
विवाहको मौसम थियो । छिमेकी एक बजैलाई घर सिंगार्ने जिम्मा थियो । उनले केही केटाकेटी भेला पारिन् । घरका भित्तामा औंलाले धर्का कोर्न थालिन्, थरीथरीका । त्यसभित्र ती केटाकेटीलाई रंग भर्न लगाइन् । हेर्दाहेर्दै आकर्षक चित्र बन्यो ।
बजैले आँगनमा पनि त्यसै गरिन् । घर–आँगन चिटिक्क देखियो । सबैले बजैको प्रशंसा गरे । रंग भर्ने स–साना केटाकेटीले पनि स्याबासी पाए । तिनैमध्ये एक थिइन्, मिथिलादेवी यादव । उमेर थियो ६ वर्ष । टाउको उठाएर मानिसहरूका अनुहार हेरिन् । सबै हाँसेको देखेर उनीभित्र पनि खुशी पलायो ।
झन्डै एक वर्ष भएको थियो, खुशी निमोठिएको । उनी ५ वर्षकी थिइन् । एकाएक बाबु बिते । शिरबाट बाबुको हात खोसियो, आमाको शरीरबाट रङ । आमा विधवा भएपछि परिवारकै सदस्यले घर खोसे, खेतबारी हत्याए । खान–लाउन दुःख नभएको घर एकाएक उजाडियो ।
मिथिलादेवीको कलिलो मस्तिष्कमा यो घटनाले गहिरो छाप छोड्यो, उनी हाँस्न र बोल्नै छोडिन् । एक वर्षपछिको त्यस दिनले उनको मनभित्र फेरि खुशी बौरिन खोज्यो । घर फर्किएपछि अरू केटाकेटी खेल्न थाले, उनी आँगनमा औंला चलाउन थालिन् । धुलो नै उनको संसार बन्यो ।
अलि दिनपछि आँगनको धुलोबाट उनका औंला भित्तामा चल्न थाले । बाबु बितेपछि वास्तविक घर त खोसिएको थियो, जेनतेन ठड्याइएका झिंगटीमा माटो र गोबरले पोतेर बनाइएका भित्तामै उनी औंला चलाउन थालिन् । घरी यता कोर्थिन्, घरी उता । कहिले मिल्दोजुल्दो आकार बनिहाल्थ्यो, कहिले के बन्थ्यो, उनी आफैंले पत्तो पाउन्नथिन् । तैपनि औंला रोकिएनन् ।
५७ वर्ष भयो, उनका औंला आज पनि चलिरहेका छन् । भुईं र भित्तामा होइन, क्यानभासमा । यसबीच उनको परिचय फेरिएको मात्र छैन, निकै फराकिलो बनेको छ । सामान्य शिक्षा मात्र पाएकी मिथिलादेवी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभा सदस्य जस्तो प्राज्ञिक गरिमाबाट विभूषित छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य हुँदै प्रतिष्ठानको लोककला विभाग प्रमुखको जिम्मेवारीमा छन् ।
यो सफलताको लागि उनले कठिन तर साहसिक यात्रा तय गरेकी छन् । ‘म ५ वर्षकी हुँदा बुवा (तपेश्वर यादव) बित्नुभयो । आमा (सीता यादव) विधवा भएपछि काकाले सादा कागजमा ल्याप्चे लगाएर सबै घरजग्गा हडप्नुभयो¬’ स्मृतिका पत्र खोल्दै उनले भनिन्, ‘दुःखका दिन त्यहींबाट शुरू भए ।’
छोराछोरी साना थिए, श्रीमान् बितेपछि सीतासमक्ष सीमित विकल्प थिए । आफ्नै जमिनमा नङ्ग्रा खियाउने जमिन खोसिएको थियो । कसैको घरधन्दामा सघाएर बालबच्चा पालौं भने कथित परम्पराको छेकबार थियो ।
‘कलिलैमा बुवा बितेपछि आमालाई परिवार पाल्न मुश्किल हुन थाल्यो’ आमाको संघर्षका दिन सम्झिंदै उनले भनिन्, ‘अरूको जुठो भाँडा माझेको कसैले देख्यो भने जातिबाटै निकालिदिने खतरा थियो । हाम्रो हातको पानी पनि खाँदैनथे । तर, दुखियालाई दैवले हेर्छन् भने जस्तो भयो । आमाले तुलसी गिरिको घरमा बालबच्चा हेर्ने काम पाउनुभयो ।’
तुलसी गिरि प्रधानमन्त्री थिए । उनी काठमाडौं बस्थे । उनको मूलथलो जनकपुरमा रहेको घरमा उनका दाजुभाइ र परिवारका सदस्यहरू बस्थे । कसैले सीता यादवलाई त्यही घरमा काम लगाइदिए । महल जस्तो घर थियो । गिरि परिवारमा धेरै बच्चा थिए । सीता यादवले तिनै बच्चा स्याहार गर्न थालिन् । आफ्ना बालबच्चालाई भने उनले दिदीको घरमा राखेकी थिइन् ।
उनीहरू जहाँ बस्थे, नजिकै रामसागर रामस्वरुप बहुमुखी क्याम्पस (आरआर बहुमुखी क्याम्पस) थियो । उमाशंकर अग्रवाल, डा.राजेन्द्र विमल त्यहीं अध्यापन गराउँथे । उनीहरूकै प्रेरणाले मिथिलादेवी विद्यालय जान थालिन् । आमाको मनमा अर्कै पीर थियो ।
‘उमाशंकर सरले म्याडमलाई सघाउनु, मेरो घरमै बस्नु, म पढाइदिन्छु भन्नुभएको थियो । आमालाई पनि छोरीको बिहे गर्न नहतारिनु भनेर सम्झाउनुभएको थियो । तर, आमा मान्नुभएन । विधवाकी छोरीलाई कसैले केही भनिदेलान्, कसैले केही गरिदेलान् कि भनेर १३ वर्षको उमेरमै मेरो बिहे गर्दिनुभयो’, मिथिलादेवीले भनिन् ।
उनको विवाह महोत्तरी जिल्लाको वसन्तपुर (अहिले रामगोपालपुर नगरपालिका) मा भएको थियो । यातायातको सुविधा थिएन । घरसम्म पुग्न सात वटा जँघार तर्नुपथ्र्यो । कलिलो उमेरमै आमाको काख माइत बन्यो, अन्जान वासस्थान घर । त्यहाँ पनि चरम गरिबी थियो । परालको बिछ्यौना थियो, परालकै गुन्द्री सिरक ।
श्रीमान् स्कूल जाँदैनथे । नपढेपछि हलो–जुवा र खेतबारी नै विकल्प बन्दै गयो । तर, मिथिलादेवीले यो सब जानेकी थिइनन् । जमिन भए पो जान्नु । सरदर दुई–दुई वर्षको अन्तरालमा तीन बच्चा भए । उनले एक दिन आमासँग विलौना गरिन्, ‘श्रीमान् पढालेखा छैनन् । मैले खेतीपाती जानेको छैन । २० वर्ष नपुग्दै दुई छोरा र एक छोरी जन्मिए । अब यिनीहरूलाई कसरी हुर्काउने, कसरी पढाउने । मेरो जीवन पनि तपाईंको जस्तै अभागी रहेछ आमा ।’ आमाछोरीले रोएरै रात बिताए ।
छोरीको दुःखले आमालाई पोल्न थाल्यो । अनेक मान्छे गुहारिन् । छोरीज्वाईंले जनकपुर चुरोट कारखानामा सुर्ती केलाउने नोकरी पाए । मिथिलादेवीको जीवन केही सहज हुन थाल्यो । असमयमै विवाह हुँदा आफ्नो पढाइ छुटेको पछुतो थियो । त्यसैले बच्चाहरूलाई पढाउन थालिन् । तर, चुरोट कारखाना विघटन भएपछि रोजगारी गुम्यो । फेरि बिचल्ली शुरू भयो ।
जनकपुर चुरोट कारखानामा एक जना इन्जिनियर थिए, काठमाडौं डिल्लीबजार घर भएका श्रेष्ठ थरका । उनी परिवार सहित कारखानाको क्वाटरमै बस्थे । उद्योग बन्द भइसकेको थियो । एक दिन उनले मिथिलादेवी लगायत केही महिलालाई बोलाए ।
खासमा ती इन्जिनियरकी दिदीले ती महिलालाई भेट्न खोजेकी रहिछन् । महिलाहरू जम्मा भए । उनी आइन् । उनले आफ्नो नाम कोहिनुर श्रेष्ठ भएको बताइन् । जापान आउने–जाने गरिरहने उनले मिथिला आर्ट बनाउन जान्ने महिला खोजेकी रहिछन् ।
उनले मिथिला आर्ट बनाउन आउँछ भने म काम दिन्छु भन्दै लोक्ता कागज र रेडिमेड कलर दिइन् । सबैले आउँछ भने, उनी चुपचाप बसिन् । शायद, मिथिलादेवीभित्रको प्रतिभा त्यही दिनको प्रतीक्षामा थियो ।
मौन बसे पनि उनले कागज र रङ समातिन् । एउटा कुनामा बसिन् । भुईं र भित्तामा स्वच्छन्द कुदेका उनका औंलाले पेपरको सीमित घेराभित्र सिर्जना गर्नुथियो । पहिलो पटक ब्रस समातेका हात कामिरहेका थिए । कहिल्यै नदेखेको रङ सामुन्ने थियो । तर, होशहवास उडेको थियो ।
केहीबेरपछि कोहिनुर आइपुगिन् । त्यहाँ भेला भएका अधिकांश कर्ण समुदायका थिए । उनीहरू मिथिला आर्ट आफूहरूको संस्कारभित्र रहेको र मिथिलादेवीलाई यसबारे केही थाहा नभएको बताइरहेका थिए । कामिरहेकी मिथिलादेवीले दुई वटा दायाँ–बायाँ मयुर र बीचमा रूख रहेको चित्र बनाएकी थिइन् । तर, देखाउन नसकेर पछाडि लुकाएर राखिन् ।
कोहिनुरले तानेरै लिन खोज्दा मिथिलादेवीको प्राण हातमै आए जस्तो भयो । तर, चित्र देखेर कोहिनुर अवाक् बनिन् । उनले सोधिन् कोसँग सिकेको ? मिथिलादेवीका कोही गुरु थिएनन् । वर्षौंसम्म धुलोमा कुदेका औंलाको कमाल देखियो त्यहाँ । सबैभन्दा राम्रो चित्र बनाएको भनेर सबैका अगाडि उनको तारिफ भयो । चित्र बनाएर उनले पहिलो पटक पैसा पाइनँ । यो २०४५ सालको कुरा थियो ।
कोहिनुर श्रेष्ठले त्यही क्वाटरमा आएर प्रत्येक दिन चित्र बनाए एउटा चित्रको ५०० रुपैयाँ दिने सुनाइन् । खाना र नास्ताको समेत प्रबन्ध त्यहीं हुनेभयो । यसरी मिथिलादेवीभित्र रहेको तर प्रस्फुटित हुन नपाएको कलाको यात्रा अघि बढ्यो ।
कोहिनुर फर्किइन् । केहीपछि दाजु–भाउजू पनि फर्किए । उनीहरूले कोहिनुरले जापानबाट पठाएका फोटो मिथिलादेवीलाई पठाइदिन्थे, उनी दुरुस्तै बनाएर प्लेनमा हालेर काठमाडौं पठाउँथिन् । यो क्रम करिब ६ महिनापछि रोकियो । तर, मिथिलादेवीको हुटहुटी रोकिएन । त्यसैले उनी अर्डर नै नभए पनि चित्र कोर्न थालिन् ।
एक दिन एक अमेरिकी नागरिक आए । उनी मिथिला आर्टबारे अध्ययन गर्न आएका रहेछन् । डा. राजेन्द्र विमलले उनीसँग भेट गराइदिए । ती अमेरिकन नागरिकले मिथिलादेवीलाई आफ्नो टीममा राख्न र अमेरिका लैजान चाहेको बताए । तर, उनले स्वीकार गरिनन् ।
बरु, राजेन्द्र विमललाई भनिन्, ‘म उहाँको अफिसमा काम गर्दिनँ । मलाई हजुर आशीर्वाद दिनुस् म आफैं अफिस खोलेर काम गर्छु ।’ आफ्नै आँखा अघिल्तिर हुर्किएकी मिथिलादेवीको हिम्मत देखेर राजेन्द्र विमल खुशी भए । उनले तिमी अघि बढ, मेरो आशीर्वाद छ भने । मिथिलादेवीसँग २५० रुपैयाँ दरमा ११ वटा पेन्टिङ लिएर ती अमेरिकन नागरिक फर्किए ।
अघि बढ्ने अठोट बोकेकी मिथिलादेवी २०४५ सालमा आफूसँग भएका पेन्टिङ बोकेर काठमाडौं आइन् । ठमेल पुगिन् । ‘दिदी बाटी फर वुमन’ नामको पसल थियो । त्यहाँ गएर पेन्टिङ देखाइन् ।
‘मैले आफूसँग भएका पेन्टिङ देखाउनासाथ ठमेलमा अरू कसैलाई बेच्न नपाउने शर्तमा उहाँ किन्न तयार हुनुभयो । जति बनाउनुहुन्छ, म लिन्छु । एक लाख रुपैयाँ बाँकी राख्छु, अरू सबै पैसा दिएर पठाउँछु भनेर उहाँले नै लिन थाल्नुभयो’ २०४५ सालमै काठमाडौं आइपुगेकी मिथिलादेवीले सुनाइन्, ‘उहाँले अर्डर दिनुहुन्थ्यो, मैले ४५ जनालाई तालिम दिएर काम गराउन थालें ।’
त्यतिबेलै उनी भुईं र भित्तामा सीमित मिथिला कलालाई व्यावसायिक रूप दिन र त्यहाँका महिलामा रहेको सीपलाई आर्थिक उपार्जनसँग जोड्न सफल बनिन् । २०५१ सालमा एकपटक अर्डर अनुसारका पेन्टिङ लिएर उनी काठमाडौं आउँदै थिइन् । थानकोट चेकपोष्टमा एक जना प्रहरी जवानले इजाजतपत्र मागे । उनलाई व्यवसाय गर्न दर्ता गर्नुपर्छ भन्ने थाहै थिएन ।
ती प्रहरी जवानले जबरजस्ती कार्टुन फुटाउँदै पेन्टिङहरू निकाल्न थाले । त्यसपछि उनी प्रहरी अधिकृतसमक्ष गुनासो लिएर पुगिन् । उनले म नेपाली नागरिक हुँ, नेपाली कागज प्रयोग गरेर नेपालभित्रै बसेर काम गरेर खान नपाउने ? भन्दै प्रश्न गरिन् ।
मेरो कुरा सुनेपछि उहाँले त्यो प्रहरी जवानलाई बोलाउनुभयो । प्रहरी जवान पनि मधेशीमूलकै थिए । मधेशी भएर अर्को मधेशीलाई हेप्ने, लुट्न खोज्ने भनेर गाली गर्नुभयो । र, उहाँले नै अर्कोपटक आउँदा घरेलुमा दर्ता गराएर कागज बोकेर आउने गर्नू भन्नुभयो । त्यसपछि फर्केर जनकपुर गएँ र २०५१ सालमा २५० रुपैयाँ तिरेर मिथिला हस्तकला पेन्टिङ उद्योग नाम राखेर दर्ता गराएँ– मिथिलादेवीले सुनाइन् ।
दिदी बाटी फर वुमनकी सञ्चालिकाको क्यान्सरबाट निधन भयो । त्यसपछि उनी पुगिन्, कुपण्डोल महागुठी । एकपटकमा कम्तीमा पाँच सय पिस अर्डर आउन थाल्यो । उनले धेरै महिलालाई स्वरोजगार बनाएर ती अर्डर पूरा गर्दै गइन् ।
२०५२ सालदेखि उनी काठमाडौं बस्न थालिन् । विस्तारै उनको सम्पर्क फराकिलो हुँदैगयो । २०६६ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान गठन भयो । पहिलो कुलपति थिए, किरण मानन्धर । शारदा चित्रकार लोककला विभाग प्रमुख ।
एक बिहान चित्रकार मिथिलादेवीलाई खोज्दै उनी बसेकै ठाउँमा पुगिन् । उनले आफूसँगै मिथिलादेवीलाई प्रतिष्ठानको कार्यालय लगिन् । लोककला विभागमा मधेशको कोटा माग्दै मिथिला कलाकारहरूले प्रतिष्ठान बहिष्कार गरेको बेला थियो, त्यो ।
‘शुरूमा मलाई त्यो सब थाहा पनि भएन । मलाई बालबच्चाको कसरी लालनपालन गर्ने भन्ने मात्रै चिन्ता थियो । यहाँको राजनीतिमा मलाई केही वास्ता थिएन’ पहिलो पटक ललितकला प्रज्ञा प्रतिष्ठान पुग्दाको स्मरण गर्दै उनले सुनाइन्, ‘माओवादीको बिगबिगी थियो । म त्यहाँ गएको थाहा पाएपछि बाटोमा मलाई एक जनाले घेरेर किन जानुभयो भनेर तर्साउन खोजे । कलाको मन्दिरमा म जान पाउँदिन र ? भनेर जवाफ फर्काएँ । गए राम्रो हुँदैन भनेर धम्क्याउन थाले । तर, म डराइनँ ।
केही दिनपछि आर्ट काउन्सिलमा एउटा कार्यक्रम थियो । म त्यहाँ गएँ । त्यसपछि मलाई झन् धम्की आयो । तर, म डराइनँ । जान छोडिनँ । यही क्रममा २०७१ सालमा उनी प्रतिष्ठानको सभा सदस्य नियुक्ति भइन् । रागिनी उपाध्याय कुलपति थिइन् । त्यहाँ चारवर्षे कार्यकाल पूरा गरेपछि सरकारले उनलाई २०७५ सालमा परिषद्मा लग्यो ।
मिथिलादेवीका अनुसार यसपटक उनलाई तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी (स्वर्गीय) ले टेलिफोन गरेरै नियुक्तिको जानकारी गराएका थिए । मधेशको मान्छे, धेरै पढेको छैन, काम गर्न सक्दैन भनेर विरोध भइरहेको छ । तर, नडराउनुहोला, राम्रो काम गर्नुहोला सरकारको साथ तपाईंलाई रहनेछ भनेर मन्त्री अधिकारीले भनेको उनी सम्झिन्छिन् ।
नभन्दै उनले कुशलतापूर्वक चारवर्षे कार्यकाल पूरा गरिन् । कहालीलाग्दो अतीत बोकेकी मिथिलादेवीले आफ्नै बलबुतामा यसरी प्रभावशाली वर्तमान खडा गरिन् । यही अवधिमा उनले आफ्नो समुदायमा चाडपर्वका बेला बनाइने संस्कृतिका रूपमा रहेको मिथिला चित्रकलालाई क्यानभासमा उतारिन् र संसारभर पुर्याइन् ।
यति मात्र होइन, चित्रकलाको माध्यमबाट तराई मधेशका महिलाको अवस्था उजागर गर्न तथा मधेशका महिलामाथि हुने सबैखाले हिंसाको अन्त्यको लागि पनि उल्लेख्य भूमिका निर्वाह गरेकी छन् । उनको चित्रमा दाइजोको नाममा महिलाले भोग्दै आएका हिंसा विरुद्ध बुलन्द आवाज पाइन्छ । चार दिवारभित्रै कैद महिलालाई घरबाहिर निस्कन र आफ्नो जीवन जिउन उद्वेलित गर्ने सन्देश उनका चित्रमा पाइन्छन् ।
तराई मधेशको ग्रामीण समाजमा अहिले पनि कैयौं महिला घुँघटभित्रै कैद रहेका बेला त्यतिबेलाको समाजका सीमाहरू नाघ्दै घुँघटबाट बाहिर निस्किएर उनले गरेको यो एकखाले विद्रोह नै हो । मिथिलादेवीको अतुलनीय योगदानको कदर गर्दै नेपाल सरकारले सुप्रबल जनसेवाश्रीबाट विभूषित गरेको छ । उनले ललितकला पुरस्कार र मोतीदेवी स्मृति सम्मान जस्ता प्रशंसित उपाधिहरु प्राप्त गरेकी छन् ।