+

प्रगति राईको बागी विज्ञप्ति

पूरा सूची
Shares
हरेक साँझ लेखक, कविहरूको संगतमा झुमिरहने लोग्नेलाई खाना रुँघेर पर्खिरहनुपर्ने, लोग्ने चाहिं घर फर्किन ढिलो गरिराख्ने हैरानीबीच उनले आफ्नै नयाँ कृतिको रचना गर्भ फुराइन्, ‘लेखककी स्वास्नी’ । यसरी लेखककी स्वास्नी प्रगति आफैं खुद लेखक भइन् ।
प्रगति राई

महिलालाई घरमा बढ्ता स्वतन्त्रता छ कि अफिसमा ? काठमाडौंको एउटा स्कुलमा कर्मचारी रहेकी प्रगति राईको घरमा कम्प्युटर नभएको होइन । उनले आफूभित्रको लेखकलाई जगाउन अफिसको अतिरिक्त समय कुर्नुपरेथ्यो । यसरी उनले आफ्नो पहिलो उपन्यास ‘साया’ को पाण्डुलिपि स्कुलको कार्यकक्षमै लेख्न थालिन् । यो झन्डै २० वर्षअघिको कुरा थियो ।

उनलाई लेखेको पाण्डुलिपि अपडेट गर्दै इमेलमा राख्नुपर्छ वा विकल्प दिनुपर्छ भन्ने हेक्का नै भएन । अफिसको साझा कम्प्युटर न हो, कुनै दिन अर्को कर्मचारीले डिलिट गरिदिएछ । उनको लेखक सपना त्यही दिन एक किस्ता ढल्यो ।

शब्दमा ख्याल राखियोस्– सपना ढल्यो, तर मरेन । त्यसै ताका कोरियन भाषा सिकेर अरूलाई प्रशिक्षण दिन थालेकी उनी आफैं भने दक्षिणकोरिया गएकी थिइनन् । कोरिया रोजगारीमा गएका आफ्ना विद्यार्थीले उनलाई भन्न थाले, ‘यतै आउनुहोस् गुरुमा । कामको चाप अलिक बढ्ता पर्छ, तर पैसा टन्न कमाइन्छ ।’

दाम्पत्य जीवनमा धेरथोर उतारचढावकै बीच प्रगति कोरिया उडिन् । काम थाल्दै लेखन जारी राख्न खोजिन् । कम्पनीमा असहज भएसँगै त्यो पनि रोकियो ।

एक दिन त्रिविकी नेपाली प्राध्यापक सुधा त्रिपाठीले उनीसँग फोनमा कुरा गर्ने क्रममा लेखनको ‘प्रगति’ सोधिन् । प्रगतिले आफूसँग कम्प्युटर नभएकाले लेख्न नसकेको दुःखेसो गरिन् । त्रिपाठीले सिधा कराइन्, ‘कम्प्युटर विना लेख्न सकिन्न ? मास्तिर डाँडातिर गएर कापीमा कलमले लेख्न थाल न !’

प्रगतिलाई यो उपाय र उत्साहले जगायो । सानातिना बाधालाई उनले काम नगर्ने निहुँ बनाउन छाडिन् । उनले लेखेको पहिलो उपन्यास ‘लेखककी स्वास्नी’मा आफूले कोसिस गरेको साया उपन्यासकै संशोधित विस्तार छ ।
लेखनसँगै साहित्यिक गतिविधि जारी राखिन् । नेपालीहरूलाई जोड्ने सिर्जनात्मक मञ्च बन्न पुगेको नेपाली साहित्य समाज कोरियाको संस्थापक संयोजक पनि बन्न पुगिन् ।

खोटाङको साकेला गाउँपालिकामा जन्मिएकी प्रगतिको पहिलो लेखन प्रेरणा थिए– आफ्नै बुवा महलसिंह राई । उनी मारुनी गाउँथे । कतिपय कुराहरू आफैं रच्थे । बुवाले कोरेका शब्दहरू उनका लागि रहस्य थिए । सानै छँदा उनले गीतका शब्दहरूमा छोरी भएर जन्मिने महिलाका विरह सुनिन् । छोरीले अर्काकै घर किन बिहे गरी जानुपर्ने ? सम्भवतः उनको पहिलो लैंगिक संरचना विभेद सम्बन्धी प्रश्न थियो ।

‘छोरीलाई किन सानैदेखि निर्वासित मानसिकताले हेरिन्छ भन्नेमा मेरो प्रश्न गयो, म एक–दुई कक्षातिर पढ्दा पनि यसकै वरपर सोच्ने गर्दिरहेछु’ प्रगति सुनाउँछिन्, ‘सानो छँदा मनमा उठेको प्रश्नको जवाफ आजसम्म पनि लेखन मार्फत खोजिरहेकी छु ।’

चारवटा कृति लेखिसकेकी प्रगतिको पहिलो पुस्तक ‘बादी विज्ञप्ति’ कवितासंग्रह हो । साहित्यवृत्तमा पहिलो पुस्तकबाटै उनी स्थापित हुनसके पनि उनलाई आम रूपमा चिनाउने किताब ‘लेखककी स्वास्नी’ उपन्यास नै हो ।

‘लेखककी स्वास्नी’ लेखिने पनि एउटा रोचक प्रसंग छ । लेखक राजन मुकारुङसँग सानै उमेरमा बिहे हुन पुगेकाले पतिकै नाममा उनको ख्यातिलाई जोड्न थालियो । खासमा प्रगतिको लेखक जीवनको उतारचढाव पनि दाम्पत्य सम्बन्धकै उतारचढाव भन्दा पृथक् थिएन । प्रगति र राजन हजुरआमा–हजुरबा भइसके । हिजोआज सँगै बस्दैनन् ।

तिनै राजन प्रायः लेखक साथीहरूसँगै उठबस गरिरहन्थे । प्रगति उनलाई कुरिरहन्थिन् । रात ढल्दै जाँदा उनको तारन्तार फोन राजनको मोबाइलमा गइरहन्थ्यो । राजन सधैं झैं ‘अब एकैछिनमा आउँछु’ भन्दै रहन्थे । कुर्दा कुर्दा रात बित्यो । उज्यालो नै भयो । लेखक लोग्ने आइपुगेनन् ।

‘अरूले लेखिदिएको भरमा ती कथा बाहिर आउन सक्दैनन् । त्यसैले नेपालमा त्यसरी वञ्चित पारिएका क्षेत्र, समुदायका महिलाको कथा लेखिन पुगेकै छैन’ प्रगति आफ्नो लेखनको उद्देश्यलाई सारांशमा खिच्छिन्, ‘किनभने महिला अझै अँध्यारो पाटोमै व्यथित छन् । अब महिलाले आफ्नो कथा आफैं भन्न थाल्नुपर्छ ।’

हरेक साँझ लेखक, कविहरूको संगतमा झुमिरहने लोग्नेलाई खाना रुँघेर पर्खिरहनुपर्ने, लेखक चाहिं बाहिरै हराइराख्ने, घर फर्किन ढिलो गरिराख्ने हैरानीबीच उनले आफ्नै नयाँ कृतिको रचनागर्भ फुराइन्, ‘लेखककी स्वास्नी’ । अब त लेखककी स्वास्नी नै खुद लेखक हुने भइन् ।

किताब छापियो । धेरै राम्रा प्रतिक्रिया आए । पाठकको शुभेच्छा कमाए पनि कतिपयले भने छेडखानी चलाइराखे । पक्कै लोग्नेले लेखिदिएका होलान् भनी शंका गर्ने, उडाउने पनि थिए । तर प्रगतिका लागि केवल त्यो एक कृति थिएन । ‘लेखककी स्वास्नी’ छापिइसकेपछि उनले अरू कृति लेख्न छाड्ने कुरै थिएन ।

यसरी बाल्यकालको सर्जक–सपना अनि दाम्पत्य जीवनको क्रिया–प्रतिक्रियावश आफैं प्रतिबद्ध लेखक बन्न हिंडेकी प्रगतिको लेखन जारी छ । उनले यसबीचमा ‘बिर्सिएको मृत्यु’ र ‘थाङ्ग्रा’ उपन्यास लेखेकी छन् । शब्द, लय र तुकबन्दीमा मात्रै सीमित छैनन् उनका अभिव्यक्ति । विचार सहितको सिर्जनात्मक लेखनमा उनको जोड छ ।

प्रगति राईको लेखनयात्रालाई नियालेका समालोचक राजकुमार बानियाँ भन्छन्, ‘लेखककी स्वास्नीदेखि थाङ्ग्रासम्म आइपुग्दा प्रगतिले आफूलाई आख्यानकारका रूपमा स्थापित गरेकी छन् । छोटो अवधिको लेखनमै लैंगिक विभेद र छोरीलाई वंश अधिकारको मुद्दालाई प्रभावशाली रूपमा आख्यान मार्फत लेख्नु चानचुने कुरो होइन ।’

प्रगतिले लेखेका पछिल्ला दुई उपन्यासको कुरा गरौं । ‘बिर्सिएको मृत्यु’ उपन्यासमा प्राकृतिक विपत्तिपछि परिवार गुमाएको पात्रमा देखिएको मृत्योन्मुख मनोदशा चित्रित छ । नेपाल विपद् परिरहने देश हो, जहाँ नागरिकको जीवनलाई राज्यले तुरुन्तै हेरविचार गर्न सक्ने अवस्था छैन । आफ्नो दुःख आफैं झेल्नुपर्छ, नत्र दैवलाई दोष दिनुपर्ने हुन्छ । कुनैबेला सरकारी संस्थाकै नाम ‘दैवी प्रकोप उद्धार समिति’ भएको भाग्यवादी देशमा प्रगतिको उपन्यास ‘बिर्सिएको मृत्यु’ले धेरै कथाहरूको वर्णन गर्छ ।

‘थाङ्ग्रा’ उपन्यास पुस्तान्तरबाट आइपर्ने समस्याहरूसँग सम्बन्धित छ । नयाँ पुस्ताको सोचसँग पुरानो पुस्ताले अपनत्व अनुभूति गर्दैन । नयाँ पुस्तालाई पनि पुरानो पुस्ताको कुरै सुन्न मन पर्दैन । प्रगतिले यसलाई घरको आँगनतिर गाडिने थाङ्ग्राको बिम्बमा सोचिहेरिन् ।

प्रगति भन्छिन्, ‘अघिल्लो पुस्तालाई आँट र साहस आउन पछिल्लो पुस्ताको भरोसा निकै आवश्यक छ । यस्तै थिम सोचेर बिरुवालाई थाङ्ग्राको भर भए झैं मान्छेलाई सन्तानको भर चाहिन्छ भन्ने सोचेर थाङ्ग्रा नाम दिएर किताब लेखें ।’

अरू महिला लेखकका रचनाहरू राम्रोसँग पढिरहेकी छन् प्रगति । आफ्नो आगामी सिर्जनात्मक बाटोबारे पनि धेरथोर घोत्लिन्छिन् । यति धेरै लेखिए पनि मूल कुरा लेख्नै बाँकी छ जस्तो उनलाई लाग्छ । त्यसका लागि समय कम छ, अनि पारिवारिक जीवनको कारण उत्पन्न उतारचढावलाई सामना गर्दै लेखनलाई समय दिनु उनका लागि स्वान्तसुखायको विषय मात्रै रहेन । लेखन एउटा वैचारिक प्रतिबद्धतावश उब्जिएको सहोत्पादन भइदिएको छ उनका लागि ।

प्रगतिलाई लाग्छ– नेपाली साहित्यमा थुप्रै कोणबाट लेखन जारी रहे पनि महिलाहरू आफ्ना कथाहरू भन्न अझै समर्थ हुन पाइरहेका छैनन् । जाति, संस्कृति र अनेक क्षेत्रका महिलाका कतिपय पीडा साझा खालका छन् । कतिपय पीडा चाहिं समुदायपिच्छे फरक ।

‘अरूले लेखिदिएको भरमा ती कथा बाहिर आउन सक्दैनन् । त्यसैले नेपालमा त्यसरी वञ्चित पारिएका क्षेत्र, समुदायका महिलाको कथा लेखिन पुगेकै छैन’ प्रगति आफ्नो लेखनको उद्देश्यलाई सारांशमा खिच्छिन्, ‘किनभने महिला अझै अँध्यारो पाटोमै व्यथित छन् । अब महिलाले आफ्नो कथा आफैं भन्न थाल्नुपर्छ ।’

– बसन्त बस्नेत

फोटो/भिडियोः शंकर गिरी