+

हजार अनाथकी आमा

पूरा सूची
Shares
समाजमा निस्वार्थ सहयोग गर्नेलाई साथ दिनेहरू हुन्छन् । विराटनगरकी सीता पोखरेललाई ४० वर्षदेखि मुठी दान गर्नेहरू अहिले पनि छन् । हजारभन्दा बढी अनाथलाई संरक्षण गरेकी सीताले ३०० बच्चालाई त काखमै हुर्काएकी छिन् ।
सीता पोखरेल

२०४० सालको कुरा हो, सीता पोखरेल (७५) को विराटनगरस्थित डेरामा एक बालिका आइन् । ‘आमा’ सम्बोधन गर्दै ती बालिकाले मलिन स्वरमा भनिन्– घरको काम सघाउँछु, मलाई पढाइदिनुहोस् न !

सीताले बालिकालाई घरमा राखिन् । र, सोच्न थालिन्; देशभर यस्ता अनाथ र असहाय बालबालिका कति होलान् ? आफैंलाई सोधेको प्रश्नको उत्तर खोज्न उनले यस्ता बालबालिकाको संरक्षणमा लाग्ने निधो गरिन् । त्यसपछि शुरू भयो– ‘पूर्वाञ्चल बाल आश्रम ।’

२०४० सालसम्म विराटनगर महानगरपालिका–१३ की सीता पोखरेल घर–गृहस्थीमै रमाएकी थिइन् । त्यसयताको ४० वर्षमा उनी ३०० बढी सन्तानलाई काखमै हुर्काइन् । त्यसैले उनलाई सम्मानपूर्वक ‘सीता आमा’ को नामले पुकारिन्छ । उनको आश्रममा अहिले बालबालिका र वृद्धवृद्धा गरी ७६ जना आश्रित छन् ।

४० वर्षको अवधिमा सीताले ३०० जनालाई हुर्काइन् भने १ हजारभन्दा बढी अनाथ तथा असहाय बालबालिकालाई संरक्षण दिइन् । उनी भन्छिन्, ‘मेरा सन्तान धेरै छन्, ती सन्तान नै मेरा सम्पत्ति हुन् ।’ सीताकै कोखबाट जन्मिएका सन्तान भने चार जना छन् ।

आश्रम शुरू गरेपछि उनले बालबालिकाको संरक्षणका लागि मुठी दान अभियान सञ्चालन गरिन् । घर–घरमा पुगेर बिहान–बेलुका पकाउने चामलबाट एक–एक मुठी काटेर सहयोग गर्न आग्रह गरिन् । चामल राख्नका लागि बट्टा पनि दिइन् र पालैपालो घरघरमा पुगेर बट्टा संकलन गर्दै बालबालिकाको पालनपोषण गरिन्

उनले आश्रमबाटै ३५–३६ जना छोरीको कन्यादान गरिसकिन् । ६० भन्दा बढी छोराको बिहे गरिदिइन् । उनले आश्रय दिएका कैयौं अनाथ बालबालिका सक्षम भएर आ–आफ्नो कर्ममा लागिसके ।

२००६ सालमा संखुवासभाको चैनपुरमा जन्मिएकी सीताको १२ वर्षकै उमेरमा विवाह भयो । परिवारकी माइली सन्तान सीता विवाह गरेर सुनसरीको विजयपुर आइन् । त्यहाँबाट श्रीमान्सँगै विराटनगर आएकी हुन् । श्रीमान् बालमुकुन्द तत्कालीन साझा संस्थाका कर्मचारी थिए । अहिले उनीहरू विराटनगर–१३ स्थित आश्रममा बालबालिका र ज्येष्ठ नागरिकसँगै बस्छन् ।

सीता ७५ वर्ष पुगिन्, तर उनी आफू ४६ वर्ष मात्रै पुगेको तर्क गर्छिन् । ‘जन्मिएको उमेर म भन्दिनँ, म मनुष्य हुँ, केही गर्नुपर्छ भन्ने बुझेको ४६ वर्षजति भयो’ उनी भन्छिन्, ‘केही गर्न थालेको २०३५/३६ सालदेखि हो । त्यसैले म ४६ वर्षकी भएँ ।’

‘एउटी असहाय बालिकाले आमा सम्बोधन गर्दै डेरामै आएर ‘घरको काम सघाइदिन्छु, मलाई पढाइदिनुस्’ भनेपछि यस्ता बालबालिकाको संरक्षण गर्नुपर्छ भन्ने सोच पलायो’ उनी भन्छिन्, ‘आफन्त नभएकी एक जना बालिकासँग ठोक्किएपछि (भेटेपछि) मेरो यो यात्रा शुरू भयो ।’

आश्रम शुरू गरेपछि उनले बालबालिकाको संरक्षणका लागि मुठी दान अभियान सञ्चालन गरिन् । घर–घरमा पुगेर बिहान–बेलुका पकाउने चामलबाट एक–एक मुठी काटेर सहयोग गर्न आग्रह गरिन् । चामल राख्नका लागि बट्टा पनि दिइन् र पालैपालो घरघरमा पुगेर बट्टा संकलन गर्दै बालबालिकाको पालनपोषण गरिन् । घर जाँदा उनी ‘भिक्षाम्देही’ भन्दै चामल माग्थिन् ।

‘बालबालिका संरक्षणका लागि दान माग्न मलाई लाज लागेन, मुठी दान शुरू गरें । धेरैले सहयोग गर्नुभयो, अझै गर्दै हुनुहुन्छ’ उनी भन्छिन्, ‘पुराना कपडाहरू माग्थें, यहाँ ल्याएर साइज मिलाएर बच्चाहरूलाई लगाइदिन्थें ।’ करिब ११ वर्ष भाडामा सञ्चालन गरेपछि उनले आश्रमका संरचना बनाएर बालबालिका राखेकी थिइन् ।

सीताका अनुसार २०४० सालबाट संस्था दर्ताको प्रक्रिया शुरू भएको थियो । तर २०४३ सालमा मात्रै दर्ता भयो । समाज कल्याण परिषद्मा भने २०४६ सालमा दर्ता भएको हो । ‘त्यसबेला यस्ता संस्था थिएनन्, सम्भवतः हाम्रो नै पहिलो हो’ उनले भनिन्, ‘अहिले त धेरै खुलेका छन् ।’

उनले हुर्काएका बालबालिका विभिन्न तहमा पुगेका छन् । कोही विदेशमा छन् । घुँडाको समस्याका कारण दुई वर्षयता सीतालाई हिंडडुल गर्न समस्या छ । आफूले हुर्काएर शिक्षादीक्षा दिएका छोराछोरीले सम्पर्क गरिरहन्छन् । प्रगति गर्दै गरेको फोटो–भिडियो खिचेर पठाउँछन् ।

आफूले हुर्काएको छोराले घर बनाउँदै गरेको भिडियो देखाउँदै सीताले भनिन्, ‘आमालाई सन्तुष्ट हुन अरू के चाहिन्छ र ?’ मोबाइलमा अर्का छोराले बनाउन लागेको घरको नक्शा देखाउँदै भनिन्, ‘छिट्टै बनाउन शुरू गर्छ रे, शिलान्यासमा बोलाउँदैछ, जान सक्दिनँ, यहींबाट आशीर्वाद दिन्छु ।’

सीतालाई छोराछोरीले आफ्ना सुख–दुःखमा सम्झन्छन् । भेट्न आउँछन्, बस्छन्, आफ्नो कर्ममा फर्कन्छन् । आश्रम सञ्चालनका लागि सीतासँग स्थायी स्रोत छैन । मुठी दान संकलन गरेर बालबालिकाको भरणपोषण गर्छिन् । आश्रमको संरचना पनि दान संकलन गरेर नै बनाएकी हुन् ।

निस्वार्थ सहयोग गर्नेलाई साथ दिने पनि हुन्छन् । २०४० सालयता उनलाई नियमित मुठी दान गर्नेहरू अहिले पनि छन् । विराटनगर–१३ मा २०४९ सालमा दाताको सहयोगमा उनले २ बिघा ५ कट्ठा जग्गा किनेकी थिइन् । सोही संरचनामा आश्रम, मन्दिर, बगैंचा, पाठशाला र गौशाला छ । बालबालिकालाई खेल्न खुला मैदान पनि छ ।

यी सबै संरचना दाताले बनाइदिएका हुन् । राज्यले भने उनलाई त्यति सहयोग गरेको छैन । बरु राज्यका निकायले अनाथ बालबालिका संरक्षणका लागि पठाइरहेका छन् । बालबालिकाका लागि वार्षिक एक/डेढ लाख रुपैयाँ सहयोग गर्दै आएको विराटनगर महानगरपालिकाले पनि यो वर्षदेखि सहयोग बन्द गरिदिएको छ । ‘राज्यको आँखामा परेन । दान र सहयोगबाट संस्था चलेको छ, चलिरहन्छ’, उनी भन्छिन् ।

‘आउँछु भनेका दीपेन्द्र फर्किएनन्’

सीताले सहयोग मागेर आश्रमको संरचना बनाइन् । उद्घाटनका लागि आग्रह गर्दा तत्कालीन राजपरिवारले सहजै स्वीकार गरेको थियो । १७ पुस २०५७ मा तत्कालीन युवराज दीपेन्द्रले आश्रमको उद्घाटन गरे ।

उद्घाटनका दिन आश्रममा आयोजित कार्यक्रमबाट बिदा हुँदै गर्दा दीपेन्द्रले असारमा आउने बाचा गरेका थिए । तर त्यो असार आउनै पाएन । १९ जेठ २०५८ को दरबार हत्याकाण्डमा उनी बिते ।

‘उद्घाटनका दिन सबै कार्यक्रम हेर्न पाउनुभएन, २०५८ असारमा फेरि आउँछु भन्दै जानुभएको थियो, जेठमै घटना भयो’, उनले भनिन् ।

अनाथ बालबालिकाको संरक्षण गरेबापत २०४९ सालमा तत्कालीन राजा वीरेन्द्रले सीतालाई गोरखा दक्षिणबाहुबाट सम्मान गरेका थिए । सम्मानका क्रममा उनले भनेका थिए— ‘तपाईंले धेरै राम्रो काम गरिरहनुभएको छ ।’ सामाजिक क्षेत्रमा काम गरेका कारण उनलाई विभिन्न ६० भन्दा बढी संस्थाले सम्मान गरेका छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।