
धादिङको गजुरी गाउँपालिका वडा नं. ६ मा दोस्रो कार्यकालका लागि निर्वाचित वडा सदस्य महिला हुन्, संगीता चेपाङ । गजुरी–६, स्याङ्मैडाँडाकी संगीता नेपालको अति सीमान्तकृत आदिवासी जनजाति चेपाङ समुदायको रूपान्तरणमा खटिंदै आएकी नेतृ हुन् । त्यसैले उनी वडा बाहिर पनि उत्तिकै चिनिएकी छन् ।
उनले कक्षा ६ भन्दा माथि पढ्न पाइनन् । ‘सात छोरीमध्ये जेठी हुँ’ उनी भन्छिन्, ‘बुवाआमा दुवै बिरामी हुनुभयो । परिवारको जिम्मेवारी मेरो काँधमा आयो । अनि मैले स्कुल छाडेर परिवार पाल्न काम गर्न थालें ।’
२०६१ सालमा विवाह भयो, श्रीमान् गाउँमा ज्याला मजदुरीको काम गर्दागर्दै मलेसिया गए । उनी वैदेशिक रोजगारीबाट फर्किएपछि अहिले गाउँमै गाडी चलाउँछन् । उनीहरूका दुई छोरा हुर्कंदैछन् । सीमित आर्थिक स्रोत, पिछडिएको समुदाय र संघर्षपूर्ण जीवनबाट उनी कसरी समुदायको नेतृत्व गर्ने तहमा आइपुगिन् ? यसमा रोचक कथा छ ।
समाजले चेपाङलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार उनलाई असहज लागिरहन्थ्यो । ‘हामी पनि त मान्छे हौं नि, पृष्ठभूमि र अशिक्षाले हामी अलि फरक छौं त्यति त हो’ उनी भन्छिन्, ‘यसो हुनुमा हामी आफैं मात्रै जिम्मेवार छैनौं ।’
चेपाङलाई अरूले हेपेको महसुस गरेपछि उनलाई यो समुदायलाई एकदिन बनाएरै छाड्छु भन्ने लाग्यो । यही अठोटलाई व्यावहारिक रूपान्तरण गर्न उनी समुदायको लागि समय दिन थालिन् ।
‘जब बच्चा हुर्कन थाले विस्तारै म समुदायको लागि काम गर्न थालें । २०६५ सालबाट म घर बाहिर दौडधुप गर्न थालेकी हुँ’ उनी भन्छिन्, ‘मेरो काममा श्रीमान्को पूर्ण समर्थन र साथ छ ।’ घर बाहिरको उनको यो दौडधुपले चेपाङको आफ्नै वन, खानेपानीको व्यवस्था मात्रै होइन उनलाई राजनीतिमा समेत स्थापित गराएको छ ।
चेपाङको आफ्नै वन
संगीता जनप्रतिनिधि हुँदा मात्रै होइन, सामान्य नागरिकका रूपमा पनि समुदायले दुःख–सुखमा सम्झने नाम हुन् । उनले समुदायको हकअधिकार र रूपान्तरणमा बगाएको पसिनाको प्रतिफल हो, यो ।
डेढ दशकअघि पिछडिएको चेपाङ समुदायसँग आफ्नो कुनै जंगल थिएन । बस्तीसँग जोडिएको सार्वजनिक जग्गामा झाडी मात्रै थियो । भएको जंगल पनि फडानी गरेर त्यो अवस्था बनेको थियो ।
‘विवाह, ब्रतबन्ध लगायतका काममा जब हामी पात टिप्न अर्को जंगलमा जान्थ्यौं, अर्को समुदायले ‘यी चेपाङ आफ्नो जंगल पनि जोगाउँदैनन्, अरूको पनि बाँकी राखेनन्’ भन्दै गालीगलौज गर्थे ।’ यो भनाइ सुनेर संगीताको मनमा एकप्रकारको इख पलायो ।
महिला मात्रैको समिति बनाएर उनी जंगल संरक्षणमा लागिन् । ‘जमिन हामीसँग पनि छ भने अरूजस्तै जंगल हामी किन बनाउन सक्दैनौं ? कम्तीमा हामीले जस्तै अपमान हाम्रा सन्तानले त भोग्नुपर्दैन’, यही भावनाले उनले वन संरक्षणको नेतृत्व गर्ने अठोट लिइन् ।
शिक्षा र अवसरबाट वञ्चित पिछडिएको समुदायका सदस्यहरूले उनलाई सुरुमा सहयोग गरेनन् । ‘एउटी आइमाईले कसरी जंगल जोगाउन सक्छे ?’ भन्दै उनीहरूले नै हेपेर बोले । तर उनको अठोट धर्मराएन । ‘म पछाडि हटिनँ, सुरुमा महिलालाई बुझाएँ, किनकि जंगल नहुनुको पीडा हामीले बढी भोग्नुपर्थ्यो । विस्तारै सबैलाई बुझाएर संरक्षण गर्न थाल्यौं’, विगत सम्झँदै उनी भन्छिन् ।
समुदायका महिलाले डढेलो लगाउन रोके, वृक्षरोपण सुरु गरेर भएका बिरुवा पनि काट्न दिएनन् । पालैपालो संरक्षणका लागि घरलौरी अभियान सुरु गरे । केही पुरुषले असहयोग गर्दागर्दै पनि वन कुरुवा राख्न थालियो र नियमित बैठक बस्न थाल्यो । अघिल्ला समितिमा जस्तो भ्रष्टाचार भएन । अहिले समुदायमा भोजभतेरमा चाहिने भाँडाकुडा वनकै बचतबाट किनिएको छ भने कोषमा ७० हजार रुपैयाँ बचत भइसकेको छ ।
समुदायले विश्वास गरेर उनलाई समूहको अध्यक्ष बनायो । अहिले चेपाङ समुदायसँग आफ्नै जंगल छ । विगतमा जस्तो कसैले वचन लगाउन, हेपेर बोल्न सक्दैन । २०६९ सालमा गठन भएको भस्मे जलकन्या सामुदायिक वन समितिको अध्यक्षको जिम्मेवारीमा छिन् संगीता ।
पानीका लागि संघर्ष
संगीताको गाउँ स्याङ्मेडाँडामा पौने दुई सय घरधुरी बसोबास गर्छन् । पानीको दुःखले बस्तीको जीवनशैली कष्टकर थियो । यो दुःखको केन्द्रमा थिए बस्तीका महिलाहरू । ठूलो बस्ती तर पानीको सानो मुहान, त्यसलाई जम्मा पार्ने ट्यांकी समेत थिएन । सानो पोखरी बनाएर त्यही पानी बाँडेर खानुपर्थ्यो । ‘पानीको दुःखले सबैभन्दा धेरै महिला प्रभावित थियौं’ उनी भन्छिन्, ‘सधैं लाइनमा बस्नुपर्थ्यो, ३/४ घण्टा भन्दा सुत्न पाउँदैनथ्यौं ।’
उनले जसरी पनि पानी खुवाउँछु भन्दा सुरुमा धेरैले पत्याएनन् । तर वनको काम गरेपछि समुदायको विश्वासले उनलाई यस्तो काम गर्न केही सहज भएको थियो । केही मानिस लिएर संगीता तत्कालीन गाविस कार्यालय पुगिन् । कसैले वास्ता गरेनन्, सुनेको नसुन्यै गरे ।
तर उनीहरू धाएको धाएकै गरे । गाविस बाध्य भयो र मुहानको मुचुल्का उठाइदियो । उनीहरूले उपभोक्ता समितिको विधान बनाए, दर्ता गरे तर काम निकै बाँकी थियो । यही क्रममा खाद्य अधिकारका लागि काम गर्ने ‘फियान नेपाल’ भन्ने संस्थाले प्रशासनिक काम गर्न सघाइदियो ।
अनि संगीताले गाउँले लिएर सरोकारवाला कार्यालयमा धर्ना दिन थालिन् । पत्रकारलाई गाउँमा बोलाएर खानेपानीको संकट बारे बताउन थालिन् । सरकारी निकायदेखि राजनीतिक दलहुँदै गैरसरकारी संस्थासम्म धाउँदा–धाउँदा उनका धेरै जोर चप्पलका फित्ता पनि छिने ।
समुदायको साथ पाउँदा उनलाई ऊर्जा मिल्थ्यो । ‘वर्षौंपछि संगीताको नेतृत्वमा बल्लबल्ल चेपाङ बस्तीको सपना विपनामा बदलियो’ फियान नेपालका बागमती संयोजक राजेन्द्र बस्नेत भन्छन्, ‘१० किलोमिटर टाढाको मुहानबाट उनीहरूले गाउँमा खानेपानी ल्याएरै छाडे ।’
खानेपानीको सुविधा भएपछि स्याङ्मैडाँडामा हरिया सागसब्जी हुन थालेको छ । एक घर एक धाराको निर्माण पश्चात् समुदायमा पानीले लाग्ने रोगहरूमा कमि आएको छ । व्यक्तिगत, घर–आँगन र टोलछिमेकमा सरसफाइमा सुधार भएको छ ।
समुदायको सारथि राजनीतिमा
स्थानीय तहको निर्वाचन सुरु भएपछि उनी राजनीतिमा आइन् । गजुरी गाउँपालिका वडा नम्बर ६ को वडा सदस्य महिला पदमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेकी उनी दोस्रो कार्यकाल पनि निर्वाचित भइन् । जनप्रतिनिधि बनेपछि पनि गर्ने काम उही हो तर जिम्मेवारीको दायरा फराकिलो भएको छ ।
स्कुल जान नमान्ने बालबालिकालाई स्कुल पुर्याउने, जाँडरक्सी खाएर बरालिने र पारिवारिक कलहको कारक बनेकालाई बुझाउने र बानी बदल्ने काममा उनी सक्रिय छन् । ‘जाँड–रक्सीले हाम्रो समुदायलाई निकै बिगारेको थियो, झगडा, हिंसाहुँदै घरवारविहीन हुने र अकालमै मृत्यु हुने त कति हो कति’ उनी भन्छिन्, ‘एकाबिहानैदेखि रातिसम्म रक्सी पिइरहने अवस्था थियो ।’
समुदायको स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, खानेपानी, सरसफाइ र पोषण अवस्थामा सुधार ल्याउन संगीताले खेलेको भूमिका उदाहरणीय रहेको अघिल्लो कार्यकाल गजुरी गाउँपालिकाको उपाध्यक्ष रहेकी डा.सीता ढुंगाना बताउँछिन् ।
‘उहाँको राम्रो पक्ष समुदायको समस्या सके आफैं समाधान गर्ने, नसके पालिका वा अन्य सरोकारवालाको सहयोग लिने हो’ ढुंगाना भन्छिन्, ‘समुदायप्रतिको उहाँको प्रतिबद्धता र रूपान्तरणको लगाव गज्जबकै छ ।’
संगीता ७ दिदीबहिनीमध्ये जेठी हुन् । गरिबी र अशिक्षाले धेरै सन्तान जन्माउनु चेपाङ समुदायमा सामान्य जस्तै थियो । २०६७ सालमा धादिङकी एक चेपाङ महिलाले २६ वटा गर्भ खेर गएपछि जन्मिएको सन्तान मात्रै बाँचेको समाचार सार्वजनिक भएको थियो ।
यो पृष्ठभूमिमा संगीताले गैरसरकारी संस्थाको पोषण स्वयंसेवक भएर आमा र ५ वर्षमुनिका बालबालिकाको सरसफाइ र पोषण सुधारका लागि काम गरिन् । समुदायका बालबालिकाको नियमित वृद्धि बारे जानकारी लिइन् ।
गाउँमा विभिन्न संघसंस्थाको सहयोगमा प्रगतिशील महिला समूह गठन गरी महिलालाई बचत गर्न सिकाउने, सचेतना भर्ने, घरेलु हिंसा न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम गर्ने र पीडितलाई प्रहरी प्रशासनसँगको सहयोगमा न्याय दिने जस्ता काममा उनी सक्रिय रहँदै आइन् ।
पत्रकार उद्धव चेपाङ समुदायमा संगीताले पोषणसँगै सरसफाइ तथा स्वच्छता सुधारका लागि उल्लेख्य काम गरेको सम्झन्छन् । उनी भन्छन्, ‘उहाँले घर–घरमा चर्पी निर्माण, एक घर एक धारा, घरआँगन सरसफाइ, सुरक्षित पिउनेपानीका लागि फिल्टरको प्रयोग, महिनावारी स्वच्छताका लागि सचेतना जगाउँदै आउनुभएको छ ।’
उनका भनाइमा यो समुदायमा नियमित गर्भजाँच गर्ने, आइरन चक्की खाने, खोप लगाउने, स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुने, बालबालिकालाई नियमित खोप लगाउन आमाहरूमा सचेतना जगाउनु ठूलो काम थियो । यो काम संगीताले गरेकी छन् ।
६ कक्षासम्म मात्र पढ्न पाएकी संगीतालाई अक्षरको महत्व थाहा छ । त्यसैले उनी बालबालिकालाई विद्यालय पढ्न नपठाउने अभिभावकलाई भेट्ने र सम्झाउने गर्छिन् । यसको असर देखिन थालेको छ ।
डेढ दशकअघि गाउँमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने कोही थिएनन् । अहिले १७ जनाले कक्षा १२ उत्तीर्ण गरिसकेका छन् भने १२ कक्षा उत्तीर्ण गर्ने पनि १७ जना भइसकेका छन् । गाउँमा रहेको पञ्चकन्या आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि संगीता आफैं हुन् ।
आफ्नो समुदायको लागि अब के गर्नुपर्छ जस्तो लाग्छ भन्ने अनलाइनखबरको प्रश्नमा ३५ वर्षीया संगीता भन्छिन्, ‘सामान्य मान्छे हुँ, सक्ने जति गरें, अब नयाँ पुस्ता आएको छ, उनीहरूलाई अगाडि बढाउँछु ।’
– उद्धव चेपाङ