+

उनको गर्जन ‘बालिका पत्नी होइनन्’

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
नेपाली समाजमा कसरी बालिकामाथि अत्याचार भइरहेको छ भनेर ‘ओस्लो फ्रिडम फोरम’ मा उनले आफ्नो कथा भनिन् । द गार्जियन सहितका पत्रिकाले उनको सफलताका कथा छापे । उनी हुन्, सुर्खेत मसेरी टोलकी रचना सुनार ।
रचना सुनार

‘बालिका पत्नी होइनन्’ यही हो, रचना सुनार (३०) ले ११ वर्ष पहिले सुरु गरेको एउटा अभियान । यो सन्देश उनले देशमा मात्र होइन, विदेशसम्म फैलाइन् । सन् २०१५ मा नर्वेको स्ट्रोमा फाउन्डेसनले गरेको ‘युथ एक्सचेन्ज प्रोग्राम’ मा रचनाले जोडदार ढङ्गले भनेकी थिइन्, ‘बालिका पत्नी होइनन् !’

आफ्नो समाजमा कसरी बालिकामाथि अत्याचार भइरहेको छ भन्ने विषय उनले ‘ओस्लो फ्रिडम फोरम’ मा राखिन् । त्यसताका द गार्जियन सहितका पत्रिकाले उनको सफलताका कथा छापे ।

कथित दलितहरू बस्ने वीरेन्द्रनगर–१, सुर्खेतको मसेरी टोलको विपन्न र पछौटे समाजमा हुर्किएकी हुन्, रचना । बालविवाह, अन्धविश्वास र कुसंस्कारले स्थानीय परिवेश ग्रसित थियो । रचनाले यसलाई बदल्न सामाजिक सुधारको बागडोर सम्हालेकी छन् ।

‘छोरी १३–१४ वर्षको भएपछि परिवारले नै विवाह गरिदिन्थ्यो’ रचना भन्छिन्, ‘हामीले पछिल्लो ११ वर्षयता बालविवाह विरुद्ध कडा विद्रोह गर्‍यौं । अहिले शून्यमा झरेको छ ।’

बालविवाहरहित समाज निर्माणको अभियान सफल बनाएकी रचना आफ्नै बलबुतामा उठेकी अधिकारकर्मी हुन् । रचनाकै अगुवाइमा मसेरी टोल बदलिएको छ । रचनाले ‘बाल बगैंचा’ ज्ञानकुञ्ज, आमाहरूका लागि साझा बिसौनी ‘महिला चौतारी’, ‘साथी संवाद केन्द्र’ र ‘समावेशी किशोरी संवाद केन्द्र’ लगायत दर्जन बढी अभियानहरू सञ्चालन गरिन् ।

तिनै अभियानमा महिला, बालबालिका, किशोर–किशोरी र आमाहरूलाई जोडिन् । एक दशकमै आफ्नो समुदाय नै परिवर्तन गरिदिइन् । रचना चाहन्छिन्, कुनै पनि छोरीले ‘छोरी’ भएर जन्मँदा गर्व गर्न सकुन् र तिनका अभिभावक दङ्ग परुन् । रचनाले वर्षौंदेखिको सामाजिक जडता र विभेद विरुद्ध आवाज मात्र उठाइनन् परिवर्तनको बिगुल नै फुकिन् ।

बालविवाह विरुद्धको विद्रोह

बालविवाह विरुद्ध अभियान पनि आफ्नै भोगाइबाट जन्मिएको रचना बताउँछिन् । छोरीहरू हुर्कंदै जाँदा परिवारमा बोझ बढ्दै गयो । उमेरले १५ वर्ष नटेक्दै परिवारले उनलाई बिहे गरेर पठाउने हतारो गर्‍यो ।

पाँच जनासँग उनको बिहेको कुरा चल्यो । गरिब परिवार, धेरै छोरी भएर होला, सिंगो गाउँलाई नै रचनाको बिहेको चिन्ता थियो । उनी भन्छिन्, ‘सायद त्यसैले होला, घरमा आउनेहरू चिन्ता मात्रै बोकेर आउँथेनन्, बिहेको रिस्ता पनि लिएर आउँथे ।’

बालविवाहले किशोरीहरूमा पर्ने शारीरिक र मानसिक असर बारे त कुनै लेखाजोखा नै थिएन । न त यसबारे समाजमा चेतना नै थियो । जसोतसो आफ्नो विवाह रोक्न सफल रचनालाई एक दिन गाउँका सबै किशोरीको बालविवाह रोक्ने जोश चल्यो ।

१० कक्षामा पढ्दै गरेकी बालिकाले ‘म पढ्छु, केही गरेर देखाउँछु’ भनेर परिवारलाई बुझाउन सक्ने आधार पनि थिएन । तर पनि उनी विवाहका लागि राजी भइनन् । परिवार भने बिहे गरेरै छाड्ने पक्षमा थियो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको छात्रवृत्तिमा अध्ययनरत रचनाले जुक्ति लगाइन् । बिहे गराइदिए बालविवाह हुने र बालविवाह गरे पढाइको छात्रवृत्तिमा लागेको सबै खर्च परिवारले बेहोर्नुपर्ने बताइन् । ‘त्यसपछि बुबा हच्किनुभयो’ रचना भन्छिन्, ‘अनि बिहे टर्‍यो ।’

उनका अधिकांश मिल्ने साथीहरू विवाह गरेर ७, ८, ९ कक्षामै छुटिसकेका थिए । तिनैमध्ये एक थिइन्, बहिनी निर्मला विक । ९ मा पढ्दै गरेकी १५ वर्षीया निर्मलाको परिवारले विवाह गरिदियो । १६ वर्षमा निर्मला आमा बनिन् । त्यति नै बेला उनको श्रीमान्ले दिनहुँजसो झगडा गर्ने, कुटपिट गर्न थाले । १७ वर्षको उमेरमा सम्बन्धविच्छेद भयो ।

डिभोर्सपछि माइतीले ललाईफकाई निर्मलाको पुनः विवाह गरिदिए । दोस्रो विवाह पनि उनलाई फापेन । फेरि माइतीकोमा आएर बसिन् । तेस्रो विवाह, बर्दियाको एक युवकसँग गरिन् । ‘१८ वर्षको उमेरमा उनले तीन वटा विवाह गरिसकेकी थिइन् । तर, एउटा छोरा पहिले नै थियो । उनको बिहेपछि छोराको बिचल्ली भयो । त्यो बच्चालाई मैले नै ल्याएर हुर्काएँ’, रचना भन्छिन् ।

त्यतिबेला बालविवाहले किशोरीहरूमा पर्ने शारीरिक र मानसिक असर बारे त कुनै लेखाजोखा नै थिएन । न त यसबारे समाजमा चेतना नै थियो । जसोतसो आफ्नो विवाह रोक्न सफल रचनालाई एक दिन गाउँका सबै किशोरीको बालविवाह रोक्ने जोश चल्यो ।

‘बालविवाहकै कारण आफ्नी बहिनीको जीवन तहसनहस भएको देखेकी थिएँ । अर्कोतिर समाजको चेतनास्तर उस्तै थियो । त्यसपछि बालविवाह विरुद्ध केही न केही गर्छु भन्ने जोस चलेको हो’, रचनाले भनिन् ।

एक दिन टोलका ७/८ जना किशोरीलाई एकै ठाउँ जम्मा गरिन् । तिनै निर्मलालाई आफ्नो भोगाइ, दुःख–दर्दका कथा सुनाउन लगाइन् । ‘सायद मैले बालविवाह गर्नुहुन्न भनेको भए, कसैले सुन्थेनन् होला । मान्थेनन् होला । तर बालविवाह गरेर बिचरा भएकी निर्मलाको भोगाइ सुनाउन लगाएँ’ रचना ती दिनहरू सम्झिंदै भन्छिन्, ‘निर्मलाको कथा यति दर्दनाक थियो कि, त्यहाँ बसेर सुन्नेहरू सबै एकसाथ रोए ।’

त्यही बसाइबाट उनीहरूले बालविवाह विरुद्धको एउटा अभियान चलाउने निधो गरे । अनि गठन गरे ‘मसेरी टोल किशोरी संवाद केन्द्र ।’ फरक–फरक उमेर समूहका किशोरीहरू नियमित भेट्ने, छलफल गर्ने उपक्रम सुरु भयो ।

उनीहरू यौन स्वास्थ्य र प्रजनन्का बारेमा खुला छलफल गर्न थाले । प्रत्येक शनिबार एक–दुई घण्टा उनीहरू एकठाउँमा जम्मा भएर तिनै बालविवाह गरेका दिदीहरूका दुःख सुन्थे । रुन्थे, छुट्टिन्थे । पछि त्यो अभियानमा झन्डै ४५ जनासम्म किशोरी जोडिए ।

‘तीमध्ये कसैले पनि बालविवाह गरेनन् । आवाज उठाए । परिवार र समाजसँग लडे’ उनले भनिन्, ‘त्यो बेला हामीले बालविवाह हुँदैछ भन्ने थाहा पाएपछि विवाह मण्डपमै पुगेर १६ वटा बिहे त रोक्यौं ।’ उक्त अभियान झन्डै ७ वर्ष चल्यो । विस्तारै समाज जागरूक हुन थाल्यो । बालिकाहरू पनि सचेत हुँदै गए । अहिले मसेरीमा बालविवाह शून्यमा झरेको रचनाको दाबी छ ।

आमा पढाउन, खुल्ला विद्यालय

वीरेन्द्रनगर–१ धारापानीकी ३१ वर्षीया दुर्गा विकले १५ वर्षको उमेरमा बालविवाह गरिन् । कक्षा ९ मा पढ्दा–पढ्दै विवाह गरेकी उनले पढाइ बीचैमा छोडिन् । पढाइ छोडेको १२ वर्षपछि उनी पुनः कक्षा ९ मा भर्ना भइन् । दुई सन्तानकी आमा उनी एसईई पास गरेर, हाल अमर ज्योति माध्यमिक विद्यालय नेवारेमा कक्षा १२ मा अध्ययनरत छिन् ।

यसरी पढाइ छोडेको १२ वर्षपछि पनि पढ्न सकिन्छ भन्ने दुर्गाको हौसला भर्ने रचना हुन् । ‘सानै उमेरमा विवाह गरें । बालबच्चा भए, पढाइ छुट्यो । अहिले आएर पढ्न सकिन्छ भन्ने कल्पना समेत गरेकी थिइनँ’ दुर्गा भन्छिन्, ‘रचना म्यामले हौसला दिएपछि पढ्ने जाँगर चल्यो । पढे सकिने पनि रहेछ ।’

एसईई पास गरेपछि रचनाले नै सञ्चालन गरेको ‘ब्लु वर्ड’ नामक संस्थाले दुर्गालाई निःशुल्क मन्टेसरी तालिम दियो । मन्टेसरी तालिम पश्चात् उनी वीरेन्द्रनगर–१ मै रहेको बालन शिक्षा एकेडेमीमा पढाउँदै आएकी छिन् । उनका श्रीमान् अटो चलाउँछन् । दुर्गा शिक्षिका भएकी छिन् ।

‘यसरी पढेर आफैंले जागिर खाएपछि त परिवार र समाजले गर्ने व्यवहार नै फरक हुने रहेछ’ उनी भन्छिन्, ‘रचना म्यामले गर्दा नै आज म आफैं केही गर्न सक्छु भन्ने हौसला मिलेको छ । अझ धेरै मास्टर–डिग्रीसम्म पढ्ने सोचेकी छु ।’

बालविवाह विरुद्ध चर्को आवाज उठाएर आफ्नो टोलमा बालविवाह शून्यमा झारेकी रचनाले पछिल्लो समय बालविवाह गरेर दुःख पाएका महिलाहरूको शिक्षामा काम गर्दै आएकी छिन् । उनले ‘स्वतन्त्र शान्ति महिला समाज’ नामक समूह बनाएर सानै उमेरमा विवाह गरेर पढाइ छाडेका महिलाहरूलाई पुनः पढाउन थालेकी छिन् ।

‘हामीले बालविवाह विरुद्धको अभियान १० वर्षसम्म चलायौं । बालविवाह न्यूनीकरण पनि भयो’ रचना भन्छिन्, ‘तर जानी–नजानी बालविवाह गरेका दिदी–बहिनीहरूको अवस्था झनै दर्दनाक थियो । त्यसैले उहाँहरूलाई आत्मनिर्भर बनाउने अभियान थालेका छौं ।’

रचनाका अनुसार अहिले पनि बालविवाह गरेका अधिकांश महिला बिचल्लीमा छन् । कठोर संघर्ष गरिरहेका छन् । कतिलाई श्रीमान्ले छाडे, दोस्रो विवाह गरे, कतिले त श्रीमान् र परिवारको यातना झेल्न नसकेर सम्बन्धविच्छेद गरे । तिनै महिलाहरूलाई शिक्षा र आत्मबल दिने काममा लागिपरेको रचना बताउँछिन् ।

‘सानैमा विवाह भएपछि पढाइ छोडे । दुई–तीन वटा बच्चाकी आमा हुनुहुन्छ । तर उमेर भने २४/२५ वर्ष भएको छ’ रचना भन्छिन्, ‘त्यस्ता आमाहरूलाई अझै उमेर छ, तपाईंहरू पढ्न सक्नुहुन्छ भनेर हौसला दिइरहेका छौं ।’

‘स्वतन्त्र शान्ति महिला समाज’मा हाल २६ जना सानै उमेरमा विवाह गरेका आमाहरू जोडिएका छन् । तीमध्ये १० जनाले पुनः पढ्न सुरु गरेका छन् । ४ जनाले एसईई पास गरेर कक्षा ११–१२ मा पढिरहेका छन् । ६ जनाले कक्षा ८ पास गरेर ९ मा पढिरहेको रचना बताउँछिन् ।

‘८ जना दिदीबहिनीहरू आगामी फागुनमा कक्षा ८ को परीक्षा फारम भर्ने तयारीमा हुनुहुन्छ’ उनले भनिन्, ‘उहाँहरूमा पढ्नुपर्छ भन्ने चेत आएको छ, पढेर केही गर्छु भन्ने हिम्मत जुटेको छ ।’

उनीहरूलाई कापी, किताब व्यवस्था गरिदिनेदेखि लिएर अंग्रेजी, गणित, विज्ञानको ट्युसन लिन लगाएर शुल्क पनि रचनाले नै तिरिदिन्छिन् । रचनाले समूहमा जोडिएका महिलाहरूलाई समाजमा केही गरिरहेका प्रेरक व्यक्तिहरूलाई बोलाएर उत्प्रेरणा दिन लगाउँछिन् । शिक्षाको महत्व बुझाउँछिन् ।

उनीहरूलाई निःशुल्क टयुसन पढाउँछिन् । आफैंले विद्यालयमा भर्ना समेत गरिदिन्छिन् । एसईई सकेपछि मन्टेसरी र अन्य सीपमूलक तालिम समेत दिएर उनीहरूलाई स्वरोजगार बनाइरहेकी छिन् । ‘अहिले हाम्रो समूहमा जोडिने दिदीबहिनीको संख्या बढ्दो छ । सबैलाई शिक्षित र स्वरोजगार बनाउने हाम्रो लक्ष्य छ’, रचना भन्छिन् ।

आफ्नै विगत प्रेरणा

बुवा लालसिंह सुनार र आमा पार्वतीको पहिलो सन्तान हुन्, रचना । वीरेद्रनगर–१ मसेरी खेतमा ३० वर्षअघि जन्मिएकी उनको बालापन लाडप्यारमै बित्यो । उनकी आमाले पहिलो सन्तान ‘छोरी’ जन्माउँदा रचनाको घरपरिवार, छरछिमेक र समाज एकदमै खुसी थियो ।

‘घरमा लक्ष्मीको बास भयो भन्दै सबैले उत्सव मनाएका थिए अरे’ उनी भन्छिन्, ‘सायद, त्यसैले होला म अलि मायामा हुर्किन पाएको बच्चा हुँ !’

दोस्रो सन्तानका रूपमा उनकी बहिनी सजनाको जन्म भयो । परिवारमा थोरै वितृष्णा आयो । जब, तेस्रो बहिनी अञ्जना जन्मिइन् परिवारले उनको आमासँग बोल्न छोड्यो । ‘जन्मिएको बच्चा छोरी भन्ने सुन्नासाथ आमा र बहिनीलाई त्यहीं छोडेर बुवा हिंड्नुभएछ’ विगत सम्झिंदै रचना भन्छिन् । लगातार तेस्रो सन्तान छोरी जन्माएकै कारण उनकी आमाले कति छाक खाना समेत पाइनन् ।

उनको आमाबाट छोरा जन्मिने आश मारिसकेको परिवारले न्वारान गरेर बच्चाको नाम राखिदिने कुरै थिएन । वास्ता समेत गर्न छाडियो । फुपू र अंकलले रचना र सजना नामसँग अन्तरा मिलाएर अञ्जना राखिदिए । उनकी आमा तेस्रोमा मात्रै रोकिइनन्, चौथो र पाँचौं सन्तानको रूपमा पनि ‘छोरी’ जन्माइन् ।

‘हाम्रो बाल्यकाल हिंसामा बित्यो । म हिंसामा हुर्किएकी छोरी हुँ । मेरो बहिनीहरूलाई पनि हिंसा र त्यसको प्रभावबारे जानकारी छ’ रचना भन्छिन्, ‘हामी दिउँसो विद्यालय गएपछि मात्र शान्ति पाउँथ्यौं । हरेक दिन बेलुका घरमा झगडा हुन्थ्यो ।’

रचनालाई लाग्छ, निम्नस्तरको परिवारमा झगडाको प्रमुख कारण अभाव र गरिबी हो । ‘समस्या धेरै, स्रोत कम हुनु । त्यही स्रोतमा खिचातानी हुँदा जो बलियो छ, उसैको निर्णय चल्छ । कमाउनेले नै खर्च गर्ने अधिकार लिंदा वादविवाद हुन्छ । त्यही वादविवाद बढ्दै जाँदा हिंसाको स्वरूप लिने रहेछ’, उनी भन्छिन् ।

अत्यन्तै गरिब र दलित परिवारमा छोरी भएर जन्मनु, छोरीमाथि परिवारको हिंसात्मक व्यवहार हुनु, बालविवाहको दबाब आउनु उनको निम्ति दुःखद् थियो । तर, त्यही पीडाबोधले उनलाई समाजमा ‘केही गर्न’ प्रेरित गरेको हो । ‘मेरो कर्म नै मेरो आदर्श हो’ रचना भन्छिन्, ‘मैले जुन काम गरिरहेकी छु, त्यसो गर्न मलाई मेरो विगतले उकासेको हो ।’

अहिले ती संघर्षका दिन सम्झिंदा रचनाको मन भक्कानिएर आउँछ । बोल्दा बोल्दै उनका आँसु रोकिएनन् । सम्हालिंदै रचनाले भनिन्, ‘म चाहन्छु पैसा नभएकै कारण कसैले पढाइ छोड्नु नपरोस् ।’

रचनाले ७–१० कक्षासम्म दलित कल्याण समाजकै छात्रवृत्तिबाट पढिन् । प्लसटुु पनि एउटा विदेशी संस्थाले पढायो उनलाई । स्नातक तह पनि नेपाल सरकारको छात्रवृत्तिबाट पढिन् । मध्यपश्चिम विश्वविद्यालयबाट मेजर अङ्ग्रेजी विषयमा स्नातक गरेकी रचनाले सोही विश्वविद्यालयबाट ‘सामाजिक कार्य’ विषयमा मास्टर्स गरेकी छिन् । रचना निरन्तर शिक्षा क्षेत्रमै क्रियाशील भए पनि हाल भूमिका फेरिएको छ । त्यो हो, बालन शिक्षा एकेडेमीकी प्रिन्सिपल ।

रचनाको अबको लक्ष्य ‘शिक्षामा सुधार’ हो । ‘शिक्षण पेशाले ज्ञान, सकारात्मक सिकाइ बाँड्ने जिम्मेवारी लिएको हुन्छ’ रचना भन्छिन्, ‘समाजका सबै वर्ग, लिंग, वर्ण भएका मानिस समान हुन् । उनीहरूको अधिकार, कर्तव्य समान हुन्छ भन्ने सिकाउँछ ।’

यज्ञ खत्री