+

मिटरब्याज पीडितका सारथि

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
मनोज पासवानले सानैदेखि गाउँघरका मिटरब्याजी साहु, महाजन देखे; तिनको शोषण खेपे । अनि पीडितको रोदन र वेदना सुने । उमेरसँगै विस्तारै उनीभित्र सुदखोरहरू विरुद्ध अभियान चाल्ने अठोट पनि हुर्कंदै गयो ।
मनोज पासवान

साउन महिनाको दोस्रो दिन, मध्याह्न १२ बजे । दुई दिनसम्म धनुषा र महोत्तरीका गाउँमा मिटरब्याज (अनुचित ब्याज) पीडित भेटेर घर फर्किएका थिए मनोज पासवान (३२) । आँगनमा मोटरसाइकल रोकेर पिठ्युँमा बोकेको कालो झोला बरण्डाको खाटमा फाले । श्रीमती जिवछीले आम्खोरामा दिएको चिसो पानी घटघट पिए । पसिनाले भिजेको शरीर, मुढामा थचक्क बसे ।

‘आज दुई दिनपछि घर फर्कें । प्रायः घर बाहिर हुन्छु । पीडित साथीहरूले छलफल, भेलाहरू राख्ने गर्नुहुन्छ । त्यहाँ पुग्नैपर्छ’ मनोज भन्छन्, ‘पीडितको नेतृत्व गरेपछि यति त गर्नैपर्छ ।’ अनलाइनखबरसँग कुरा गरिरहँदा पनि मनोजको फोनको घण्टी पटक–पटक बजिरह्यो । बिहान उठेदेखि राति ओछ्यानमा पुग्दासम्म उनलाई यसरी नै फोन आउँछ मिटर पीडितको ।

‘मधेशमा मिटरब्याजको समस्या भयावह छ भन्ने जनाउ हो मेरो फोनमा बज्ने घण्टी । कुनै दिन त सयभन्दा बढी फोन आउँछन्’ उनी भन्छन्, ‘हामीले संगठित संघर्ष गरेपछि प्रशासनमा हजारौं पीडितले उजुरी दिएका छन् । चेतना आएको छ । केहीले न्याय पनि पाएका छन् ।’

हाल देशमा भइरहेको केही प्रमुख घटनामध्ये मिटरब्याज पीडितको आन्दोलन पनि एक हो । समाजमा सामान्य साक्षर पनि नरहेको पीडित समूहको यो आन्दोलनले अहिले मुलुकमा जुन उचाइ लिएको छ, त्यसको एक कुशल कोरियोग्राफर हुन् मनोज ।

तर मनोजका विचारमा धेरै उत्साहित हुनुपर्ने अवस्था छैन, किनकि अझै धेरै नागरिक अन्यायमा छन् । सिरहाको औरही गाउँपालिका वडा नम्बर ४ इटाटारका ३२ वर्षीय मनोज मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष हुन् । आफैं मिटरब्याज पीडित मनोज पीडितले गुनासो मात्रै राख्न पाउँदाको अनुभूति महसुस गर्न सक्छन् ।

न्यायको अप्ठ्यारो बाटो

२०६५ सालतिर मनोजका दाइ विनोदले वैदेशिक रोजगारीमा जान दुई जना स्थानीय साहुबाट ५०–५० हजार रुपैयाँ ऋण लिएका थिए । सयकडा ३ रुपैयाँ (वार्षिक ३६ प्रतिशत) ब्याजदरमा लिइएको ऋणको ३ गुणा बढीको कपाली तमसुक बनाइएको रहेछ । यसले मनोजको परिवारलाई आर्थिक संकटतिर धकेल्न थाल्यो ।

मनोजका अनुसार, गाउँकै साहु जोधन सिंहले ५० हजार ऋणको ब्याजको स्याज पनि असुल गरे । केवल ५७ हजार रुपैयाँ तिर्न बाँकी हुँदा उनले जालझेल गरेर जिल्ला अदालतमा कपाली तमसुकको आधारमा मुद्दा दर्ता गरे । मनोजको परिवारको बाजेको नाममा रहेको ७ कट्ठा घडेरी ‘डाक लिलाम’ गरेर कब्जा गरे । यसरी साहुले हडपेको जग्गा फिर्ता भएको छैन । मनोज भन्छन् ‘अहिले मेरो ध्यान त्यता छैन ।’

उक्त जग्गा साहुले अरू कोही स्थानीयलाई बेचे । बाल्यकालमा व्यहोरेको यो घटनाले मनोजलाई गहिरो गरी छोयो । उनले गाउँघरका मिटरब्याजी साहु महाजन देखे । तिनको शोषण, दमन खपे । अनि पीडितको रोदन र वेदना सुने । यसले विस्तारै उनीभित्र सुदखोरहरू विरुद्ध अभियान चाल्ने प्रतिज्ञा हुर्कंदै गयो ।

हाल देशमा भइरहेको केही प्रमुख घटनामध्ये मिटरब्याज पीडितको आन्दोलन पनि एक हो । समाजमा सामान्य साक्षर पनि नरहेको पीडित समूहको यो आन्दोलनले अहिले मुलुकमा जुन उचाइ लिएको छ, त्यसको एक कुशल कोरियोग्राफर हुन् मनोज । जतिसुकै बेला लोभ र डर देखाएर बिथोल्न सकिने वर्गको आन्दोलनलाई सघाउनु मात्रै पनि जोखिमपूर्ण काम हो, जुन मनोज गरिरहेका छन् ।

आन्दोलनका शृङ्खला चलिरहँदा कतिपय पीडितले न्याय पनि पाएका छन् । मनोजको नेतृत्वमा मधेशका बाँकी पीडितमा पनि न्याय पाउने आशा जागेको छ । आन्दोलनको नेता भएकोले उनी हजारौं पीडितको भरोसाका केन्द्र हुन् ।

दलित परिवार, कमजोर आर्थिक अवस्थाले गाउँ–समाजमा कुनै अभियानको नेतृत्व गर्ने कुरा सोच्न पनि मुस्किल थियो । तर, राजनीतिमै लागेको कारण बुवाले स्थानीय मुद्दामा गाउँमा निर्धक्कसँग बोलेको सुनेका मनोजमा पनि विस्तारै आत्मबल बलियो हुँदै आयो ।

कुराकानी हुँदै गर्दा मनोजको घर आइपुगेका बरियारपट्टी गाउँपालिका १ का रामनाथ यादवले मिटरब्याज पीडितहरूको अभियानको खुलेर प्रशंसा गरे । ‘एक लाख ऋणको साटो मेरो ४० लाखको घडेरी साहुले जालझेल गरेर हत्याइसकेको थियो’ उनी भन्छन्, ‘मनोजले यो अभियान नथालेको भए मेरो घडेरी साहुको भइसक्थ्यो, धन्न ३ लाख तिरेपछि फिर्ता पाएँ ।’

त्यसैले रामनाथ जस्ता धेरै पीडितले मनोजलाई असाध्यै विश्वास गर्छन् । यही विश्वासको बलमा उनले अभियानको नेतृत्व गरिरहेका छन् । समाजका उपल्लो र शक्तिशाली भनिनेहरूबाट उनले तिरस्कार र धाकधम्की व्यहोरेका छन् । तर, जब न्याय पाएपछि कुनै पीडितको अनुहारमा खुसी देख्छन्, उनको छाती गर्वले फुल्छ ।

‘मैले अभियान थाल्छु भन्दा यो दलित, गरिब केटाले के गर्न सक्छ र भन्दै कतिपयले कुरा काटे’ मनोज भन्छन्, ‘पीडितहरूलाई संगठित गरेपछि आन्दोलन चर्कन थाल्यो, म आबद्ध पार्टी माओवादीकै कतिपय नेताले यसो नगर्न दबाब दिन थाले ।’

उनीहरूको तर्क हुन्थ्यो– सरकार माओवादीकै छ, आन्दोलन चर्काउँदा पार्टीलाई अप्ठ्यारो पर्न सक्छ । तर मनोजले वास्ता गरेनन् । पार्टी स्वार्थ भन्दा माथि राखे मिटरब्याज पीडितलाई । उनको तर्क हुन्थ्यो– ‘यो पीडितको लागि न्यायको आन्दोलन हो, यसमा सबैले सहयोग गर्नुपर्छ ।’

अँध्यारोमा बलेको बत्ती

मधेशमा मिटरब्याजको समस्या नयाँ विषय होइन । साहु, महाजनको जालझेल र शोषण यहाँको समाजमा सामान्य संस्कृति बनिसकेको छ । सबै मिटरब्याजी उस्तै नभए पनि मिटरब्याज मार्फत निमुखाको शोषण चाहिं उस्तै छ । आश्चर्यलाग्दो पक्ष के हो भने– राज्यका अंग भनिने, संसद्, सरकार र न्यायालय समेत निमुखाको पक्षमा रहेनन् ।

त्यसैले सुदखोरीको कहरले घरबार नै बर्बाद भए पनि पीडितले कहिल्यै सेठ साहुकार र सुदखोर विरुद्ध बोल्ने आँट र साहस देखाएका थिएनन् । तर, समयक्रममा पीडितका पक्षमा बोल्ने मनोज जस्ता युवाहरू अगाडि उभिन थालेपछि हजारौं पीडितहरू आन्दोलनमा उत्रिए । समाज र राज्यका निकायलाई औंला उठाएर उनीहरूले भन्न थाले– ‘यो ज्यादती हो ।’

स्कुल पढ्दा रामबालक नामका सरले गाउँका सुदखोरका शोषणका किस्सा सुनाउँथे मनोजलाई । २०६४ सालमा प्रवेशिका परीक्षा दिएपछि मनोजको मनमा कुनै बेला मिटरब्याज विरुद्ध संघर्ष छेड्ने अठोट आएको थियो ।

‘स्कुलमा सरले किस्सा सुनाउनुहुन्थ्यो, आफ्नै जीवनमा पनि भोगियो । गाउँघर, समाजमा धेरै पीडित देखें’ उनी भन्छन्, ‘एउटा पुस्ता सुदखोरको चपेटामा पर्दा तीन/चार पुस्ता थला पर्ने थाहा पाएँ । यही ज्ञानले मलाई मिटरब्याज विरुद्धको अभियान थाल्नुपर्छ भन्ने सोच आयो ।’

कक्षा १२ पढेपछि मनोज घर–व्यवहारमा लागे । बुवा वैद्यनाथ पासवान एमालेको राजनीति गर्थे । मनोज चाहिं युथ फोर्समा संगठित थिए । २०७० सालमा उनी माओवादी केन्द्र निकट युवा संगठन वाईसिएलमा लागे ।

दलित परिवार, कमजोर आर्थिक अवस्थाले गाउँ–समाजमा कुनै अभियानको नेतृत्व गर्ने कुरा सोच्न पनि मुस्किल थियो । तर, राजनीतिमै लागेको कारण बुवाले स्थानीय मुद्दामा गाउँमा निर्धक्कसँग बोलेको सुनेका मनोजमा पनि विस्तारै आत्मबल बलियो हुँदै आयो ।

‘गरिब परिवारबाट भए पनि सक्रिय राजनीतिमा लागेर गाउँ–समाजमा निर्धक्कसँग बोल्न सक्ने आत्मबल र प्रेरणा बुबाबाट पाएको’ बताउने मनोज भन्छन्, ‘त्यसैले यो अभियान चलाउन सक्छु भन्ने आँट पहिलेदेखि नै थियो ।’

महोत्तरी भंगहा–४ का युवा अभियन्ता संघर्ष दाहालसँग मनोजको फेसबुकबाट चिनजान भयो । २०७८ सालको अन्त्यतिर दाहाल सहित हुलाकी राजमार्गको यात्रामा निस्किएका युवाहरूसँग भेट भयो । त्यही यात्रामा मिटरब्याज समस्या बारे औरही गाउँमा छलफल भयो ।

मिटरब्याज विरुद्ध अभियान चलाउनै पर्ने निष्कर्ष निकालेको केही समयपछि उनीहरूले लेखक रामरिझन यादव लगायत बुद्धिजीवी र अगुवाहरूसँग सल्लाह लिए । जब मिटरब्याज समस्या ‘मधेशको ठूलो रोग’ हो भन्ने साझा निष्कर्ष निस्कियो, मनोज यो आन्दोलनमा नेतृत्व गर्न कस्सिए ।

युवाहरू पीडितलाई कुरा बुझाउँदै हौसला भर्न थाले । अब विस्तारै मुद्दा बोकर प्रहरीदेखि जिल्ला प्रशासन कार्यालयसम्म पुग्न थाले । तर, प्रहरी र प्रशासनले मिटरब्याज विरुद्धको कानुन नभएकाले पीडितको पक्षमा केही गर्न नसक्ने भनेर फर्काए । अनि उनीहरूलाई लाग्यो– एक्लै हिंडेर हुन्न । अब पीडितलाई संगठित गर्नुपर्छ ।

पीडित जागे, झुक्यो सरकार

विस्तारै उनी सञ्चारमाध्यममा आएका खबर पढ्दै पीडित भेट्न थाले । घरघर पुग्दै किन संगठित हुनुपर्छ भनेर बुझाउन थाले । सुरुमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायत जिल्लामा पुगेर पीडितसँग भेट गरे ।

यसपछि सुरुमा सिरहाको मिर्चैयामा १० साउन २०७९ मा मधेशका मिटरब्याज पीडितहरूको भेला भयो । भेलाले मनोजको संयोजकत्वमा मिटरब्याज पीडित संघर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनको घोषणा गर्‍यो ।

१५ साउन २०७९ मा जनकपुरधाममा रहेको मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ गर्दै पीडितहरूले लालबाबु राउतलाई ज्ञापनपत्र बुझाए । भेला, प्रदर्शन र ज्ञापनपत्रसम्म आइपुग्दा नेतृत्वको मात्रै होइन, पीडितको पनि आत्मबल बढ्दै गयो । मनोजले मधेशका जिल्लामा दौडधुप गरेर जिल्लास्तरीय समिति बनाउन थाले र बीच–बीचमा दबाबमूलक आन्दोलन गरिराखे ।

सुरुआतमा सरकारले सुनेन । ‘सुरुमा हामी भेट्न जाँदा पीडित डराउँथे तर सम्झाउने, बुझाउने र हौसला दिने गरेपछि उनीहरू डराउन छाडे’ मनोज भन्छन्, ‘सुरुमा संगठित गर्नै गाह्रो थियो । बल्लबल्ल संगठित गरेर आन्दोलन गर्‍यो, सरकारले सुन्दै सुन्दैनथ्यो ।’

पीडितहरूले जिल्ला प्रशासन कार्यालयहरूमा निवेदन दिन थाले, निवेदनमाथि सुनुवाइ हुन थाल्यो । केही पीडितहरू साहु–महाजनले हत्याएका सम्पत्ति फिर्ता पाउन सफल पनि भए । तर अझै पनि धेरै पीडितहरू न्यायको पर्खाइमा छन् ।

यसपछि आन्दोलनकारीलाई लाग्यो, सामान्य संघर्षले हुँदैन । र, उनीहरूले योजना बनाए मधेशबाट पैदल मार्चपास गर्दै संघीय राजधानी काठमाडौं गएर आन्दोलन गर्ने । अनि मनोजको नेतृत्वमा २ चैत २०७९ मा महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु भयो । बर्दिबासबाट पथलैया, हेटौंडा, चितवनहुँदै ११ दिनमा १२ चैतमा आन्दोलनकारी काठमाडौं पुगे ।

६ दिनसम्म आन्दोलनले राजधानीको सडक तताएपछि सरकार आवाज सुन्न बाध्य भयो । १८ चैत २०७९ मा सरकार र आन्दोलनकारी बीच पाँचबुँदे सहमति भयो । पीडितको समस्या समाधान गर्न अनुचित लेनदेन (मिटरब्याज सम्बन्धी) जाँचबुझ आयोग स्थापना गर्ने, गुनासो सम्बोधनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय समन्वय/सहजीकरण समिति गठन गर्ने लगायत सहमति भयो ।

त्यसपछि विशेष अदालतका मुख्य न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग बन्यो । १७ वैशाख २०७९ को दिन मधेशको राजधानी जनकपुरधाममा सरकारले आयोगको केन्द्रीय कार्यालय स्थापना गर्‍यो ।

पीडितहरूले जिल्ला प्रशासन कार्यालयहरूमा निवेदन दिन थाले, निवेदनमाथि सुनुवाइ हुन थाल्यो । केही पीडितहरू साहु–महाजनले हत्याएका सम्पत्ति फिर्ता पाउन सफल पनि भए । तर अझै पनि धेरै पीडितहरू न्यायको पर्खाइमा छन् ।

‘हजारौं उजुरी अहिले पनि प्रहरी प्रशासनमा थन्किएका छन् । मिटरब्याज पीडितमाथि कुटपिट, धम्की र दुर्व्यवहारका घटना हुने गरेका छन्’ मनोज भन्छन्, ‘जिल्ला प्रहरीमा हुने छलफलमा प्रहरी प्रभावित भएर मिटरब्याजीको पक्ष र पीडितको विपक्षमा भूमिका खेलेको थुप्रै गुनासो आउने गरेका छन् ।’ मनोजलाई अझ बलियो आन्दोलन नभई यो समस्या पूर्णतः समाधान हुँदैन भन्ने लागेको छ ।

बुवा वैद्यनाथ, आमा रामपरीसँगै मनोज दुई दाजुभाइसँग सगोलमै बस्छन् । साथमा छन् मनोजकी पत्नी जिवछी, ४ वर्षीय छोरा प्रभाकर र तीन वर्षीया छोरी शिखा । यो परिवार नै छिमेकीको १५ कट्ठा खेत अधियाँमा कमाउँछन् । त्यसैले मनोजले कक्षा १२ पछि पढ्न पाएनन् ।

पल्लो गाउँका रामचन्द्र दास मनोजका कारण धेरै पीडितले न्याय पाएकोमा खुशी छन् । मनोज भेट्न घरमै आइपुगेका बरियारपट्टी गाउँपालिका ४ का विशेश्वर यादव भन्छन्, ‘म पनि साहुकै फन्दामा परेको छु । समस्या सुनाउन उहाँसित भेट्न आएको हुँ ।’

हिजो गरिब दलितको छोरोले के गर्न सक्छ भन्दै मानिसले हियाएको सम्झन्छन् मनोजका बुवा । ‘एकजना गरिब दलितको छोराले नेतृत्व गरेको अभियानले धेरै पीडितको उद्धार भएको छ’ उनी भन्छन्, ‘अहिले पनि छोरो धेरै पीडितको आशा, भरोसा बनेको छ । मेरो लागि योभन्दा खुसी के हुन्छ र ?’

शैलेन्द्र महतो