+

शानदार बुहार्तन

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
घुम्टोबाट बाहिर निस्कन सङ्घर्ष गर्नुपर्ने मधेशी समाजमा एउटी बुहारीले उद्योग खोलेर चलाउनु चानचुने चुनौती थिएन । तर हरिवन–४ गेल्हा निवासी निर्मलाकुमारी महतोले यो चुनौती सामना मात्रै गरिनन्, उपलब्धि पनि हासिल गरिन् ।
निर्मलाकुमारी महतो

हाम्रो समाजमा बुहारीले गर्ने काम भनेर चुलोचौकाभित्रकै जिम्मेवारीलाई परिभाषित गर्ने गरिएको छ । अझ मधेसका बुहारीलाई त्यसको दबाब छँदै छ । तर हामी यहाँ यस्ती एक बुहारीको कुरा गर्छौं, जसले बुहारीले दैनिक गर्ने कामकै परिभाषा बदलिदिइन् । आफूमात्र होइन, समाजका अरु बुहारीलाई पनि प्रेरित गरिन् ।

उनी हुन् सर्लाहीको हरिवन नगरपालिका–४ गेल्हाकी निर्मला महतो (३२) ।

हरेक दिन झिसमिसेमै उठेर भान्छादेखि दैलोसम्मको काम सक्ने हतारो हुन्छ निर्मलालाई । घरधन्दा सकेर हतारहतार १० बजेभित्र आयुस चप्पल–जुत्ता उद्योगमा नपुगी हुन्न । नत्र उद्योगमा आइपुगेका कामदार बाहिरै रोकिन्छन् । उद्योग खोलेर ग्राहकको अर्डर अनुसार जुत्ता–चप्पल बनाउन लगाउनु उनको नियमित काम भएको छ ।

निर्मला भन्छिन्, ‘अर्डर अनुसार जुत्ता–चप्पल बनाउने र प्याकिङ गर्न यसै पनि भ्याई नभ्याई छ । फेरि ढिला भयो भने कामदारले बाटोमै कुर्नुपर्छ ।’ घर नजिकै हरिवन नगरपालिका–१ मा निर्मलाको आफ्नै डेढ कट्ठा जग्गा छ, जहाँ जस्ता राखेर जुत्ता चप्पल उद्योग घर बनाइएको छ ।

कुनैबेला वैदेशिक रोजगारीका लागि मलेशिया गएका निर्मलाका पति उमेश अहिले उद्योगको बजारीकरणको काममा दौडन्छन् । उद्योग बाहिरको काम पति उमेशको जिम्मामा छ । मार्केटिङ, बिक्रेताले माग गरे अनुसारको चप्पल–जुत्ता उपलब्ध गराउने तथा उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आपूर्ति गर्ने जिम्मेवारी उनको हो ।

निर्मलाको काम भने अर्डर अनुसारका जुत्ता–चप्पल बनाउन लगाउने र फुर्सदमा आफैं पनि प्याकिङको काम गर्ने । अनि ग्राहकलाई जुत्ता–चप्पल बेच्ने उनको आफ्नै खुद्रा पसल पनि छ, त्यो पसल हेर्ने । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म व्यस्त निर्मलाको उद्योगमा दैनिक कम्तीमा २५० जोर चप्पल र दुई सय जोर जुत्ता उत्पादन हुन्छ ।

पति उमेशका अनुसार, उत्पादित चप्पल–जुत्ता सर्लाही, महोत्तरी, रौतहट, धनुषा, सिन्धुली, रामेछाप लगायत जिल्लाको बजारमा बिक्री गरिन्छ । हप्तामा झण्डै ७ लाख बराबरको कम्तीमा सय कार्टुन चप्पल जुत्ता बजारमा पुग्छन् । यसरी हेर्दा निर्मलाको उद्योगबाट मात्रै मासिक ३० लाखको जुत्ता–चप्पल उत्पादन र बिक्री–वितरण हुन्छ । खर्च कटाएर मासिक २ लाख रुपैयाँसम्म फाइदा हुन्छ भन्दा दंग देखिइन् निर्मला ।

‘लगानी र मिहिनेत अनुसार राम्रै कमाइ भइरहेको छ’ खुसी व्यक्त गर्दै उनी भन्छिन्, ‘आफ्नै घरमा बसेर काम गरेर १६ जनालाई रोजगार दिएर मासिक २ लाखसम्म कमाइ हुनु कम होइन नि !’

१७ असार दिउँसो ३ बजे यो अनलाइनखबर संवाददाता जुत्ता उद्योग पुग्दा निर्मला दम्पती काममा व्यस्त थिए । एकसाताका लागि कामदार आफ्नो धान रोप्न बिदामा गएका रहेछन् । ‘कामदार बिदामा जाँदा माग अनुसार आपूर्ति गर्न सकिन्न’, निर्मलाले भनिन् । केहीबेरमा हरिवन नगरपालिका–९ की शारदा पाण्डे र वडा नं. ११ की स्थानीय शिक्षिका मुना बुढाथोकी चप्पल किन्न उनकोमा आइपुगे ।

घरका लागि तीन जोर चप्पल किनेपछि शिक्षिका बुढाथोकीले भनिन्, ‘सायद मधेशमा मधेशी छोरीले यसरी जुत्ता–चप्पल उद्योग चलाउने निर्मला पहिलो हुनुपर्छ’, उनले भनिन् । बजार मूल्यभन्दा सस्तोमा आकर्षक चप्पल पाएको भन्दै शिक्षिका बुढाथोकी निर्मलालाई हौसला दिएर फर्किइन् ।

संघर्षका ती दिनहरू

बुबा रामप्रित महतो र आमा भालसरी देवी महतोका सात सन्तानमध्ये कान्छी छोरी हुन्, निर्मला । १५ वर्षकै उमेरमा निर्मलाको गाउँकै उमेशसँग मागी विवाह भयो । गाउँकै जनता मावि गेग्लहाबाट बिहेकै वर्ष २०६४ मा निर्मलाले एसएलसी दिएकी थिइन् ।

विवाहपछि पनि उनले पढाइ रोकिनन् । गाउँदेखि अलिपर रहेको विद्याश्रम विद्यालय जुटपानीमा कक्षा १२ को अध्ययन सकेसँगै सरकारले दिने प्रति विद्यार्थी लागत अनुदान (पीसीएफ) कोटामा शिक्षिका बनेर आफैंले अध्ययन गरेको जनता माविमा अध्यापन सुरु गरिन् । जब सरकारले पीसीएफ कोटा खारेज गर्‍यो, निर्मलाको तीन वर्षदेखिको जागिर गयो ।

त्यसपछि उनी घरव्यवहार, बालबच्चा हेर्दै उमेशलाई खेतीपातीमा सघाउन थालिन् । तर निर्वाहमुखी खेतीपातीबाट घरपरिवार चलाउन धौ–धौ हुन्थ्यो । तीन छोराछोरीको लालनपालन र शिक्षादीक्षामै समस्या हुनथाल्यो ।

निर्मलाले हरिवनकै एक निजी विद्यालयमा मासिक ५ हजार रुपैयाँमा काम सुरु गरिन् । ८ घण्टा लगातार पढाउँदा तलब कम भए पनि उनले आफ्ना दुई सन्तानलाई निःशुल्क पढाइन् । २०७६ सालमा उमेश वैदेशिक रोजगारीमा मलेसिया हान्निए । तर उनले त्यहाँ राम्रो काम पाएनन्, कमाइ राम्रो भएन ।

आफूले दिनभर काम गर्दा पनि घर चलाउन मुस्किल, उता पतिको समस्या पनि उस्तै । निर्मला विकल्प बारे सोच्न थालिन् । उनलाई लाग्न थाल्यो– केही सीप सिकेर स्वरोजगार हुने पाए ! यसैबीच २०७७ सालमा एक गैरसरकारी संस्थामा काम गर्ने हरिवनकै केशवराज थापालाई भेटिन्, सीपमूलक तालिम बारे कुरा गरिन् ।

विगत सम्झँदै उनी भन्छिन्, ‘एकदिन केशवराज सरले हेल्भेटासको सहयोगमा सहयोगी समाज संस्थाले चप्पल–जुत्ता बनाउने तीनमहिने निःशुल्क तालिम दिने कार्यक्रम आएको छ भन्नुभयो ।’ तालिमपछि १४–१५ हजार मासिक कमाउन सकिन्छ भन्ने थाहा पाएपछि निर्मला रुचिपूर्वक तालिम लिने निर्णयमा पुगिन् ।

तर ससुरा र श्रीमान्ले अनिच्छा देखाए । उनले पतिलाई मनाइन् । निजी स्कुलको जागिर छाडेर तीनमहिने तालिम लिइन् । तीन महिने तालिम जुत्ता–चप्पल फिनिसिङको लागि पर्याप्त थिएन । निर्मलाले केशवराजलाई भेटेर तालिम थप २० दिन थप्न आग्रह गरिन् । भयो पनि त्यस्तै । अन्ततः उनले जुत्ता–चप्पल बनाउने काम सिकेरै छाडिन् ।

मासिक १३/१४ हजार कमाइरहेकी थिइन्, केही महिनापछि उनले काम गरेको उद्योग बन्द भयो । निर्मलाले विदेशमा निराश रहेका उमेशसँग कुरा गरेर आफ्नै जुत्ता–चप्पल उद्यम सुरु गर्ने बारे छलफल चलाइन् । उनको योजनामा न उमेश तयार भए न ससुरा । उनीहरूको तर्क थियो– ‘उद्योग चल्दैन, बेकारमा लगानी खेर मात्रै जान्छ ।’

बलियो इच्छाशक्तिले निर्मलालाई हार खान दिएन । उनले उमेशलाई चलिरहेको जुत्ता उद्योग अवलोकन गराइन् । थोरै लगानीमा राम्रो आम्दानी गर्न सक्ने विश्वास दिलाएपछि उमेश सहमत भए । पति त माने तर थोरबहुत सञ्चित रकम ससुरासँग थियो । उद्योग नचले पैसा फिर्ता गर्ने भनेर जोड गरेपछि मात्रै उनी बुहारीलाई १ लाख २० हजार रुपैयाँ लगानी गर्न तयार भए ।

त्यसपछि सुरु भयो निर्मलाको नयाँ खाले बुहार्तन । अर्थात् बुहारीले गर्दै आएको काम, जसलाई अब उनी आफैं नयाँ ढंगबाट बदल्ने बाटोमा लागिसकेकी थिइन् ।

‘मैले त्यही लगानीबाट उद्योग सुरु गरें, सुरुमा अत्यावश्यक मेसिनहरू ल्याएँ’ निर्मला संघर्षका दिनहरू सम्झँदै भन्छिन्, ‘सोल सहितका धेरै सामान बाहिरबाटै ल्याए पनि अन्ततः आफ्नै उद्योगमा चप्पल–जुत्ता उत्पादन हुन थाल्यो ।’

उमेश मार्केटिङमा खटिए । केही जोर जुत्ताको स्याम्पल बोकेर व्यवसायी भेट्दै हिंडे । गौशालाका एक व्यापारीले एकैपटक १ लाखको चप्पल–जुत्ताको अर्डर दिए । यस्तै अर्डर अन्यत्रबाट पनि आउन थाल्यो । उद्योगलाई गति दिन र आकर्षक डिजाइन बनाउन निर्मलाले आफूलाई तालिममा प्रशिक्षण दिने दुई जना कामदारलाई मासिक २५/२५ हजार तलबमा राखिन् । उत्पादन र बिक्री ह्वात्तै बढ्यो ।

निर्मला दम्पतीले कमाउँदै, लगानी विस्तार गर्दै ठूला मेसिनहरू जोड्ने, कामदार थप्ने गर्न थाले । अहिले उनीहरूसँगै जुत्ता–चप्पल बनाउने आफ्नै मेसिन छ । मेसिनमा मात्रै ३५ लाख रुपैयाँ भन्दा बढी लगानी छ । ‘१ लाख २० हजारको सुरुवाती लगानीमा पछि ९ लाख ऋण लिएर थप्यौं’ निर्मला भन्छिन्, ‘उद्योगको कुल पूँजी ६० लाख नाघिसक्यो ।’ उद्योगलाई अहिले घरेलु उद्योग कार्यालय, मलंगवाले केही उपकरण उपलब्ध गराएको छ ।

रोजगारीका लागि भौंतारिने अवस्थाबाट पत्नी निर्मलाकै कारण अहिले आफ्नै उद्योग भएकोमा उमेश खुसी छन् । ‘यो उद्योग निर्मलाकै उद्देश्यको प्रतिफल हो, अन्यथा म आज पनि रोजगारीको लागि भौंतारिरहेको हुन्थें’ उमेश भन्छन्, ‘आज मज्जाले दुवै जना यसमै मिहिनेत गरेर राम्रो आम्दानी गर्न सकेका छौं र अरूलाई रोजगारी पनि दिएका छौं ।’

सफलताको सिंढी चढिरहँदा पनि निर्मला पुराना दिन बिर्सन्नन् । सुरुमा जुत्ता–चप्पलको काम थाल्दै गर्दा उनलाई धेरैले हियाएका थिए । ‘कतिले व्यवसाय सफल हुन्न भने, कतिले तल्लो जातले गर्ने काम नगर भने’ निर्मला भन्छिन्, ‘काम सानो ठूलो हुन्न भनेर म आफ्नो सीप सदुपयोग गर्नतिर लागें र आज यो अवस्थामा आइपुगेकी छु ।’

अहिले निर्मला परिवारको खुसी र सुखको स्रोत बनेकी छन् । ७ सदस्यीय परिवारमा छन् जेठी छोरी १४ वर्षीया सृष्टि, छोराद्वय ११ वर्षीय हार्दिक र ८ वर्षीय आयुससँगै निर्मलाका ससुरा रामचलित्र महतो र सासू देवकुमारी ।

निर्मला र उमेशले घरपरिवार, खेतबारीको काम गर्दै उद्योग पनि राम्ररी व्यवस्थापन गरिरहेका छन् । हरेक दिन झिसमिसेमै उठेर घरको नित्यकर्म सक्दै तीन छोराछोरीलाई स्कुल पठाउँछन् निर्मला दम्पती । सासू–ससुरासँगै खाना खाएर १० बजे अघि उद्योग पुगिसक्छन् ।

काममा अर्जुनदृष्टि

तालिम लिने १० जनामध्ये निर्मलामात्रै उद्योग चलाउन सफल भइन् । निर्मलाको तालिम सहजीकरण गरेकी स्थानीय शारदा पाण्डे भन्छिन्, ‘निर्मला उदाहरणीय बनिन्, उनको काम देखेर मलाई पनि रहर लाग्छ ।’

अहिले समाजले निर्मलाको कामको प्रशंसा गर्ने अवस्था यत्तिकै बनेको भने होइन । चार वर्षअघि मात्रै खोलेको उनको उद्योगले अहिले साँच्चिकै फड्को मारेको छ । मधेशमा घर बाहिर निस्कँदा पनि घुम्टो ओढ्नुपर्ने अभ्यासका बीचबाट उनले यस्तो सफल यात्रा तय गरेकी छन्, जुन धेरैका लागि उत्प्रेरणा बनिरहेको छ ।

निर्मला आफ्नो उद्योगमा कोटेस, पञ्जा, बर्मिस, क्लोजसुज, क्रसपट्टी, टोटीबाला, कोलापुरी, ऐलान, खाल्टो लगायत ५५ प्रकारका लेडिज चप्पल उत्पादन गर्छिन् । यस्तै पुरुषका लागि चिरुवा, फित्ता र हवाई चप्पल उत्पादन हुन्छ भने पाटी सुज, स्कुल सुज, ड्यामचेल्सी बुट लगायत जुत्ता पनि उत्पादन गरिन्छ ।

उद्योगमा उत्पादित चप्पलहरूको थोक मूल्य न्यूनतम २०० देखि अधिकतम साढे ४०० रुपैयाँ छ भने जुत्ताको न्यूनतम ६०० देखि २२ सय रुपैयाँसम्म पर्छ । बजारमा सबभन्दा बढी माग स्कुल सुज र लेडिज चप्पलको छ । प्रायः सस्तो चप्पल बजारमा धेरै बिक्छ ।

उद्योगमा काम गर्ने कामदारहरू गाउँकै दुई महिला, धनुषा, रौतहट र भारतका छन् । एकजना कामदारले एकदिनमा ७० जोडासम्म चप्पल बनाउन सक्छन् । उनीहरूलाई निर्मलाले चप्पल–जुत्ता बनाएको प्रतिजोर अनुसार पारिश्रमिक दिने गर्छिन् । ‘उहाँहरू मज्जाले दिनभर चप्पल–जुत्ता बनाउनुहुन्छ । राम्रो व्यवहार गर्ने भएकाले र समयमा पारिश्रमिक दिने भएकाले उहाँहरूसँग सम्बन्ध राम्रो छ’, निर्मला भन्छिन् ।

सफलताको सिंढी चढिरहँदा पनि निर्मला पुराना दिन बिर्सन्नन् । सुरुमा जुत्ता–चप्पलको काम थाल्दै गर्दा उनलाई धेरैले हियाएका थिए । ‘कतिले व्यवसाय सफल हुन्न भने, कतिले तल्लो जातले गर्ने काम नगर भने’ निर्मला भन्छिन्, ‘काम सानो ठूलो हुन्न भनेर म आफ्नो सीप सदुपयोग गर्नतिर लागें र आज यो अवस्थामा आइपुगेकी छु ।’

शैलेन्द्र महतो