+

सिलिकन भ्यालीका सफल नेपाली

पूरा सूची
Shares
कुनै बेला दार्चुलामा टुकी बालेर पढ्ने पुकार सी हमाल अहिले अमेरिकाको सिलिकन भ्यालीका एक सफल स्टार्टअप ‘सेक्युरिटी पाल’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । सेक्युरिटी पालले प्रविधि कम्पनीहरूलाई डेटा सेक्युरिटी सेवा प्रदान गर्छ ।
पुकार सी हमाल

काठमाडौंमा जन्मे पनि बाल्यकाल दार्चुलाको गोकुलेश्वर र दाङमा बिताएका पुकार सी हमाल (३३) अहिले अमेरिकाको सिलिकन भ्यालीका एक सफल स्टार्टअप सेक्युरिटी पालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् । सेक्युरिटी पाल प्रविधि कम्पनीहरूलाई डेटा सेक्युरिटी सेवा प्रदान गर्छ ।

पुकारको स्टार्टअप सेक्युरिटी पालले स्थापनाको दुई वर्षमा नै सन् २०२२ मा पहिलो चरणमा २ करोड १० लाख डलर अर्थात् करिब ३ अर्ब रुपैयाँ बराबर लगानी जुटाउन सफल भयो । विश्वचर्चित कम्पनीहरू ओपेनएआई, मन्डेडटकम, सेन्डोसो लगायत सयौं कम्पनी उनका ग्राहक छन् ।

दार्चुला गोकुलेश्वर पुर्ख्यौली घर भएका हमालका हजुरबुवालाई प्रजातान्त्रिक आन्दोलनमा लागेको भन्दै पञ्चायतकालमा जेल हालियो । काठमाडौंको केन्द्रीय कारागारमा सन् १९७३ मा उनको निधन भयो । सानै उमेरमा पिताको माया गुमाएका उनका बुबा काठमाडौंमा वकालत गर्दथे ।

पुकार यहीं जन्मे । तर उनकी आमा सरकारी शिक्षिका भएकाले उनी गोकुलेश्वरमै बाल्यकाल बिताए । केही वर्ष उनी मामाघर दाङमा पनि बसे । त्यसबेला गोकुलेश्वर पुग्न गाडीबाट झरेर एक दिन पूरै हिंड्नुपथ्र्याे । गाउँमा बिजुली थिएन । रातमा टुकी बाल्नुपर्थ्यो  । पटक–पटक हिंडेर घर पुगेको उनको मानसपटलमा आज पनि ताजै छ ।

उनका पिता सन् १९९६ मा अमेरिका गएका थिए । त्यसको तीन वर्षपछि सन् १९९९ मा उनले आमा र पुकारलाई पनि उतै लगे । आठ वर्षको उमेरमा उनी अमेरिका पुगे । न्युयोर्क सिटीमा उनीहरूको बसोबास थियो । उनले १२ कक्षासम्मको विद्यालय शिक्षा त्यहीं पूरा गरे ।

त्यसपछि उनले क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयमा भर्ना पाएः इन्टरनेशनल पोलिटिकल इकोनोमिक्समा । यो विश्वविद्यालयको निकै चर्चित कोर्स हो । उनलाई पूर्वअमेरिकी विदेशमन्त्री कोन्डोलिजा राइसले प्रमाणपत्र प्रदान गरेकी थिइन् । राइस सोही विश्वविद्यालयको हुवर इन्स्टिच्युटकी निर्देशक छिन् ।

विश्वविद्यालयको पढाइ सकेपछि उनले सन् २०१४ मा स्टार्टअपमा काम थाले । ट्यालेन्टबिन नामको सो कम्पनीमा उनले दुई वर्ष जति अनुभव हासिल गरे । त्यसलाई मोन्स्टरजब नामक ठूलो कम्पनीले किनेपछि सन् २०१६ मा उनले टिमेबल भन्ने अर्को एक रिक्युर्टिङ कम्पनी खोले सहसंस्थापक भए । त्यसमा उनले ३ वर्ष काम गरे सन् २०१९ सम्म ।

त्यसपछि टिमेबल पनि छोडेर उनले केही समय कन्सल्टिङ गरे । र मार्च २०२० मा आफ्नै कम्पनी स्थापना गरे सेक्युरिटी पाल । वास्तवमा त्यो त्यस्तो समय थियोः कोभिड–१९ को महामारीका कारण संसार पूरै लकडाउनमा थियो ।

मानिसहरू आफ्नो सुरक्षाका लागि घरबाट बाहिर ननिस्किरहेको बेला हमालले भने संसारका कम्पनीहरूको साइबर सुरक्षामा काम गर्ने प्रडक्ट ल्याइरहेका थिएः सान फ्रान्सिस्कोको एउटा सानो अपार्टमेन्टबाट । किन उनले यो कम्पनी स्थापना गरे त ? उनले टिमेबलमा सफ्टवेयर बेच्दा क्लाइन्टले सधैं सोध्ने प्रश्न हुन्थ्योः यसमा साइबर सेक्युरिटी के छ ?

यस्तो समस्या अधिकांश टेक कम्पनीहरूलाई पर्ने गरेको थियो । तर कुनै पनि उत्पादनको साइबर सेक्युरिटी र गभर्नमेन्ट रिस्क कम्प्लायन्समा काम गर्ने कम्पनीहरू एकदमै कम थिए । त्यो हुँदा कुनै पनि प्रविधि उत्पादनको सुरक्षासँग सम्बन्धित विषयहरू रिभ्यु गर्ने र तिनको डेटा सुरक्षित छ भनेर प्रमाणित गरिदिने कम्पनीको आवश्यकताबोध उनलाई भयो ।

यही समस्या समाधान गर्न उनले आफ्नै कम्पनी खोलेः सेक्युरिटी पाल । यसले कुनै कम्पनीले बनाएको सफ्टवेयर वा प्लेटफर्म सुरक्षित छ भनेर सर्टिफाई गर्छ । सेक्युरिटी पालले कम्पनीहरूको सुरक्षा सम्बन्धी डकुमेन्टेसनलाई अटोमेटेड बनाउँछ र त्यस मार्फत प्लेटफर्महरूको साइबर सेक्युरिटीको अडिट गर्छ ।

त्यसका साथमा कम्पनीमा मानिसहरूले समेत प्रमाणित गर्ने प्रणाली छ । सेक्युरिटी पालले साइबर सुरक्षा प्रमाणित गरेको उत्पादन भनेपछि बजारमा त्यो उत्पादनको सुरक्षा सम्बन्धमा ग्राहकहरू ढुक्क हुन सक्छन् । यस्तो सुरक्षा परीक्षण हरेक वर्ष हुने हमाल बताउँछन् ।

जम्मा दुई वर्षको सञ्चालनमा आएको कम्पनीका लागि त्यो निकै ठूलो लगानी थियो । पुकारले यसलाई ग्लोबल कम्पनी बनाउने सपना त देखेका थिए । तर पहिलो चरणमा नै त्यति ठूलो लगानी आइसकेपछि उनको आत्मविश्वास ह्वात्तै बढ्यो ।

सन् २०२० मा कम्पनी सुरु गरेपछि सेक्युरिटी पाल चाँडै लोकप्रिय भयो । कम्पनीहरूले यसको खोजी गर्न थाले । अमेरिकाको सिलिकन भ्यालीको विशेषता नै हो कि लगानीकर्ताहरू कुन कम्पनीले नाफा कमाइरहेको छ भनेर खोजिरहेका हुन्छन् र त्यो छानेर लगानी गर्छन् । खासगरी यस्ता कम्पनीका ग्राहकले नै यो कम्पनी चाहिं राम्रो छ, यसको सम्भावना छ भनेर लगानीकर्ताहरूलाई भनिदिन्छन् ।

पुकारलाई पनि कम्पनी विस्तार गर्नु थियो । लगानीकर्ता पनि उनको जस्तो कम्पनी पाए पैसा खन्याउन तयार थिए । त्यसो हुँदा कम्पनी स्थापनाको दुई वर्षमा नै उनले सन् २०२२ को सेप्टेम्बरमा पहिलो चरणको लगानी उठाए २ करोड १० लाख डलर अर्थात् करिब २ अर्ब ९० करोड रुपैयाँ ।

जम्मा दुई वर्षको सञ्चालनमा आएको कम्पनीका लागि त्यो निकै ठूलो लगानी थियो । पुकारले यसलाई ग्लोबल कम्पनी बनाउने सपना त देखेका थिए । तर पहिलो चरणमा नै त्यति ठूलो लगानी आइसकेपछि उनको आत्मविश्वास ह्वात्तै बढ्यो ।

त्यसलगत्तै उनले काठमाडौंमा सेक्युरिटी अपरेसन्स कमान्ड सेन्टर (एसओसीसी) स्थापना गरेः सन् २०२३ को सुरुमा नै । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले त्यो कार्यालय उद्घाटन गरेका थिए । काठमाडौंको बालुवाटारमा रहेको यो कार्यालयमा हाल १५० देखि १६० कर्मचारीले काम गर्छन् ।

सेक्युरिटी पालबाट उनले अहिले संसारका २० भन्दा बढी देशका सयौं ग्राहकहरूलाई सेवा दिइरहेका छन् । तर तीमध्ये धेरैजसो अमेरिकामा छन् । ओपन एआई, स्न्यापच्याट, मोङ्गोटीभी, अमेरिकी स्टक एक्सचेञ्ज नासड्याकमा लिस्टिङ भएका फिग्मा, मन्डेडटकम, लुम उनका प्रमुख ग्राहक हुन् ।

उनी भेञ्चर क्यापिटल तथा एन्जल इन्भेष्टरहरूबाट थप लगानी जुटाउने सोचमा छैनन् तर यो कम्पनीलाई एस एन्ड पी ५०० बनाउने ठूलो सपना पछ्याइरहेका छन् । आगामी १० वर्षमा सेक्युरिटी पाललाई अमेरिकी स्टक एक्सचेञ्जमा लिस्टिङ गराउने धोको छ, हमालको ।

यसलाई १०० अर्ब डलरको कम्पनी बनाउने अठोट बोकेर काम गरिरहेको उनी बताउँछन् । आईपीओमा जानकै लागि ४० करोडदेखि ५० करोड डलरको कम्पनी बनाउनुपर्छ । त्यसको लागि हरेक वर्ष ३४ देखि ४० प्रतिशतले व्यापार बढाउनुपर्छ भन्ने हेक्का उनलाई छ ।

सिलिकन भ्यालीमा पनि प्रविधि कम्पनीका विभिन्न केन्द्र छन् । जस्तै सिलिकन हार्वर, सिलिकन पिक । त्यस्तै नेपाललाई पनि प्रविधिको त्यस्तै केन्द्र बनाउन सकिने सम्भावना देख्छन् हमाल । ‘नेपाल सिलिकन पिक किन हुन सक्दैन ? सक्छ’, उनी भन्छन् ।

कम्पनी विस्तार हुँदै जाँदा लगानी विविधीकरणको के योजना छ भन्ने प्रश्नमा हमाल स्पष्ट उत्तर दिन्छन्– ‘हामीले काम गर्ने साइबर सेक्युरिटी र गभर्नमेन्ट कम्प्लायन्समा हो । यही क्षेत्रमा जति विस्तार हुनसक्छ गर्छौं । अन्य क्षेत्रमा जाँदैनौं ।’

त्यो सपना पूरा हुँदा नेपाल कहाँ हुन्छ त भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिल्यै पनि हाम्रो दुईवटा प्रधान कार्यालय छन् । एउटा नेपालमा, एउटा सान फ्रान्सिस्कोमा । भोलि यो कम्पनी जति ठूलो भए पनि नेपाल हाम्रो हेडक्वार्टर नै हुनेछ ।’

अहिले पनि सेक्युरिटी पालको अमेरिकाको कार्यालयमा २५ जनाले काम गरिरहेका छन् भने नेपालमा १६० जनाले । त्यसमा पनि महिला र जनजातिहरूको हिस्सा ठूलो रहेको उनी बताउँछन् । नेपालको अपरेसन हेर्ने लक्ष्मण बस्नेत सेक्युरिटी पालका सुरुका सदस्य हुन् । उनले भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजरका रूपमा यहाँको सञ्चालनलाई मात्रै होइन विश्वव्यापी काममा पनि महत्वपूर्ण योगदान गरेको पुकार बताउँछन् ।

संसारका अन्य ठाउँको भन्दा नेपालका प्रतिभाहरू राम्रो रहेको उनको अनुभव छ । यहाँ अझै अवसर सृजना गर्न सकियो र लगानी गर्ने हो भने नेपालले संसारकै उत्कृष्ट जनशक्ति उत्पादन गर्न सक्ने विश्वास उनलाई छ ।

अहिलेसम्म नेपालमा काम गर्न आफूहरूले सहज नै महसुस गरेको उनी बताउँछन् । ‘हामी संसारका अन्य मुलुकमा पनि कार्यालय खोल्न सक्थ्यौं । तर नेपाल जन्मभूमि हो, त्यही भएर यहीं रोजें’, उनी भन्छन् ।
नेपाल कार्यालयको उद्घाटनको अवसरमा उनले भनेका थिए, ‘मेरो हजुरबा रामचन्द्र हमाल नेपालमा स्वतन्त्रता माग्दा करिब ५० वर्षअघि यहीं नजिककै कारागारमा मारिएका थिए । अहिले उसको नाति संसारकै स्वतन्त्रताको महत्वपूर्ण अभ्यास गर्दैछ ।’

‘संसारको सबैभन्दा ठूलो प्रविधिको केन्द्र सिलिकन भ्यालीमा खोलेको उद्यम लिएर काठमाडौं हुँदै एसिया प्यासिफिक क्षेत्रमा प्रवेश गरेको छ । यो देख्न पाउनुभएको भए उहाँ पक्कै गौरवबोध गर्नुहुन्थ्यो’ यसो भनेर हमाल आफ्ना पुर्खा र माटोप्रति सम्मान प्रकट गर्छन् ।

सिलिकन भ्यालीमा पनि प्रविधि कम्पनीका विभिन्न केन्द्र छन् । जस्तै सिलिकन हार्वर, सिलिकन पिक । त्यस्तै नेपाललाई पनि प्रविधिको त्यस्तै केन्द्र बनाउन सकिने सम्भावना देख्छन् हमाल । ‘नेपाल सिलिकन पिक किन हुन सक्दैन ? सक्छ’, उनी भन्छन् ।

दायाँबायाँ चार घण्टाको हवाई यात्रामा करिब ३ अर्ब जनसंख्या भएको नेपाल निकै महत्वपूर्ण रणनीतिक पोजिसनमा रहेको उनको अनुभव छ । यहाँको हावापानी राम्रो छ । त्यसो हुँदा यो टेक हब हुनसक्ने उनको अनुभव छ । ‘नेपाल जमिनका हिसाबले भूपरिवेष्ठित होला तर प्रविधिका हिसाबले काठमाडौं विश्वबजारबाट निकै नजिक छ । त्यसो हुँदा नेपाल डिजिटल महासागरमा जान कुनै समस्या छैन’, उनी भन्छन् ।

स्टानफोर्डलाई आजभोलि स्टार्टअप विश्वविद्यालय पनि भन्न थालिएको छ । किनभने यहाँ पढेका विद्यार्थीहरूले संसारभर ठूला र सफल स्टार्टअप बनाएका छन् । नेपाललाई पनि त्यस्तै युनिक विशेषता सहितको मुलुक बनाउन सकिने पुकारको विश्वास छ ।

जनार्दन बराल