+

संगीत मार्फत सामाजिक हलचल

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
प्रकाश सपुत संगीत मार्फत कथा भन्न रुचाउने गायक हुन् । समाजका उँच–नीच, जातीय, वर्गीय तथा लैंगिक विभेदको भोगाइका कथालाई गीत मार्फत उन्दै उनी फिल्मको फराकिलो क्यानभासमा पोत्न समेत तम्तयार छन् ।
प्रकाश सपुत

बोल माया, गलबन्दी, पीर, दमाई महाराज, मुटु कटक्कै र फिल्म ‘बोक्सीको घर’को ‘बुझिनँ मैले’- प्रकाश सपुत (३४) सँग यी र यस्तै अनेक गीतहरूको सूची छ । प्रत्येक गीतभित्र सुरताल मात्रै होइन, विभेद र बहिष्करणका मर्मस्पर्शी कथा छन् । अनि तिनैभित्र गहिरो सामाजिक मर्म पनि छ ।

प्रकाश कथा भन्न रुचाउने व्यक्ति हुन् । समाजका उँचनीच, जातीय, वर्गीय, लैंगिक विभेदको भोगाइका कथालाई गीत मार्फत उन्दै उनी फिल्मको फराकिलो क्यानभासमा पोत्न समेत तम्तयार छन् ।

जब–जब उनको गीत सार्वजनिक हुन्छ, सांगीतिक वृत्तमा सानोतिनो कम्पन पैदा हुन्छ । किनभने उनको गीतमा माया–पिरतीको भाका मात्र हुँदैन, दुःख–पीरको विलौना मात्र हुँदैन । त्यो माधुर्य धुनभित्र समाजको तीतो कथाहरू घुलनशील हुन्छन् । अर्थात् कुनै न कुनै मुद्दा हुन्छ । त्यही कारण उनको गीत सार्वजनिक भएलगत्तै त्यसमाथि बहस–विमर्श हुनथाल्छ ।

नेपाली संगीतमा धेरै भएको छैन, प्रकाश सपुत चिनिएका । २०७५ सालमा सार्वजनिक भएको ‘बोल माया’ गीतसँगै उनी एकाएक लाइमलाइटमा आए ।

यो गीतमा प्रयोग गरिएको विरही भाका मात्र होइन त्यसभित्र समेटिएका वैदेशिक रोजगारीको पीरमर्काले पनि धेरैको मनमा स्पर्श गरिहाल्यो । र, त्यसलाई अरू शक्तिशाली बनाइदियो गीतको भिडियोले । कथानक शैलीमा प्रस्तुत गरिएको गीत धेरैका लागि नौलो र रुचिकर रह्यो ।

त्यसपछि प्रकाश सपुतले जति पनि गीत ल्याउन थाले, सबै हिट हुन थाले । सांगीतिक सिर्जनाले उल्लेख्य श्रोता–दर्शकको साथ त पाए नै, सामाजिक बहस पनि छेड्यो ।

‘बोल माया’देखि पछिल्लो समयको ‘बुझिनँ मैले’ सम्म आइपुग्दा उनका हरेक गीत र त्यसका कथाले समाज बोलिरहेका छन् । जातीय विभेद, वर्गीय र लैङ्गिक असमानताका मुद्दालाई सजिलै बुझिने गरी जबर्जस्त ढंगले उठाइरहेका छन् ।

पछिल्लो छिमलका कुनै पनि कलाकारले औपचारिक संगीत यात्रा सुरु गरेको तुलनात्मक रूपमा छोटो समयमा नाम, दाम, प्रतिष्ठा कमाएको कसैले छ भने त्यो नाम प्रकाश सपुत हो भन्दा सायदै दुईमत होला ।

दोहोरी ब्याटल गाएर सांगीतिक गोरेटो कोरेका प्रकाश करिब ६ वर्षअघि ‘बोल माया’ लिएर आएका थिए । समाजको कथालाई दुरुस्तै उतारिएको यो गीत उनको सांगीतिक जीवनको टर्निङ प्वाइन्ट बन्न पुग्यो । गीत र यसको कथानक भिडियोलाई यति रुचाइयो कि प्रकाशको सांगीतिक यात्रा गोरेटोबाट राजमार्गमा पुग्यो ।

दोहोरी साँझदेखि लोक तथा दोहोरी स्टारसम्म

बागलुङको काठेखोला गाउँपालिका, धम्जाको निम्न मध्यमवर्गीय परिवारमा २०४७ सालमा जन्मिएका प्रकाश सानैदेखि गीत–संगीतमा औधी रुचि राख्थे । अझ भनौं उनको परिवार नै संगीतमा विशेष लगाव राख्थ्यो । गाउँमा हुने कार्यक्रममा उनका हजुरबुबा भजन गाउँथे । बुवा–आमा पनि त्यहाँको भाका मज्जाले गाउँथे ।

संगीतमा रुचि राखिरहेका मान्छे कथा भन्नकै लागि अर्थात् समाजका कथा सुनाउनकै लागि रेडियो प्रस्तोता बने । रेडियोले उनलाई शब्द चयन र प्रस्तुतीकरणबारे केही सिकायो । रेडियोमा केही समय काम गरेपछि उनी अब त गायक नै बन्छु भनेर काठमाडौं हान्निए ।

‘औपचारिक रूपमा संगीत क्षेत्रमा मेरो परिवारको कुनै सदस्य नलागे पनि माहोल चाहिं सांगीतिक थियो । हजुरबाले गाउँमा हुने कार्यक्रमहरूमा भजन गाउनुहुन्थ्यो । मलाई त्यसको प्रभाव पनि परेको होला’ उनी भन्छन्’, त्यसैले सानैदेखि ममा पनि संगीततिर विशेष लगाव लाग्यो । म पनि स्कुल र गाउँमा हुने विभिन्न कार्यक्रममा गाउन थालें ।’

गाउन मात्रै होइन, साहित्यतिर पनि सानैदेखि रुचि राख्थे प्रकाश । साहित्यका किताब पाएसम्म खोजीखोजी पढ्थे । त्यसले उनलाई शब्दसँग खेल्ने, शब्दसँग रम्ने बनायो । अनि कथा भन्ने उनको हुटहुटी पनि त्यहींबाट सुरु भयो ।

‘म अलि अन्तरमुखी स्वभावको छु । नयाँ मान्छे भेट्दा झट्ट खुलिहाल्न सक्दिनँ । चाहे फ्यान, शुभचिन्तक, नयाँ साथीभाइ नै’ प्रकाश भन्छन्, ‘सानैदेखि किताब पढ्न औधी रुचि भयो । त्यसले शब्दसँग खेल्न सिकाएर कथा भन्ने इच्छा जागृत गरायो ।’

समाजका कथा कुनै न कुनै रूपमा भन्नुपर्छ । त्यसमा पनि आफैंले भोगेको जातीय विभेद र छुवाछूतको विषयलाई कथा बनाएर भन्दा समाज यस्तो पनि छ है भनेर देखाउन सकिने र न्यायपूर्वक प्रस्तुत गर्न पनि सकिने उनलाई लाग्यो ।

‘आफैंले भोगेका कथालाई संगीत मार्फत प्रस्तुत गर्दा न्यायपूर्वक भन्न सकिन्छ भन्ने मलाई लाग्छ । म र मेरो अघिल्लो पुस्ताले भोगेको जातीय विभेदको मुद्दालाई किन उजागर नगर्ने भन्ने लाग्यो । त्यसैले मैले आफैंले भोगेका कथा संगीत मार्फत धेरै भन्ने प्रयास गरें’, प्रकाश भन्छन् ।

एसएलसी पास गरेपछि प्रकाश बागलुङमै एक रेडियोमा कार्यक्रम सञ्चालन गर्न थाले । संगीतमा रुचि राखिरहेका मान्छे कथा भन्नकै लागि अर्थात् समाजका कथा सुनाउनकै लागि रेडियो प्रस्तोता बने । रेडियोले उनलाई शब्द चयन र प्रस्तुतीकरणबारे केही सिकायो । रेडियोमा केही समय काम गरेपछि उनी अब त गायक नै बन्छु भनेर काठमाडौं हान्निए ।

राजधानी काठमाडौं आएपछि धेरै संघर्षको नयाँ बिन्दु सुरु भए जस्तै प्रकाशको पनि जिन्दगीको संघर्ष नयाँ शिराबाट सुरु हुन्छ । गीत गाउन आएका उनी पुगे दोहोरी साँझमा । त्यहाँ काम गर्न थाले अर्थात् दोहोरी गाउन थाले ।

‘हुन त हाम्रोतिर काका, दाइहरू प्रायः विदेशतिर जाने चलन थियो । धेरै त इण्डिया जानुहुन्थ्यो । म पनि आफ्नो जिन्दगी चलाउन, परिवारको भरणपोषण गर्न त्यतै गएको भए पनि हुन्थ्यो । तर मलाई गीतै गाउन नभए पनि समाजका लागि केही गर्ने व्यक्ति बन्नुथियो’ प्रकाश सुनाउँछन्, ‘आफू सर्भाइभ हुनका लागि पनि केही न केही काम त गर्नुपर्‍यो । त्यसैले गाउने रुचि भएको म दोहोरी साँझतिर लागें ।’

दोहोरी साँझले उनको कलालाई निखार्न सघाउ पुर्‍यायो । केही वर्ष दोहोरी साँझमा काम गरेपछि उनलाई लाग्यो संगीतको तलाउमा हाम फाल्नै पर्छ । तर पैसा थिएन अघि बढ्नलाई । त्यसैबेला उनलाई विदेश पो जाने हो कि भन्ने सोच पलायो । उनका बुवा यूएईमै थिए । तर उनलाई विदेश जानैपरे पनि कम्तीमा यूएई चाहिं जान्न भन्ने थियो, बुवाको दुःख देखेर । उनी विदेश गएको भए जापान वा कोरियातिर जाने थिए ।
विदेशिने सोचले आकार लिइसकेको थिएन । उनको भित्री उत्कट चाहना भनेको सबैले चिन्ने मान्छे नै बन्नु थियो, जस मार्फत समाजलाई केही दिन सकियोस् ।

त्यसपछि उनले गाए दोहोरी ब्याटल । प्रीति आलेसँग गाएको दोहोरी ब्याटलले उनलाई अलग पहिचान दियो । धेरथोर सफलता पनि पाए । उनलाई कताकता आफ्नो मनमा खेलिरहेको कुरा चाहिं यस मार्फत मात्रै गर्न सकिन्न कि भन्ने लाग्यो । अनि २०७५ सालमा सार्वजनिक गरे– ‘बोल माया’ ।

प्रकाश सपुतको शब्द तथा संगीत रहेको यो गीतमा नारायण रायमाझी र शान्तिश्री परियारले गायनमा उनलाई साथ दिए । सार्वजनिक भएपछि गीतले जति चर्चा पायो, त्यसभन्दा बढी यसको भिडियोले दर्शकलाई तान्यो । नेपाली समाजको घर–घरको वैदेशिक रोजगारीको कथा प्रस्तुत गरेको यो गीतलाई म्युजिक फिल्म शैलीमा प्रकाशले निर्माण तथा निर्देशन गरेका थिए । आफूले चाहे जस्तो काम गर्न पाएका थिए उनले, सफलता पनि पाए । त्यसपछि प्रकाशले सांगीतिक यात्रामा कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन ।

नेपाली सुगम संगीतका सर्वप्रिय गायक रामकृष्ण ढकाल अहिलेको समय र अडियन्स बुझेको गायक तथा संगीत सर्जकको रूपमा प्रकाश सपुतलाई लिन्छन् ।

अग्रज लोक गायक तथा संगीतकार नारायण रायमाझी प्रकाश सपुतको समाजलाई बुझ्ने र सन्देश दिने चेतना गज्जब रहेको बताउँछन् ।

‘गीत–संगीत र साहित्यको माध्यमबाट समाजलाई दिने सन्देश प्रभावकारी र सशक्त हुने हुनाले यस्ता सामाजिक विभेद हटाउन यसले महत्वपूर्ण भूमिका खेल्छ’ रायमाझी भन्छन्, ‘प्रकाश सपुतले यसमा प्रभावकारी भूमिका खेलेको मलाई लाग्छ । उहाँका सांगीतिक सिर्जनाले समाजलाई जागरुक गराउन र विभेद विरुद्ध आवाज उठाउन मद्दत पुर्‍याएको छ ।’

प्रकाशले संगीत क्षेत्रमा स्थापित हुन सुरुवाती चरणमा ठूलै संघर्ष गरे । तर ‘बोल माया’को प्रसिद्धिपछि गोरेटोबाट राजमार्गमा पुगेको उनको सांगीतिक गति रत्तिभर धर्मराएको छैन, अझ सचेततापूर्वक गति बढाएको छ । ‘उहाँलाई औपचारिक संगीत यात्रामा लागेपछि विना उतारचढाव गन्तव्यमा लम्किरहेको व्यक्तिका रूपमा लिन सकिन्छ’ गायक तथा संगीतकार रायमाझी भन्छन्, ‘यसमा उहाँको लगाव, मिहिनेत नै हो ।’

प्रकाशले ‘बोल माया’पछि गलबन्दी, बदला बरिलै, फुटेका चुरा, कुरा बुझ्नुपर्छ, पीर, पर–पर छु, सकम्बरी, दमाई महाराजा, जाले रुमाल फाट्यो, मुटु कटक्कै हुँदै फिल्म ‘बोक्सीको घर’मा समावेश ‘बुझिनँ मैले’सम्म आइपुग्दा समाजका हरेक मुद्दालाई उठाएका छन् । कुनैमा उनले वैदेशिक रोजगारीको कथा–व्यथा उठाएका छन् त कुनैमा महिनावारी हुँदा किशोरीले भोग्ने पीडा ।

अनि कुनैमा समाजमा सदियौंदेखि जरा गाडेर बसेको जातीय विभेद र छुवाछूतको मुद्दालाई उठाएका छन् भने कुनै द्वन्द्वकालको पीडा । यसैगरी उनका कुनै सिर्जनाले अन्धविश्वासलाई चिर्नुपर्छ भन्ने सन्देश दिन्छन् भने कुनैले सारा पीडा भुलेर केही क्षण भए पनि रमाएर जिऔं भन्ने सन्देश प्रवाह गर्छन् । यस हिसाबले प्रकाशका हरेक सिर्जना समाजका कथासँगै जोडिन्छन् ।

नेपाली सुगम संगीतका सर्वप्रिय गायक रामकृष्ण ढकाल अहिलेको समय र अडियन्स बुझेको गायक तथा संगीत सर्जकको रूपमा प्रकाश सपुतलाई लिन्छन् ।

‘उहाँ अहिलेको समय र अडियन्स बुझेको मान्छे हो । धेरै सिर्जनात्मक व्यक्तिको रूपमा म उहाँलाई लिन्छु । संगीत मार्फत सामाजिक मुद्दालाई उजागर गर्ने एक संगीतकर्मीको रूपमा लिन्छु’ गायक ढकाल भन्छन्, ‘उहाँको गायन त राम्रो छ नै त्योभन्दा पनि सिर्जनात्मक पक्ष अझ पावरफुल लाग्छ ।’

नेपालमा युट्युब सबैभन्दा लोकप्रिय डिजिटल प्लाटफर्म हो । गीत हिट र फ्लपको मापन गर्ने माध्यम युट्युबलाई मानिएको छ । यसमा प्रकाश अब्बल देखिएका छन् । उनका गीत जब रिलिज गरिन्छ, युट्युबमा मिलियन भ्युजको आँकडा छुन धेरै समय नै लाग्दैन ।

उनका सफल गीतलाई हेरेर नै संगीतमा भविष्य बनाउन खोजेका नयाँपुस्ताका धेरै कलाकार प्रोत्साहित भइरहेका छन् । डिजिटल माध्यमबाटै संगीतमा राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण उनले देखाइदिएका छन् । स्टेज र स्टुडियोको त के कुरा गर्नु र ! स्टेजमा देश–विदेशमा धेरै माग भएका र महँगो पारिश्रमिक लिने कलाकार हुन्, प्रकाश ।

माया–प्रेम भन्दा बाहिरका गीत व्यावसायिक रूपमा धेरै चल्दैनन् भन्ने भाष्य नै परिवर्तन गरिदिए उनले । समाजका मुद्दालाई गीत बनाएर जागरुक गराउन सकिन्छ भन्नेमा उनले गतिलै इँटा थपिदिएका छन् । प्रकाशले भन्ने गरेका छन्, आफ्ना सिर्जना समाजलाई उपदेश दिन होइन, समाज यस्तो पनि छ है भनेर देखाइदिने प्रयास हो । ‘समाजमा भएका विभेदका कुरालाई बोझ नलाग्ने गरी सरल ढंगले समाज यस्तो छ है भनेर देखाइदिने सिर्जनाको काम हो । म हरेक सिर्जना जीवनको फर्मूलामा बनाउने कोसिस गर्छु’, प्रकाश भन्छन् ।

यत्तिको सिर्जनशील एक व्यक्तिलाई केले प्रेरित गर्छ ? ‘सिर्जना गरिरहँदा परिस्थिति र मूडले पनि त्यसमा केही फरक पार्छ’ प्रकाश भन्छन्, ‘संवेदनाहरूको सन्तुलन नै सर्जकका लागि गाह्रो कुरा रहेछ । कुनै गीत गर्नुछ भने म त्यसमै केन्द्रित भएर लाग्छु । घरमा दुई दिनसम्म नबोली पनि बसेको हुन्छु कहिले । अनि कहिले रमाइलो मूडमा पनि हुन्छु । एउटा सर्जकलाई यसको सन्तुलन मिलाउन चाहिं गाह्रो कुरा हो ।’

‘देश बन्छ, बनाउनुपर्छ । अनि स्वतः उहाँहरू आफ्नै माटोमा फर्किहाल्नुहुन्छ नि’ उनी भन्छन्, ‘यो हामी सबैको अहिलेको नियति हो । सधैं यस्तो नरहला भन्ने विश्वास राखौं ।’

प्रकाश समाजसँगै देशको राजनीतिक परिस्थितिलाई पनि नजिकबाट नियालिरहेका हुन्छन् । नेपाली समाज ‘कन्फ्युजन’मा रहेको बुझेका छन् । ‘राजनीतिक व्यवस्था बदलिए पनि एउटा सभ्यता निर्माण भइनसकेको अवस्थामा समाज छ । सँगै नयाँ प्रविधि र दिशासँग समाजले साक्षात्कार गर्नुपर्ने पनि छँदैछ’, उनी भन्छन् ।

देशका लाखौं युवा विदेशमा छन् । अनि तिनै युवामाझ सांगीतिक प्रस्तुति दिन प्रकाश जस्ता थुप्रै कलाकार पुगिरहेका हुन्छन् ।

परिस्थितिले विदेशिन बाध्य युवाहरूले त्यहाँ पुग्दा देखाउने मायाले उनलाई भावुक बनाउँछ । प्रकाश भन्छन्, ‘सोच्छु कुनै बेला म यहाँ रोजगारीका लागि आउनेबारे सोच्दैथें । अहिले कार्यक्रममा उहाँहरूको एक मनको कलाकार भएर उहाँहरूलाई मनोरञ्जन र खुसी प्रदान गर्न आउन पाइरहेको छु । संगीतमा यति धेरथोर सफलता नपाएको भए मेरो पनि नियति त यस्तै त थियो नि भन्ने सोच आउँछ विदेश पुग्दा ।’

विदेशमा पुगेका नेपालीलाई उनी अरू कतिपयले भन्ने गरे जस्तो ‘फर्कनुस् आफ्नै देशमा’ भनेर बनावटी आग्रह गर्न रुचाउँदैनन् प्रकाश । ‘देशमा सोचे जस्तो जीवन नभएर नै उहाँहरू विदेशिन बाध्य हुनुभएको हो । देश बन्छ, बनाउनुपर्छ । अनि स्वतः उहाँहरू आफ्नै माटोमा फर्किहाल्नुहुन्छ नि’ उनी भन्छन्, ‘यो हामी सबैको अहिलेको नियति हो । सधैं यस्तो नरहला भन्ने विश्वास राखौं ।’

प्रकाश सपुतले अहिलेसम्म थुप्रै सांगीतिक सिर्जना ल्याए । कतिपय अरूका गीति भिडियोमा उनले अभिनय मात्रै पनि गरेका छन् । समाजका मुद्दा उठाइने उनका कतिपय गीत आलोचनाले पनि घेरिए । विवाद तीव्र रूपमा बढ्दा कुनै गीतको दृश्य हटाएर समेत उनले रि–अपलोड गर्नुपरेको छ । यसमा एक सर्जकको हिसाबले स्वाभाविक रूपमा लिनुपर्ने प्रकाशको बुझाइ छ ।

‘दर्शक–श्रोताको भावनालाई हामीले बुझ्नुपर्छ । कहिलेकाहीं सही कुरा उठाउँदा पनि उहाँहरूको भावनासँग मेल नखाएकोले पनि आलोचना हुन्छ होला । कतिपय ठाउँमा काम गर्दागर्दै केही कुरामा चुकेको पनि हुनसक्छ । सिक्ने प्रोसेस हो । यसलाई सहर्ष रूपमा लिनुपर्छ भन्ने लाग्छ’, प्रकाश भन्छन् ।

अगाडिको सिर्जनशील बाटो

लोक तथा दोहोरी जनरालाई अँगालेर अघि बढेका प्रकाश सपुतले यसलाई सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मको बृहत् भूगोल र विदेशमा फैलाउन योगदान पुर्‍याएका छन् । गण्डक र लुम्बिनी क्षेत्रको लोकभाका सुनाउन उनी पूर्वको झापा, ताप्लेजुङदेखि पश्चिमको कञ्चनपुर, दार्चुलासम्म पुगेका छन् । नेपाली रहेका दर्जनौं मुलुकमा पुगिसकेका छन् । यसलाई उनले नेपाली लोकदोहोरी शैलीलाई देशका कुना–कुनामा फैलाउन थप योगदान दिएको श्रेय दिन सकिन्छ ।

गायक ढकाल देश–विदेशका नेपालीलाई लोकभाका मार्फत जोड्न प्रकाश सपुतले महत्वपूर्ण कोसिस गरेको बताउँछन् । ‘सुगम संगीत र लोक संगीतलाई नेपाली संगीतको मूलधार मानिन्छ । लोकगीतका ठाउँठाउँका मौलिक भाकाहरू छन्’ ढकाल भन्छन्, ’गण्डक क्षेत्रको भाकालाई नेपाली मूलधारसँग जोड्दै सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म अनि विदेशसम्म लोकसंगीत मार्फत नेपालीलाई जोड्न प्रकाश सपुतले महत्वपूर्ण कोसिस गरिरहनुभएको छ ।’

प्रकाश सपुतले जीवनको सबैभन्दा ऊर्जाशील र सुझबुझपूर्ण उमेरमा एक मान्छेले सोच्ने सबै कुरा पाइसकेका छन् । नाम, प्रतिष्ठा, धन–दौलत पनि । सरकारले दिने पदकदेखि देशका सबैजसो प्रतिष्ठित अवार्डबाट उनी सम्मानित भइसकेका छन् । उनले राष्ट्रपतिको हातबाट जनसेवाश्री पदक पाएका छन् भने संगीत क्षेत्रको प्रतिष्ठित छिन्नलता गीत पुरस्कार पनि उनले पाइसकेका छन् ।

यसैगरी रेडियो कान्तिपुर अवार्ड, इमेज अवार्ड, बिन्दवासिनी अवार्ड, राष्ट्रिय लोकदोहोरी अवार्ड जस्ता प्रतिष्ठित अवार्ड प्रकाशले प्राप्त गरेका छन् । उनलाई गृह मन्त्रालयले विपद् व्यवस्थापन सद्भावना दूत र गण्डकी प्रदेश सरकारले पर्यटन सद्भावना दूत समेत नियुक्त गरेको छ ।

अब प्रकाशलाई यसैगरी समाजका कथा, भोगाइका कथा, संघर्ष र आशाका कथाहरूलाई सिर्जनामा निरन्तर उन्दै जानु छ ।

‘संगीतमा लागेर पहिलो कुरा मेरो सपना पूरा भयो । केही न केही मान्छेले चिन्नुहुन्छ । केही सिर्जनाहरू अहिलेसम्म गर्न भ्याइयो भन्ने लाग्छ । जसले समाजमा केही न केही छाप छाडे भन्ने लाग्छ’ उनी भन्छन्, ‘म नरहे पनि ती सिर्जनाहरू रहनेछन् । आफ्नो छोटो भए पनि इतिहास वा पृष्ठभूमि तयार गरियो भन्ने लाग्छ । अर्को कुरा यसै कारण देश–विदेशका धेरैभन्दा धेरै ठाउँ भ्रमण गर्न पाइयो । यस्तै कुरामा म गर्व महसुस गर्छु ।’

प्रकाश सपुतको कलाकारितामा खास पहिचान चाहिं के नि ? यसमा उनी सेलिब्रेटी भाव आउने हुनाले आफूलाई गायक भन्न रुचाउँछन् । तर उनी गायक मात्रै होइन, गीतकार, संगीतकार, अभिनेता, म्युजिक भिडियो निर्देशक पनि हुन् । अझै अगाडि बढ्दै उनी चाँडै फिल्म निर्देशक पनि बनेर दर्शकमाझ आउँदैछन् फिल्म ‘वसन्त’ बाट ।

गायक तथा संगीतकार रायमाझी उनलाई बहुप्रतिभाशाली मान्छन् । तथापि उनको सिर्जनात्मक पक्ष अझ अब्बल रहेको बताउँछन् । ‘उहाँ मल्टिट्यालेन्ट हो । गायक पनि राम्रो हुनुहुन्छ । अझ मलाई त सर्जकको भूमिका बढी अब्बल लाग्छ’ उनी भन्छन्, ‘उहाँ कलाकारितामा पल्लै छेउसम्म पुग्न सक्ने तीव्र गतिमा कुद्न सक्ने घोडा हो ।’

गायक ढकाल पनि सिर्जना शक्ति बेजोड भएको कलाकारको रूपमा प्रकाशलाई लिन्छन् । ‘उहाँ राम्रो क्रिएटिभ व्यक्ति अवश्य हो । तर म्युजिकल फिल्म शैली सधैं रहला नरहला । उहाँ गायकसँगै अभिनेता र निर्देशक पनि राम्रो हो’ सुझावसँगै उनी भन्छन्, ‘उहाँको अभिनय र संगीतको दुवै पाटो राम्रो छ । अभिनयलाई अगाडि बढाउँदा पनि भविष्य थप उज्यालो हुन्छ । संगीतमा केन्द्रित हुने हो भने अझ बढी स्ट्रोङ बनाएर लैजाँदा राम्रो हुन्छ भन्ने लाग्छ ।’

खेम रिसाल

तस्वीर, भिडियो : शंकर गिरी र आर्यन धिमाल/अनलाइनखबर