+

महिलाको प्रतिष्ठा उठाउन ‘घर बिगार्ने’ पशुपति

पूरा सूची
Shares
महिनावारी हुँदा पनि उनले लुकेर दही, दूध, खाइन्; देउता रिसाएनन्, गाईभैंसीले दूध दिइरहे । अछाम साँफेबगरकी पशुपति कुँवरको विद्रोहले अहिले सामाजिक मान्यता पाएको छ । उनी भन्छिन्, ‘यसले घर बिगार्छे भन्ने बुझाइ अब समाजले पत्याउँदैन ।’
पशुपति कुँवर

कुरा कक्षा ४ पढ्दाको हो, छेउमा आफूसँगै बसेको साथी महिनावारी भएर बेन्चमा रगत खसेपछि रुँदै घर फर्किएको देखेकी थिइन् पशुपति कुँवरले । किन रुँदै घर फर्किन् उनी ? यो प्रश्नले उनलाई घोच्न थाल्यो ।

त्यसपछि पनि साथी हरेक महिनाजसो ४/५ दिन स्कूलमा अनुपस्थित हुन्थिन् । साँफेबगरको भगवती प्राथमिक विद्यालय पढ्ने बेलाका यी कुराले उनलाई अचम्ममा पार्थ्यो । एक दिन साथीलाई सोधिन्, स्कूलबाट किन रुँदै घर फर्किएको तिमी ?

साथीले जवाफ फर्काउँछिन्, ‘महिनावारी भएपछि छाउ बार्नुपर्छ । अरूलाई छुनुहुँदैन । स्कूल नजिकै मन्दिर छ । देवता रिसाउँछन् । त्यसैले मलाई छाउ भएका बेला घरबाट स्कूल आउन दिंदैनन् ।’ त्यो बेलासम्म आफू महिनावारी नभएका कारण उनले साथीले जस्तो समस्या भोग्नुपरेको थिएन । उनको बालचेतले त्यो कुप्रथा हो भन्ने निष्कर्ष त्यही बेला निकालिसकेको थियो ।

यो पृष्ठभूमिमा हुर्किएकी उनी समयक्रममा छाउपडी कुप्रथा विरुद्धको सशक्त आवाज बन्न पुगिन् । अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ मा २२ वैशाख २०४० मा जन्मिएकी पशुपति कुँवर १७ वर्षको उमेरदेखि छाउपडी कुप्रथा र लैंगिक विभेद विरुद्ध अभियान चलाउँदै आएकी छिन् ।

२०५७ सालमा १० कक्षा पढ्दादेखि नै सामाजिक कुप्रथा विरुद्ध सचेतना फैलाउने अभियानमा लाग्नु आफैंमा चुनौतीपूर्ण काम थियो । महिनावारी हुँदा बार्नुपर्ने, गोठमा सुत्नुपर्ने, देउता रिसाउने डरले विद्यालय जान नदिने जस्ता कुरा उनलाई पाच्य भएन । उनी यो अभियानमा लागिन् ।

उनी स्वयम् पनि यो कुप्रथाको शिकार बन्नुपरेको थियो । परिवारले छाउ गोठमा सुताउने त्रासले पशुपतिले पहिलो पटक छाउ भएको कुरा नै लुकाइन् । तर दोस्रोपटक छाउ भएपछि भने उनले गोठमा बस्नुपर्‍यो । विद्रोही स्वभावकी पशुपतिलाई गोठमा बस्दा छोरीहरूमाथि किन विभेद हुन्छ भन्ने प्रश्नले झन् घोच्यो ।

छाउपडी कुप्रथा र छोरी भएकै कारण महिलाले भोग्नुपरेका हिंसा विरुद्ध लड्ने हुुटहुटी भए पनि एक्लै हुुँदा उनीमा त्यो साहस पलाइसकेको थिएन । तर, जब उनी सेवक नेपाल नामक गैरसरकारी संस्थामा आवद्ध भइन्, त्यसपछि भने उनी मुखर रूपमा उभिन थालिन् ।

सेवक नेपालको कोषाध्यक्ष भएपछि उनलाई परिवर्तन आफैंबाट शुरू गर्नुपर्छ भन्ने लाग्यो । अब उनी महिनावारी भएका बेला गोठमा होइन, सामान्य समयमा जस्तै घरभित्रै सुत्न थालिन् । दही, दूध, मोही खान थालिन् । त्यसले देउता रिसाउँछन्, गाईभैंसी बिग्रिन्छन् भन्ने सामाजिक अन्धविश्वासबाट परिवारलाई मुक्त गर्न पहिलो पल्ट सफल भइन् ।

त्यसपछि गाउँका अरू छोरीलाई पनि महिनावारी भएका बेला गोठमा सुत्नुहुँदैन । स्कूल जानुपर्छ देउता रिसाउँदैनन् भनेर सचेतना फैलाउन सक्रिय हुन थालिन् । त्यो समयमा गाउँमा पढे–लेखेकी छोरी भनेर औंलामा गन्न सकिने मध्येकी एक थिइन् उनी ।
यो अभियान चलाउन थालेपछि गाउँलेहरूले उनका कुरा काट्न थाले । ‘पढे–लेखेको छोरी भएर गाउँमा नराम्रो कुरा गर्दै हिंड्छे । आफू त बिग्री बिग्री हाम्री छोरीहरूलाई पनि बिगार्ने भई’ पशुपतिले यस्ता कुरा सुनिरहनुपर्थ्यो । तर यसको बेवास्ता गर्दै उनले निरन्तर कुप्रथा विरुद्ध आवाज उठाइरहिन् ।

छोरीले घर बाहिर बसेर पढ्ने–लेख्ने काम गर्नुहुन्न भन्ने सामाजिक मान्यता चिर्ने काम पनि पशुपतिले आफैंबाट शुरू गरेकी थिइन् । अध्ययनका लागि घरभन्दा टाढा जाँदा पनि छोरीलाई हेर्ने दृष्टिकोण फरक हुन्थ्यो । उनीहरूको चरित्रमाथि प्रश्न उठाइन्थ्यो । तर उनले यतापट्टि ध्यानै दिइनन् ।

विस्तारै उनी छाउपडी कुप्रथा विरुद्ध मात्रै होइन, समाजमा हिंसामा परेका महिलाको न्यायका लागि पनि लड्न थालिन् । बालविवाह, बहुविवाह, महिला हिंसा, सामाजिक कुप्रथा विरुद्ध खरो रूपमा उभिएपछि उनलाई सामाजिक रूपमा बहिष्कार गर्नुपर्छ भन्नेसम्मको कुरा उठाउन थालियो ।

‘धेरैले मलाई यो पुरुष विरोधी महिला हो । घर, समाज बिगार्छे भन्नुहुन्थ्यो’ कुँवरले भनिन्, ‘पशुपतिलाई गाउँबाट निकाल्नुपर्छ । पढे–लेखेको केटी भएर उल्टो उल्टो गर्न थाली भन्थे । तर यी सबै कुराको बेवास्ता गर्दै म अभियानमा लागिरहें ।’

विस्तारै सामाजिक रूपमा विभेदमा परेका, श्रीमान्बाट पीडित भएका, घरेलु हिंसा पीडित, विपन्न नागरिक, द्वन्द्व पीडित महिलाहरूको सहारा मात्रै होइन आवाज नै बन्न पुगिन् । २०६४ सालमा काठमाडौंको प्रज्ञा भवनमा सामाजिक विभेद र कुप्रथाले महिलाहरूले भोग्नुपरेका पीडामा आधारित ‘बन्द पीडा’ नामक डकुमेन्ट्री बनाएर प्रदर्शन समेत गरेकी थिइन् ।

आज कुँवरको परिचय एक अभियन्ताका रूपमा मात्रै सीमित छैन । उनी आपत्विपत्मा परेका महिला, बालबालिका, वृद्धवृद्धाको सहारा हुन् । अछाममा घरेलु हिंसा, असुरक्षित गर्भपतन, छोरो पाउने आशामा धेरै छोरी जन्माएका, भारी बोकेका जस्ता कारणले महिलाहरूमा आङ खस्ने समस्या डरलाग्दो थियो ।

सामाजिक विभेदको डरले धेरै महिलाले आफ्नो समस्या लुकाएर राखेका थिए । तर, पशुपतिकै अगुवाइमा आङ खस्ने समस्या भएका महिलाका लागि निःशुल्क उपचारको व्यवस्था गरियो । त्यसले स्वास्थ्य समस्या लुकाएर बस्नुहुँदैन भन्ने सचेतना फैलाउन भूमिका निर्वाह गर्‍यो ।

त्यसपछि दूरदराजका महिला खुलेर आङ खसेको समस्या लिएर आफैं पनि उपचार गर्न थाले । अभियानका क्रममा यो समस्या भएका ६० महिलाको निःशुल्क उपचार गरियो । यो बीचमा कुँवरले १५ बालबालिकाको उपचार गरेकी छन् । मानसिक स्वास्थ्य बिग्रिएका १३ महिलाले निःशुल्क उपचार पाएका छन् ।

उनले महिलाले उद्यम पनि गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न जैविक प्याड उद्योग समेत स्थापना गरेर सञ्चालनमा ल्याएकी छन् । यसमा १२ जना महिलालाई रोजगारी दिएकी छन् । दुई जनाको साझेदारीमा चार लाखको लगानीमा स्थापना गरिएको यो उद्योगको उद्देश्य मुनाफा कमाउने नभएर महिलाहरूलाई सीप सिकाउने हो ।

‘दिदीबहिनी जैविक प्याड उद्योग’ स्थापना भएपछि धेरै महिलाले महिनावारी भएका बेला प्याडको प्रयोग गर्नुपर्छ भन्ने थाहा पाएका छन् र प्रयोग गर्न थालेका छन् । उक्त जैविक प्याड उद्योगले अहिले वार्षिक १५ लाख बराबरको आम्दानी गर्ने गरेको छ । त्यहाँ उत्पादित जैविक प्याड अछाममा मात्रै होइन, पोखरा, काठमाडौंसम्म खपत हुने गरेको छ ।

महिलाले पनि समाज परिवर्तनको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बनेकी पशुपति कुँवर अभियन्ता मात्रै होइनन् । उनी राजनीतिमा पनि सक्रिय छिन् । उनले नेकपा एमालेबाट २०७९ सालमा साँफेबगर नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेकी थिइन् । तर उनी नेपाली कांग्रेसका राजेन्द्रबहादुर कुँवरसँग पराजित भइन् ।

‘कुनै बेला पशुपतिले मात्रै महिनावारी र छाउपडीको कुरा गर्छे भन्ने आवाज थियो तर अहिले त्यो छैन’ कुँवरले भनिन्, ‘महिनावारी विभेद पूर्ण रूपमा नहटे पनि पशुपतिले घर बिगार्छे भन्ने गलत बुझाइ समाजमा चिरिएको छ ।’

‘महिला कमजोर हुन्छन्, कुनै काम गर्न सक्दैनन् भन्ने समाजको एक खालको बुुझाइ अहिले पनि कायमै छ । त्यसलाई चिर्नुुपर्छ भनेर मैले त्यो बेला मेयरको चुनाव लडेको हो’ कुँवरले भनिन्, ‘अर्को कुरा महिलाले सजिलो काम मात्रै खोज्छन् भन्ने भ्रम पनि छ । त्यो कुरा चिर्दै नेतृत्वमा पुग्ने धोको भएकाले उम्मेदवार बनेकी थिएँ ।’

अभियन्ता भएर मात्रै आफूले चाहे अनुसारको नीति बनाउन नसकिने भएकोले राजनीतिक नेतृत्वमा पुग्न जरूरी हुने उनको बुझाइ छ । ‘हामी अभियन्ता भएर सामाजिक विभेद र कुप्रथाको अन्त्य गर्न सरकारलाई दबाब दिन सक्छौं तर चाहे अनुसारको नीति त बनाउन सकिंदैन । नीति बनाउन राजनीति चाहिन्छ’, उनी भन्छिन् ।

तर राजनीतिमा भएको मान्छेले नै अपराधलाई संरक्षण गर्ने प्रवृत्तिले समाजमा न्याय र मानवअधिकार कुण्ठित हुने कुरा चुनौतीपूर्ण बन्न थालेको उनको बुझाइ छ । सामाजिक न्याय र मानवअधिकारको संरक्षण गर्दै विभेद, कुप्रथा निस्तेज पार्न राजनीतिक नेतृत्वले भूमिका खेल्नुपर्ने कुँवरले बताइन् ।

सामाजिक अभियन्ता, राजनीतिकर्मी र महिला उद्यमी पशुपतिको परिचय हो । तर आफूले किशोरावस्थादेखि थालेको अभियान समाजबाट निर्मूल नभएको विषयले उनलाई चिन्तित बनाउँछ । एउटा अभियन्ताका रूपमा उनलाई अझै धेरै काम गर्न बाँकी छ भन्ने लाग्छ ।

हिजोको भन्दा धेरै परिवर्तन भए पनि मूलतः महिनावारी विभेद नहटेकाले यसलाई जरैदेखि उखेल्नुपर्छ भन्ने पशुपतिको ध्येय छ । ‘कुनै बेला पशुपतिले मात्रै महिनावारी र छाउपडीको कुरा गर्छे भन्ने आवाज थियो तर अहिले त्यो छैन’ कुँवरले भनिन्, ‘महिनावारी विभेद पूूर्ण रूपमा नहटे पनि पशुपतिले घर बिगार्छे भन्ने गलत बुझाइ समाजमा चिरिएको छ ।’

राज्यले भौतिक विकासलाई मात्रै प्राथमिकतामा राख्दा मानवीय विकास ओझेलमा परेको उनी बताउँछिन् । यसैगरी महिलाले अधिकार प्राप्त गर्दा पुरुषको अधिकार पनि सुनिश्चित हुन्छ भन्ने बुझ्नुपर्ने उनको मत छ ।

‘राज्यले अहिले पनि भौतिक विकासलाई मात्रै प्राथमिकता दिइरहेको छ । ५१ प्रतिशत महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्यको विकास हुन आवश्यक छ’ उनले भनिन्, ‘मानवीय विकासले मात्रै सामाजिक कुरीति, लैंगिक विभेद अन्त्य गर्छ । तब मात्रै महिलाहरूले अधिकार पाउँछन् ।’

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।