+

दु:खका हिमाल छिचोल्दै विश्व कीर्तिमान

पूरा सूची
Shares
लाक्पा शेर्पालाई ‘हिमालकी रानी’ पनि भनिन्छ । विद्यालयमा पाइला नटेकी उनी ‘हार्वर्ड’ र ‘यल’ जस्ता अमेरिकी विश्वविद्यालयमा हिमाली जीवन संस्कृतिका बारे प्रेरणादायी प्रवचन दिन्छिन् । ‘नेटिभ’ अमेरिकनहरू उनको ‘अर्गानिक अङ्ग्रेजी’ मा जीवन संघर्षका कथा सुनेर छक्क पर्छन् । 
लाक्पा शेर्पा

ठूलो भएपछि के बन्ने ? डाक्टर, पाइलट, इन्जिनियर, सरकारी जागिरे वा शिक्षक । आरोहीहरू माझ मकालुको नामले परिचित नेपालको पूर्वी पहाडको हिमशृङ्खलामा अवस्थित संखुवासभाकी लाक्पा शेर्पासँग भविष्यमा के बन्ने प्रश्नको ठोस जवाफ थिएन । न त भौगोलिक विकटतामै रमाइरहेकी उनलाई जीवनको गोरेटो कता दौडाउने चिन्ता नै थियो । समाजले आदर्श मानेका ती सपना पछ्याउने पहिलो खुट्किलोको रूपमा रहेको आधारभूत शिक्षा प्राप्तिको लागि विद्यालय प्राङ्गणमा पाइला पनि टेकेकी थिइनन् । 

गाउँमा विद्यालय खुलिसकेको थिएन । सदरमुकाम खाँदबारीमा डेराको व्यवस्था गरी पढाउन खेती–किसानीमा निर्भर उनको परिवारले आवश्यक ठानेन । समाजमा जति धेरै छोराछोरी भए खेतीपातीको काममा उति धेरै सहयोग हुन्छ भन्ने सोचाइ हावी थियो । लाक्पा आफैंलाई विद्यालय जान नपाएर जीवन बर्बाद भए जस्तो पनि लागेन । पढ्न नपाएकोमा रत्तिभर पछुतो थिएन । 

सात दिदीबहिनी र चार दाजुभाइमध्ये पाँचौं नम्बरमा जन्मिएकी लाक्पा पछिका तीन बहिनी तीन घन्टा हिंडेर गाउँ नजिकैको विद्यालय गएर अक्षर चिने । बहिनीहरू भन्दा केही वर्ष मात्रै जेठी भए पनि पढाइमा ध्यान गरिनन् । बरु भीरपाखामा चौंरी, भेडा र च्याङ्ग्रा गोठालो भएर बसिन् । सानैदेखि घरायसी र खेतीपातीको काममा रमाइन् । 

मकालु बाहिरी संसारसँग सम्पर्क स्थापित भइनसकेकोे एक खुला प्राकृतिक चिडियाखाना जस्तै थियो । त्यहाँ घर वरपर आइपुग्ने हिमचितुवा, नाउर, झारल र चरासँग लुकामारी गरेर बाल्यकाल बिताइन् । लाक्पा सधैं जंगलतिर धाउन थालेपछि परिवारलाई डर लागेको थियो । छोरीको जङ्गल डुलिहिंड्ने स्वभावदेखि डर लागेर उनकै आमाले धेरै पटक सचेत गराएकी थिइन्, ‘अब यसलाई कुन दिन हिमचितुवाले मारेर खाने भयो ।’

लाक्पालाई ज्यानको चिन्ता थिएन । ‘खाए पनि के भयो र ? तिम्रा धेरै सन्तान छँदैछन्’ उनले बाबुआमालाई पनि मुखभरीको जवाफ दिन्थिन् । सधैं निर्धक्क थिइन् । निस्फिक्री भएर जंगल, वनपाखामा घुम्नु उनको दिनचर्या थियो । 

अग्लो कदकी लाक्पा शारीरिक रूपमा बलियो पनि उस्तै थिइन्, आफ्नो उमेरका केटाहरूलाई पनि कुट्न सक्ने । छोरीलाई वर्जित गरिएका हलो जोत्ने र खेतबारी खन्ने कामका लागि निसङ्कोच अघि सर्थिन् । समाजले केटा मानिसले गर्ने भनेर सूचीकृत गरेका खनजोत लगायतका काम स्वतस्फूर्त गर्थिन् । 

छोरीको लडाकु स्वभाव र कामप्रतिको अनौठो छनोट देखेर परिवारलाई लागेको थियो, ‘अब यसको बिहे नहुने भयो ।’ जिद्दी स्वभावकी लाक्पाले कसैको कुरा सुनिनन् । आफ्नो लय ज्यान गए पनि छोडिनन् । 

उमेरले १३ वर्ष टेकेको थियो । उनको उमेर त्यतिबेलाको सामाजिक परिवेशमा विवाह गरे पराइघर पठाउने भइसकेको थियो । त्यहीबेला लाक्पाले जन्म घर छोडिन् र बाह्य समाजसँग घुलमिल हुन थालिन् । दुर्गम गाउँ प्राकृतिक सुन्दरतामा रमाउन आइपुग्ने विदेशी पर्यटक र आरोहीको भारी बोकेर दूरदराजका हिमालसम्म पुग्न थालिन् । 

सगरमाथाको दशौं आरोहणपछि द न्यूयोर्क टाइम्स ले ‘क्वीन अफ् एभरेस्ट’ को उपाधि दिएर सन् २०२३ मा विशेष प्रोफाइल प्रकाशित भयो । त्यसपछि उनको चर्चा थप चुलियो । सोही प्रोफाइलबाट प्रभावित भएर बेलायती वृत्तचित्र निर्देशक लुसी वाकरले नेटफ्लिक्सका लागि ‘माउन्टेन क्वीनः द समिट्स अफ् लाक्पा’ नामक वृत्तचित्र बनाएको बताएकी छिन् ।

दुई वर्ष जति भरिया भएर काम गरेपछि गाउँ समाजले ‘ब्याड गर्ल’ को उपमा दियो । उनीप्रति समाजले गरेका नकारात्मक सामाजिक टिप्पणी वा तिरस्कार केहीले छोएन । बरु झन् उत्प्रेरित भएर लाक्पा मकालु र सगरमाथा हिमालको आधारशिविरसम्म पुगिन्, ‘किचेन ब्वाई’ को रूपमा काम गर्न । 

१५ वर्षको उमेरमा उनी सगरमाथाको आधारशिविर पुगिसकेकी थिइन् । त्यहाँ किचेन सम्हालेर बसेबापत मासिक ५० डलर मिल्थ्यो । त्यही कमाइ लिएर काठमाडौं ओर्लिइन् । डेरा गरेर बसिन् । हिमालमा काम नहुँदा भरिया भएर जीवन चलाइन् । 

नेपाली महिला घरको चुलो–चौकामा सीमित भएको बेला उनलाई हिमालसँगको सामीप्यता र सहकर्मीको संगतले सगरमाथाको शिखरमा पुग्ने सोच आयो । शिखर आरोहण गरेर फर्किएकाले आधारशिविरमा लगाएको फुर्तीले आधारशिविरमा आफू पनि शिखरमा पुगेको सपना देख्न थालिन् । 

आधारशिविरमा आरोहण बारेका कुराकानीले उनलाई ऊर्जा भरिदिएको थियो । सगरमाथाको शिखरमा कृत्रिम अक्सिजन विना २१ घन्टा बसेर विश्व कीर्तिमान बनाएका बाबुछिरी शेर्पा लगायतका शेर्पाहरूले उनलाई सगरमाथा आरोहण गर्न प्रेरित गरिरहेका थिए । 

सन् १९९३ को वसन्तकालीन आरोहणको क्रममा सगरमाथा आरोहण पछि फर्कने क्रममा पासाङ ल्हामु शेर्पाको मृत्यु भयो । त्यसबेला आरोहणमा जान महिला मात्र होइन पुरुष पनि डराइरहेका थिए । पासाङ ल्हामुको फर्कने क्रममा निधन भएकाले सगरमाथाको आरोहण गरेर सकुशल आधारशिविर फर्किएका नेपाली महिला आरोही थिएनन् । 

त्यस्तो बेलामा लाक्पा शेर्पाले महिला आरोही दल बनाएर, हिम्मत गरेर सगरमाथा आरोहणमा जाने निर्णय लिइन् । १८ मे २००० मा सर्वोच्च शिखरमा पाइला टेकेर सकुशल आधारशिविर आइपुगिन् । योसँगै सगरमाथाको आरोहण गरेर सकुशल फर्कने सीमित महिलाको सूचीमा थिइन लाक्पा । उनी अब भरियाबाट आरोही भइसकेकी थिइन् । 

उनको हिम्मतको चर्चा बाहिरी संसारमा फैलिंदै थियो । उनी आफैंले पनि हिमाल, समाज र आरोहणको बारेमा बुझ्दै जान थालिन् । त्यही क्रममा पेशाले हिमाल आरोहण क्षेत्रमा रहेका रोमानियनसँग विवाह गरिन् । पढाइ–लेखाइ नभएकाले विदेशी भूमिमा पुग्दा जीवन निर्वाहका लागि कठिन काम गरिन् । 

श्रीमान्को व्यवहारका कारण छुट्टिएर बसिन् । दुई छोरी हुर्काउनुपर्ने जिम्मेवारी काँधमा थियो । सफाइ मजदुरदेखि प्रतिष्ठित होलफुड कम्पनीमा खाना ओसार्ने काम गरिन् । दुःख र भौगोलिक दूरीका बाबजुद उनले हिमालसँग बाल्यकालदेखि बसेको प्रीति कहिल्यै टुटाइनन् । अनेक चुनौतीका बाबजुद उनले सन् २००१ देखि २००६ सम्म लगातार वसन्तकालीन सगरमाथाको आरोहणमा सहभागी भएर चुचुरोमा पुगिन् । 

त्यही समयमा छोरी जन्मिए हिमालमा आउन सकिनन् । सन् २०१४ को विनाशकारी हिमपहिरोले १६ जना शेर्पाको ज्यान लियो । अर्को वर्ष पनि भूकम्पले ल्याएको हिमपहिरोमा १९ जना आरोहीले ज्यान गुमाए । लाक्पाको निरन्तर हिमाल आरोहणमा जाने सपनामा ठेस लाग्यो । 

दुःखले कमाएको पैसाले नेपाल आउजाउ गरिरहिन् । सन् २०१६, १७ र १८ मा सगरमाथाको चुलीमा पुगेरै छोडिन् । त्यसपछि विश्वभर फैलिएको कोरोना महामारीले उनलाई नेपाल आउन २०२२ सम्म कुर्नुपर्‍यो । त्यतिबेला किशोरावस्थामा प्रवेश गरेका दुई छोरी पनि अमेरिकादेखि सगरमाथा आधारशिविरसम्म लिएर आइन् । उनले छोरीलाई हिमालका आधारशिविर देखाइन् अनि उनीहरूलाई त्यहीं छोडेर शिखरमा फेरि पनि पाइला टेकेर फर्किइन् । 

त्यो उनको दशौं सगरमाथा आरोहण थियो । उनले आफ्नै विश्व कीर्तिमान तोडेर दशौं पटक आरोहण गरेकी थिइन् । सगरमाथाको चुचुरोमा दश पटक आरोहण गर्ने उनी विश्वकै एक मात्र महिला हुन् । सर्वाधिक सगरमाथा आरोहण गर्ने महिलाको रूपमा विश्व कीर्तिमान कायम गरेपछि केटु हिमालको आरोहण गरेर हिमाल आरोहणमा अब्बल रहेको पनि पुष्टि गरिन् । 

त्यसअघि सन् २०१६ तिर लाक्पाको आरोहण संघर्षका कथा पश्चिमा मुलुकबाट प्रकाशित हुने प्रतिष्ठित नेशनल जोग्राफिक, द वासिङ्टन पोस्ट लगायतका पत्र–पत्रिकामा छापिइसकेका थिए । तर पनि उनलाई चिन्नेहरू निकै कम थिए । न त उनले आफू बसिरहेको र काम गर्ने ठाउँका सहकर्मीलाई यसबारे कहिल्यै केही बताएकी थिइन् । एक हिसाबले परिचय लुकाएरै काम गरिरहेकी थिइन् । 

सगरमाथाको दशौं आरोहणपछि द न्यूयोर्क टाइम्स ले ‘क्वीन अफ् एभरेस्ट’ को उपाधि दिएर सन् २०२३ मा विशेष प्रोफाइल प्रकाशित भयो । त्यसपछि उनको चर्चा थप चुलियो । सोही प्रोफाइलबाट प्रभावित भएर बेलायती वृत्तचित्र निर्देशक लुसी वाकरले नेटफ्लिक्सका लागि ‘माउन्टेन क्वीनः द समिट्स अफ् लाक्पा’ नामक वृत्तचित्र बनाएको बताएकी छिन् । 

गत वर्ष सार्वजनिक भएको नेटफ्लिक्सको वृत्तचित्रले उनको कथालाई संसारभर पुर्‍यायो । पत्रिका पढेर हुर्किएकाले उनलाई चिनेकै थिए । नेटफ्लिक्सको वृत्तचित्रपछि टिकटक र रिलमा हुर्किएको पुस्ता ‘जेन जी’ ले पनि उनको संघर्ष र सफलतालाई नजिकबाट नियाल्ने अवसर पायो । 

लाक्पाको जीवन हिमाल आरोहणमा लागेका धेरै महिलाका लागि पनि प्रेरणादायी बनेको छ । विद्यालयमा पाइला नटेकी लाक्पा हार्वर्ड र यल जस्ता प्रतिष्ठित अमेरिकी विश्वविद्यालयमा पुगेर औपचारिक डिग्री होइन प्रेरणादायी प्रवचन दिन्छिन् । नेटिभ अमेरिकनहरू उनको ‘अर्गानिक अङ्ग्रेजी’ मा जीवन संघर्षका कथा सुनेर छक्क पर्छन् । 

हिमालको झल्को मेटाउन सप्ताहान्तमा अमेरिकामा पनि हाइकिङ गाइड भएर काम गर्छिन् । अवसर मिलेसम्म आरोहण समयमा नेपाल आइरहन्छिन् । नेपालमा पनि उनको पदचाप पछ्याएर हिमाल आरोहणमा बेग्लै पहिचान बनाउने महिलाहरूको संख्या बढ्दैछ । 

‘म अब आरोहण गुरु भएर विदेशी केटीहरूलाई सगरमाथा आरोहणमा ल्याउन चाहन्छु’ अनलाइनखबरसँग आफ्नो भविष्यको योजना सुनाउँदै लाक्पाले भनिन् ।

संसारका १४ अग्ला हिमाल आरोहण गरेकी दावा याङ्जुम शेर्पादेखि एकै सिजनको १३ दिनमा तीन पटक सगरमाथा आरोहण गर्ने पूर्णिमा श्रेष्ठ, सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने फुन्जो लामासम्म नेपाली महिला नै हुन् । उनीहरूको हिमालमा भएका कीर्तिमानमा लाक्पा शेर्पा जस्ता महिला आरोहीले प्रेरित गरिरहेका छन् । 

‘विवाह पछि महिलाले हिमाल आरोहणलाई निरन्तरता दिन सक्दैनन्– घर–परिवारको हेरचाह र श्रीमान्को कुरा सुन्नुपर्ने भएकाले । त्यस्तो अवस्थामा पनि लाक्पाले सर्वाधिक सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान बनाइन् । अरूलाई प्रेरित गरिन्’ महिला आरोही लाक्पाफुटी शेर्पाले भनिन्, ‘उनको कीर्तिमान तोड्न सजिलो छैन ।’

लाक्पाले जे–जस्तो पहिचान बनाइन्, नेपाल र नेपाली महिलाको साहसलाई जसरी संसारभर चिनाइन् त्यो उनकै व्यक्तिगत मिहिनेतका कारण सम्भव भएको हो । उनी यो सफलताको लागि जीवनमा एकदमै दुःख पाएको पनि स्वीकार गर्छिन् । तर दुःखले उनलाई जहाँ पुर्‍याएको छ, त्यो उनका लागि गौरवको कुरा हो । 

तर उनलाई आफ्नो दुःख अरूलाई भन्न सहज लाग्दैन । केही गरौं भन्नेहरूका लागि जीवन भोगाइमा पाठ छ । आफ्नो दुःख अरूलाई सुनाउँदै हिंड्ने होइन । अरूको कुरा सुनेर प्रभावित हुने नि होइन । जे गर्ने मनदेखि गर्ने । सगरमाथा आरोहण त उनको सामान्य काम भइसक्यो । अमेरिका बसे पनि नेपाल उनको मामाघर हो । 

‘म अब आरोहण गुरु भएर विदेशी केटीहरूलाई सगरमाथा आरोहणमा ल्याउन चाहन्छु’ अनलाइनखबरसँग आफ्नो भविष्यको योजना सुनाउँदै लाक्पाले भनिन् ।

लेखक
भद्र शर्मा

भद्र शर्मा न्युयोर्क टाइम्सका लागि रिपोर्टिङ गर्छन् ।