+

मधेशमा निर्धाकी न्याय मुकाम

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
मधेशमा असहाय महिला तथा पहुँचहीन पीडितले सम्झने अधिवक्ता हुन्– रिंकुकुमारी यादव । उनको सामाजिक छवि कस्तो छ भने पैसा नहुने कसैलाई कानुनी सहयोग चाहियो भने उसलाई जो–कोहीले रिंकुको ‘आयांश ल चेम्बर’ पठाइदिन्छ ।
रिंकुकुमारी यादव

महोत्तरीकी कुमारी आमा निहारिका सिंह राजपूत हुन् कि एसिड पीडित जनकपुरकी आरती साह । दाइजोको कारण परिवारबाट प्रताडित महोत्तरीकी नेहा चौधरी हुन् वा दाइजोकै कारण मारिएको दाबी गरिएकी आरती साह मृत्यु प्रकरण ।

२०७६ देखि २०८० साल बीचका ४ वर्षमा मधेशमा भएका यी चारै महिला हिंसा तथा अपराधजन्य घटना थाहा नपाउने कमै होलान् । यी चारै आपराधिक मामिलामा पीडितको न्यायको लागि निःशुल्क बहस पैरवी गरेर घटनालाई चर्चामा ल्याउने पात्र हुन्, अधिवक्ता रिंकुकुमारी यादव (३४) ।

एसिड पीडित आरती साह, कुमारी आमा निहारिका र नेहा चौधरीको मुद्दा अदालतबाट टुंगिएको छ । उनीहरूले न्याय पनि पाएका छन् । आफूले सहयोग गरेका पीडितहरूले न्याय पाउँदा रिंकुलाई औधी खुसी लाग्छ ।

‘आरती, निहारिका, नेहा र मृतक आरती साहको न्यायको लागि आफ्नो क्षमताले भ्याएसम्म निःशुल्क पैरवी गरेकी छु । एसिड पीडित आरती, नेहारिका र नेहाले न्याय पाउनुभयो । मृतक आरती साहको मुद्दा चलिनै रहेको छ । न्याय दिलाउन सकेसम्म सहयोग गर्छु’, रिंकु भन्छिन् ।

हिजो गर्भमा बच्चा बोकेर न्यायका लागि भौंतारिएकी निहारिका अधिवक्ता रिंकुको सहयोगले न्याय पाउन मद्दत पुगेको बताउँछिन् । उनी भन्छिन्, ‘मेरो मुद्दाको जाहेरी लेख्नेदेखि न्यायका लागि जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरमा अन्तिमसम्म बहस पैरवी रिंकु दिदीले गर्नुभो ।’

हुन पनि जिल्ला अदालतमा सरकारी वकिल बाहेक निहारिकाको पक्षमा वकालत गरिदिने रिंकु मात्रै थिइन् । निहारिका भन्छिन्, ‘सहयोग गरे बापत उहाँले आजसम्म मेरो एक कप चिया पनि खानुभएको छैन । बरु रिक्सा वा बसभाडा नहुँदा अनि मेरो बच्चा रुँदा खानेकुरा दिएर उहाँले उल्टो मलाई सहयोग गर्नुभएको छ ।’

वीरगञ्ज महानगरपालिका २८ की रिंकु यादव ८ वर्षदेखि जनकपुरमा वकालत गर्दै आएकी छन् । २०७३ सालदेखि उनले आफ्नो पेशागत जीवनमा जनकपुर क्षेत्रका असहाय पीडित महिलाहरूका लागि सहयोग गरिरहेकी छिन् । उनको ल फर्ममा पुगेका वा उनको दृष्टिमा परेको असहाय महिलाले निःशुल्क कानुनी सहायता पाउँछन् ।

रिंकले दिने कानुनी सहायतामा कानुनी परामर्श, जाहेरी तथा उजुरी लेखन र बहस पैरवी पर्छन् । यसको ठूलो सामाजिक सन्देश भनेको हिंसामा परेर प्रताडित असहाय महिलालाई हाम्रो पक्षबाट बोल्ने मान्छे पनि छ मधेशमा भन्ने परेको छ ।

रिंकुका श्रीमान् अरुण यादव पेशाले इन्जिनियर हुन् । उनी वीरगञ्जको क्विस्ट फर्मा औषधि कम्पनीमा काम गर्छन् । ९ फागुन २०७५ मा वैवाहिक बन्धनमा बाँधिएकी रिंकुको साढे ४ वर्षका छोरा छन् । छोरा सहित जनकपुरमा बसेर उनी आफ्नो पेशासँगै सामाजिक न्यायको ठूलो अभिभारा पनि पूरा गरिरहेकी छिन् ।

मधेशका पीडितहरू त्यसमा पनि महिला विभिन्न माध्यमले रिंकु समक्ष पुग्छन् । उनको विषयमा थाहा पाउनेहरूले असहाय पीडितलाई आफूकहाँ पठाइदिने गरेको रिंकु बताउँछिन् । अझ कतिपय वकिलले समेत पैसा तिर्न नसक्ने व्यक्तिको मुद्दा रिंकुकोमा पठाउने गरेको उनले बुझेकी छिन् ।

प्रत्येक बिहान छोरालाई स्कुल पठाएपछि रिंकुको दिनचर्या सुरु हुन्छ । जनकपुरको हुलाक कार्यालय छेवैमा एक वर्ष अघि छोराको नाम राखेर खोलेको ‘आयांश ल चेम्बर’ बाट उनको पेशागत कर्म सुरु हुन्छ । मुद्दाहरूको सूची केलाएपछि दिउँसो पेशी परेका मुद्दामा वकालत गर्न उनी जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुर जान्छिन् ।

यसरी वकालत गरेर घरपरिवार चलाइरहेकी रिंकुको जिम्मामा धेरै पैसा नआउने मुद्दाहरू पनि हुन्छन् । यसलाई उनले आफ्नो पेशागत कामकै अंग ठानेकी छन् । आफ्नो कर्मले पीडितहरूको घाउमा मल्हमपट्टी लागेको थाहा पाउँदा उनलाई औधी खुसी पनि लाग्छ ।

महोत्तरीको एकडारा गाउँपालिका–२ का बुबा रामविलास यादव र आमा शान्ति देवीका तीन सन्तानमध्ये कान्छी छोरी हुन् रिंकु । बुबा रामविलास राप्रपाबाट निर्वाचित भएर २०५१ सालमा उपसभामुख र २०५३ सालमा वाणिज्य मन्त्री भएका थिए ।

बुबा चाहन्थे बैंक म्यानेजर, छोरी बनिन् वकिल

बुबा रामविलासको इच्छा थियो रिंकु पढे–लेखेर बैंकमा जागिर खाउन्, सके म्यानेजर बनुन् । त्यही सोचाइ अनुसार उनी म्यानेजमेन्ट (एमबीएस) मा मास्टर डिग्री गर्न काठमाडौंको नेपाल कमर्स क्याम्पस भर्ना भइन् । २०७२ सालमा मास्टर उत्तीर्ण पनि गरिन् । तर, सामाजिक परिवेश बुझेकी रिंकुको मनमा वकिल बन्ने इच्छा थियो ।

‘बुबा छलफलमा बस्नुहुन्थ्यो । पीडितहरू घरसम्म आउँथे । उनीहरूको अवस्था देखेर दया जाग्थ्यो’ त्यो समय स्मरण गर्दै उनी भन्छिन्, ‘वकिल बनेर यस्ता पीडितहरूको न्यायको लागि लड्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । यसरी मेरो मनभित्रैबाट वकिल बन्ने इच्छा पलाएको थियो ।’

तर, रिंकुका बुबा वकिल पेशालाई जोखिम र असुरक्षित ठान्थे । २०६५ सालमा बुबा रामविलासको हृदयघातबाट ५४ वर्षको उमेरमा निधन भयो । त्यतिबेला रिंकु प्लस टु पढ्दै थिइन् । बुबाको निधनपछि घरपरिवार प्रभावित भयो ।

अब उनले बुबाको सपना अनुसारको म्यानेजमेन्टको पढाइ अघि बढाउँदै आफ्नो सपना अनुसारको वकिल बन्न एलएलबी पनि पढ्न थालिन् । पारिवारिक अनिच्छाले एएलबी पढाइमा समस्या हुन्थ्यो । एक पटक दाइले उनलाई एलएलबीको परीक्षा दिनबाट रोक्न पनि खोजेका थिए ।

उनी भन्छिन्, ‘दाइले वकिल जोखिम पेशा हो । म्यानेजमेन्ट पढेर बैंकतिर नै काम गर्नू भन्नुहुन्थ्यो । म झगडा गरेर पनि परीक्षा दिन जान्थें ।’ उनले एलएलबी पास गरिन् । अहिले एलएलएम अध्ययनरत छिन् । बुबाले भनेभन्दा फरक विषय पढेर पनि बुबाको मार्गदर्शनका धेरै कुरा व्यवहारमा लागू गरेको बताउँछिन रिंकु ।

जनकपुरकी महिलावादी वकिल

नेपाल ल क्याम्पसबाट एलएलबी गरेपछि रिंकु २०७३ सालपछि अभ्यासका लागि जनकपुर आइन् । वकालत पेशाको अनुभव बटुल्न उनी अधिवक्ता अच्युत आचार्यको ल फर्ममा काम गर्न थालिन् । यसै क्रममा १५ असोज २०७५ मा मधेश सरकारको मुख्य न्यायाधिवक्ता कार्यालयमा कानुन अधिकृतको रूपमा करारमा काम गर्ने अवसर पाइन् ।

एकैपटक दुईतिरको कामले उनलाई असजिलो भयो । मुख्यन्यायाधिवक्ता कार्यालयमा हुँदा सरकारवादी मुद्दा मात्रै उनले हेर्न पाउँथिन् । अरू मुद्दामा हात हाल्न गाह्रो थियो । त्यसैले १५ असोज २०७८ मा उनले मुख्यन्यायाधिवक्ता कार्यालयको जागिरबाट राजीनामा गरिन् ।

‘दुवै ठाउँमा जिम्मेवारीमा थिएँ । मुख्यन्यायाधिवक्ता कार्यालयमा हुँदा आफ्ना अरू मुद्दामा बहस गर्न गाह्रो हुन्थ्यो । तीन वर्षजति काम गरेर राजीनामा दिएँ’ रिंकु भन्छिन्, ‘त्ययपछि अरू मुद्दामा वकालत गर्न र अन्य पीडितहरूलाई पनि सहयोग गर्न सहज भयो’

उच्च अदालत जनकपुरमा २०७८ सालमा एक वर्ष वैतनिक वकिल भएर काम गरेको अनुभव पनि रिंकुलाई छ । यस क्रममा पनि उनले थुप्रै असहायका मुद्दा हेरिन् । रिंकु नयाँ पुस्तामा प्रशंसनीय काम गरिरहेका वकिल मध्येमा पर्ने अधिवक्ता राजकुमार महासेठ बताउँछन् । उनी भन्छन्, ‘असहाय पीडितहरूका लागि रिंकुको सहयोग उदाहरणीय छ ।’

निहारिका सिंह राजपूत, नेहा चौधरी, एसिड पीडित आरती साह, मृतक आरती साह जस्ता चर्चित मुद्दामा मात्रै होइन महोत्तरी पिपराकी काजल दासको घटनाको मुद्दा पनि लडेकी छिन्, रिंकुले । महोत्तरीको पिपरा गाउँपालिका–५ की काजललाई पतिले झुक्याएर छोडपत्रको कागजात गराई घरबाट विस्थापित गरेका थिए । अहिले पनि उनको मुद्दा महोत्तरी जिल्ला अदालतमा चलिरहेको छ ।

‘रिंकुदिदीले मलाई विस्थापित भएकै बेलादेखि सहयोग गर्दै हुनुहुन्छ । म त विचल्लीमा थिएँ । पत्रकार र मानवअधिकारकर्मीको सहयोगमा उहाँसमक्ष पुगें । उहाँले जाहेरी लेखिदिनुभयो । अहिले बहस पनि गर्नुहुन्छ’, काजल भन्छिन् । रिंकुको निःशुल्क सहयोगले न्यायको लागि लड्न आफ्नो आत्मबल बढेको काजलको भनाइ छ ।

मधेशका पीडितहरू त्यसमा पनि महिला विभिन्न माध्यमले रिंकु समक्ष पुग्छन् । उनको विषयमा थाहा पाउनेहरूले असहाय पीडितलाई आफूकहाँ पठाइदिने गरेको रिंकु बताउँछिन् । अझ कतिपय वकिलले समेत पैसा तिर्न नसक्ने व्यक्तिको मुद्दा रिंकुकोमा पठाउने गरेको उनले बुझेकी छिन् ।

‘विशेष गरेर महिला हिंसाका पीडितहरू आइरहन्छन् । यस्ता असहायहरू अन्य वकिलकहाँ पुगे भने रिंकुकहाँ जाऊ उनले सहयोग गरिदिन्छिन् भनेर पठाइदिन्छन्’ उनी भन्छिन्, ‘मकहाँ आएका त्यस्ता पीडितहरूलाई निःशुल्क परामर्श, निवेदन, उजुरी, जाहेरी लेखिदिने गर्छु । अदालतमा बहस पनि निःशुल्क गरिदिन्छु ।’

असहाय महिलाको पक्षमा, उसको न्यायको लागि बहस पैरवी गर्दा–गर्दा उनको परिचय नै ‘महिलावादी वकिल’ बनेको छ । यसकारण पनि होला धेरै पुरुष पीडितहरू उनीकहाँ आउँदैनन् । ‘पुरुष पीडित वा जाहेर गर्ने पक्ष मकहाँ हत्तपत्त आउन हिचकिचाउँछन् । मेरो परिचय नै महिलावादी वकिलको रूपमा भएको छ ।’

महिला पीडितको मुद्दामा वकालत गर्दा रिंकुले थुप्रै चुनौतीको सामना गर्नुपरेको छ । पीडित महिलालाई सहयोग गर्दा आफूलाई बद्नाम गर्ने प्रयास पनि भएको उनको भनाइ छ ।

‘सुरुमा निहारिकाको जाहेरी जिल्ला प्रहरी कार्यालयले दर्ता गर्नै मानेको थिएन । धेरै जना यो मुद्दा मिलाउन चाहन्थे’ रिंकु सम्झिन्छिन्, ‘तीन महिनाकी गर्भवती भएको कारणले पनि होला निहारिकालाई सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्यो । त्यो मुद्दामा मलाई बद्नाम गर्ने प्रयास भयो । केहीदिन त तनावमा पनि परें । तर म पछाडि फर्किनँ ।’

नेहा चौधरीको पक्षबाट आन्दोलन हुँदा रिंकुले नै उचालेको हो भन्ने प्रहरी प्रशासनलाई पनि लागेको थियो । यसले पनि उनलाई केही असजिलो भयो । एसिड पीडित आरतीको विपक्षमा फैसला आएपछि प्रहरी कार्यालय र अदालतमा हंगामा भयो । यसमा रिंकुले नै उक्साएको भन्ने सन्देश न्यायाधीशसमक्ष जाँदा आफू तनावमा परेको उनी सुनाउँछिन् ।

यस्ता कैयौं बाधा–अवरोध आए पनि रिंकु पीडितको पक्षमा पैरवी गर्न रोकिइनन् । विस्तारै उनको सामाजिक छवि पनि बलियो बन्दै गएको छ । अहिले नेपाल बार एशोसिएसन जनकपुरको कोषाध्यक्ष पदमा छिन् उनी । भविष्यमा के गर्ने चाहना छ ? युवा अधिवक्ता रिंकुकुमारी यादव भन्छिन्, ‘बलियो पेशागत छवि बनाउने र असहाय पीडितहरूका लागि सहयोग गर्ने ।’

शैलेन्द्र महतो