+

हिउँचितुवाले दिलाएको दुर्लभ उचाइ

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
साढे ५ हजार मिटरको हिमाली क्षेत्रमा मृत्युसँग पौंठेजोरी खेल्दै विश्व दुर्लभ हिउँचितुवाको खोज, अनुसन्धान र संरक्षणमा गरेको मिहिनेतकै कारण रिन्जिन फुन्जोक लामाले विश्व प्रसिद्धि कमाए र अन्तर्राष्ट्रिय पुरस्कारहरू जिते ।
रिन्जिन फुन्जोक लामा

साढे ५ हजार मिटर उचाइको हिमालमा बस्ने हिउँचितुवाको खोजी गर्नु एकप्रकारले मृत्युसँग पौंठेजोरी खेल्नु नै हो । तर त्यही कठिन काममा एक दशकदेखि लागिरहँदा रिन्जिनले विश्व प्रसिद्धि कमाए । उनी ‘रोलेक्स अवार्ड’ विजेता र टाइम म्यागजिनको नेक्स्ट जेनेरेसन लिडर्स भनेर चिनिएका छन् । रिन्जिनका बारेमा टाइम म्यागाजिन, द वासिंगटन पोस्ट, नेशनल जियोग्राफिक, द ग्लोब एन्ड मेल लगायत विश्वप्रसिद्ध सञ्चारमाध्यमहरूले लेखेका छन् ।

यति ठूलो परिचय बनाउन उनको साधना र संघर्ष पनि चानचुने छैन । विश्वमै दुर्लभ हिउँचितुवा लगायत वन्यजन्तुको अनुसन्धान र संरक्षणमा उनी हुम्ला, बाजुरा, सगरमाथा, ताप्लेजुङ, दोलखा, लाङटाङ, मनाङ, मुस्ताङदेखि डोल्पासम्मका हिमाली पाटनहरू पुगेका छन् । कुनाकाप्चा पहिल्याएका छन् । अनपेक्षित मौसम परिवर्तन र चट्टाने बनोटलाई नजिकबाट अनुभव गरेका छन् ।

विशेषगरी कुन बाटोबाट, कसरी, कहाँ गए हिउँचितुवाको गणना गर्न सकिन्छ भन्ने खास अनुभव र ज्ञान उनले बटुलेका छन् । उनी भन्छन्, ‘सायद रोजेकै बाटो भएर होला, रमाइलो हुन्छ, एड्भेन्चर फिल गर्छु ।’

एउटा ‘सरप्राइज अवार्ड’

रिन्जिनलाई एउटा ‘सरप्राइज’ अवार्ड थियो, रोलेक्स । ‘मैले आफ्नो अनुभव र आइडिया बाँडौं भनेर प्रयास गरेको थिएँ, त्यही प्रयास सफल भयो’, उनी भन्छन् ।

कुरा २०७७ चैत पहिलो साताको हो । जतिबेला नेपालमा कोरोना महामारी सुरु भएको थिएन । तर, युरोपबाट फर्किएका रिन्जिन होम क्वारेन्टाइनमा थिए । एकदिन कोठामा बसेर सामाजिक सञ्जाल ‘स्क्रोल’ गरिरहेको बेला स्विट्जरल्याण्डको रोलेक्स अवार्डको आवेदन माग गरिएको सूचना फेला पारे ।

उनले त्यस अवार्डमा नोमिनेसन ‘कन्सेप्ट नोट’ लेखेर पठाए । एक महिनापछि ‘कन्सेप्ट नोट’ स्वीकार भएर प्रपोजल पठाउन अनुरोध आयो । सात वर्षदेखि संरक्षण क्षेत्रमा काम गरिरहेका उनीसँग योजना तयार थियो । संरक्षण क्षेत्र बाहिर समुदायमा आधारित संरक्षण कसरी गर्न सकिन्छ भन्ने प्रस्ताव तयार पारे ।

एक महिना लगाएर तयार प्रस्तावमा हुम्लाका स्थानीयको क्षमता वृद्धि, सहभागिता र स्वामित्व लिएर कुनै निश्चित प्रजातिमा मात्रै नभएर समग्र हिमाली जैविक विविधता तथा पर्यावरणमा कसरी काम गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रित गरिएको थियो ।

अवार्ड नोमिनेसन प्रस्ताव पठाएको एक वर्षमा तीन पटक भर्चुअल अन्तर्वार्ता दिए । पछिल्लो अन्तर्वार्तामा २५ जना संरक्षणकर्मीलाई छानिएको जानकारी दिंदै त्यसमध्ये पाँच जनालाई अवार्ड दिने भनिएको थियो ।

सोही वर्ष असारमा माथिल्लो मुस्ताङको उच्च हिमाली क्षेत्रमा उनी फिल्ड वर्कमा हिउँचितुवाको अध्ययनमै थिए । अवार्ड घोषणा हुनु एकदिन अघि उनलाई अवार्डको ‘भर्चुअल एनाउन्समेन्ट’ हुन्छ भन्ने जानकारी सहितको इमेल प्राप्त भयो । तर त्यसको यकिन समय जानकारी दिइएको थिएन ।

मनाङमा काम सुरु गरेपछि उनले हिउँचितुवाको संख्या, आहार, मानव र वन्यजन्तु द्वन्द्वको विषयमा धेरै अनुसन्धान गरे । उनको मास्टर्सको शोधपत्र नै वन्यजन्तु र मानव बीचको द्वन्द्व हो ।

त्यसको भोलिपल्ट केही साथीहरूले अवार्ड जितेको समाचार पठाए । ‘सुरुमा त विश्वास लागेको थिएन, किनकि विश्वभरका संरक्षणकर्मीबाट पाँच जनामा छानिनु वास्तवमै सजिलो थिएन, तर यो यथार्थ थियो’, अवार्ड पाउँदाको क्षण उनी सम्झन्छन् ।

रोलेक्स पुरस्कार रोलेक्स कम्पनीले सन् १९७६ बाट दिन थालेको थियो । वातावरण, विज्ञान, स्वास्थ्य प्रविधि, सांस्कृतिक सम्पदा, अन्वेषण, रचनात्मक र सामाजिक महत्वका परियोजना अगाडि बढाउन चाहने वैज्ञानिकलाई यो पुरस्कार दिइन्छ ।

द्वन्द्वले गाउँ छोडे, घुमफिरले दियो अवसर

सिमकोट गाउँपालिका–३, बरगाउँ हुम्लामा जन्मिएका रिन्जिन शिक्षित परिवारमा हुर्किए । १२ साउन २०४८ मा जन्मिएका उनले कक्षा ६ सम्म गाउँकै श्री रलिङ्ग विद्यालयमा पढे । ‘पछि गाउँमा माओवादी द्वन्द्व चर्किंदै गयो । यो २०५८ सालतिरको कुरा हो’ रिन्जिनले भने, ‘पछि गाउँमा पढ्ने वातावरण नभएपछि काठमाडौं गएँ ।’

एक कक्षा घटेर काठमाडौंको माउन्ट समिट स्कुल भर्ना भए । कक्षा–९ पुगेपछि भने लाजिम्पाटस्थित ग्लेन बुुड्स सेकेन्डरी स्कुुलमा भर्ना भए । त्यहींबाट एसएलसी गरे । यो बीचमा उनी तीन˗चार पटक मात्रै हुम्ला पुगे । ‘हुम्लामा अझै सडक पुगेको छैन । त्यतिबेला गाडी पुग्ने कुरै भएन । ‘प्लेनमा टिकट नै पाउँथेन । खासै घर गइएन’, उनी भन्छन् ।

२०६४ भदौतिर त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वन विज्ञान अध्ययन संस्थान पोखरामा आईएस्सी फरेष्ट्रीमा भर्ना भए । ब्याच टपर उनले २०६६ मा आईएस्सी फरेष्ट्री सके । ‘७८ प्रतिशत नम्बर ल्याएर ब्याच टपर भएको थिएँ’, उनले भने । वन विज्ञान अध्ययन संस्थान पोखरामै २०६६ मा बीएस्सी फरेष्ट्रीमा नाम निकालेका उनले २०७९ मा उत्तीर्ण गरे । यसका लागि उनले विश्व वन्यजन्तु कोष नेपालबाट छात्रवृत्ति पाएका थिए ।

उच्च हिमाली भेगको पर्यावरण (ट्रान्स हिमालयन) मा काम गर्ने उनी आफूलाई हिउँचितुवा बायोलोजिस्ट भनेर चिनाउँछन् । वातावरण विज्ञानमा स्नातक गर्ने हुम्लाकै पहिलो रिन्जिनले जर्मनी र न्युजिल्यान्डबाट अन्तर्राष्ट्रिय प्रकृति संरक्षणमा स्नातकोत्तर गरे । थर्ड पोल कन्जर्भेन्सी नामक संस्थामा संरक्षण कार्यक्रम प्रमुख रहेका उनी हाल हुम्लामा सञ्चालित उकाली नामक कार्यक्रममा सक्रिय छन् ।

हिमाली क्षेत्रका वन्यजन्तु र जैविक विविधताको अनुसन्धानमा १० वर्षदेखि सक्रिय लामाले सन् २०१५ मा ‘वाइल्ड लाइफ कन्जर्भेसन नेटवर्क स्कलरसिप’ र सन् २०२० मा डब्लूडब्लूएफ नेपालबाट संरक्षण पुरस्कार पनि पाएका थिए ।

२०६४ सालमा एसएलसी दिएर हुम्ला फर्किएका रिन्जिन पहिलो पटक जिल्लाको उपल्लो भेग घुम्न निक्लिए । झण्डै २१ दिने त्यो यात्रामा उनले हिउँचितुवा, नाउर, जङ्गली गधा लगायत जनावर पहिलो पटक देखे । त्यो घुमफिरले रिन्जिनलाई धेरै कुरा सिकायो । भूमिको विशेषता थाहा पाए, थरीथरीका वन्यजन्तु चिने र हिमाली जनजीवनलाई नजिकबाट बुझे ।

सुन्दर पाटन, लिमी उपत्यका र हिमालको दृश्यले मोहित भए । ‘बाल्यकाल गाउँमै बित्यो । तर त्यो भ्रमण भन्दा पहिला कहिल्यै यस्ता खालका वन्यजन्तु र मनमोहक दृश्य देख्न पाएको थिएन’ उनले भने । रेन्जरहरू गाउँ आउँदा उनकै घरमा बस्थे । रेन्जरको खुब सम्मान हुन्थ्यो । बाल्यकालमा रेन्जरले पाएको सम्मानले उनी प्रभावित बने ।

यसले पनि उनलाई पोखरामा आईएस्सी फरेष्ट्री अध्ययन गर्न प्रेरित गरेको थियो । बीएस्सी तेस्रो वर्ष पढ्दै गर्दा रिन्जिनलाई वन भन्दा वन्यजन्तुप्रति चासो बढ्न थाल्यो । हुम्लामा उत्पादनमूलक वन नभएकाले उच्च हिमाली क्षेत्रमा कुन विषय पढ्दा उपयुक्त हुन्छ भनेर उनले थप रिसर्च गरे र सम्भावना बुझे ।

‘त्यतिबेलासम्म हुम्लामा वन्यजन्तुबारे अध्ययन गरेका व्यक्ति थिएनन् । पछि हिउँचितुवाको क्षेत्रलाई नै आफ्नो विज्ञता हासिल गर्ने निधो गरें’ रिन्जिन भन्छन्, ‘खासमा म वनको बारेमा पढ्न गएको हुँ । तर वन्यजन्तुमा रुचि लाग्यो, अनि त्यतै लागें ।’

हिमाली र भोटका समथर पठार नै हिउँचितुवाको घर हो । विश्वका अति विकट भूमिमा विचरण गर्ने र मानिसले विरलै देख्ने हिउँचितुवा पछिल्लो समय संरक्षणमा चुनौती रहेको रिन्जिन बताउँछन् ।

यसरी उनले उच्च हिमाली क्षेत्रको पर्यावरणमा काम गर्न उपयुक्त ठाने । अनि वन छोडेर वन्यजन्तु रोजे । बीएस्सीको फाइनल प्रोजेक्टमा पनि लिरे मुसा (पुच्छर नभएको मुसा, जो उच्च हिमाली भेगमा पाइन्छ) बारे अध्ययन गरे । भौगोलिक, आर्थिक र स्रोत–साधनका कारण हिउँचितुवाको अनुसन्धान गाह्रो थियो । त्यसैले लिरे मुसाको अध्ययन गरेको उनी बताउँछन् ।

बीएस्सी सकेपछि उनले सन् २०१४ बाट ग्लोबल प्राइभेट नेटवर्क नेपाल नामक संस्थाबाट मनाङमा काम सुरु गरे । सन् २०१४ देखि उनी अन्नपूर्ण संरक्षण क्षेत्रभित्र हिउँचितुवाको अनुसन्धान र संरक्षणमा सक्रिय छन् ।

सन् २०१४ मै उनको समूहका साथी टासी आर घलेले ‘पालस क्याट’ भन्ने नयाँ प्रजातिको बिरालो पत्ता लगाए । त्यो बिरालोको पहिलो अध्ययन गरेका रिन्जिन त्यसैको माध्यमबाट हिउँचितुवाको काम सुरु गरेको बताउँछन् ।

मनाङमा काम सुरु गरेपछि उनले हिउँचितुवाको संख्या, आहार, मानव र वन्यजन्तु द्वन्द्वको विषयमा धेरै अनुसन्धान गरे । उनको मास्टर्सको शोधपत्र नै वन्यजन्तु र मानव बीचको द्वन्द्व हो । उनका अनुसार उच्च हिमाली क्षेत्रमा वन्यजन्तुको वासस्थान तथा आहारा कम हुँदा वन्यजन्तुहरू बस्ती छिर्न थालेका छन् ।

२०१४ मै उनको हिउँचितुवाको विषयमा विश्व विख्यात वैज्ञानिक रोड्नी ज्याक्सनसँग सम्पर्क भयो । उनको गाइडलाइन्समा रिन्जिनले धेरै काम गरे । ‘त्यसपछि नेपालमा वाइल्ड लाइफमा काम गर्ने राम्रो समूहसँग मेरो भेट भयो । त्यो समूहमा जोडिएपछि हामीले धेरै राम्रो कामहरू गर्‍यौं’ उनी भन्छन् ।

हुम्लामा हिउँचितुवा छ भनेर मानिसले भनेका थिए, तर वैज्ञानिक अध्ययन नगरी पुष्टि हुँदैनथ्यो । सन् २०१५ मा हुम्लामा हिउँचितुवाको वासस्थान, आहारा र पर्यावरण लगायत अन्य अवस्था कस्तो छ भनेर पहिलो पटक अध्ययन गरे । यस सम्बन्धी वैज्ञानिक तथ्य सहितको निष्कर्ष लामाले ‘जर्नल अफ थ्रेटन टेक्सा’ नामक जर्नलमा प्रकाशित गरेका थिए ।

पुरस्कारको पैसाले संरक्षण
४ अक्टोबर २०२२ को कुरा हो । रिन्जिन सहित ६ जनाको समूह हिउँचितुवा सर्भेका लागि उपल्लो हुम्ला जाँदै थिए । साथमा पाल, आवश्यक खाद्यान्न, न्यानो कपडा सहित घोडा, खच्चडमा सामान लिएर एक महिनाका लागि टिम हिंडेको थियो ।

यात्राको चौथो दिन, ४२ सय मिटर उचाइको छोङ्सा भन्ने ठाउँमा पाल हालेर बास बसे । उनीहरू जानुपर्ने छोङ्साबाट ५ हजार मिटरको लेक पार गरेर लिमी उपत्यका थियो । तर छोङ्सामा त्यो रातभर हिउँ पर्‍यो ।

‘रातभरि जाग्राम बसेर पालको हिउँ पन्छायौं । बिहान पनि हिउँ पर्ने क्रम रोकिएन । पाल पुरिन थाल्यो । घोडाहरू चिसोले कराउन थाले’ रिन्जिनले त्यो यात्रा सम्झिंदै भने, ‘पछि धौ–धौ त्यहाँबाट निकै कष्टपूर्ण तरिकाले सल्ली भन्ने ठाउँमा झर्‍यौं । त्यो धेरै विकट भूूभाग हो । बत्ती, फोन, इन्टरनेट त परको कुरा मानव बस्ती समेत थिएन । पानीकै कारण उनीहरू तीन रात सल्लीमै बसे । त्यहाँबाट सदरमुकाम सिमकोट जान दुई दिन लाग्थ्यो ।’

हिउँचितुवा र हिमाली पर्यावरणको संरक्षणमा जुट्न सजिलो नरहेको बुझाउने यो एउटा उदाहरण यात्रा थियो । यात्रामै खाना सकिएर भोकै सुत्नुपर्ने, पहिरोले बाटो बन्द हुने, हिउँ र पानीले गन्तव्यमा नपुग्दै फर्किनुपर्ने, आफ्नै टिम हराउँदा खोज्नुपर्ने सास्ती सामान्य भएको उनी बताउँछन् ।

हिमाली र भोटका समथर पठार नै हिउँचितुवाको घर हो । विश्वका अति विकट भूमिमा विचरण गर्ने र मानिसले विरलै देख्ने हिउँचितुवा पछिल्लो समय संरक्षणमा चुनौती रहेको रिन्जिन बताउँछन् । संरक्षण क्षेत्रमा सन् १९९० देखि नै काम भइरहेकाले संरक्षण क्षेत्र नभएको ठाउँमा काम गर्न आफू केन्द्रित रहेको उनी बताउँछन् । संरक्षण क्षेत्र बाहिर काम गर्न विकटता सबैभन्दा ठूलो चुनौती हो ।

तीन–चार महिना लामो समय ‘क्यामेरा ट्रयापिङ’ (क्यामेरा थापेर स्वचालित रूपमा वन्यजन्तुको तस्वीर खिच्ने विधि) विधि अपनाएर बस्दा एक पटक पनि हिउँचितुवा नभेटेको उदाहरण दर्जनौं छन् । ‘अग्लो ठाउँमा काम गर्दा दुःखको कल्पना गर्न पनि गाह्रो छ । त्यसैले धेरै मानिस यो क्षेत्रमा आकर्षित भएर आए पनि लामो यात्रा गर्न सक्दैनन्’, उनी भन्छन् ।

नेपालमा हिउँचितुवाको संख्या ३–४ सय हाराहारी भएको अनुमान गरिएको छ । ‘यसको यकिन तथ्याङ्क सरकारसँग पनि छैन’ उनले भने, ‘सरकारले अहिले बल्ल गणना गर्ने योजना ल्याएको छ ।’ हिउँचितुवालाई हिमाली क्षेत्रको राम्रो पर्यावरणको सूचक मानिन्छ, जसले हिमाली जैविक विविधता संरक्षण र प्रवर्धनमा सहयोग पुर्‍याउँछ । विश्वमै दुर्लभ यो जनावर दक्षिण र मध्यएशियाका १२ देशमा मात्र पाइन्छ । त्यसमध्ये नेपाल एक देश हो ।

रिन्जिनले रोलेक्स अवार्डबाट दुई लाख स्वीस फ्रयांक (नेपाली २ करोड ५५ लाख) पाएका थिए । उक्त अवार्डबाट पाएको रकम उपल्लो हुम्लामा ‘प्रमोट लोकल इनिसिएटिभ फर बायोभर्सिटी कन्जर्भेसन इन नेपाल्स ट्रान्स हिमालय’ नामको परियोजना सञ्चालन गरिरहेका छन् ।

‘समुदायमा आधारित, समुदायको नेतृत्वमा संरक्षणलाई कसरी संस्थागत गर्न सकिन्छ भनेर काम गरिरहेका छौं । हिउँचितुवालाई अलि बढी प्राथमिकता दिएका छौं’ उनले भने, ‘परियोजना मार्फत हिउँचितुवाको संख्या, आहारको अवस्था, संरक्षणको चुनौतीबारे अध्ययन भइरहेको छ ।’

यज्ञ खत्री