
सशस्त्र युद्धकालमा राज्य र विद्रोही पक्षबाट मारिएकाहरूको कथा धेरैले लिपिबद्ध गरे, श्रव्यदृश्यमा देखाए । राज्यले पनि मृतक, घाइते र बेपत्ताहरूको सूची र तथ्यांक प्राथमिकताका साथ राख्यो । तर, त्यही सशस्त्र द्वन्द्वमा अझ बढी हिंसा, उत्पीडन र शोषणको शिकार भएका महिलाहरूबारे उतिसाह्रो लेखिएन । न राज्यले त्यस्ता महिलाहरूको सूची राख्यो, न तथ्यांक खोज्यो ।
उनीहरूले झेल्नु परेको दुःखका पहाड लिपिबद्ध नहुनुको दोष कसैलाई दिने स्थिति पनि थिएन । किनकि, पीडित आफैं सामाजिक डरका कारण खुलेर अगाडि आइरहेका थिएनन् ।
यस्तोमा सुविना श्रेष्ठ (५०) लाई लाग्यो, ‘विश्वभरि जहाँसुकै हिंसा हुँदा सबैभन्दा बढी महिला प्रभावित भइरहेका हुन्छन्, नेपालमा चाहिं उनीहरूको आवाज लिपिबद्ध हुन सकेन ।’ त्यसैले उनी यस्तो पात्रको खोजीमा थिइन्, जो मार्फत माओवादी द्वन्द्वको एउटा पाटोलाई उजागर गर्न सकियोस् । अन्तर्राष्ट्रिय स्तरमा लैजान सकियोस्, ताकि भोलि इतिहास नदोहोरियोस् ।
‘त्यतिबेला फाट्टफुट्ट देवी खड्काले आफूमाथि भएको हिंसाबारे बोल्न थाल्नुभएको थियो, तर प्रेससँग त्यति खुल्नुभएको थिएन’ श्रेष्ठ सम्झिन्छिन्, ‘सन् २०१८ तिर चाहिं उहाँ न्यूज स्टोरीका लागि मसँग कुरा गर्न तयार हुनुभयो ।’ सुविना त्यो बेला मध्यपूर्वबाट सञ्चालित प्रख्यात न्यूज च्यानल अलजजिराका लागि काम गरिरहेकी थिइन् ।
‘पहिले पनि उहाँलाई कुरा गर्न प्रस्ताव गरिरहेकी थिएँ, मान्नुभएको थिएन’ उनले थपिन्, ‘तर, यसपटक चाहिं उहाँले तपाईं केही गर्न चाहनुहुन्छ भने म तयार छु भन्नुभयो, आफ्नो डायरी पनि दिनुभयो ।’ त्यतिबेलासम्ममा सुविना डकुमेन्ट्री फिल्म मेकरका रूपमा पनि परिचित भइसकेकी थिइन् ।
देवी विस्तृत कुरा गर्न तयार भएको संकेत पाएपछि उनले यसलाई एउटा समाचार सामग्रीमा मात्र सीमित राख्न उपयुक्त ठानिनन् । उनले देवी मार्फत सशस्त्र द्वन्द्वमा हिंसा भोग्ने महिलाहरूको कथा उजागर गर्ने एउटा अवसर देखिरहेकी थिइन् ।
‘उहाँले डायरी दिनुभएपछि मेरो मनमा अरू नै केही गर्ने उब्जिएको थियो’ श्रेष्ठ भन्छिन्, ‘त्यसपछि उहाँको कथाको गहिराइसम्म पुग्न मैले एक वर्षसम्म उहाँको जिन्दगीको विभिन्न पाटोबारे अन्तर्वार्ता गरिरहें ।’
द्वन्द्वमा यौन हिंसाका थुप्रै घटना सुनिए पनि देवी बाहेक अरू बाहिर आएका थिएनन् । यस्तोमा देवीले पनि यो विषय खुलेर उठाइनन् भने अरू कसैले पनि उठाउँदैनन् भन्नेमा उनी निश्चिन्त थिइन् ।
‘पहिलो अन्तर्वार्ताको क्रममा उहाँले १०० जना पीडित महिला सिंहदरबार गए के हुन्छ भनेर भन्नुभएको थियो, त्यसपछि मैले एक्कासी जाने हो ? भनेको थिएँ’, उनी थप्छिन्, ‘त्यतिबेलासम्म उहाँले अरु महिलाहरुलाई भेला गरिसक्नु भएको थिएन, पछि उहाँले कसरी अरु महिलालाई पनि जोड्नुभयो र उनीहरू सिंहदरबारसम्म पुगे भन्ने वृत्तचित्रमा देख्न सकिन्छ ।’

सुविनाले चाहिं यो सबै श्रव्य–दृश्यमा कैद गरिरहिन् । ‘त्यतिबेलासम्म पनि छोटो डकुमेन्ट्री बनाउँछु भन्ने थियो, तर सबै क्रमहरू यसरी मिल्दै गयो कि त्यसले ठूलै रूप लिइरहेको थियो’ उनी भन्छिन्, ‘आर्थिक रूपमा चाहिं कस्तो समस्या भयो भने यस्तो काम गर्दैछौं भनेर नेपालमा कोहीसँग सहयोग लिन नमिल्ने भयो, किनकि यसबारे हल्ला गर्दा काममै अवरोध आउन सक्थ्यो ।’
उनी जे विषयमा काम गरिरहेकी थिइन्, त्यसले छुने मानिसहरू राज्यको उपल्लो तहमा थिए । तिनीहरू शक्तिशाली थिए, त्यसैले पहिल्यै यसबारे धेरैले थाहा पाउँदा जटिलताहरू थपिन सक्थे ।
‘मैले मेरो पुरानो प्रोड्युसरसँग कुरा गरेर काम गरिरहेकी थिएँ, त्यसबेला कसरी लगानी जुटाउने भन्ने प्रश्न आउँदा मैले काभ्रेमा रहेको मेरो जग्गा बेच्छु भनें’ उनले भनिन्, ‘प्रोड्युसरले पनि मेरो घर धितो राखेर ऋण लिन्छु भनिन्, त्यसरी आर्थिक जोहो गरेर खड्काबारे डकुमेन्ट्री तयार भयो– देवी ।’
000
पाँच वर्षपछि डकुमेन्ट्री तयार हुँदा पहिलो दर्शक तिनै १०० पीडित महिलाहरू थिए । त्यो हेरिरहँदा सबैका आँखा रसाए, सकारात्मक प्रतिक्रिया आयो ।
यो विषयलाई जति लामो समयसम्म लाजको विषय बनायो, जति लामो समयसम्म लुकाएर राख्यो, महिलाहरू त्यति गुम्सिनेवाला थिए, त्यति परिस्थिति अप्ठ्यारो बन्नेवाला थियो । ‘सबैले यो कुरा बुझ्नुभयो, उहाँहरू आफैंले मलाई यस्तो बताउनुभयो’ उनी पहिलो प्रतिक्रिया सम्झिन्छिन्, ‘त्यसले मलाई झन् उत्साही बनायो ।’
पछि देवी सहितको समूहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्यो । संयुक्त राष्ट्रसंघले द्वन्द्वमा यौन हिंसा भोगेकाहरूको कथा समेटेर प्रकाशित गर्थ्यो । तर, त्यसमा कहिल्यै पनि नेपालको विषय समावेश भएको थिएन ।
‘त्यसमा पनि नेपालको कथा समावेश गराउन पहल गर्यौं, पछि बेलायतमा हुने कन्फरेन्समा पनि देवीलाई सहभागी गराउन लग्यौं’ श्रेष्ठ भन्छिन्, ‘उहाँले त्यहाँ की–नोट स्पीच दिनुभएको थियो, त्यतिबेला त्यहाँको राजपरिवारका सदस्यको पनि कार्यक्रममा उपस्थिति थियो ।’
हालै नेपाल भ्रमणमा आएको राजपरिवारको तर्फबाट देवीको अनुभव सुनेको भनेर त्यसबेला सामाजिक सञ्जालमा पनि राखिएको थियो ।
‘धेरैले हामी जस्तो डकुमेन्ट्री बनाउनेलाई आँशुको कथा बेच्यो भनेर आरोप लगाउँछन्, आफूलाई मात्र फाइदा हुने काम गर्यो भन्छन्’ श्रेष्ठ भन्छिन्, ‘त्यसैले हामीले हाम्रो लागि मात्र त्यो गरेका थिएनौं, पीडितहरूको जीवनमा पनि केही फरक पार्ने काम गरेका छौं भनेर देखाउनलाई पनि देवीलाई विभिन्न प्लाटफर्ममा जोडेका थियौं ।’
अहिले सुविनाले बनाएको देवी डकुमेन्ट्रीले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिरहेको छ । उनी भन्छिन्, ‘भनिन्छ इतिहास बिर्सिए दोहोरिन्छ, मेरो त्यही उद्देश्य थियो कि द्वन्द्वको एउटा कालो इतिहास रेकर्डमा रहोस्, अहिले पाइरहेको प्रतिक्रियाले त्यो काममा सफल भएँ भन्ने लाग्छ ।’
सुविनाले बनाएको वृत्तचित्रले यति धेरै चर्चा पाएको यो पहिलो पटक भने होइन । उनले नेपालको सामाजिक परिवेशमाथि बनाएका अरू वृत्तचित्रले पनि उत्तिकै प्रशंसा बटुलेका छन् । सन् २०१० मा उनले बनाएको ‘बर्थ इन नेपाल’ले उपचार अभावमा सुत्केरी महिलाले कसरी ज्यान गुमाइरहेका छन् भन्ने विषय चित्रित गर्छ ।
सन् २०२२ मा उनले अलजजिराका लागि ‘नेपाल्स डिफायन्ट दलित जर्नलिस्ट (नेपालकी विद्रोही दलित पत्रकार)’ शीर्षकको डकुमेन्ट्री अलजजिराका लागि बनाएकी थिइन् ।
उनले बनाएका सबै वृत्तचित्रले नेपालभित्र आम जनमानसलाई थाहा भए पनि बृहत् रूपमा उजागर नभएका विषयहरूलाई उठान गरेका छन् । सुविनाकै शब्दमा उनलाई सानैदेखि ‘समाजसेवाको भूत’ले छोइसकेको थियो । त्यसैको प्रभाव उनले छनोट गर्ने विषयवस्तुमा पनि परेको छ ।
सामाजिक सेवा गर्ने सोच आउनुमा चाहिं उनको बाल्यकालले पनि भूमिका खेलेको छ । सुविनाकी आमा बूढानीलकण्ठ स्कूलमा पढाउँथिन् । सन् १९८२ मा आमाले बूढानीलकण्ठ स्कूल छाडेपछि पाटन आएर कक्षा ३ मा भर्ना भएकी थिइन् ।
‘बूढानीलकण्ठको पर्खालभित्र हुर्किएको मान्छे पाटनमा जाँदा एकैपटक गरिबी देखेको जस्तो भयो’ उनी सम्झिन्छन्, ‘मलाई त्यसबेला बल्ल समाजको वास्तविकता थाहा पाए जस्तो भएको थियो ।’
पाटनमा आएपछि उनले अभाव देखिन्, गरिबी देखिन् । त्यतिबेला उनी विभिन्न पुस्तकालयमा गएर बाहिरी पुस्तकहरू पनि पढिरहन्थिन् । ब्रिटिश लाइब्रेरीको सदस्यता लिएकी थिइन्, कुपण्डोलमा ‘ए वान लाइब्रेरी’मा पनि नियमित जान्थिन् ।
‘ती पुस्तकमा मैले फरक–फरक चरित्रका समाज देखें, सुख, दुःख र अन्य विविध पाटोबारे जानकारी पाएँ, जसले मेरो सोच्ने शक्ति बढाएको थियो’ उनी सम्झिन्छिन्, ‘त्यही बेलादेखि मेरो मनमा समाजसेवा गर्नुपर्छ भन्ने भावना गडेको थियो ।’
शायद त्यही पृष्ठभूमिले हुनसक्छ, उनले वृत्तचित्रहरू बनाउँदा ‘जागिर’ वा ‘एसाइन्मेन्ट’ मात्र सोचेको लाग्दैन । उनी समाजमा पछाडि पारिएका वर्ग वा विषयको उठान गर्न मनैदेखि खट्छिन् ।
000
‘त्यतिबेला मलाई बुबाआमाले पढाइमा राम्रो ग्रेड ल्याउनुपर्छ, त्यसपछि छात्रवृत्तिमा पढ्नुपर्छ । नभए डोको र हँसिया किनिदिन्छु भनेर भन्नुहुन्थ्यो’ उनी बाल्यकालतिर फर्किन्छिन्, ‘त्यसले मेरो सातोपुत्लो उड्थ्यो र म पढ्न थाल्थें ।’
मेधावी छात्रा सुविनाले १७ वर्ष छँदा युनाइटेड वल्र्ड कलेज (यूडब्लूसी) नामक कलेजको अन्तर्राष्ट्रिय छात्रवृत्तिमा अमेरिका पढ्न जाने अवसर पाइन् । ‘त्यो संस्थाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई विश्व परिवेशबारे बुझाउने र सँगै राखेर घुलमिल गराउने गरी दुई वर्षको कोर्स बनाएको थियो’ उनी भन्छिन्, ‘त्यसपछि नेपाली समाज अन्य मुलुकको तुलनामा कुन स्तरमा रहेछ भनेर जान्ने मौका पनि मैले पाएँ ।’
फर्किएर आएपछि उनी उही समाजसेवाको चाहना पूरा गर्न पूर्वी नेपालतिर लागिन् । कारितास नेपाल नामक संस्था मार्फत उनी भुटानी शरणार्थीबारे काम गर्न झापा पुगेकी थिइन् । फर्किएर काठमाडौं आउँदा उनले एक दिन कान्तिपुर एफएममा जागिरका लागि आवेदन खुलेको देखिन् । त्यसपछि उनले त्यहाँ दर्खास्त दिइन् र छनोट भएर कार्यक्रम चलाउन थालिन् ।
‘बुबाआमालाई त्यसबेला मैले गरिरहेको काम मन परेको थिएन, छोरीले अझै धेरै पढोस् र अरू केही गरोस् भन्ने उहाँहरूलाई थियो’ उनी भन्छिन्, ‘पछि म थप अध्ययन गर्न बम्बई गएकी थिएँ ।’
भारत जाँदा सुविनाको योजना ‘सोसल वर्क’ पढ्ने नै थियो । तर, जेभियर इन्ष्टिच्यूट अफ कम्युनिकेशनका एक जना प्राध्यापकलाई भेटेपछि उनको लक्ष्य मोडियो ।
‘पोस्ट डक्टरेट गरिरहेका ती प्राध्यापकका लागि रिसर्च एसिस्टेन्टका रूपमा काम गरेकी थिएँ, त्यसबेला मैले उहाँले दिएको जिम्मेवारी अनुसार कमाठीपुर रेडलाइट एरियामा बेचबिखनमा परेको नेपालीबारे रिसर्च गर्नुपर्ने थियो’ उनी सम्झिन्छिन्, ‘त्यो देखेपछि मलाई यो विषयमा पो लेख्नुपर्ने रहेछ भन्ने लाग्यो, त्यसले मलाई फेरि पत्रकारितातिरै जोड्यो ।’
त्यसबेला सुविना ‘टाइम्स अफ इन्डिया’को सप्लिमेन्टमा बेलाबेला लेखहरू पठाउँथिन् । त्यही बेला महिला हिंसाबारे लेखेको सामग्री लिएर अखबारको कार्यालयमा जाँदा उनको लेख सम्पादकले फ्याँकिदिएका थिए ।
‘हाम्रो कलेजमा टाइम्स अफ इण्डियामा काम गर्नेहरू पनि प्रोफेसर थिए, त्यसैले मैले सम्पादकसँग पहुँच पाएकी थिएँ’ उनी भन्छिन्, ‘त्यसबेला यो विमेन इस्यू (महिलाको विषय) हो भनेर सम्पादकले मेरो सामग्री रिजेक्ट गरिदिएका थिए ।’
यद्यपि, सुविना रोकिनेवाला थिइनन् ।
सुविना ‘सोसल वर्क’ छाडेर पत्रकारिता नै पढ्न अनि महिला र पिछडिएका बस्तीका विषय उठान गर्ने मिडियाहरूको खोजी गर्न थालिन् । फर्किएर केही समय ‘द काठमान्डू पोस्ट’मा काम गरिन् । त्यहीं काम गरिरहेका बेला उनलाई बेलायती समाचार संस्था बीबीसीका लागि अछाममा गएर कुपोषणबारे प्रोजेक्टमा काम गर्ने अवसर मिल्यो । त्यो सामग्री बीबीसी विश्व सेवामा प्रसारण हुनेवाला थियो ।
त्यसपछि उनी अन्तर्राष्ट्रिय समाचार संस्थाहरूसँग क्रमशः जोडिन थालिन् । थुप्रै वृत्तचित्रमा फ्रिलान्सरका रूपमा काम गरिन्, पछि उनलाई अलजजिराबाट काम गर्ने अफर आयो ।
‘द्वन्द्वको समय थियो, त्यतिबेला एउटा साथीले मलाई ‘तिमी क्यामरामा राम्री देखिन्छ्यौ’ भनेको थियो, मैले पहिलो पटक पीटीसी (पर्सन टु क्यामरा) दिएकी थिएँ’ उनी भन्छिन्, ‘त्यसपछि मैले अलजजिराका लागि सन् २०१९ सम्म थुप्रै स्टोरीहरू गरें ।’
त्यसयता पनि उनले अमेरिकाको प्रख्यात पत्रिका द न्यूयोर्क टाइम्सदेखि बेलायतको च्यानल फोरसम्मलाई रिपोर्टिङ गरेकी छन् । भन्छिन्, ‘… तर, एउटा न्यूज स्टोरीभन्दा पनि लङ फर्मको फिचर डकुमेन्ट्रीमा काम गर्दा अझ आनन्द लाग्छ ।’