+

प्रिमियम पर्यटन प्रवर्द्धक

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
पारिवारिक विरासत भए पनि उनलाई आफ्नो बेग्लै पहिचान बनाउनु थियो । उनले यसरी मिहिनेत र लगावसाथ काम गरे कि, आखिर बेग्लै पहिचान बनाइछाडे– संसारकै ‘लक्जरी’ मध्येको रिसोर्ट स्थापना गर्ने नामग्याल शेर्पा ।
नामग्याल शेर्पा

उनलाई आफ्नो बेग्लै पहिचान बनाउनु जो थियो । किनकि, उनी यस्तो परिवारमा जन्मिए जुन यसै पनि परिचित थियो । उनका बुबा गिनेचुनेका व्यवसायी, आमा मुलुकले स-सम्मान घोषणा गरेको राष्ट्रिय विभूति ।

परिवारको यही नामले उनी पनि चिनिनसक्थे । यो उनका लागि गर्वको विषय थियो नै । तर, उनलाई अझै आफ्नो बेग्लै पहिचान बनाउनु थियो, र उनले यसरी अथक् मिहिनेत र लगावसाथ काम गरे कि, आखिर बेग्लै पहिचान बनाइछाडे- नेपालकै सबैभन्दा ‘लक्जरी’ रिसोर्ट स्थापना गर्ने नामग्याल शेर्पा (३९) ।

यो पहिचान त्यति सजिलै बनेको होइन । यसका लागि उनले यति धेरै काम गरे कि अहिले फर्केर हेर्दा नामग्याल आफैंलाई अचम्म लाग्छ । यो उनै नामग्याल शेर्पाको कथा हो जसले अन्तर्राष्ट्रिय लक्जरी चेन रिसोर्ट ब्रान्ड ‘सिन्तामणि’ नेपाल ल्याए र अति मनमोहक हिमाली गन्तव्य मुस्ताङमा खोले- लक्जरी रिसोर्ट ‘सिन्तामणि मुस्ताङ’ ।

अमेरिकी आर्किटेक्ट तथा इन्टेरियर डिजाइनर बिल बेन्स्लेले ३५ वर्षअघि थाइल्यान्डको बैंककमा खोलेको सिन्तामणि लक्जरी रिसोर्ट चेन नेपाल ल्याएर नामग्यालले आफ्नो मात्र पहिचान बनाएनन्, नेपालको पर्यटन पहिचानमा अर्को ‘सितारा’ थपिदिए ।

उनको यही सफलताले एक-डेढ वर्षदेखि अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पहिचानले नयाँ नाम पाएको छ ।

  

नामग्यालले यस्तो काम गरिदिए कि ‘नेपाल ब्याकप्याकर टुरिस्ट गन्तव्य हो’, ‘नेपाल सस्तो पर्यटन गन्तव्य हो’, ‘नेपालमा लक्जरी होटल/रिसोर्ट छैनन्’ भन्ने भाष्य अहिले बदलिएर ‘नेपाल प्रिमियम लक्जरी पर्यटन गन्तव्य पनि हो’ र ‘नेपाल ब्याकप्याकर टुरिस्ट गन्तव्य मात्रै होइन’ भन्ने सकारात्मक सन्देश विश्व बजारमा पुगिरहेको छ ।

नामग्यालले खोलेको सिन्तामणि मुस्ताङ हेर्दा एउटा सामान्य रिसोर्ट झैं देखिन्छ । तर, यो देखिए झैं सामान्य विल्कुलै छैन । यो रिसोर्ट ‘असामान्य’ छ । किनकि, यो रिसोर्ट ब्याकप्याकर टुरिस्ट वा बजेट ट्राभलरको गन्तव्य विल्कुुलै होइन । यसको अनुभव लिन राम्रै अंकमा खर्च गर्नुपर्ने हुन्छ ।

सिन्तामणि मुस्ताङ रिसोर्टमा एक रात बस्न एक जोडीले १८०० अमेरिकी डलर (२ लाख ४१ हजार २०० रुपैयाँ) तिर्नुपर्छ । तर, एक रातमात्र बस्न भने पाइँदैन । यो रिसोर्टको अनुभव लिन लगातार कम्तीमा पाँच रात बस्नैपर्छ ।

पाँच रात सिन्तामणि रिसोर्टमा बिताउन ९ हजार डलर अर्थात् १२ लाख ६ हजार रुपैयाँ तिर्नुपर्छ । यो कर सहित हो । यो प्याकेज अन्तर्गत सुइटमा बस्न, खाना, पेय, निजी गाइड, ट्रेकिङ, स्पा, मिनी बार, लन्ड्री सेवा, वाईफाई, जोमसोम विमानस्थल आउजाउका लागि गाडी सुविधा, विभिन्न सरकारी शुल्क लगायत पर्छन् ।

सिन्तामणि मुस्ताङमा २९ वटा सुइट छन् । प्रत्येक सुइटले ३६ देखि ४८ वर्गमिटर क्षेत्रफल ओगटेको छ । सबै सुइटबाट नीलगिरि हिमशृङ्खलाको चित्ताकर्षक दृश्यपान गर्न सकिन्छ । लक्जरी पाहुनाले सिन्तामणि ब्रान्डमा खोज्ने सम्पूर्ण लक्जरी सुविधा यहाँ उपलब्ध छ ।

यसको परिकल्पना कसरी भयो ? यसका लागि डेढ दशकअघि फर्किनुपर्छ । यो सन् २००९ को कुरा हो । भारतबाट स्कुल र अमेरिकाबाट कलेजको पढाइ सकेर घर फर्केका नामग्याल त्यसपछि पारिवारिक व्यापारलाई थप उचाइमा लैजाने गरी काम गर्न थाले ।

पारिवारिक व्यापार नेपालको पर्यटन क्षेत्रकै अग्रणी बनेर अगाडि बढिरहेको थियो । उसका आफ्नै प्रणाली र सिद्धान्त थिए । पारिवारिक व्यापारसँगै नामग्याल आफ्नै ‘भिजन’ मा अगाडि बढ्न चाहन्थे । अनि, उनी नेपालका अतिदुर्गम र हिमाली भेगमा लक्जरी रिसोर्ट स्थापना गरेर पर्यटन उद्योगमा एक ‘पायोनियर’ बन्ने उद्देश्यसाथ कडा मिहिनेत गर्नतिर लागे ।

यही सेरोफेरोमा सन् २०११ मा नामग्यालले ‘ले शेर्पा’ अवधारणा तयार पारे । जसअन्तर्गत हाल पाँच रेस्टुरेन्ट, द नोम्याड होटल र नेपाली किसानले उत्पादन गरेका अर्गानिक सामान उपलब्ध गराउने अनलाइन प्लाटफर्म ‘द फार्म शप’ सञ्चालनमा छन् ।

यहीबीच पूरै विश्व ‘कोभिड-१९’ महामारीको चपेटामा जकडिन पुग्यो । संसार ठप्प हुन पुग्यो । लाखौं मानिसले अनाहकमा ज्यान गुमाए । विश्व अर्थतन्त्र ध्वस्त हुन पुग्यो । संसारका ठूला र शक्तिशाली कहलिएका देश पनि निरीह देखिन पुगे । कसैको केही सीप चलेन ।

कोभिड महामारी चपेटाबाट नेपाल पनि अछुतो रहने कुरै भएन । नेपालमा पनि हजारौंको ज्यान गयो । अर्थतन्त्र लगभग धराशायी नै भयो । ‘जहाँ समस्या, त्यहीँ समाधान’ भन्ने बुझेका नामग्याल महामारीबाट जोगिँदै केही नयाँ काम गर्ने धुनमा लागिरहेका थिए ।

कोभिड महामारी चपेटाकै बीच उनले ‘शेर्पा हस्पिटालिटी ग्रुप’ (एसएचजी) स्थापना गरे । हो, नामग्यालले स्थापना गरेको यही एसएचजी अन्तर्गत हाल नेपालका अतिदुर्गम र हिमाली भेगमा १६ वटा प्रिमियम लज सञ्चालनमा छन् ।

त्यसैगरी नामग्यालले सन् २०२२ मा माउन्टेन लजेज अफ नेपाल स्थापना गरे । जसले सगरमाथा र अन्नपूर्ण क्षेत्रमा सञ्चालन भइरहेका १३ वटा आरामदायी लजको व्यवस्थापन सम्हालिरहेको छ ।

मोक्ष मुस्ताङको विशिष्टता र अद्वितीय भौगोलिक बनावट सिन्तामणि ब्रान्ड नेपाल ल्याउन पर्याप्त रहेको विश्वास जेसनलाई भयो । जेसन आफ्नै देश फर्किए ।

यही मेसोमा सन् २०२३ अगस्टको एकदिन अत्यन्तै अपेक्षा गरिएको ‘सिन्तामणि मुस्ताङ- ए बेन्स्ले कलेक्सन’ सञ्चालनमा आयो । यो सिन्तामणि चेनको नेपालमै पहिलो र कम्बोडियाभन्दा बाहिरको पहिलो अन्तर्राष्ट्रिय चेन रिसोर्ट हो ।

सिन्तामणि मुस्ताङले नेपाललाई विश्व बजारमा प्रिमियम लक्जरी गन्तव्यको उपमा दिलाउन सफल भएको छ । यो मानेमा नामग्याल आफूलाई भाग्यमानी ठान्छन् ।

यसरी ल्याए सिन्तामणि

यसबारे अलि विस्तृतमा जान्न फेरि कोभिड-१९ महामारीकै समयमा फर्किनुपर्छ । नामग्यालले मुस्ताङमा पहिलेदेखि नै ‘मोक्ष मुस्ताङ’ नामको रिसोर्ट चलाइरहेका थिए । अकस्मात् कोभिड महामारी फैलिएर सबै कुरा ठप्प हुन पुग्यो । नामग्यालले पनि मोक्ष मुस्ताङको सञ्चालन केही समयका लागि स्थगित गरे । सञ्चालन गरिरहन सक्ने अवस्था पनि थिएन ।

कोभिड केही मत्थर भएपछि नामग्यालले आफ्नो होटल तथा रिसोर्टहरूका आतिथ्य परामर्शदाता जेएम फ्रायडम्यान एन्ड कम्पनीका जेसनलाई नेपाल बोलाए र मोक्ष मुस्ताङ भ्रमणमा लगे । मोक्ष मुस्ताङ घुमेपछि जेसनले सिन्तामणि चेन नेपाल ल्याउन सुझाव दिए । र, आफूले पनि सिन्तामणि चेन सञ्चालक बिल बेन्स्ले र सिन्तामणिका एसियाली बजार विभाग प्रमुखलाई यसबारे सिफारिस गर्ने वचन दिए ।

मोक्ष मुस्ताङको विशिष्टता र अद्वितीय भौगोलिक बनावट सिन्तामणि ब्रान्ड नेपाल ल्याउन पर्याप्त रहेको विश्वास जेसनलाई भयो । जेसन आफ्नै देश फर्किए ।

त्यसपछि नामग्यालले दिनरात नभनी विश्वप्रसिद्ध लक्जरी रिसोर्ट ब्रान्ड सिन्तामणि कसरी नेपाल ल्याउन सकिन्छ भन्ने ध्याउन्नमा लागे । अथक् मिहिनेत, लगाव र इमानदारीसाथ सिन्तामणिलाई मुस्ताङमा आकर्षित गर्ने काममा दत्तचित्त भएर लागिपरे ।

नामग्यालको अथक् प्रयासपछि सिन्तामणिका ब्रान्ड सञ्चालक बिल बेन्स्ले मोक्ष मुस्ताङ हेर्न आफैं नेपाल आए । मोक्ष मुस्ताङमा पाइला राख्नासाथ त्यहाँको अद्वितीय भौगोलिक बनावट देखेर बेन्स्ले अभिभूत हुन पुगे ।

र, तुरुन्तै मोक्ष मुस्ताङलाई संसारकै लक्जरी होटल तथा रिसोर्टहरूमध्ये पार्न सहमत भए । बन्द हुनुअघिसम्म प्रतिरात ४०० अमेरिकी डलर शुल्क लिइरहेको मोक्ष मुस्ताङ बेन्स्लेको कम्पनीसँग सम्झौता गरेपछि रातारात प्रतिरात १८०० डलर शुल्क तिर्नुपर्ने प्रिमियम लक्जरी रिसोर्टमा रूपान्तरण भयो ‘सिन्तामणि मुस्ताङ’ बनेर ।

‘हाम्रो ग्रुपले धेरै वर्षदेखि नेपालको दुर्गम क्षेत्रमा अनुभवात्मक यात्रा प्रवर्द्धन गर्दै आएको छ । हिमालय क्षेत्रमा विश्वस्तरीय, विलासी (लक्जरी) अनुभव सिर्जना गर्ने हाम्रो सपना थियो,’ नामग्याल भन्छन्, ‘यही सेरोफेरोमा सहकार्य गर्न सिन्तामणि भन्दा उपयुक्त साझेदार हामीले फेला पार्न सकेनौं । कम खर्च गर्ने बजेट पर्यटकका लागि मात्र नभई नेपाललाई गुणस्तरीय र लक्जरी गन्तव्यका रूपमा चिनाउन पाउँदा हामी धेरै उत्साहित छौं ।’

‘मेरो विश्वास छ, समाजमा सकारात्मक परिवर्तन ल्याउन हामी सबैसँग एक-एक जिम्मेवारी छ,’ नामग्याल दृढ सुनिन्छन्, ‘मेरा आमाबुबाले आ-आफ्नो क्षेत्रबाट जे-जसरी यो देशका लागि योगदान गर्नुभएको छ, म पनि त्यसैगरी सिन्तामणि मुस्ताङ जस्ता परियोजना मार्फत पर्यटन उद्योगलाई सधैं प्रिमियम लक्जरी गन्तव्य बनाइरहनेछु ।’

सिन्तामणि मुस्ताङको लक्ष्य नै ‘हाई भ्यालु, लो भोल्युम’ रहेको छ । यसको अर्थ, ‘पर्यटक संख्या कम होस्, तर असाध्यै धेरै खर्च गर्ने होस्’ भन्ने हो । नामग्यालका अनुसार नेपालको पर्यटन उद्योगलाई परम्परागत रूपमै संसारले सस्तो (बजेट) गन्तव्य मान्दै आएको छ । तर, सिन्तामणि मुस्ताङ स्थापनापछि भने यो भाष्य बदलेर विश्व पर्यटन मानचित्रमा लक्जरी पर्यटन गन्तव्यमा रूपान्तरण गर्ने उद्देश्य निरन्तर छ ।

‘नेपाललाई प्रिमियम लक्जरी गन्तव्य बनाउने हाम्रो ग्रुपको उद्देश्यमा जोडिने सदस्य, कर्मचारी, कलाकार, सेफ र नेतृत्वकर्ता युवा जमातको मिहिनेत र परिश्रमले यो सफलता मिलेको हो,’ नामग्याल थप्छन्, ‘हामी, हाम्रो संस्कृति, प्रकृति, वातावरण र सकारात्मक प्रभाव पार्ने हाम्रो उद्देश्यमा सदैव निहित छौं ।’

ल्हाक्पासोनाम शेर्पा र पासाङल्हामु शेर्पाको सन्तानका रूपमा ३९ वर्षअघि जन्मिएका नामग्यालले विद्यालय शिक्षा सेन्ट पल दार्जीलिङबाट पूरा गरेका थिए । त्यसपछि उच्च शिक्षा लिन अमेरिका गएका उनले इन्डियानाको म्यानचेस्टर कलेजबाट स्नातक सकेका थिए ।

उनका बुबा ल्हाक्पासोनाम व्यावसायिक घराना यती ग्रुपका अध्यक्ष हुन् भने आमा स्वर्गीय पासाङल्हामु विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली महिला तथा राष्ट्रिय विभूति ।

‘पासाङल्हामु र ल्हाक्पासोनाम शेर्पाको सन्तानका रूपमा जन्म लिन पाउनु मेरा लागि औधी गर्वको विषय हो,’ नामग्याल भन्छन्, ‘मेरा अभिभावकको सफलताका कथाले मलाई दिनहुँ प्रोत्साहन गरिरहेको हुन्छ । आमा पासाङल्हामुको अग्रणी भावना र साहसले ममात्र नभई अन्य धेरैका लागि एउटा अविश्वसनीय उदाहरण स्थापित गरेको छ ।’

आमाको भौतिक शरीर नभए पनि उनको नाममा स्थापना भएको पासाङल्हामु फाउन्डेसनले दुर्गम र हिमाली भेगका महिला तथा बालबालिकाका लागि विभिन्न अवसर उपलब्ध गराइरहेको नामग्याल बताउँछन् । बुबा ल्हाक्पासोनामको पनि नेपालको पर्यटन उद्योग र पर्वतारोहण क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा ठूलो योगदान रहेको उनी सुनाउँछन् ।

‘मेरो विश्वास छ, समाजमा सकारात्मक परिवर्तन ल्याउन हामी सबैसँग एक-एक जिम्मेवारी छ,’ नामग्याल दृढ सुनिन्छन्, ‘मेरा आमाबुबाले आ-आफ्नो क्षेत्रबाट जे-जसरी यो देशका लागि योगदान गर्नुभएको छ, म पनि त्यसैगरी सिन्तामणि मुस्ताङजस्ता परियोजना मार्फत पर्यटन उद्योगलाई सधैं प्रिमियम लक्जरी गन्तव्य बनाइरहनेछु ।’

सिन्तामणि मुस्ताङ के-केमा छ सूचीकृत ?

नामग्यालको सिन्तामणि मुस्ताङ रिसोर्ट संसारका धेरै प्रतिष्ठित मिडियादेखि ट्राभल, होटल तथा रिसोर्ट सम्बन्धी रिपोर्ट तयार गर्ने कम्पनीहरूको सूचीमा सूचीकृत छ । अमेरिकाको रब रिपोर्टले तयार पारेको सन् २०२४ को ‘५० उत्कृष्ट लक्जरी होटल’ सूचीमा सिन्तामणि परेको छ । यसैले २०२४ का लागि तयार पारेको ‘उत्कृष्टको पनि उत्कृष्ट’ सूचीमा पनि सिन्तामणि सूचीकृत छ ।

त्यस्तै कोन्डे नास्ट ट्राभलरले तयार पारेको ‘२०२४ का उत्कृष्ट नयाँ होटल’ को सूचीमा सिन्तामणि मुस्ताङ अटाएको छ । उता, ट्राभल प्लस लिजरको ‘१०० उत्कृष्ट होटल’ सूचीमा सिन्तामणि मुस्ताङले आफ्नो ठाउँ सुरक्षित गरेको छ ।

यसैगरी अफारले तयार पारेको ‘२०२४ का उत्कृष्ट ३१ होटल’, टाउन कन्ट्री म्यागजिनको ‘२०२४ का उत्कृष्ट लज’ र नेसनल जियोग्राफिकले तयार पारेको ‘२०२४ का उत्कृष्ट होटल’ सूचीमा दरिएको सिन्तामणि मुस्ताङको यात्रा जारी छ ।

सुशील भट्टराई