+

सिकाइ कारखानाका सीईओ

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
कारखाना विज्ञानलाई विद्यार्थी आफैंले छोएर, बनाएर, चलाएर पढ्नुपर्छ भन्नेमा विश्वास गर्छ । र त्यस अनुसारका सामग्री डिजाइन गरेर उत्पादन गर्दै विद्यार्थीसम्म पुर्‍याउँछ ।
पवित्र गौतम

बजारको माग हेरेर औद्योगिक कारखानाहरू खुल्छन् । तर सन् २०१२ मा इन्जिनियरहरूको एउटा टिमले नौलो निर्णय लियो, ‘सिक्ने र सिकाउने कारखाना’ खोल्ने । अनेक मोड काटेर पनि त्यो कारखाना अहिले सिकाउने मात्रै नभई सिकाइका सामग्री उत्पादनमा जोडिन पुगेको छ ।

कारखानामा निरन्तर नेतृत्वमा काम गरिरहेका छन् इन्जिनियर पवित्र गौतम (३६) । २०४५ सालमा जन्मिएका पवित्रको बाल्यकाल काठमाडौंमा बित्यो, विद्यालय पढ्दादेखि नै कम्प्युटर र वेब कोडिङमा रुचि राख्ने उनी एसएलसी दिंदासम्म कम्प्युटरमा आधारभूत रूपमा पोख्त भइसकेका थिए ।

एसएलसीपछि विज्ञान विषयमा उच्च शिक्षा अघि बढाए । साथीहरू विदेश जाने क्रम बढ्दै गर्दा उनी नेपालमै बसेर काठमाडौं इन्जिनियरिङ कलेजमा ‘इन्जिनियरिङ’ पढ्न थाले । कलेज पढ्दापढ्दै कलेज स्तरका रोबोटिक्स क्लबहरूमा आवद्ध हुन थाले । कलेज सक्ने अन्तिम समयतिर ‘रोबोटिज क्लब नेपाल’ गठनमा भूमिका निर्वाह गरे । तीन वर्षसम्म उनी रोबोटिक्समा रुचि राख्ने युवाहरूसँग त्यही क्लबमा सक्रिय रहे ।

सुविधाका आधारमा गौतमलाई धेरै अवसर थिए । परिवारको आर्थिक स्थिति राम्रै भएकाले एउटा जोखिम उठाएर काम गर्न सक्ने आधार थियो । आफूले पनि जोखिम उठाउन आँट नगरे नयाँ आइडियामा अरूले पनि काम गर्दैनन् भन्नेमा उनी स्पष्ट थिए ।

उनको केही नयाँ गर्ने रहर र सक्रियताको उपलब्धिका रूपमा सन् २०१२ मा जन्मियो, कारखाना । अहिले यो कम्पनी कक्षा कोठामा सिकाइलाई प्रयोगात्मक बनाउने सामग्री उत्पादन गरेर बेच्ने र शिक्षकहरूलाई तालिम दिने काम गर्छ । सुरुमा कम्पनी खोल्नुको उद्देश्य र यसका आधारभूत आइडिया अहिलेको कामभन्दा बिल्कुल अलग थियो ।

‘हुन त पैसा कमाउनकै लागि कारखाना स्थापना गरेका थियौं, नेपालमा इनोभेसनको इकोसिस्टम छैन भन्ने महसुस भएपछि तालिममा बढी केन्द्रित भयौं’ कारखानाका प्रमुख कार्यकारी अधिकृत गौतमले भने, ‘समय क्रममा सिक्दै अघि बढ्यौं र अहिलेको अवस्थासम्म आइपुग्यौं ।’

सुरुमा आइडियाको कारखानाको अवधारणाबाट जन्मिएको कम्पनी अहिले उत्पादक र बिक्री वितरक बनेको छ । कुन कक्षामा पाठ्यक्रम अनुसार कुन र कस्ता प्रयोगात्मक सामग्री आवश्यक छ, त्यही हेरेर उत्पादन गरेर बेच्ने काम हुँदैछ ।

कारखानाले सुरुदेखि नै इन्जिनियरिङका विद्यार्थीलाई नवीन सोचबारे सिकाउन थाल्यो । सुरुमा रोबोटिक्स, प्रोग्रामिङ, कोडिङ सिकाउन थालियो । त्यसबेला कारखानाको टिमलाई थाहा भयोे, ‘कम्प्युटर वा विज्ञानका विषय सिकाउन यो उमेर ढिला भइसकेको हुने रहेछ । यसलाई त विद्यालय स्तरबाटै सिकाउन सुरु गर्नुपर्ने रहेछ ।’

यही बुझाइका कारण गौतमले काठमाडौं शिक्षा क्याम्पसबाट बीएड पनि गरे । कारखानाले सुरुवाती दिनमा आफैं कक्षा सञ्चालन गरी विज्ञान र प्रविधिको कक्षा सञ्चालन गर्‍यो । यहाँ सातामा ५०/६० जनालाई पढाइन्थ्यो ।

कारखानामा आउने विद्यार्थीको संख्या धेरै भएपछि कारखाना आफैं विद्यालय पुगेर पढाउन थाल्यो । विद्यालयमै पुगेर प्रयोगात्मक रूपमा विज्ञान सिकाउन थालियो । शिक्षकहरूले पनि तालिम माग गरेपछि कारखाना त्यता पनि लाग्यो ।

यो आइडियालाई प्रयोगात्मक रूपमा प्रयोग गर्न आवश्यक सामग्री अभाव देखेपछि कम्पनीले बिजनेस आइडियालाई बदल्यो र पाठ्यक्रममा आधारित सामग्री डिजाइन र उत्पादनमा सक्रिय भयो । ‘हामीले चुम्बक पढ्यौं, स्कुलस्तरमा आफ्नै हातले चुम्बक चलाएर यसको कामबारे कतिले अनुभव गर्न पाए ?’ उनले भने, ‘चुम्बक समातेर पढ्दै गर्दा उत्सुकता अर्कै हुन्छ, सिकाइ पनि विशेष हुन्छ, यस्तै कुरालाई ध्यानमा राखेर काम गर्‍यौं ।’

उनका अनुसार, कारखाना विज्ञानलाई विद्यार्थी आफैंले बनाएर, छोएर, चलाएर पढ्नुपर्छ भन्नेमा विश्वास गर्छ । र त्यस अनुसारका सामग्री डिजाइन गरेर उत्पादन गर्दै विद्यार्थीसम्म पुर्‍याउँछ । यस बाहेक कारखानाले शिक्षकलाई आफ्नो कक्षालाई बढी प्रयोगात्मक बनाउन तालिम दिइरहेको छ । यो वर्ष मात्र देशभरका ४०० शिक्षकलाई तालिम दिइयो । एक शिक्षकले २५ घण्टा हाराहारीको तालिम पाउँछन् ।

कारखानाले विद्यार्थीको किन्ने क्षमता हेरेर सामान विद्यालयमा बिक्री गर्ने गर्छ । गौतमका अनुसार अहिलेको सिकाइको तौरतरिकाले विद्यार्थीलाई अलमलमा पारिरहेको छ । यस्तो अवस्थामा २० वर्षको उमेरमा एकैपटक कोही ‘इनोभेटर’ हुन सक्दैनन् भन्ने कारखानाको बुझाइ छ ।

‘त्यसैले हामी पाठ्यक्रममा जे छ, त्यही कुरा उत्पादन गर्छौं । पाठ्यक्रमबाट टाढा हुँदैनौं’ उनले भने, ‘पाठ्यक्रमलाई कक्षामा लिएर जाने तौर–तरिकामा धेरै सुधार गर्नुपर्ने आवश्यकता छ ।’ गौतमका अनुसार कतिपय अवस्थामा अभिभावक आफंैले किन्छन्, विद्यालयले पनि किन्छ, स्थानीय तहसँग पनि सहकार्य गरेर बेचिन्छ ।

सुरुमा आइडियाको कारखानाको अवधारणाबाट जन्मिएको कम्पनी अहिले उत्पादक र बिक्री वितरक बनेको छ । कुन कक्षामा पाठ्यक्रम अनुसार कुन र कस्ता प्रयोगात्मक सामग्री आवश्यक छ, त्यही हेरेर उत्पादन गरेर बेच्ने काम हुँदैछ ।

कारखानाले विज्ञान सिकाउन महँगो ल्याब सहित धेरै मेसिन हुनुपर्छ भन्ने मान्यता चिर्ने गरी काम गर्छ । सामान्य सामग्री उपयोग गरेर पनि विज्ञानलाई व्यावहारिक तरिकाले सिकाउन सकिन्छ भन्ने मान्यताबाट कम्पनीले काम गर्छ ।

नेपालका धेरै विद्यालयमा विज्ञान ल्याब राख्ने, त्यसको शुल्क पनि असुल्ने तर शिक्षकले प्रयोग गरेर देखाउँदा विद्यार्थी दर्शक मात्रै हुने अवस्था छ । यसबाट विद्यार्थी सिकाइ कमजोर भएकाले कारखानाले यसको समाधानमा काम गरिरहेको छ । कारखानाले ४ देखि ९ कक्षासम्मका विद्यार्थीलाई चाहिने आवश्यक सामग्री उत्पादन गर्दैछ । कक्षा १ देखि ३ सम्म ‘हाम्रो सेरोफेरो’ पाठ्यक्रमलाई पछ्याइएको छ ।

यसले एउटा कक्षामा एउटा विद्यार्थीलाई एउटा ब्याग बनाइदिन्छ । जसमा आधारभूत रूपमा विद्यार्थीलाई सिकाइका लागि चाहिने सामग्री हुन्छन् । कारखाना ८०० भन्दा धेरै प्रकारका सामान उत्पादन गर्दैछ ।

‘कक्षा १ मा १०० वटा सामान चाहिन्छ भने शिक्षक, विद्यार्थी कम्तीमा ३०/४० पसलमा धाउनुपर्छ, यो सबै सामान एकै स्थानमा प्याकेजिङ गरी विद्यालयमा पठाइन्छ’, उनले भने । कारखानाले यो वर्ष मात्र १७ हजार ब्याग उत्पादन गरेको छ ।

यहाँ अहिले ६० जना कर्मचारी काम गर्छन् । हरेक वर्ष माघ–फागुनबाट नयाँ सामान बनाउने र सप्लाई गर्ने समय आउँछ । त्यो बेला भने ज्यालामा १०० भन्दा धेरैलाई रोजगारी कारखानाले दिइरहेको छ । कारखानाका धेरै ग्राहक निजी स्कुल हुन् ।

सानै उमेरदेखि वैज्ञानिक सोचको विकास गर्ने, अनुभव लिने बानी बसाल्ने, प्रयोगात्मक प्रयास गरिहाल्ने र असफलतालाई निरन्तरको प्रयासबाट सफलतामा बदल्ने सिकाइको आधारभूत पक्षलाई प्रवर्द्धन गर्ने कारखानाको लक्ष्य हो ।

स्थानीय तहसँग सहकार्य गरेर सरकारी स्कुललाई पनि यस्ता सामग्री बेच्न थालिएको छ । ‘हामीले बैतडीमा गाउँपालिकासँग मिलेर काम गरिरहेका छौं । संखुवासभामा समेत हाम्रो सामग्री जान थालेको छ’ उनले भने, ‘२५ जिल्लामा पुगेका छौं, ७७ जिल्लामा नै पुग्ने लक्ष्य छ ।’

सुरुमा निजी विद्यालयहरूबाट काम थालेको कारखानाले काठमाडौंका नाम चलेका स्कुलसँग सहकार्य गर्छ । अब दुर्गममा जान थालिसकेको भन्दै गौतमले कम्पनीको नाफा मात्रै नभई पाठ्यक्रमको व्यावहारिक सिकाइ गाउँ–गाउँमा पुगोस् भन्ने उद्देश्य समेत रहेको बताए ।

कारखानाको व्यापारलाई विदेशसम्म पनि विस्तार गर्ने लक्ष्य छ । ‘हाम्रो काम लिएर अब हामी विदेश जान चाहन्छौं । शैक्षिक अनुभव र सामग्री पनि निर्यात सम्भव छ भन्ने हामीले देखेका छौं । अबको केही वर्षमा हामी सिक्किम, बंगलादेश वा श्रीलंकासम्म पुग्ने लक्ष्य छ’ उनले भने, ‘हाम्रो उद्देश्य अधिकतम संख्यामा विद्यार्थीले प्रयोगात्मक र व्यावहारिक शिक्षाको लाभ हासिल गरुन् भन्ने हो ।’

परिवारको एक्लो छोरा गौतमलाई बुबाआमा जागिरे बनाउन चाहन्थे । परिवारमा यसअघि कसैले पनि बिजनेस वा उद्यम नगरेकाले सुरुमा सहज परिस्थिति थिएन । कारखानाको यात्रा सुरु गर्दादेखि नै उनको प्रेरणा ‘विश्वास ढकाल’ हुन् ।
उनले अजय प्रधानाङ्ग, निरन्जन श्रेष्ठ, समिर थापा सहित ह्वाइट फिल स्कुलका शिक्षक रोशन कर्माचार्य, तत्कालीन प्रिन्सिपल पारस श्रेष्ठ लगायतबाट बढी सिक्ने मौका पाए । कारखाना स्थापना गर्दाका उनको टिमका कतिपय साथीहरू पीएचडीको सिलसिलामा विदेशमा छन् ।

गौतम उनीहरू सबैप्रति नतमस्तक छन् । ‘उद्यमशीलताको यात्रामा म बामे सर्दैथिएँ, सबैले मलाई धेरै कुरा सिकाउनुभयो’ उनले भने, ‘उहाँहरूको सहयोग र प्रेरणामा अहिले हामी विद्यालय शिक्षा लिने क्रममै विद्यार्थीलाई उद्यमशीलताको सोच विकास गर्न काम गरिरहेका छौं ।’

उद्यमशीलताको सोच विद्यालय तहबाटै विकास गर्ने सोचले कम्पनीले काम गरिरहेको छ । सानै उमेरदेखि वैज्ञानिक सोचको विकास गर्ने, अनुभव लिने बानी बसाल्ने, प्रयोगात्मक प्रयास गरिहाल्ने र असफलतालाई निरन्तरको प्रयासबाट सफलतामा बदल्ने सिकाइको आधारभूत पक्षलाई प्रवर्द्धन गर्ने कारखानाको लक्ष्य हो ।

‘विद्यार्थीमा रमाइलो गर्दै कुनै सामग्री बनाउँदा थप उत्सुकता भरिन्छ’ गौतम भन्छन्, ‘बनाउँदा सजिलै बन्दैन, बिग्रन्छ, चुट्टिन्छ, सबै कुराले विद्यार्थीलाई असफलताबाट आत्तिनुहुँदैन भन्ने पाठ सिकाउँछ ।’ कारखानामा चुट्टिएमा र च्यातिएमा जोड्न मिल्छ भन्ने पाठ सिकाउने गरी सामग्रीहरू डिजाइन हुन्छन् । यो कम्पनीका उत्पादनले विद्यार्थीमा सानैदेखि म चुनौतीको सामना गर्छु र जितेरै छाड्छु भन्ने भावना विकास गर्ने र त्यसले अन्त्यमा उद्यामशीलता प्रवद्र्धन गर्ने गौतमको दाबी छ ।

२०८१ असारमा सार्वजनिक एसईई परीक्षाको नतिजाले धेरै विद्यार्थी गणित र विज्ञानमा फेल भएको तथ्यले पाठ कण्ठ गराउने नेपाली परिपाटीको कमजोरीलाई छर्लङ्ग पारेको छ । ‘पाठ्यक्रम कण्ठ बनाएर पढाउन खोजियो, त्यसैले नतिजा प्रभावकारी छैन’ उनी भन्छन्, ‘विज्ञान त सिक्ने, अनुभव गर्ने र व्यावहारिक रूपमा प्रयोगमा ल्याउने विषय हो, त्यसो गर्न सके समग्रमा शिक्षाको गुणस्तरमा सुधार हुन्छ, हामी त्यही चिजका लागि काम गर्दैछौं ।’

अच्युत पुरी