+

असाधारण हन्डरले बनेका डाक्टर

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
डा. रामजी राम चमारको यात्रा एउटा प्रेरणादायी कथा बनेको छ । सपना देख्ने र त्यसका लागि निरन्तर संघर्ष गर्ने हरेक व्यक्तिले सफलता नै पाउँछन् भन्ने नयाँ आशाको किरण उनले छरेका छन् ।
डा. रामजी राम

रौतहटको गढीमाई नगरपालिका–९ मा एक साधारण चमार परिवारमा जन्मिएका रामजी राम (२९) को बाल्यकाल गरिबीको छायाँमै बित्यो । तर उनको आँखामा एउटा अनौठो चमक थियो– सपनाको ।

सानैदेखि रामजीले आफ्नो समुदायलाई परम्परागत पेशाबाट माथि उठाउने सपना देखे । उनी सोच्थे– ‘हामी किन सधैं सिनो र फोहोर मात्र उठाउने ? किन नसक्ने हामी पनि कलम समात्न ?’

कक्षाकोठामा अब्बल भए पनि रामजीले जातीय विभेद भोग्नुपर्थ्यो । उनका यादहरू कहिले साथीहरूबाट पाएको तिरस्कार त कहिले समाजबाट भोग्नुपरेको अवहेलनाको खातले बनेका छन् ।

सपना पछ्याउँदै सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्ने मौका पाए रामजीले । वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना पनि भए । तर यहाँ पनि उनलाई समस्याले छाडेन । पढ्न छात्रवृत्ति पाए पनि बस्ने–खाने खर्च जुटाउन मुस्किल थियो । खाना र किताबको जोहो गर्न उनी राति–राति जाग्थे । रामजीले संकल्प लिए, ‘डाक्टर बनेरै छाड्छु !’

एक दिन, चौथो वर्षको परीक्षाको बेला, कलेज प्रशासनले रामजीलाई परीक्षा हलबाट निकालिदियो । कारण– उनले शुल्क तिर्न सकेका थिएनन् । उनको आँखाबाट आँसु बग्यो, तर हृदयमा आगो बल्यो । ‘म हार्दिनँ’, उनले आफैंलाई भने ।

त्यसपछि रामजीले सुरु गरे न्यायको लडाइँ । नेपाल मेडिकल काउन्सिलदेखि अदालतसम्म धाए । उनको संघर्षले धेरैको ध्यान खिच्यो । सहयोगी हातहरू अघि बढे । अन्ततः २०७९ सालमा उनले एमबीबीएस पूरा गरे ।

  अहिले नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण गरेर, रामजी राम चमार डाक्टर बनेका छन् । रौतहट जिल्लाकै चमार समुदायबाट पहिलो डाक्टर ।

उनको संघर्ष सुन्दा गढीमाईका बालबालिकाको आँखामा नयाँ सपना जन्मेको छ । उनीहरू पनि सोच्न थालेका छन्— ‘यदि रामजी दाइले सके भने हामी किन नसक्ने ?’

रामजी अहिले सरकारी अस्पतालमा सेवा गरिरहेका छन् । अब उनको अर्को सपना छ– मनोचिकित्सक बन्ने । ‘मैले भोगेको मानसिक पीडा अरूले नभोगुन्’ उनी भन्छन्, ‘म मेरो समुदाय र देशका लागि काम गर्नेछु ।’

डा. रामजी राम चमारको यात्रा एउटा प्रेरणादायी कथा बनेको छ । सपना देख्ने र त्यसका लागि निरन्तर संघर्ष गर्ने हरेक व्यक्तिले सफलता नै पाउँछन् भन्ने नयाँ आशाको किरण उनले छरेका छन् ।

अविश्वसनीय यात्रा

रामजीको बाल्यकाल गरिबीको कालो बादलमुनि बित्यो । बिहान काम नगरे बेलुका भोकै पर्नुपर्ने पारिवारिक अवस्था । दुई–चार महिना पुग्ने खेती र अरूको खेतबारीमा काम गरेर गुजारा चलाउने बाध्यता । रामजी र उनका भाइबहिनीहरू पनि बुबाआमासँगै खेतबारीमा जान्थे । तर यही कठिन परिस्थितिमा पनि उनका बुबाआमाको मनमा एउटा सपना थियो– छोराछोरी पढाउने ।

प्राथमिक विद्यालयमा रामजीको पाइला पर्‍यो । तर त्यहाँको वातावरण उनका लागि सहज थिएन । जुत्ता, चप्पल किन्ने पैसा थिएन । विद्यालय सञ्चालन गाउँका महाजनको भरमा हुन्थ्यो, जहाँ जातीय भेदभाव स्पष्ट देखिन्थ्यो । तर रामजीका बुबा प्रष्ट थिए– ‘जे सुकै भए पनि विद्यालय जान छोड्नुहुँदैन ।’

श्री सरस्वती माध्यमिक विद्यालयमा पुग्दा रामजीको संघर्ष झनै कठिन बन्यो । ३० मिनेट हिंडेर विद्यालय जाने, त्यो पनि खाली खुट्टा । परीक्षा शुल्क तिर्न नसक्दा पनि उनले हार मानेनन् । यही क्रममा उनले आफ्नो हकअधिकारका लागि लड्न सिके ।

२०६८ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि रामजीको मनमा एउटा नयाँ सपना जाग्यो– विज्ञान विषय पढ्ने । तर कसरी ? उनलाई थाहा थियो, यो सपना पूरा गर्न १८–२० घण्टा पढ्नुपर्छ । उनले आफैंलाई चुनौती दिए ।
सुरुमा १० घण्टा, त्यसपछि १२–१४ हुँदै १८ घण्टासम्म पढ्न थाले । निद्रा लाग्दा टाउको पानीमा डुबाउँथे । किताब पूरै सार्थे । यो संघर्षले उनलाई सिकायो– ‘म पढ्न सक्छु ।’

गरुडा उच्च माविमा पढ्न जाँदा एक घण्टाको पैदल यात्रा हिंड्नुपथ्र्यो । त्यसमाथि दलित भएकै कारण कोठा पाउन मुस्किल । तर उनका बुबाको अथक् प्रयासले जसोतसो कोठा मिल्यो ।

विद्यार्थी जीवनमा रामजीले ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई ट्युसन पढाएर मासिक ७०० कमाउँथे । यो रकम उनको तरकारी र ग्याँसको खर्चका लागि पुग्थ्यो । गाह्रो परेका बेला बुबासँग दुई–चार रुपैयाँ माग्नुपर्ने बाध्यता थियो ।

विद्यालयले दलित विद्यार्थीलाई ५० प्रतिशत छुट दिने र प्रथम भएमा पूरै निःशुल्क पढाउने शर्त राखेको थियो । कक्षा ११ मा दोस्रो भए पनि कक्षा १२ मा प्रथम नै बने रामजी । तर यो सफलताको बाटो सजिलो थिएन ।

घरबेटीको दुर्व्यवहार, जातीय विभेद, बारम्बार डेरा सर्नुपर्ने बाध्यता । यी सबै चुनौतीसँग जुध्दै रामजीले आफ्नो शैक्षिक यात्रा जारी राखे । कहिलेकाहीं त आफ्नो जात नै लुकाउनुपर्ने अवस्था आयो । उनी ती दिन सम्झिन्छन्— ‘यादव हुँ भन्दै हिंड्नुपर्ने दिन पनि आए !’

एसएलसी र आईएस्सी प्रथम श्रेणीमा पास गरेपछि के गर्ने भन्ने योजना थिएन । थप अध्ययन गर्नका लागि परिवारसँग आर्थिक क्षमता थिएन ।

गाउँघरका साथीभाइ पञ्जाबमा गएर खेतीपाती गरेर परिवारको गुजारा गर्थे । उनले पनि पञ्जाबमा गएर काम गर्ने योजना बुने । त्यसका लागि गाउँघरमा केही समय खेतीपातीको काम सिक्न थाले ।

एकदिन भिनाजुले काठमाडौं गएर काम गर्दा पैसा कमाइने योजना सुनाए । घरपरिवारमा बुबा–आमाले उठाएको कष्ट कम गर्न उनी भिनाजुसँग पहिलो पटक काठमाडौंमा पाइला टेके ।

प्रेसर कुकर बनाउँदै काठमाडौंका गल्ली चहारे

काठमाडौंमा चिनेजानेका कोही थिएनन् । उनी बागमती किनारको सुकुम्बासी बस्तीमा आश्रय खोज्दै भौंतारिए । भिक्षा मागेर गुजारा चलाउने गाउँका एक जोगीसँग भेट भयो । ‘भिनाजुको बस्ने ठाउँ थिएन । त्यही भएर गाउँका चिनजान भएका एक जोगीसँग बस्न थालें’ रामले ती दिन सम्झिए ।

त्यसपछि उनी ग्याँस चुलो, प्रेसरकुकर मर्मत गर्ने भिनाजुसँग बबरमहल, कोटेश्वर हुँदै भक्तपुरका गल्ली–गल्ली हिंड्न थाले । कोटेश्वरको एक गल्लीमा ग्याँसचुलोको काम गरिरहँदा रामजीलाई कलेज पढाउने शिक्षक प्रकाशचन्द्र झाको फोन आयो ।

‘उहाँहरूले मागेर ल्याएको दाल, चामल केलाएर खाना पकाउँथे’ जोगीहरूसँगको बसाइ सम्झिंदै उनी सुनाउँछन्, ‘एउटा मात्र खाट अट्ने कोठामा खाटमुनि खाना पकाउने र माथि सुत्थ्यौं ।’

‘तिमीले पढ्नुपर्छ । एक जना मानिसलाई भन्दिन्छु अब इन्जिनियरको तयारी गर’ त्यसदिनको घटनालाई सम्झिंदै रामजीले भने, ‘उहाँले गर्दा नै मेरो जीवनको बाटो मोडियो ।’

जोगीहरूसँग बसाइ । एउटा साँघुरो कोठामा खाना पकाउने र सुत्ने ठाउँ एउटै । यो जीवनले उनलाई थप संघर्षको पाठ सिकायो । प्रेसरकुकर मर्मत गरेर जम्मा गरेको ४ हजार बोकेर उनी इन्जिनियरिङ पढ्ने सोच सहित पुतलीसडकको एक इन्स्टिच्युटमा प्रवेश परीक्षाको तयारी गर्न थाले ।

इन्जिनियर पढ्न दलितका लागि छात्रवृत्ति कोटा छुट्याइएको सुने । छात्रवृत्ति कोटामा पढ्न हौसिए पनि । तर भाग्यले उनलाई अर्कै बाटो देखायो । इन्जिनियरिङ पढ्न भनेर गएका उनलाई इन्स्टिच्युटले पनि दलित कोटामा एमबीबीएस पढ्ने सल्लाह दियो ।

प्रवेश परीक्षाको लागि केही समय बस्नुपर्ने भयो । पुनः त्यही जोगीलाई उनले गुहारे, ‘मलाई केही समय बस्न दिनुहोस्, म तपाईंलाई खाना बनाउदिने काम गर्छु ।’

तर सानो कोठा थियो, खान र सुत्न मुस्किल हुने । ‘उहाँहरूले मागेर ल्याएको दाल, चामल केलाएर खाना पकाउँथे’ जोगीहरूसँगको बसाइ सम्झिंदै उनी सुनाउँछन्, ‘एउटा मात्र खाट अट्ने कोठामा खाटमुनि खाना पकाउने र माथि सुत्थ्यौं ।’

एमबीबीएस पढ्न उनलाई प्रेरित गर्ने अर्को एक घटना थियो– घरपरिवारमा उपचारका लागि खेप्नु परेको दुःख । ‘आमालाई उपचार गर्ने पैसा नभएर घरमा बस्नुहुन्थ्यो । छरछिमेकका मानिस पनि उपचारबाट वञ्चित भएको घटनाले डाक्टर बनेर उपचार गर्छु भन्ने भावना जाग्यो’, रामजी स्मृतिको पोयो फुकाउँछन् ।

असफलताले दिलाएको त्यो अवसर

रौतहटको चमार बस्तीमा जन्मेको एक सपना, चिकित्सा शिक्षाको आकाशमा उड्न चाहन्थ्यो । तर यो उडानको बाटो कठिन र काँडैकाँडाले भरिएको थियो ।

२०७० मा उनले एमबीबीएस प्रवेश परीक्षा दिए तर नाम निस्किएन । संघर्षको बावजुद लक्ष्य चुम्न अगाडि लम्के । १८ घण्टासम्मको अध्ययन । दिउँसो कहिले टुँडिखेलको चौर त कहिले भद्रकाली मन्दिरलाई आफ्नो घर बनाउँथे ।

‘बिहान घरबाट रोटी बनाएर लैजान्थे । होटलमा अचार मागेर खान्थें । बेलुका मात्रै सुकुम्बासी बस्ती फर्किन्थें’, रामजी भन्छन् ।

२०७१ सालमा पनि एमबीबीएसको प्रवेश परीक्षा दिए । तर वैकल्पिकमा नाम निस्कियो । वैकल्पिकको हिसाबले बीडीएस अर्थात् ब्याचलर्स इन डेन्टल साइन्समा पढ्न पाउने भए । बीडीएस पढ्ने अवसर थियो, तर अर्को वर्ष पनि एमबीबीएसमा नाम निकाल्न चुनौती थियो ।

तर उनले चुनौतीको सामना गर्ने विकल्प रोजे । ‘अवसरलाई मात्रै हेर्दा बन्न खोजेको मान्छे बनिंदैन भन्ने लाग्यो । अनि चुनौतीलाई रोजेर अर्को वर्षका लागि एमबीबीएसको तयारीमा जुटें’, ती दिन सम्झिंदै उनी भन्छन् ।

२०७२ सालमा पनि वैकल्पिकमा नै नाम निस्कियो । त्यसबेला डोम, वादी, चमार र मुसहर समुदायका विद्यार्थीलाई सरकारले विशेष छात्रवृत्तिको व्यवस्था गरेको थियो । दुई पटकको असफलता पछि तेस्रो प्रयासमा उनले छात्रवृत्तिमा एमबीबीएस पढ्ने मौका पाए ।

किष्ट मेडिकल कलेजमा नाम पर्‍यो । तर जब उनी भर्नाका लागि त्यहाँ पुगे, उनको हुलियाका कारण उनलाई छिर्नै दिइएन । सरकारी पत्र देखाएर भित्र पसेपछि कलेजले अतिरिक्त १५ लाख रुपैयाँ माग्यो ।

रामजी सम्झन्छन्, ‘मसँग त त्यहाँबाट फर्कनका लागि गाडीभाडा समेत थिएन, कसरी ल्याउने त्यतिका रकम ?’

यहाँबाट रामजीको नियमित दुःखमा अतिरिक्त संघर्ष थपियो । शिक्षा मन्त्रालय, त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान, विश्वविद्यालय अनुदान आयोग, नेपाल मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालय लगायत सबै ठाउँमा उनी गुहार माग्न पुगे । तर कतैबाट समस्याको हल भएन ।

अन्त्यमा रामजी राष्ट्रिय दलित आयोगमा पुगे । त्यहाँका सदस्यसचिव सीताराम घले परियारले उनको पक्षमा सर्वोच्चमा रिट दायर गरे । सर्वोच्चले किष्ट मेडिकल कलेजलाई रामजीको भर्ना लिन आदेश दियो । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालयले उनलाई नेशनल मेडिकल कलेज, वीरगञ्जमा पठाइदियो ।

लामो समयदेखि मेडिकल कलेजहरूले विद्यार्थीबाट मनपरी शुल्क असुल्ने धन्दालाई डा. गोविन्द केसीको आन्दोलनले बार लगाइदिएको थियो । सरकारले २०७२ बाट एमबीबीएस पढ्नका लागि काठमाडौं उपत्यकाभित्र अधिकतम ३५ लाख र उपत्यका बाहिर ३८ लाख ५० हजार मात्र शुल्क लिने सीमा तोकेको थियो ।

तर नेशनल कलेजमा पनि समस्याको अन्त्य भएन । कलेजले होस्टल र मेस शुल्क, लाइब्रेरी, रजिस्ट्रेशन चार्ज, ल्याब एक्जाम फी र अन्य गरी २ लाख ७२ हजार ५०० रुपैयाँ काट्यो । रामजीसँग यति रकम थिएन । उनले बाहिर बस्न पाऊँ भनेर निवेदन दिए, तर कलेजले वास्ता गरेन ।

दोस्रो वर्षदेखि फेरि रकमको माग सुरु भयो भने परीक्षा फारम भर्न नदिने धम्की पनि आइरह्यो । हारगुहार गरेर दुई वर्षको परीक्षा दिए रामजीले । होस्टल र मेस शुल्कबाहेक अन्य काटेको शुल्क वैधानिक थिएन । रामजीले आफूसँग रकम नभएकाले होस्टलभन्दा बाहिर कम शुल्कमा बस्ने पटक–पटक निवेदन नगरेका होइनन् । सरकारले होस्टल बस्नका लागि प्रति महिना पाँच हजार दिने गरेको थियो । तर कलेजले २२ हजार लिन्थ्यो ।

आर्थिक अभावकै कारण रामजी तेस्रो वर्षको परीक्षामा सहभागी हुन पाएनन् । लामो समयसम्म विभिन्न निकायलाई हारगुहार गरे । तर कुनै प्रतिक्रिया नआएपछि ऋण खोज्नका लागि बैंकमा जाने निर्णयमा पुगे रामजी । किनकि, सरकारले राष्ट्रिय वाणिज्य बैंकबाट शिक्षा लोन दिने प्रावधान सार्वजनिक गरेको थियो ।

पैसा पाउने आशमा उनले धेरै बैंक चहारे । तर बैंकले जमिन छैन, तिर्ने कुनै आधार नभएकाले ऋण पाउनुहुन्न भन्ने जवाफ दिन्थ्यो ।

तैपनि रामजीले हार खाएनन् । चौथो वर्षको अन्तिम परीक्षा आइसक्यो । तर, रामजी जस्तै अरू पनि विद्यार्थीहरूले तेस्रो वर्षको परीक्षा दिन पाएका थिएनन् । परीक्षा रोकिएको थाहा पाएपछि शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगका कर्मचारी स्थलगत अध्ययन भ्रमणका लागि नेशनल मेडिकल कलेजमा पुगे । त्यसपछि मात्रै उनीहरूले तेस्रो वर्षको परीक्षा दिन पाए ।

परीक्षाको पीडाः पैसा तिर्दा पनि प्रवेश निषेध

रामजीले कलेज प्रशासनसँग लड्न सकेनन् । जीवनको यत्रो संघर्ष खेर जाने भएपछि अन्ततः उनले एक उपाय लगाए– चिनजानका सबैसँग ५ वर्षका लागि पैसा सापटी लिन्छु ।

कलेजले होस्टल र मेस शुल्क, लाइब्रेरी शुल्क तिर्नका लागि उनले फोन लिस्ट भएका सय भन्दा बढी मानिससँग ५ हजारको दरले सापटी मागे ।

१ लाख भन्दा बढी रकम जम्मा भयो । तर अरू पैसा पुगेन । अन्ततः ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक पेजमा सबै समस्या उल्लेख गर्दै रामजीले सार्वजनिक रूपमै सहयोग मागे । दुई दिनमा २० लाखभन्दा बढी पैसा संकलन भयो । त्यस रकमबाट उनी जस्तै आर्थिक अभावमा भएका केही साथीको शुल्क तिरिदिए ।

पैसा नतिरेको कारणले चौथो वर्षको परीक्षा फारम भर्नबाट भने रामजी वञ्चित भइसकेका थिए । उनीहरू परीक्षाका लागि वातावरण बनाइदिन आग्रह गर्दै काठमाडौंस्थित डीन अफिसमा पुगे । डीन कार्यालयले यो विषय आफूसँग सम्बन्धित नरहेको भन्दै चिकित्सा शिक्षा आयोगको बाटो देखाइदियो ।

आयोगले भने समस्या समाधान गर्ने आश्वासन दियो । त्यसपछि उनीहरू नेपाल मेडिकल काउन्सिल पनि पुगे । परीक्षाको अघिल्लो दिन चिकित्सा शिक्षा आयोगले डीन कार्यालयलाई सम्बोधन गरेर परीक्षाको व्यवस्था गरिएको व्यहोराको पत्र रामजीले हात पारे ।

रामजी रामको यात्रा सहज थिएन । चमार समुदायबाट आएका उनी रौतहट जिल्लाको पहिलो डाक्टर बने । परीक्षा उत्तीर्ण गरेको दुई दिनपछि रामजी घर फर्किए । घर पुग्दा, उनका बुवा गाउँका केटाकेटीहरूलाई पढाइरहेका थिए, आमा बाख्रा चराउन गएकी थिइन् । साँझमा मात्र परिवारका सबै सदस्यहरू जम्मा भए ।

चौथो वर्षको अन्तिम परीक्षा दिन रामजी आशा र चिन्ताको मिश्रित भावनासँग परीक्षा हलतर्फ लागे । उनको हातमा थियो एउटा पत्र (परीक्षामा सहभागी हुन पाउने अनुमति) तर, यो पत्रले काम गरेन ।

परीक्षा हलको ढोकामा पुग्दा, डीन कार्यालयका प्रतिनिधिले उनीलाई रोके । ती प्रतिनिधिको आवाजमा कठोरता थियो, ‘विधि प्रक्रिया नपुगेकाले तपाईंले परीक्षा दिन पाउनुहुन्न ।’

उक्त शब्दले रामजीको सपना एकैछिनमा चकनाचूर भयो । वर्षाैंको तयारी, अनगिन्ती रातहरूको जागरण र आर्थिक संघर्षहरू सबै व्यर्थ गएको अनुभूति रामजी र उनका साथीहरूलाई भयो ।

रामजीको आँखामा निराशा झल्कियो । ‘हामीले त पैसा तिरिसकेका छौं, फारम भर्न नपाएको कारणले मात्र किन हामीलाई यो अवसरबाट वञ्चित गरिंदैछ ?’ उनले प्रश्न गरे । तर प्रवेश गर्न नदिएको खबर चिकित्सा शिक्षा आयोगमा पुगेपछि मात्रै उनले बाँकी परीक्षा दिन पाए ।

बुवाले भने ‘डाक्टरसा’ब बधाई हो’

२०७९ जेठको टन्टलापुर घाममा रामजीका बुबा (भोलाराम) आफ्नो दैनिक खेतीपाती सकेर घर फर्किंदै थिए । त्यस दिन, थकानले चूर भएका उनी बाटोमा कसैसँग नअल्मलिई सोझै घरतिर लागे ।

घरको आँगनमा पाइला टेक्दा नटेक्दै, एक युवकले उत्साहित आवाजमा भने, ‘अंकल, तपाईंको छोरा डाक्टर पास भयो रे है !’

यो आवाज उनका छोरा रामजी रामका साथीको थियो । क्षणभरमै भोलारामको थकान हरायो । उनले हतार–हतार आफ्नो मोबाइल निकाले र छोरालाई फोन गरे ।

फोनमा रामजीको आवाज गुञ्जियो, ‘बुवा, म एमबीबीएस पास भएँ ।’

भोलारामको मुखबाट निस्कियो, ‘डाक्टरसा’ब, बधाई हो ।’

यो शब्द सुन्दा रामजी अवाक् भए । उनका बुवाले पहिलो पटक उनलाई ‘डाक्टर साब’ भनेर सम्बोधन गरेका थिए । भावुक भएर उनले फोन राखे ।

रामजी रामको यात्रा सहज थिएन । चमार समुदायबाट आएका उनी रौतहट जिल्लाको पहिलो डाक्टर बने । परीक्षा उत्तीर्ण गरेको दुई दिनपछि रामजी घर फर्किए । घर पुग्दा, उनका बुवा गाउँका केटाकेटीहरूलाई पढाइरहेका थिए, आमा बाख्रा चराउन गएकी थिइन् । साँझमा मात्र परिवारका सबै सदस्यहरू जम्मा भए ।

‘सबै जना एकअर्कालाई हेरेर मुस्कुराइरहेका थिए रामजीले त्यो क्षणलाई सम्झँदै भन्छन्, ‘त्यो खुशी र आनन्दको अनुभूतिले भरिपूर्ण समय थियो । घरमा छरछिमेकमा खुशीको माहोल बन्यो ।’

रौतहटको चन्द्रनिगाहपुर अस्पतालमा सेवारत डा. रामजी राम आफ्नो समुदायका पहिलो चिकित्सक मात्र होइनन्; उनी एक समाज परिवर्तक पनि हुन् । आफ्नो शैक्षिक यात्रामा भोगेका कष्टहरूलाई सम्झँदै, उनले अरू बालबालिकालाई त्यस्तो पीडा भोग्नु नपरोस् भन्ने उद्देश्यले एक महत्वाकांक्षी अभियान सुरु गरेका छन् ।

‘समय शिक्षा अभियान’ नाम दिइएको यो कार्यक्रम अन्तर्गत डा. रामले रौतहटका विभिन्न गाउँहरूमा सात वटा ट्युसन सेन्टरहरू स्थापना गरेका छन् । यी केन्द्रहरूमा बिहान र बेलुका गरी पाँच सयभन्दा बढी बालबालिकाले निःशुल्क शिक्षा प्राप्त गरिरहेका छन् ।

मैले जुन कठिनाइहरू भोगें, त्यो अरू कसैले भोग्नु नपरोस्’, उनी भावुक हुँदै भन्छन् । आफ्नो जागिरबाट आउने आम्दानीको केही हिस्सा यस अभियानमा लगानी गर्छन् । उनको यस प्रयासमा केही सहयोगी हातहरू पनि जुटेका छन् । तर चुनौतीहरू कम छैनन् ।

‘हाम्रो समुदायमा शिक्षाप्रति चेतना जगाउनु ठूलो चुनौती हो’ उनी भन्छन्, ‘धेरै अभिभावकहरू अझै पनि आफ्ना बालबालिकाहरूलाई उच्च शिक्षा दिलाउने कुरामा हिम्मत गर्न सकेका छैनन् ।’

उनी चाहन्छन् कि चमार समुदायका हरेक अभिभावकले आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर वा अन्य पेशा व्यवसायी बनाउने सपना देख्न सकुन् ।

‘समुदायका मानिसहरूले आफ्नै समुदायको व्यक्तिलाई डाक्टर बनेको देख्छन्, उनीहरूमा आत्मविश्वास जाग्छ । आफ्नै समुदायको डाक्टरबाट उपचार पाएपछि स्वास्थ्य सेवाप्रति विश्वास बढ्ने रहेछ’, रामजी आफ्नो अनुभव सुनाउँछन् ।

पुष्पराज चौलागाईं