने सशक्त माध्यम सिनेमा हो’ उनी भन्छन्, ‘यस्तै कामहरूले हाम्रो पर्यटन उकास्न भूमिका खेलिरहेको हुन्छ ।’ र, त अहिले संसारभरबाट हिमाल चढ्न आउने आरोहीको संख्या बढिरहेको छ ।

आभास बुढाथोकी