
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित ज्ञानकुपमा १४ वर्षदेखि सञ्चालनमा छ, एउटा बालवात्सल्य आश्रम । १३ जना बालबालिका हुर्किरहेका छन् । यो धर्तीमा पाइला टेक्न कसको कोखबाट आएँ भन्ने उनीहरूलाई थाहा छैन । तर, मातृत्वको सुखानुभूतिबाट भने वञ्चित छैनन् ।
यो कसरी सम्भव भयो भनेर थाहा पाउन आश्रमकी मीरा माता अर्थात् मीरा साह (५१) को जीवन कथा थाहा पाउनुपर्छ । कैयौं रात जागै, कति दिन भोकै बसेर ती बालबालिका हुर्काइरहेकी छन् उनी । दुई सन्तानकी आमा मीराले आफैंले जन्माएका सन्तान हुर्काउँदा त्यति कष्ट व्यहोर्नु परेन, जति बेसहारा बालबालिकाको स्याहार गर्दा व्यहोर्नु परेको छ ।
मीराका लागि भौतिक रूपले जति कष्टकर भए पनि भावनात्मक हिसाबले यो सबभन्दा खुसी र गर्व लाग्ने काम हो । ‘मान्छे धर्मका लागि नदेखिने भगवानको पूजा गर्छन्, तर मैले जिउँदा मान्छेलाई देवता मानेर पुज्ने अवसर पाएकी छु’ ११ फागुन २०८० बिहान आश्रमको बरण्डामा अनलाइनखबरसँग कुरा गर्दै मीरा भन्छिन्, ‘कसैको जीवन बनाउन योगदान दिन पाएकी छु, योभन्दा खुसी लाग्ने कुरा के हुन्छ र ?’
भनिन्छ आमाका लागि ईश्वर र सन्तान समान हुन्छन् अनि सबै सन्तान बराबरी पनि । मीराका लागि पनि आफूले जन्माएका र भगवानले जुराएका सबै सन्तान बराबर छन् । उनले भनिन्, ‘आफ्नो कोखबाट जन्माएका र भगवानले दिएका यी छोराछोरीमा कुनै अन्तर छैन ।’
जनकपुरधाममा रहेको सन्त सत्यनारायण आलोकले १४ वर्षअघि स्थापना गरेको यो आश्रममा यी बालबालिका हुर्कंदै छन् । त्यहाँसम्म उनीहरू कसरी पुगे र कसरी हुर्कंदैछन् यी लालाबाला ? यसका पछाडि मीराको संघर्षपूर्ण कथा जोडिएर आउँछ ।
मीराले हरेक दिन बिहान ३ बजे ओछ्यान छाड्नुपर्छ । नित्यकर्म र कविरका लागि गर्ने ध्यान बाहेक उनको आफ्नो काम भन्ने केही हुन्न । त्यसैले जनकपुरधाम राम्ररी जागा हुन नपाउँदै सुरु हुन्छ उनको दिनचर्या ।
बच्चाका लागि खाजा–नास्ताको व्यवस्था गर्नु, उनीहरूलाई ब्युँझाउनु, सक्नेलाई सरसफाइ गर्न लगाउनु, नसक्नेलाई आफैंले गरिदिनु, खाना खुवाउनु र तयार पारेर विद्यालय पठाउनु उनको नियमित काम हो । यो काम बिहानको ८ बजेभित्र सक्नुपर्छ । उनी भन्छिन्, ‘३ बजे म आफैं उठिन भने आश्रममा खीर, हलुवा खिचडी वा दालभात बन्दैन । अनि बालबच्चाको स्कुल छुट्छ ।’
बच्चाहरू स्कुल गएपछि पनि उनी ढुक्कले बस्न पाउँदिनन् । आश्रमको सरसफाइ र गाईवस्तुको हेरचाहमा दिन बित्छ । अपराह्न ३ बजेदेखि विद्यालयबाट फर्किने बच्चाहरूलाई खाजा खुवाउने, गृहकार्य गराउने अनि खाना खुवाएर सुताउने काम गर्नुपर्छ । यति काम सकेर मीरा सुत्ने बेलासम्म कहिले त रातको ११ बजिसकेको हुन्छ ।
फालिएको नवजात रोएको त्यो आवाज
माता मीरालाई यो पुन्य कार्यमा जोड्न एउटा अनौठो संयोगले काम गरेको छ । अंग्रेजी विषयका प्राध्यापक सत्यनारायण आलोकले जनकपुरमा २०६२ सालमा कविर सत्संग आश्रम खोलेका थिए । आश्रममा ध्यान सत्संग हुन्थ्यो ।
२०६६ सालको साउन महिनाको कुनै एक दिन आलोक ‘मर्निङ वाक्’ मा थिए । उनले आश्रम नजिकैको ज्ञानकुप स्कुलको छेउमा बच्चा रोएको आवाज सुने । कपडामा बेरेर फालेको सालनाल सहितको नवजात शिशु थियो, त्यो ।
सिकिस्त अवस्थाको त्यो शिशुको तौल स्वस्थ शिशु भन्दा धेरै कम थियो । उपचारका लागि स्थानीय अस्पताल चहारे । नपुगेर भारतको दरभंगासम्म पुर्याए । उपचार गरेर फर्किएपछि ती बच्चा स्याहार गर्ने उपाय खोजियो ।
आश्रममा सत्संग गर्न आउने मीरालाई आलोकले बच्चाको बारेमा बताएर स्याहार गर्ने जिम्मेवारी लिइदिन अनुरोध गरे । मातृत्वको अनुभव भएकी मीराले आलोकको आग्रह इन्कार गर्न सकिनन् । अनि सुरु भयो यो पुण्य कार्य । मीराले नै ‘छटिहार’ गरेर विधिवत् रूपमा ती शिशुको नाम राखिन्, देशना ।
त्यसपछि जनकपुरधाम वरपर फेला पर्ने बेवारिसे शिशु आश्रममा थपिन थाले । गर्भमै तुहाउन खोजिएका तर सम्भव नभएका, सामाजिक र आर्थिक कारणले परित्याग गरिएका र अरू कुनै कारणले फालिएका त्यस्ता बच्चाको संरक्षण गृह भयो यो आश्रम । आश्रमकी माता मीरा भन्छिन्, ‘यसरी भेटिएको शिशु बचाउन र स्याहार गर्न सामान्य शिशु भन्दा धेरै कष्ट हुन्छ ।’
आश्रममा रहेका यी बालबालिकाको दिसापिसाव तथा लुगाफाटो धुने, खुवाउने, बिरामी पर्दा उपचार गर्ने असजिलो काम मीराको जिम्मामा छ । त्यसमा पनि समय नपुगी जन्मेका, आमाले धेरै औषधि सेवन गरेका कारण गर्भमै अस्वस्थ भएर जन्मिएका चार शिशुहरूलाई उनले बचाउन सकिनन् । उनी भन्छिन्, ‘धेरै प्रयास गर्दा पनि उनीहरू रहेनन् । पीडाले आश्रममा छाक छोड्यौं ।’
मीराको योगदानलाई नजिकबाट थाहा पाउने एकजना व्यक्ति आलोक नै हुन् । उनी भन्छन्, ‘आज यहाँ जति बालबालिका छन् र जुन वातावरणमा उनीहरू हुर्किरहेका छन् यसको पछाडि माता मीराको ठूलो योगदान छ । उहाँ नभएको भए यो आश्रममा यी बालबालिकाले यस्तो जीवन पाउने थिएनन् ।’
आश्रममा स्याहार पाउने पहिलो सन्तान हुन्, देशना । उनी १४ वर्षकी भइन् । त्यस बाहेक १५ वर्षीया आराधना, १३ वर्षीया साधना, १२ वर्षीया बन्दना, ११ वर्षीय चिराग, ९ वर्षीय प्रवीण र करण, ७ वर्षीया करुणा, ६ वर्षीया सोना र सान्त्वना, ४ वर्षीया हिरा र रूपा अहिले विद्यालय जान्छन् ।
उनीहरू नर्सरीदेखि कक्षा ६ सम्म जनकपुरको राम्रो मानिने अक्षरविद्या मन्दिर स्कुलमा पढ्छन् । सानैदेखि सुस्त मनस्थितिकी आराधना र उमेर सानै भएकोले साढे दुई वर्षकी रचना स्कुल जाँदैनन् ।
बालबालिका ठूला हुँदै जाँदा कहिलेकाहीं आश्रममा प्रश्नहरू जन्मिन थालेका छन् । कतिपयले माता मीरा उनीहरूकी वास्तविक आमा होइनन् उनले त फालेका बच्चाहरू उठाएर पाल्न ल्याएकी हुन् भनिदिंदा बालबालिकाहरू गुनासो गर्न आउँछन् । मीरा भन्छिन्, ‘म नै तिमीहरूकी आमा हुँ, अरूको कुरामा वास्ता नगर भन्छु अनि सबै जना पत्याएर जान्छन् । सबैले मलाई ममी भन्छन् ।’
९ कक्षासम्मको पढाइ, १२ वर्षमा विवाह
महोत्तरीको लोहारपट्टीमा ५१ वर्षअघि जन्मिएकी माता मीराको वास्तविक नाम मीरा साह हो । उनले ९ कक्षासम्म पढ्ने अवसर पाइन् । आर्थिक अवस्था ठिकै भएको परिवारमा बुबा चन्देश्वरप्रसाद साह र आमा विमला देवीले मीरालाई पढ्न स्कुल पठाए पनि १२ वर्षकै कलिलो उमेरमा धनुषा इनर्वा भतहीका जयवीरप्रसाद साहसँग उनको विवाह भयो ।
छोरा मनिष र छोरी मनिका दुई सन्तान छन् । उनीहरू स्कुल जाने उमेरका हुँदा नै मीरा महोत्तरीबाट जनकपुरधाममा डेरा बस्न थालेकी थिइन् । दाल-चामलको व्यापार गरेर छोराछोरी पढाइन् । अहिले छोरा मनिष अमेरिकामा छन् भने छोरी मनिका काठमाडौंमा । मीराको सामाजिक काममा उनीहरू दुवैको सहयोग छ ।
आश्रममा बालबालिकाको स्याहार गरिरहेकी मीरा आफैं भने अस्वस्थ छिन् । दुई वर्षदेखि उनलाई रक्तचाप र मधुमेहले दुःख दिइरहेको छ । मीरासँगै उनकी ७० वर्षीया आमा पनि आश्रममा बस्दै आएकी छन् । बालबालिकाको स्याहारमा आमाको पनि सहयोग छ ।
अब मीरा के चाहन्छिन् त ? उनी भन्छिन्, ‘यी १३ छोराछोरीले पढेर केही गरुन् ।’ कुराकानीको बिट मार्दै माता मीराले भनिन् ‘अब कुरा सकौं, छोराछोरी भोकाएर आउँछन् म उनीहरूको लागि हलुवा बनाउन जान्छु ।’
– शैलेन्द्र महतो