
शुरूमा उनको नाम पलेस्वाँ थियो । तर सबैले पलेशा भन्न थाले । पछि पलेशा नै भयो । पलेशाको अर्थ हो, कमलको फूल । समयान्तरमा उनै पलेशा नेपाली खेलकुदको तमाम विकृतिको जगमा कमलको फूल झैं फक्रिइन् । पलेशाले नेपाली खेलकुद क्षेत्रमा जुन तहको सफलता प्राप्त गरेकी छन्, त्यो तहको सफलता अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले पाउन सकेका छैनन् ।
नेपाली खेलाडीको सफलता भनेकै ओलम्पिक पुग्नुसम्म हो । तर पलेशाले त सपना जस्तै मानिएको पदक नै जितिन् । पेरिस पारा ओलम्पिकमा पलेशाले पारा तेक्वान्दो के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनिको पदक जितेकी हुन् । उनले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गरेकी थिइन् ।
त्यसपछि त चर्चा चुलियो पलेशाको । उनको साहस र संघर्षको । तर कीर्तिमानी सफलता त देखिने पक्ष न हुन् । स्वयम् पलेशा भने आफ्नो सफलतालाई एउटा संयोजन मान्छिन् । आफ्नै कठोर मिहिनेत, परिवारको निरन्तर समर्थन र गुरुहरूको शिक्षाको ।
यी सबको मिश्रणबाट बनिन् कीर्तिमानी पलेशा । प्रशिक्षक कविराज नेगी लामा, पलेशालाई एकदमै मिहिनेती खेलाडी मान्छन् । ‘ऊ एकदमै मिहिनेती र परिश्रमी छ । उसको शक्ति भनेकै उसको विल पावर हो । म गर्न सक्छु भन्ने उसमा छ’, लामाले भने । पारा ओलम्पिकमा सीधै छनोट हुन छनोट खेलमा स्वर्ण जित्नै पथ्र्यो । नभन्दै पलेशाले एशियाली छनोटमा पनि स्वर्ण नै जितेकी थिइन् ।
फरक क्षमताको स्टार
पलेशाको बायाँ हातको नाडीदेखि तलको भाग विकास भएको छैन । तर उनले त्यही फरक क्षमतालाई शक्ति बनाइन् । र, पेरिस पारा ओलम्पिकमा कांस्य जितिन् । धेरैलाई लाग्ला, यो तेस्रो पदक न हो । तर नेपालका लागि स्वर्ण भन्दा कम होइन । किनभने यसअघि कहिल्यै यस्तो भएकै थिएन ।
जबकि नेपालले ओलम्पिक विधामा खेल्न थालेको करीब सात दशक भइसकेको छ । सन् १९८६ को सोल ओलम्पिकमा तेक्वान्दोबाट विधान लामाले कांस्य पदक जिते पनि त्यो प्रदर्शनी खेल नभएकाले पदकमा गणना गरिएन । त्यसैले आधिकारिक रूपमा खेलेरै पदक ल्याउने पलेशा पहिलो खेलाडी बनिन् ।
पदक जितेको क्षण सम्झेर पलेशा अहिले पनि रोमाञ्चित हुन्छिन् । भन्छिन्, ‘मिहिनेतको फल हो ।’ तर यतिमै उनी सन्तुष्ट छैनन् । ‘किनकि जसरी मिहिनेत गरेकी थिएँ, गोल्डकै लागि गरेकी थिएँ’, उनी भन्छिन् । यद्यपि उनीसँग अर्को सन्तुष्टि पनि छ । ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको बच्चाहरूले हेर्छन् म दिदी जस्तो बन्छु भन्छन् । त्यो मेरो लागि रियल गिफ्ट हो भन्छु । कोही इमोसनल हुन्छन्’, उनी भन्छिन् ।
अहिले पारा ओलम्पिक मेडल र पलेशा पर्यायवाची जस्तै भएको छ । ‘धेरै नै फेमस भएँ । बाटोमा हिंड्दा पनि धेरैले चिन्ने भए । जता गए पनि पलेशा है भन्छन् । नाम याद नभए पनि मेडल ल्याएको भन्छन्’, उनी भन्छिन् ।
धन्न खेल्न छाडिनँ !
पलेशालाई धेरै पटक खेल्न छाड्दिम् भन्ने नआएको होइन । तर उनले त्यो कुरालाई पर राखिन् र आफ्नो लक्ष्यमा दृढ भएर बढिन् ।
पारा ओलम्पिकमा पदक जितेपछि मनमा के आउने रैछ त ?
‘मैले धन्न खेल्न छाडिनँ भन्ने मनमा आउँछ ।’
किन आयो त त्यस्तो अवस्था ?
‘कतिपय बेला त्यस्तो अवस्था आएको थियो । अब केही हुँदैन, कसैको सपोर्ट छैन । जित्ने भन्दा धेरै हारिरहेको हुन्छ’, उनी भन्छिन् ।
दिमाखले छाड्दिम् भने पनि मनले कहाँ मान्थ्यो र !
मनले जित्यो । आफूलाई मन परेको खेल छोड्न सकिनन् ।
टर्निङ प्वाइन्ट
टोकियो ओलम्पिकमा पलेशाले दुई म्याच जिते पनि पदकबाट वञ्चित भएकी थिइन् । ‘त्यो बेला पनि इतिहास नै थियो । पहिलो पटक दुई म्याच जितेको । त्यसअघि कसैले जितेको थिएन ।’
तर पलेशाले दुई खेल जितेको भन्दा पनि मेडल जित्न नसकेको प्रतिक्रियाले उनलाई हिट गर्यो । उनी भन्छिन्, ‘मेडल आएन भन्न थाले मान्छेले । तिमी चुक्यौ अब । यस्ता फिडब्याकहरू आए । जुन राम्रो थिएन ।’
उनले अन्य खेलहरू पनि जित्न सकिनन् । हारहरूले डिमोटिभेट फिल गरायो ।
‘अब सक्दैन । किनकि कसैले सपोर्ट गर्दैन । आफूले कति गर्ने भनेर गाह्रो थियो’ पलेशाले कठिन अवस्था सुनाइन् ।
तर हिम्मत भने हारेकी थिइनन् । उनमा कुनै न कुनै दिन जितेरै छाड्छु भन्ने आत्मविश्वास थियो । ‘पछि त मैले बहराइनको युथ गेम खेलें त्यसमा गोल्ड मेडल जितें । त्यहाँबाट हुन्छ कि, हुन्छ कि भन्दै मिहिनेत गर्दै पेरिस पारा ओलम्पिकसम्म पुगें’ उनी भन्छिन्, ‘बहराइनको मेडल नै टर्निङ प्वाइन्ट जस्तै बन्यो । मोटिभेसन गराउने त्यही भयो ।’
परिवारको साथ
परिवारमा पलेशा जन्मेको खुशीसँगै दुःख पनि थियो । तर परिवारले हिम्मत हारेन ।
बागबजारबाट पलेशा पढ्न जावलाखेलको डीएभी स्कूल जान्थिन् । त्यही बेला छोरीलाई सेल्फ डिफेन्सका लागि तेक्वान्दो सिकाउन काठमाडौं डोजाङमा भर्ना गरिदिएँ । कक्षा–५ पढ्दादेखि नै पलेशालाई स्कूल र ट्रेनिङ लैजाने–ल्याउने बा–आमाको दिनचर्या थियो ।
शुरूदेखि नै मिहिनेत गर्नुपर्यो । बिहान ५ बजे उठेपछि उनको काम शुरू हुन्थ्यो । ५ देखि ७ बजेसम्म सातदोबाटोमा ट्रेनिङ हुन्थ्यो । ७ बजेपछि डीएभी स्कूलमा पढाइ । त्यही बीचमा उनलाई बुबा–आमाले तयार पार्ने ब्रेकफास्ट खाने सबै काम सकाउँथिन् । ‘म ब्रेकफास्ट खाँदा ममीले कपाल कोरिदिने । बुबाले ब्याग रेडी गरिदिने ।’
शुरूमा पलेशालाई तेक्वान्दोमा खासै मन नभए पनि बा–आमाले तिमी गर्न सक्छ्यौ भनेर विश्वास भरिदिए । स्कूल सकिएपछि फेरि उनी ३ बजे ट्रेनिङ जान्थिन् । अनि घर पुग्दा बेलुका ८ बजिसक्थ्यो । राति १०–११ बजेसम्म होमवर्क गर्थिन् ।
‘एकदम टफ नै थियो । तर गर्नु नै थियो भनेपछि कुनै एक्सक्युज नै थिएन । बहाना त हुन्थ्यो होला, तर मैले जसरी पनि मेडल ल्याउनु छ भनेर मिहिनेत गरें’, पलेशा भन्छिन् ।
अर्थात् पलेशा बन्नुमा परिवारको बलियो साथ छ । ‘परिवारको साथ विना त केही सम्भव हुँदैन । मेरो परिवारले मलाई सधैं साथ दिनुभयो । उहाँहरूकै समर्थन भएपछि अरू कसले के भन्छ खासै चासो हुन्थेन ।’
सुरुआतको शृंखला
बागबजार, जावलाखेल, सातदोबाटो पलेशाको दिनचर्या थियो । १० वर्षको उमेरबाट तेक्वान्दो सिक्न थालेकी पलेशा १२ वर्षकै उमेरदेखि राष्ट्रिय टिमसँगै प्रशिक्षण गर्न पाइन् । तेक्वान्दो उनको पहिचान बन्यो । १३ वर्षको उमेरमा नेपालको प्रतिनिधित्व गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न दक्षिणकोरिया गइन् ।
पलेशाले सन् २०१७ मा दक्षिणकोरियाको छुनचियोनमा भएको तेस्रो एशियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिप मार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरिन् । जहाँ, उनी पाँचौं भइन् । सन् २०१७ मा लन्डनमा भएको विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले एउटा म्याच जितेकी थिइन् । विस्तारै उनले अन्तर्राष्ट्रिय अनुभव बटुल्दै गइन् । त्यो अनुभव नै पछि सफलताको आधार बन्यो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न थालेको एक वर्षपछि नै पलेशाले सन् २०१८ मा भियतनाममा भएको एशियन पारा तेक्वान्दो ओपन च्याम्पियनसिपमा पहिलो पदक जितिन् । जहाँ उनले कांस्य जितेकी थिइन् ।
त्यसपछि सन् २०१९ मा जोर्डन र टोकियोमा उनले प्रतिस्पर्धा गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक आएन । तर सन् २०२१ मा बहराइनमा भएको एशियन युथ पारा गेम्समा उनले स्वर्ण पदक जितिन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा यो उनको पहिलो स्वर्ण थियो ।
पलेशाले वाइल्ड कार्ड मार्फत टोकियो पारा ओलम्पिक खेल्ने अवसर पाइन् । कोरोना महामारीका कारण छनोट खेल्न नपाएकाले उनले वाइल्ड कार्डको सहारा लिनुपरेको थियो ।
पहिलो पटक नै पारा ओलम्पिकमा उनले दुई म्याच जित्दै इतिहास रचिन् । तर कांस्य पदकको लागि भएको भिडन्तमा चिनियाँ खेलाडी ली युजिसँग अन्तिम समयमा सम्हालिन नसक्दा उनी १२–९ ले पराजित हुँदै पदक जित्नबाट वञ्चित भएकी थिइन् ।
त्यो बेला पदक नआए पनि अन्तर्राष्ट्रिय स्तरमै पलेशा चिनिइन् । खेल नै छाड्ने अवस्थामा पुगे पनि नकारात्मक प्रतिक्रियालाई नै पोजिटिभ इनर्जी बनाएर खेललाई निरन्तरता दिएकी पलेशाले सन् २०२३ मा चीनको हान्झाउमा भएको चौथो पारा एशियन गेम्समा ऐतिहासिक कांस्य जितिन् ।
त्यसपछि उनको करिअरको ग्राफ उकालो चढिहाल्यो । पारा ओलम्पिकको लागि एशियाली छनोटमा स्वर्ण जितिन् । अनि छनोट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली पारा खेलाडी मात्र बनिनन् पदक नै जितेर इतिहास रचिन् ।
पलेशालाई धेरै गुरुले सिकाए । तर उनको सुरुआती कोचबारे खासै चर्चा हुँदैन । उनलाई स्कूलमा हुँदा तेक्वान्दो सिकाउनेहरू थिए– उमेश शाह, निर्मल, किशोर श्रेष्ठ, अनु लामा । त्यसपछिका गुरु बने– कल्याण कुँवर ।
पछि कविराज नेगी लामा उनको प्रशिक्षक भए । करीब एक दशक लामाकै प्रशिक्षणमा पलेशाले खेल्दै आएकी छन् । एकअर्कालाई विश्वास गरेकाले सफलता मिलेको दुवै जना बताउँछन् । ‘मलाई जुन गुरुहरूले सिकाउनुभयो, म एकदमै ब्लेस्ड छु । नेगी गुरु पाउनु त म आफूलाई भाग्यमानी सम्झन्छु । उहाँसँग बच्चैदेखि प्रशिक्षण गर्न थालें । दुई ओलम्पिकमा पनि सँगै गयौं । एकदम बुझ्नुहुन्छ’, पलेशाले भनिन् ।
प्रशिक्षक नेगीको भनाइ पनि उस्तै छ, ‘दुवै जनाको अन्डरस्ट्यान्डिङ एकदमै राम्रो छ । त्यसले पनि सफलता हात लागेको हो ।’
पढाइ पनि सँगसँगै
खेलसँगै पलेशाले अध्ययनलाई पनि सँगै बढाइरहेकी छिन् । उनी हाल चीनमा आर्किटेक्चर पढिरहेकी छन् । उनलाई खेल्न जस्तै पढ्न पनि उत्तिकै मन लाग्छ । त्यसैले अहिले पनि खेल र पढाइ दुवै सँगै बढाइरहेकी छन् ।
खेलाडीलाई खेलमै समय छुट्याउन कठिन भइरहेको बेला पलेशा भने आर्किटेक्चर जस्तो विषय निकै रुचिका साथ पढिरहेकी छिन् । ‘यो मेरै रोजाइ हो । मलाई घरहरू डिजाइन गर्न मनपर्छ’ उनले भनिन्, ‘ट्रेनिङ गर्दा थकाइ लागेको बेला म घरको डिजाइनहरू गर्थें । ट्रेनिङ गर्न अल्छी लाग्दा यस्तै आफूलाई मन लागेको विषयमा इन्जोए गर्थें ।’
खेलाडीले अध्ययन गर्दा अझ आत्मविश्वास आउने पलेशाको बुझाइ छ । ‘खेलाडीले पढ्दा कन्फिडेन्स बढ्छ । गेम्सहरूमा पनि अरूसँग इन्टर्याक्ट गर्न सजिलो हुन्छ’ उनले भनिन्, ‘म पनि अरू भन्दा के कम छु र भन्ने हुन्छ । एटिट्युट हुन्छ ।’
खेलाडीले करिअरसँगै पढाइलाई पनि ध्यान दिनुपर्ने पलेशाको बुझाइ छ । ‘खेलमा लागेर पढाइ पनि कन्टिन्यू गर्न सकिन्छ । छाड्नुपर्ने कारण छैन । बाहिर पनि सबैले त्यसै गरिरहेका हुन्छन् ।’
पलेशामा पढाइबाट प्राप्त हुने सफलताप्रति पनि उत्तिकै विश्वास छ । उनी भन्छिन्, ‘हजुरहरूले ओलम्पिक पलेशा देख्नुभयो, अब आर्किटेक्ट पलेशा पनि देख्नुहुन्छ !’