+

जलन पीडितकी जनप्रतिनिधि

पूरा सूची
Shares
तेजाब छ्यापिएका महिला मात्रै होइन, वर्षेनि विभिन्न कारणले जलन बेहोर्नेहरूका लागि कसैको आर्थिक भरथेग होइन, नीति नै बनाउन लड्नुपर्छ भनेर निरन्तर डटिन्, बिन्दवासिनी कंसाकार ।
बिन्दवासिनी कंसाकार

११ वर्षअघि आफूमाथि अकस्मात् छ्यापिएको तेजाबको जलनले हेटौंडाकी बिन्दवासिनी कंसाकारलाई अवाक् र निःशब्द बनाइदिएको थियो । अचेल उनी त्यही असह्य पीडालाई ऊर्जामा बदल्दै जलनपीडितहरूकै आवाज बन्न पुगेकी छन् । सडकमा धेरैपल्ट गुन्जिएको त्यो न्यायको आवाज अहिले संसद्को रोष्ट्रममा उसैगरी गुन्जिन्छ । 

रास्वपाबाट प्रतिनिधिसभा सांसद बनेकी कंसाकारले आफूमाथिको पीडालाई शक्तिमा बदल्नु पहिले आफ्नै उपचार गर्नुथियो । त्यसपछि आम रूपमा चेतना जगाउने अभियान त बाँकी नै थियो । 

कंसाकारमाथि ९ वैशाख २०७० मा आफ्नै घरको पसलमा बसिरहेका बेला एसिड आक्रमण भएको थियो । सकसपूर्ण उपचार सकिएपछि उनी फेरि कलेज जान थालेकी थिइन् । 

त्यो यस्तो दुःखद् क्षण थियो, जुन बेला धेरै साथी उनीसित प्रत्यक्ष बोल्न डराउँथे । एक सहपाठीले त मेसेन्जरमा लेखे नै, ‘तिमीसँग डाइरेक्टली बोल्न डर लाग्छ ।’ 

‘किन ?’

‘तिमीलाई केटाले तेजाब आक्रमण गरेको हो । केटाप्रति तिम्रो धारणा बदलियो होला ।’ 

ती साथीलाई उनले लेखिन्– ‘तेजाब आक्रमण गर्ने त केटा नै हो । तर, केटा त मेरो परिवारमा बुबा, दाइहरू पनि हुनुहुन्छ । सबै केटाको बारेमा एउटै सोच्दिनँ ।’ 

यस्तो संवादपछि कंसाकारसँग साथीहरू खुल्न थाले, कंसाकारलाई पनि सहज भयो । कति साथीहरू सोध्थे– ब्यान्डेज नलगाएर हिंड्न मिल्दैन ? कंसाकार घाउलाई बचाउनुपर्ने बाध्यता सुनाउँथिन् । 

समाजमा खुल्न खोज्दै गर्दा अन्यत्र एसिड आक्रमणका घटना भइराखेको कंसाकारले थाहा नपाउने कुरै भएन । 

कंसाकारमाथि एसिड आक्रमण भएको करीब दुई वर्षपछि काठमाडौंको वसन्तपुरमा संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण भएको थियो । 

१० फागुन २०७१ मा वसन्तपुरमा भएको यो घटनापछि एसिड आक्रमण विरुद्ध आवाज थप बलियो बन्दैगयो । कंसाकार आन्दोलनमा साथ दिन काठमाडौं आइन् । वसन्तपुरको घटना घट्दा उनी आफैं उपचारमा थिइन् । ब्यान्डेज, क्याप सल ओढेर आन्दोलनमा पुगेकी थिइन् । 

त्यसबेला वसन्तपुरमा भएको सभामा कंसाकार बोलेकी थिइन् । ‘वसन्तपुरमा एक–दुई मिनेट बोलेकी थिएँ । के बोलें याद छैन, तर बोल्न नसकेको कुरा सम्झना छ’ उनी भन्छिन्, ‘म आफैं भावुक भएँ त्यति ठूलो मास देखेर । अहिले सम्झिन्छु– त्यसबेला म बोल्न नसके पनि मास बोलिरहेको थियो ।’ 

वसन्तपुरमा सहयोग संकलन भइराखेको थियो । ‘एक जना मागेर गुजारा गर्नेले पनि सहयोग बक्समा पैसा हालेको देखें’ उनी सम्झिन्छिन्, ‘समाजमा मानवीयता नभएको होइन तर किन राज्यले देखेन भन्ने प्रश्न मनमा थियो । यही प्रश्नले अगाडि बढ्ने हिम्मत जुटायो ।’ 

तेजाब आक्रमणको पीडा वर्णन गर्न सकिन्छ । मान्छेले किन यस्तो पीडा दिने अपराध गरिरहेका छन् त ? आन्दोलनमा निस्कँदा मनमा उठेको प्रश्न सम्झँदै कंसाकार भन्छिन्, ‘म चुप लागेर बसें भने राज्यमा अरू धेरैले मैले जस्तै पीडा भोग्नुपर्छ ।’

२९ भदौ २०७५ मा रौतहट चन्द्रनिगाहपुरमा सम्झना र सुस्मिता दासमाथि एसिड आक्रमण भयो । त्यसपछि फेरि एसिड आक्रमण विरुद्ध आन्दोलन भयो । २० भदौ २०७६ मा वीरगञ्जमा मुस्कान खातुनमाथि एसिड आक्रमणको अर्को घटना भएपछि आन्दोलनले चर्को रूप लियो । कंसाकार ती सबै आन्दोलनमा अग्रपंक्तिमा रहिन् ।

तेजाब आक्रमणको पीडा वर्णन गर्न सकिन्छ । मान्छेले किन यस्तो पीडा दिने अपराध गरिरहेका छन् त ? आन्दोलनमा निस्कँदा मनमा उठेको प्रश्न सम्झँदै कंसाकार भन्छिन्, ‘म चुप लागेर बसें भने राज्यमा अरू धेरैले मैले जस्तै पीडा भोग्नुपर्छ ।’ 

मनको यही प्रश्नले जलनपीडित कंसाकारलाई आन्दोलनकारी बनायो । कंसाकार सहितका कैयन् नागरिकको आन्दोलनपछि राज्यले संवाद पनि गर्‍यो । २५ भदौ २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितहरूलाई भेटे । त्यो भेटमा कंसाकार पनि थिइन् । त्यसबेलै उनले प्रधानमन्त्री ओलीलाई एसिड आक्रमण विरुद्ध कठोर कानून बनाउन आग्रह गरेकी थिइन् ।

सांसद हुनुअघि राजनीतिबारे कंसाकारका अपेक्षा र अहिलेको वर्तमानमा थोरै मात्र समानता छन् । 

सर्वसाधारणको आँखाबाट कुनै समस्यालाई नियाल्नु अनि समाधान दिने ठाउँबाट अघि बढ्नुमा जुन फरक हुन्छ, त्यसको महसुस कंसाकार आफैंले यी दुई वर्षयता प्रत्यक्ष गरिरहेकी छन् । 

‘खासमा राजनीतिमा आउनु भन्दा अघि मेरो जिन्दगी नीरस खाले भइसकेको थियो, दुई÷अढाइ वर्ष बैंकमा काम गरें । बैंकको जागीर छोडें’ उनी भन्छिन्, ‘सांसद हुन्छु भन्ने थिएन । जलन पीडितका लागि राज्यले केही गरिदिए हुन्थ्यो भन्ने अपेक्षा थिए र अहिले पनि छ ।’ 

दुई उपलब्धि

हालै सरकारले काठमाडौंकेन्द्रित जलन उपचारको व्यवस्थालाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य लिएको छ । हाल काठमाडौंको कीर्तिपुरमा बर्न अस्पताल छ । त्यसका अलावा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सुष्मा कोइराला मेमोरियल अस्पतालमा पनि जलनको उपचार हुन्छ ।

२ कात्तिक २०८१ मा बसेको मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार कोशीमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेशमा वीरगञ्जस्थित नारायणी अस्पताल, बागमतीमा कीर्तिपुर अस्पताल र गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनको उपचार हुनेछ । 

लुम्बिनीमा नेपालगञ्जस्थित भेरी अस्पताल, कर्णालीमा कर्णाली अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालमा जलनको उपचार हुनेछ । यी अस्पतालहरूमा खर्च व्यहोर्न नसक्ने नागरिकलाई आर्थिक अवस्था हेरेर जलन उपचार निःशुल्क गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

कंसाकार भन्छिन्, ‘विपन्न नागरिकले उपचार पाउने वातावरण बन्नु र जलनको उपचार सातै प्रदेशमा हुनु जलन पीडितका लागि निकै ठूलो उपलब्धि हो ।’ 

निरन्तर आवाज उठाएपछि प्राप्त यो उपलब्धिको एक्लो जस आफैंले लिनुपर्छ भन्नेमा भने कंसाकार छैनन् । पहिले नै हुनुपर्ने, तर थाती काम पूरा गर्न उनले प्रधानमन्त्री, मन्त्री लगायतलाई दबाब दिइरहेकी थिइन् । 

कंसाकार आफू सांसद भएयता बनेका दुई प्रधानमन्त्री क्रमशः पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीसँग प्रत्यक्ष संवाद गर्दै आएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र उनीअघिका अर्का मन्त्री पदम गिरीसँग पनि उनले भेटेरै लबिइङ गरिन् । जलनपीडितका पक्षमा निरन्तर आवाज उठाउँदा एकदिन अवश्य सफल भइन्छ भनेर कंसाकारले कोसिस थालेकी हुन् ।

पहिले स्पष्ट नीति र तयारी नहुँदा नागरिकहरू जलनबाट पीडित र प्रभावित हुने गरेको अनुभूति सांसद कंसाकारको छ । जलनका पीडितलाई सम्बोधन गर्न कस्ता योजना र नीतिले आकर्षित हुन्छ, के आधारमा अनुसन्धान गरिन्छ ? राज्यसँग केही पनि नभएको उनको भनाइ छ । 

यी समग्र विषयलाई समेटेर जलन सम्बन्धी छुट्टै ऐन बनाउने ध्याउन्नमा छिन् कंसाकार । ३१ साउन २०८१ मा कंसाकारको नेतृत्वमा प्रतिनिधिसभामा ‘मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक, २०८१’ दर्ता भएको छ । जलन उपचार केन्द्र स्थापना गर्ने र त्यस मार्फत देशभर जलन पीडितको लागि काम गर्ने विधेयकको उद्देश्य छ । 

‘थिंक सेफ्टी, डू सेफ्टी भन्ने अवधारणा केवल नारामा मात्र सीमित भएको छ । अब यसलाई नीतिमा बदलौं’ उनी भन्छिन्, ‘जलनलाई सबैले आफ्नै विषय ठानौं । किनभने जलन जसलाई जहाँ जुन बेला पनि हुनसक्छ । त्यसकारण जलन विधेयक पारित गरौं ।’

नेपालमा वर्षेनि ६० देखि ६५ हजार नेपाली कुनै न कुनै प्रकारको जलनमा पर्ने गरेका छन् । आगलागी, तातो तेल, विद्युत् करेन्ट, एसिड, तातोपानी, तातो दूधका कारण जलनको शिकार हुने गर्दछन् । तर, जलन सम्बन्धी उपचार गर्ने बेग्लै अस्पताल सरकारको प्राथमिकतामा छैन । 

सरकारले सांसदलाई प्रेरित गर्न पनि जलन विधेयक अगाडि बढाउनुपर्ने आवाज उनले संसद्को आकस्मिक समय, शून्य समय र विशेष समय मार्फत पनि अगाडि बढाइरहेकी छन् । जलन पीडितका लागि मन्त्री, प्रधानमन्त्रीको व्यक्तिगत सहयोग वा सम्बोधनले नपुग्ने, बरु त्यसका लागि नीतिगत सम्बोधन नै अनिवार्य रहेको उनको मत छ । 

यही बुझाइका साथ कंसाकार एकसूत्रीय उद्देश्यमा छिन्– जलन सम्बन्धी ऐन बनाउने । 

उनी भन्छिन्, ‘सरकार आश्वस्त नभएको भए सातै प्रदेशमा उपचार सेवा पुर्‍याउने निर्णय हुँदैनथ्यो होला । यसकारण म सकारात्मक छु– जलन सम्बन्धी ऐन पनि बन्छ ।’ 

तर, सरकारलाई विश्वासमा लिन भने उनले मिहिनेत गरिरहनुपरेको छ । 

कंसाकार आफैं त्यस्ती पात्र हुन् जसले क्षतिपूर्ति पाउन माननीय भएर पनि संघर्ष गर्नुपर्‍यो । 

कंसाकारले क्षतिपूर्ति पाउन नसकेको विषयलाई उनी सांसद भइसकेपछि प्रतिनिधिसभा अन्तर्गतको महिला तथा बालबालिका समितिले छलफलको विषय बनायो । १८ जेठ २०८१ मा उक्त समितिमा भएको छलफलमा कंसाकारले आफ्नो पीडा सुनाएकी थिइन् । 

माननीयले नै न्याय पाउन संघर्ष गर्नुपरेको पीडा सुनेर तत्कालीन कानूनमन्त्री पदम गिरी भावुक बनेका थिए । 

‘मैले पीडा सहनुपर्‍यो, म जस्तै पीडामा पर्नेहरूले मैले जस्तो पीडा सहन नपरोस् भनेर लागिरहेकी छु । यसका लागि जीवनभर लडिरहन्छु ।’

‘सांसद हुँदा समेत एउटा पीडितले न्याय पाउन सक्दैन भने आम नागरिकको अवस्था के होला ?’ भन्ने प्रश्नमा तत्कालीन कानूनमन्त्री गिरीले भावुक बन्दै आँशु खसालेका थिए । त्यसबेला गिरीले भनेका थिए, ‘तपाईंहरूले यसभन्दा अगाडि पनि माननीयज्यूसँग बसेर छलफल गर्नुभयो, तपाईंहरूलाई सामान्य लाग्यो । तर, मलाई लागेन ।’ उनले थपेका थिए, ‘यो धेरैको चोट हो, समाजको घाउ हो ।’ 

बहालवाला मन्त्रीले समाजको घाउ भन्दै भावुक भएको क्षण कंसाकार सम्झिन्छिन् । ‘मेरो एक जनाको कथा उहाँले सुन्नुभयो । एक जनाको जलेको अनुहार देख्नुभयो’ कंसाकार सम्झिन्छिन्, ‘म जलेका धेरै पीडितसँग भेटिरहेकी हुन्छु । मलाई कति पीडा हुन्छ होला !’ 

सबैतिर प्रश्न उठेपछि कंसाकारले क्षतिपूर्ति भने पाएकी छन् । एसिड आक्रमण भएकै दिन ९ वैशाख २०७० मै उजुरी परेको भए तापनि त्यसको ६ वर्षपछि १४ कात्तिक २०७६ मा नेपाल प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट कंसाकारमाथि एसिड छ्याप्ने दिलीपराज केशरीलाई पक्राउ गरेको थियो । 

त्यसपछि मुद्दा अगाडि बढ्यो । कंसाकार परिवारले क्षतिपूर्ति माग गरेका थिए । यसका लागि उनीहरूले अदालतमा उपचार गर्दा लागेको १ करोड १४ लाख ८५ हजार रुपैयाँको बिल भरपाई पेश गरेका थिए । मकवानपुर जिल्ला अदालतले यो रकम सके अपराधीबाट भराउनू, अपराधीले तिर्न नसके नेपाल सरकारले उपलब्ध गराउनू भनेर आदेश दिएको थियो । 

यो आदेशको कार्यान्वयन नभएपछि कंसाकारले प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा संसदीय समितिमा उजुरी समेत दिएकी थिइन् । संसदीय समितिले सरकारको ध्यानाकर्षण समेत गरेको थियो । तर, क्षतिपूर्ति पाएकी थिइनन् । कंसाकार आफैं सांसद भएपछि पनि संसदीय समितिको छलफलको विषय बन्यो । सरोकारवालाहरूको चासो गयो र उनले न्याय पाइन् । 

अदालतको आदेश अनुसार क्षतिपूर्ति पाउन कंसाकार सांसद नै हुनुपर्‍यो भने अन्य जलनपीडितको अवस्था कस्तो होला ? उनीहरूले क्षतिपूर्ति कसरी पाउन सक्लान् ? यस्ता प्रश्नको जवाफ नीतिले दिनुपर्ने कंसाकारलाई लाग्छ । 

‘मैले पीडा सहनुपर्‍यो, म जस्तै पीडामा पर्नेहरूले मैले जस्तो पीडा सहन नपरोस् भनेर लागिरहेकी छु । यसका लागि जीवनभर लडिरहन्छु ।’ 

एकीकृत र निरन्तरको पहल विना उपलब्धि हासिल हुन्न र अधिकार पाइन्न भन्ने उनलाई संसदीय अनुभवले नै सिकाएको छ । योभन्दा ज्यादा आफ्नो कुरा राज्यलाई सुनाउन पीडित र प्रभावित आफैं सक्रिय हुनुपर्छ भन्ने बुझाएको छ ।

कंसाकारलाई अहिले देख्ने र भेट्नेहरूले प्रभावशाली व्यक्तिको रूपमा पाउँछन् । तर, यसको पछाडिको कथा उस्तै संघर्षशील छ । यसबारे कंसाकारलाई कतिपयले प्रश्न गरिरहेका हुन्छन् । उनी एउटै जवाफ दिन्छिन्— ‘परिवारको साथ, साथीभाइको सहयोग र आत्मविश्वास ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।