+

सामुदायिक स्कुलकी नमुना ‘हेडमिस’

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
‘नेतृत्व शक्ति होइन जिम्मेवारी हो, गन्तव्य होइन यात्रा हो’ भन्ने रविना महर्जनले छोटो समयमै सफल युवा प्रधानाध्यापकको छवि बनाएकी छिन् । महिला त्यसमाथि कच्चा उमेर भन्दै हिजो क्षमतामाथि प्रश्न गर्नेहरू अहिले उनको प्रशंसा गर्न थालेका छन् ।
रविना महर्जन

बालबालिकाको भविष्यको लक्ष्य, उद्देश्य बदलिरहन्छ । जुनसुकै कुराले सहजै प्रभाव पार्ने बालमस्तिष्कले कहिले शिक्षक, कहिले डाक्टर, कहिले इन्जिनियर, कहिले खेलाडी, कहिले पाइलट त कहिले कलाकार बन्ने इच्छा, सपना बुनिरहेको हुन्छ ।

ती भूमिकाको कल्पनामा उनीहरू रमाइरहेका हुन्छन् । कतिपयले बालापनको इच्छा, सपना अनुसार क्षेत्र, पेशा अपनाउँछन् र सफल पनि हुन्छन् । तर, घरको आर्थिक अवस्था, हुर्काइको प्रक्रियामा आउने उतारचढाव लगायत कारणले कतिपय बालबालिका भविष्यका लागि देखेको सपना, इच्छा पूरा गर्ने अवसरबाट वञ्चित हुन्छन् ।

त्यस्तैमध्ये एक हुन्– काठमाडौं मनमैजु माध्यमिक विद्यालयकी प्रधानाध्यापक रविना महर्जन (३२) । काठमाडौं कलंकीमा एक गरिब परिवारमा जन्मिएकी रविनाले आम बालबालिका झैं कहिले गायिका बन्ने त कहिले खेलाडी बन्ने सपना देखिन् ।

काठमाडौं बाफलमा रहेको ज्ञानोदय माविमा पढेकी रविना पढाइसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागी हुन्थिन् । टिभी, रेडियोमा सुनेको पप गीत रविनाले कक्षा अथवा साथीभाइ माझ दुरुस्तै गाउन थालिन् ।

अनि, रविनाले देख्न थालिन् भविष्यमा पप गायिका बन्ने सपना । तर, पप गायिका बन्ने सपना देखेको धेरै नहुँदै रविनालाई कराँते खेल मनपर्‍यो । कराँते सिक्न उनको आर्थिक अवस्था थिएन । विद्यालयमा अतिरिक्त क्रियाकलापमा कराँते सिक्न थालिन् । त्यसपछि कराँते खेलेर नाम कमाउने सपना देख्न थालिन् । रविनाको पारिवारिक आर्थिक अवस्थाले उनको सपना, रहर पनि खुम्चियो ।

कराँते खेलाडी बन्ने इच्छा मारेर आमालाई घर चलाउन सघाउन रविना २०६५ सालमा शिक्षण पेशामा प्रवेश गरिन् । पढाइमा तीक्ष्ण रविनालाई एसएलसीपछि आफू पढेकै विद्यालयले आन्तरिक स्रोत शिक्षकका रूपमा पढाउन पाउने अवसर दियो ।

प्राथमिक तहबाट पढाउन थालेकी रविनाले आफ्नो अध्ययनलाई पनि जारी राखिन् । संयोगले शिक्षण पेशामा प्रवेश गरेकी रविनाले पढाउँदै जाँदा शिक्षण पेशाको महत्व, बालबालिकासँगको सम्बन्ध गहिरोसँग अनुभूत गर्दै गइन् । ज्ञानोदय माविको करिब १३ वर्षे शिक्षण अवधिमा हाम्रो सेरोफेरो, गणित, अर्थशास्त्र, लेखा, मार्केटिङ विषयहरू पढाइन् ।

शिक्षक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा निमावि तहको गणित विषय शिक्षकमा नाम निकाल्न सफल भइन् । आयोगको सिफारिस अनुसार असार २०७४ मा नुवाकोटको च्वादी पब्लिक मावि पुगिन् । उनी त्यहाँ पुग्दा निमावि तहका विद्यार्थीलाई गणितको आधारभूत ज्ञान पनि थिएन ।

९ सय भन्दा बढी विद्यार्थी अध्ययनरत मनमैजुले विद्यार्थीलाई खुसीसाथ सिक्ने, पढ्ने र संस्कार सिक्ने वातावरण निर्माण गर्न हरसम्भव प्रयास गरिरहेको छ । सामुदायिक विद्यालयमा समुदायको अपनत्व नहुने हो भने दीर्घकालीन सुधार हुँदैन भन्ने समुदायमा गएर बुझाइरहेकी छन् ।

बालबालिकालाई पढाउन व्यावहारिक सिकाइ आधार बनाएर पढाउन थालिन् । दैनिक प्रयोग हुने तरकारी, दाउरा, घाँस प्रयोग गरी गणित सिकाउन थालिन् जुन प्रभावकारी बन्यो । ‘आधारभूत ज्ञान पनि नभएको विद्यार्थीलाई पढाउनु योभन्दा अर्को उपाय मसँग थिएन । यो उपाय यति प्रभावकारी बन्यो कि उनीहरूले परीक्षामा ९० प्रतिशतसम्म अंक ल्याए’, रविना उत्साहित हुन्छिन् ।

उनले यो अवधिमा विद्यालय बाहिर रहेका बालबालिकाका अभिभावकसँग भेट्ने, पढाइको महत्वबारे कुराकानी गर्ने गरिन् । जसले गर्दा त्यस्ता बालबालिकालाई अभिभावकले विद्यालय पठाउन थाले । करिब दुई वर्ष काम गरेपछि उनी फेरि आयोगको परीक्षा पास गर्दै माध्यमिक तहको कार्यालय सञ्चालन तथा लेखा विषय शिक्षक भइन् ।

मनमैजु माविको नेतृत्व यात्रा

तारकेश्वर नगरपालिका–९ मा मनमैजु मन्दिर नजिकै छ मनमैजु माध्यमिक विद्यालय । यो वडाको एकमात्र सामुदायिक विद्यालय हो । यही विद्यालयमा २७ साउन २०७६ मा माध्यमिक तहको कार्यालय सञ्चालन तथा लेखा विषय शिक्षकका रूपमा प्रवेश गरिन् रविना । मनमैजु प्रवेश गर्नु नै रविनाको शिक्षण पेशाको ‘टर्निङ प्वाइन्ट’ बनिदियो ।

सिर्जनात्मक तथा व्यावहारिक शिक्षण अभ्यास गर्ने रविनाको पढाउने शैलीले विद्यार्थीको सिकाइमा सुधार मात्रै ल्याएन, विद्यार्थीको व्यवहारमा समेत प्रभाव पर्‍यो । सहकर्मी शिक्षकले पनि उनको शिक्षणशैली पछ्याउन थाले । उनी सफलताको सिंढी उक्लिंदै थिइन् । अनिवार्य अवकाश हुन लागेका प्रधानाध्यापक भक्तमान महर्जनले निमित्त प्रधानाध्यापक तोक्न उपयुक्त उम्मेदवार भेटे ।

‘प्रधानाध्यापक हुन योग्य शिक्षक साथीहरू त हुनुहुन्थ्यो, तर सफलतापूर्वक विद्यालय नै हाँक्न सक्नेमा डर थियो, रविनाजी आउनुभएपछि म ढुक्क भएको थिएँ’, भक्तमान सम्झिन्छन् । विद्यालयको नेतृत्व हस्तान्तरण गर्न क्षमतावान् उम्मेदवार भेटे पनि राजनीतिक दबाब र चलखेल हुने जोखिमका कारण भक्तमानलाई थोरै चिन्ता भने थियो ।

तर, निमित्त प्रधानाध्यापक तोक्ने अधिकार उनमा भएकाले जस्तोसुकै दबाब आए पनि आफ्नो अडान नछाड्ने निर्णय गरे । भक्तमानले रविनालाई प्रधानाध्यापक बनाउने भएपछि राजनीतिक दबाब र वरिष्ठ शिक्षकहरूको विरोध चर्किंदै गयो ।

‘राजनीतिक दबाब त थियो नै, उहाँभन्दा वरिष्ठ तीन जना शिक्षक हुनुहुन्थ्यो । उहाँहरूको पनि चर्को विरोध भयो’ पूर्वप्रधानाध्यापक भक्तमान विगत सम्झिन्छन्, ‘तर, विरोध भयो भन्दैमा क्षमता नै नभएकालाई बनाउनु भनेको विद्यालयलाई जोखिममा पार्नु हो, त्यही भएर मैले मेरो अडान छाडिनँ ।’

विद्यालयका बाँकी शिक्षकले भक्तमानको निर्णयलाई साथ दिएपछि राजनीतिक दबाब तथा अनेक चलखेलले उनको निर्णयमा केही फरक पारेन । ८ साउन २०७७ मा भक्तमानले रविनालाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएपछि वरिष्ठ तीन शिक्षकमध्ये दुई जना सरुवा भएर गए ।

अनि, रविना बनिन् प्रधानाध्यापक

उनको क्षमतामाथि शंका गर्नेहरूको चुनौती बीच प्रधानाध्यापक भएकी रविनाले काम गरेरै जवाफ दिइरहेकी छिन् । युवा जोश र शैक्षिक सुधारको भोकले भरिएकी रविना प्रत्येक पल विद्यालयको गुणस्तर उकास्न खटिइरहेकी छिन् ।

‘विद्यालयको नेतृत्वमा जागिरे मानसिकता हुनुहुँदैन’ मनमैजुका पूर्व प्रधानाध्यापक भक्तमान भन्छन्, ‘सबैलाई मिलाएर लैजान सक्ने खुबी हुनुपर्छ, जुन रविनाजीमा देखेरै चौतर्फी दबाबबीच नेतृत्व हस्तान्तरण गरेको थिएँ ।’

मनमैजु मावि २०८० को एसईई नतिजामा ९१.५३ प्रतिशत विद्यार्थी उत्तीर्ण गरेर नगरपालिकाकै उत्कृष्ट दोस्रो स्थानमा पर्न सफल भयो । विद्यालयमा इतिहासमै धेरै विद्यार्थी भर्ना भएका छन् । यसको श्रेय विद्यालयका सबै शिक्षक, अभिभावक, विद्यार्थी र व्यवस्थापन समितिलाई जाने रविना बताउँछिन् ।

‘मैले मात्रै प्रयास गरेर हुँदैन, मेरो नेतृत्वमा सबैको समान प्रयास, समन्वय र मिहिनेत नहुने हो भने सुधार गर्न सम्भव छैन’, रविना भन्छिन् । प्रधानाध्यापकमा शिक्षण अनुभव, प्रशासकीय गुण र समन्वयकारी भूमिका बराबर हुने हो भने शैक्षिक सुधार गर्न सकिने अनुभूत गरिरहेकी छिन् रविनाले ।

९०० भन्दा बढी विद्यार्थी अध्ययनरत मनमैजुले विद्यार्थीलाई खुसीसाथ सिक्ने, पढ्ने र संस्कार सिक्ने वातावरण निर्माण गर्न हरसम्भव प्रयास गरिरहेको रविना बताउँछिन् । सामुदायिक विद्यालयमा समुदायको अपनत्व नहुने हो भने दीर्घकालीन सुधार हुँदैन भन्ने बुझाइले समुदायमा गएर विद्यालयलाई समुदायको साथ र सहयोगको महत्व बुझाउने कोसिस भइरहेको छ ।

‘हामी यहाँको समुदायमा पुगेर विद्यालयप्रति अपनत्वको महसुस जगाउने कोसिस पनि गरिरहेका छौं’ रविना भन्छिन्, ‘स्थानीयसँग घुलमिल भएर दीर्घकालीन शिक्षा सुधारका लागि हातेमालो गर्न आग्रह गरिरहेका छौं ।’

उनका अनुसार विद्यालय निर्माण तथा मर्मतसम्भार, रङरोगन लगायत काम गर्न स्थानीयलाई अवसर दिने र अपनत्व जगाउने प्रयास भइरहेको छ । जसका कारण हरेक कक्षामा ५ वा ६ जनाका दरले स्थानीय विद्यार्थी भर्ना भएका छन् ।

यसलाई उपलब्धि मान्दै अझ संख्या बढाउन कक्षा ११ मा आफ्ना बालबालिका आफ्नै समुदायको विद्यालयमा भर्ना गराउने प्रयासमा रहेको उनी बताउँछिन् । कसरी हुन्छ विद्यालयको शैक्षिक गुणस्तरलाई उचाइमा पुर्‍याउने अठोट लिएकी रविनाले चुनौतीलाई अवसरका रूपमा लिंदै अगाडि बढिरहेकी छिन् ।

‘नेतृत्व शक्ति होइन जिम्मेवारी हो, गन्तव्य होइन यात्रा हो । यही भनाइ आत्मसात् गरेर काम गरिरहेकी छु’ रविना दृढ सुनिन्छिन् । रविनाले छोटो अवधिमा निडर नेतृत्व र स्पष्ट वक्ताको युवा प्रधानाध्यापकको छवि बनाएकी छिन् । महिला तथा कच्चा उमेर देखाउँदै रविनाको क्षमतामाथि प्रश्न गर्नेहरू पनि अहिले प्रशंसा गर्न थालेका छन् ।

मनमैजुलाई देशकै नमूना विद्यालय बनाउने उद्देश्य लिएर विद्यालयको नेतृत्व गरिरहेकी रविना आउन सक्ने जोखिम, चुनौतीबारे सदैव सचेत पनि छिन् । ‘प्रतिस्पर्धाको परीक्षामा नतिजा सधैं उस्तै आउँदैन, सफलतालाई सधैं कायम राख्न सकिंदैन’ रविनाको उत्साह निरन्तर सुनिन्छ, ‘तर, उद्देश्यप्रति अडिग रहेर निरन्तर प्रयास गरिरह्यो भने त्यो बिन्दुमा कसैले रोक्दैन ।’

नुनुता राई