+

नेपाली भिजन साइन्टिस्टको अमेरिकामा तरक्की

पूरा सूची
Shares
काठमाडौंकी पविता ढुंगेलले अमेरिकामा गरेको स्नातकोत्तर तहको शोधका कारण पाँच वटा अवार्ड पाइन् । हाल युनिभर्सिटी अफ् क्यालिफोर्निया, बर्कलेमा विद्यावारिधि गरिरहेकी उनले १० वटा अनुसन्धान अनुदान पाइसकेकी छन् ।
पविता ढुंगेल

काठमाडौंकी पविता ढुंगेल स्कूल पढ्दा कक्षा कोठामा दैनिक बेञ्च रोटेसन हुन्थ्यो । त्यस्तोमा अग्रपङ्तिका बेञ्चहरूमा पर्दा उनी ह्वाइट बोर्डमा लेखेका अक्षरहरू स्पष्ट देख्थिन् । तर, पछाडि हुँदा बुझ्न अप्ठ्यारो हुन्थ्यो, कतिपय अक्षरहरू एकदमै मधुरो देखिन्थे ।

त्यसबेला उनलाई आफूलाई किन देख्न गाह्रो भइरहेको छ भन्ने थाहा थिएन । यो समस्या घरमा सुनाएपछि उनलाई बुबा–आमाले आँखा जाँच गराउन लगे । आँखाका डाक्टरलाई भेटेपछि उनले कक्षा ५/६ मा पढ्दै चश्मा लगाउनुपर्ने भयो । अर्को दिनदेखि पछाडिको बेञ्चमा बस्दा पनि उनलाई कुनै समस्या भएन ।

‘त्यतिबेला मलाई यस्तो सानो चश्मा लगाउँदा कति स्पष्ट देखिंदो रहेछ भन्ने लाग्थ्यो’ उनी सम्झिन्छिन्, ‘मेरो मनमा त्यो कुराले यति धेरै स्ट्राइक गर्‍यो कि चश्मा र आँखा जाँच्नेहरूबारे धेरै जिज्ञासा उठे र यो पो महत्वपूर्ण काम रहेछ भन्ने लाग्न थाल्यो ।’

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटार इंग्लिस स्कूल पढ्ने ढुंगेल त्यसबेला कक्षाकी मेधावी छात्रा थिइन् । पढाइमा तेज भएकैले उनलाई परिवारदेखि अरूले पनि पछि गएर चिकित्सा सम्बन्धी अध्ययन गर्न सुझाव दिइरहन्थे । उनी स्वयम्को मनमा पनि बच्चैदेखि लगाएको चश्माले छाप छोडेको थिएन ।

‘त्यतिबेला कागेश्वरी क्षेत्र काठमाडौंका अन्य क्षेत्र जस्तो विकसित भइसकेको थिएन, राजधानी भए पनि अन्यत्र जस्तो शहरीकरण भइसकेको थिएन’ ढुंगेल सम्झिन्छिन्, ‘त्यस्तोमा लायन्स क्लबबाट पनि हाम्रोतिर आँखा जाँच शिविर भइरहन्थ्यो, म पनि त्यहाँ जान्थें ।’

गोठाटार इंग्लिस स्कूलबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि कक्षा ११ र १२ अध्ययनका लागि उनी बानेश्वरस्थित हिमालय ह्वाइट हाउस कलेज भर्ना भइन् । त्यहीबेला उनको नजर एउटा समाचारमा पर्‍यो, जसले उनको जिन्दगीलाई दृष्टि विशेषज्ञ बन्नेतिर धकेल्यो ।

त्यसबेला उनी मेडिकल अध्ययन गर्ने सोचमा त थिइन्, तर के विषय पढ्ने, कसरी पढ्ने भन्ने सोचिसकेकी थिइनन् । जब उनले समाचारबाट तिलगंगा आँखा अस्पतालका निर्देशक डाक्टर सन्दुक रुइतले दक्षिण एशियाको प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार पाएको सुनिन्, त्यसपछि उनी आँखा सम्बन्धी नै अध्ययन गर्ने निचोडमा पुगिन् ।

रुइतले मोतिविन्दुको शल्यक्रियाका लागि न्यून मूल्य पर्ने चिकित्सा पद्धति शुरू गरेका थिए । त्यसबापत यो प्रतिष्ठित पुरस्कार रुइतलाई दिइएको थियो, उनको देश–विदेशमा चर्चा भएको थियो । ‘वास्तवमा त्यसपछि चाहिं म आँखा सम्बन्धी नै अध्ययन गर्छु भन्ने निष्कर्षमा पुगेकी थिएँ’ ढुंगेल भन्छिन्, ‘त्यसपछि मैले प्रवेश परीक्षाको तयारी थालें ।’

त्यसबेला उनले सोचेकी थिइन्, एमबीबीएस गरेर आँखा सम्बन्धी अध्ययन गर्ने । ‘तर एक वर्ष तयारी गरेर बस्दा पनि छात्रवृत्तिमा नाम निस्किएन’ उनी सम्झिन्छिन्, ‘त्यो बेला त्रिवि शिक्षण अस्पतालले भर्खरै दृष्टि विशेषज्ञ (अप्टोमेट्रिस्ट) को कोर्स शुरू गरेको थियो, त्यसमा चाहिं मेरो नाम निस्कियो ।’

सामान्य रूपमा बुझ्दा नेत्र चिकित्सकले आँखाको शल्यक्रिया पनि गर्छन् भने दृष्टि विशेषज्ञले चाहिं शल्यक्रिया बाहेक अरू सबै काम गर्छन् । उनले एमबीबीएस गरे पनि ‘नेत्र चिकित्सा’लाई नै प्राथमिकतामा राख्ने सोच बनाएकी थिइन् ।

‘दृष्टि विशेषज्ञ पनि मेरो उद्देश्यभन्दा भिन्न थिएन, यो पनि चारवर्षे स्नातक तहकै कोर्स थियो’ उनी भन्छिन्, ‘त्यसपछि सन् २०१० बाट मैले ब्याचलर्स इन अप्टोमेट्रीको पढाइ थालें ।’ अहिले यो विषय अन्य कलेजहरूले पनि पढाउन थालेका छन् । तर, त्यसबेला त्रिवि शिक्षण अस्पतालमा यो अध्ययनका लागि जम्मा ६ वटा सिट थियो, सबैले पूर्ण छात्रवृत्तिमा पढ्न पाउँथे ।

‘धेरैले आवेदन दिएकोमा ६ जना छानिएका थियौं, त्यसमध्ये म पनि एक जना थिएँ’ ढुंगेल थप्छिन्, ‘त्यसबेला मलाई ठूलो लडाइँ जिते जस्तो भएको थियो ।’ यो कोर्स अन्तर्गत पहिलो वर्ष ‘बेसिक साइन्स’ हुन्थ्यो भने त्यसपछि आँखा सम्बन्धी अन्य विषयहरूको पढाइ हुन्थ्यो ।

त्रिवि शिक्षण अस्पताल देशभरि उपचार सम्भव नभएका बिरामीहरू आउने ठाउँ थियो । ‘देशभरिका गाह्रो केसहरू आउने भएका कारण त्यही किसिमको अभ्यास भयो, त्यो अनुभवले अहिलेसम्म काम गरिरहेको छ’ उनी भन्छिन्, ‘त्यहाँ हुँदा उनले पहिले घरतिर देखेको जस्तो लायन्स क्लबको शिविरमा आफैं गाउँ–गाउँ जान पाइन् ।’

महाराजगञ्जस्थित मेडिकल कलेजको केन्द्रीय विभागले नियमित जसो गाउँ–गाउँमा स्वास्थ्य शिविर राख्थ्यो । त्यसबेला सबै विभागबाट अध्ययनरत विद्यार्थीहरू पनि लगिन्थे । त्यसक्रममा ‘चौथो वर्ष’मा अध्ययनरत रहँदा उनले सिन्धुपाल्चोक, स्याङ्जा लगायत जिल्लामा गएर आँखा जाँच गर्ने मौका पाइन् ।

अन्तिम वर्ष ६ हप्ता काठमाडौं बाहिर बिरामीको उच्च प्रेसर हुने स्थानमा गएर तालिम गर्नुपर्ने व्यवस्था थियो । ‘त्यसक्रममा मैले लहानको सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पतालमा तीन/तीन हप्ता काम गरेकी थिएँ’ ढुंगेल भन्छिन्, ‘त्यसले मलाई जटिल र फरक–फरक किसिमका समस्याको उपचार गराउने अभ्यास गराएको थियो ।’

अप्टोमेट्री अध्ययन गर्ने विद्यार्थीको एउटा संस्था छ, नेपाल अप्टोमेट्री समाज । त्यसक्रममा उनीहरूले निजी तथा सार्वजनिक स्कूलहरूसँग समन्वय गरेर बालबालिकामा देखिएको आँखाको समस्याबारे अध्ययन गरेका थिए ।

त्यसक्रममा धेरै बालबालिकामा अदूर–दृष्टि (टाढाको नदेख्ने) समस्या रहेको पाइएको थियो । अदूर–दृष्टिको समस्यालाई विश्व स्वास्थ्य संगठनले पनि अहिलेको ठूलो सार्वजनिक स्वास्थ्य समस्या भनेर घोषणा गरेको छ ।

‘झट्ट हेर्दा सामान्य जस्तो लागे पनि यसले संसारमा स्वास्थ्य, आर्थिक क्षेत्रमा धेरै असर गरेको छ, शिविर गर्दा हामीले के थाहा पायौं भने कतिपयलाई त यो समस्या भएको थाहै नहुने रहेछ’ उनी थप्छिन्, ‘यो समस्याप्रति विद्यार्थीमा ख्याल नै नहुने, धेरैले आफूलाई समस्या भएको कुरा स्वास्थ्य शिविरमा जाँच गरेपछि मात्र थाहा पाउने हुँदोरहेछ ।’

यो समस्याले उनीहरूलाई पढाइमै असर गरिरहेको थियो । शैक्षिक तथा मनोवैज्ञानिक रूपमै असर गरिरहेको थियो । ‘यसले समग्रमा क्वालिटी अफ लाइफमै असर गरिरहेको हुन्छ’ उनी थप्छिन्, ‘स्कूल–स्कूलमा गएर गरेको शिविरबाट त्यो समस्याबारे अझ गहिराइमा जान्ने अवसर मिल्यो ।’

सन् २०१४ देखि २०१७ सम्म उनले फरक–फरक पृष्ठभूमिका बिरामीहरूको आँखा जाँच गरिन् । त्यसबेला अप्टोमेट्रिस्टको नेपालमा स्नातक तहसम्म मात्र पढाइ हुन्थ्यो । थप अध्ययनका लागि विभिन्न विदेशी युनिभर्सिटीमा प्रयास गरिरहेकी थिइन् ।

त्यहीबेला उनले अमेरिकाको प्यासिफिक युनिभर्सिटी अन्तर्गतको स्कूल अफ् अप्टिमेट्रीमा गएर स्नातकोत्तर अध्ययन गर्ने अवसर पाइन् । त्यहाँ उनले आँखामा विशेष प्रकृतिको लेन्स लगाउँदा त्यसको कस्तो असर पर्छ भन्ने विषयमा शोध गरेकी थिइन् ।

‘विशेष प्रकृतिको कन्ट्याक लेन्स लगाउँदा आँखाभित्रको प्रेसर र पर्दामा कस्तो असर हुन्छ भन्ने विषयमा मेरो अध्ययन केन्द्रित थियो, त्यो शोधका कारण कलेजले मलाई अवार्ड पनि दिएको थियो’ उनी भन्छिन्, ‘अन्य विद्यार्थीको तुलनामा फरक विषय पनि थियो र धेरै प्रोफेसरले मन पराउनुभयो ।’ त्यो शोधका लागि उनले ‘स्टुडेन्ट फ्याकल्टी रिसर्च’सहित ५ वटा अवार्ड पाएकी थिइन् ।

ढुंगेलले युनिर्सिटी अफ् क्यालिफोर्नियामा त्यसका लागि सन् २०२१ मा आवेदन दिएकी थिइन् । विश्वको नम्बर वान् सार्वजनिक युनिभर्सिटीमा पर्ने यो विश्वविद्यालयबाट उनले विद्यावारिधि गर्ने अवसर पाइन् । त्यहाँबाट भिजन साइन्समा पीएचडी गर्ने उनी पहिलो नेपाली महिला हुन् ।

ढुंगेलले २० देखि ३५ वर्ष उमेर समूहका ३२ जना व्यक्ति, जसको आँखामा अन्य कुनै समस्या थिएन, तिनीहरूमा यो अध्ययन गरेकी थिइन् । अध्ययनको निष्कर्ष त्यसले ‘आँखामा नकारात्मक असर पर्न सक्छ’ भन्ने थियो । 

अहिले त्यो शोध प्रकाशनको प्रक्रियामा छ । यो विषयमा अमेरिकामा अरूले पनि फरक–फरक तरिकाले अध्ययन गरेका छन् । तर, युनिभर्सिटीभित्र चाहिं यो विषयमा पहिले रिसर्च नभएकोले त्यसले चर्चा पाएको थियो ।

पछि यही रिसर्चका कारण ‘अमेरिकन एशोसिसएन अफ् अप्टोमेट्री’ले उनलाई ‘अर्ली करिअर रिसर्च अवार्ड’ समेत दिएको थियो । स्नातकोत्तर सकेपछि दुई वर्ष उनले अमेरिकाको मिनेसोटो राज्यको ‘आई केयर एशोसिएट्स’ नामक आँखा अस्पतालमा काम गरिन् ।

‘बिरामी जाँच्नु आफैंमा एउटा ठूलो काम थियो, तर मलाई चाहिं आफूभित्र अनुसन्धान गर्ने हुटहुटी एकदमै धेरै थियो’ ढुंगेल भन्छिन्, ‘मलाई अनुसन्धान गरेर राम्रो कुरा पत्ता लगाउँदा अझ धेरै मानिसको जिन्दगीमा सेवा पुर्‍याउन सकिन्छ भन्ने लाग्थ्यो ।’

डा. सन्दुक रुइत समेत रिसर्चबाट विशिष्ट किसिमको छाप छाड्न सफल भएको भन्दै उनी थप्छिन्, ‘अमेरिकालाई धेरैले अवसरको भूमि भन्छन्, त्यस्तो मुलुकमा अध्ययनबाट थप विषयहरू पत्ता लगाउन सकिए अझ धेरै काम गर्न सकिन्छ कि भन्ने मलाई लाग्यो ।’

यसपछि उनी फेरि विद्यावारिधि गर्नेतिर लागिन् । ढुंगेलले युनिभर्सिटी अफ् क्यालिफोर्निया बर्कलेमा त्यसका लागि सन् २०२१ मा आवेदन दिएकी थिइन् । विश्वको नम्बर वान् सार्वजनिक युनिभर्सिटीमा पर्ने यो विश्वविद्यालयबाट उनले विद्यावारिधि गर्ने अवसर पाइन् । त्यहाँबाट भिजन साइन्समा पीएचडी गर्ने उनी पहिलो नेपाली महिला हुन् ।

उनको विद्यावारिधिको अध्ययनको विषय पनि अदूर–दृष्टिकै वरिपरि छ । ‘अहिले मैले प्रयोग गरिरहेको औषधिले यो समस्या कसरी छोटो अवधिमा समाधान गर्न सक्छ भन्ने मेरो अध्ययनको विषय हो’ उनी भन्छिन्, ‘यो शोध गर्नका लागि मैले अमेरिकामा १० वटा रिसर्च ग्रान्ट पनि पाएकी छु ।’

अमेरिकामा पीएचडीपछि स्वदेशमै आएर काम गर्ने दूरगामी लक्ष्य उनको छ । ‘पीएचडीपछि अदूर–दृष्टि न्यूनीकरणकै क्षेत्रमा काम गर्ने सोच छ, केही वर्ष अमेरिकामै रहे पनि अन्तिम लक्ष्य स्वदेश नै फर्किएर काम गर्ने हो’, उनी थप्छिन् ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।