+

पिंधबाट उठेर मञ्चमा

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
गणतन्त्रको १५ वर्षमा कला क्षेत्रमा आएको परिवर्तनको वास्तविक संवाहक संगीता उराँवहरू हुन्, जो सीमान्तकृत समुदायबाट पात्रको रूपमा कलाको मूलधारमा समावेशी आवाज उराल्दै र अरूलाई पनि प्रेरित गर्दैछन् ।
संगीता उराँव

२०७२ सालमा शिल्पी थिएटरमा ‘गँगटो’को कथामा नाटक मञ्चन भयो । संगीता उराँव (२९) को एकल अभिनय थियो यसमा । ‘गँगटो’ पात्र मार्फत उनले यसमा समुदायको कथा भनेकी थिइन् । प्रप्सविनै मञ्चन गरिएको नाटकमा उराँवले ८ वटा पात्रमा आफूलाई प्रस्तुत गरिन् ।

उराँव समुदायको प्रकृतिसँगको सन्निकटता, कृषि प्रणाली, आदिवासीको नाता, माटोसँगको सम्बन्ध र जीवनशैलीको कथा नाटकमा भनिएको छ । संगीताले यो नाटकमा बाल्यकाल, बाँचेको जीवन, धुकधुकी र भुइँमान्छेको ‘नोस्टाल्जिया’ भनेकी छन् । किनभने, उराँव समुदाय गँगटोको प्वालबाट उत्पत्ति भएको कहावत छ ।

प्रकृतिपूजक यो जाति आफ्नो मुख्य पर्व करमपूजामा ‘गँगटोको फूल टिप्ने’ गीत गाउँछन् । यो कहावतले उराँव जातिलाई इसापूर्व ३००० देखि १३०० सम्म पनि जीवित प्राचीन सिन्धुघाँटी सभ्यतासँग जोड्छ । ‘गँगटो’ नाटकबाट भनिएको यो सार उक्त सभ्यतासँग जोडिएको छ ।

बहुचरित्रकरणमा आफू बाँचेर संगीताले पस्किएको यो एकल नाटक रुचाइयो । उम्दा अभिनय मार्फत समाजको कथालाई मूलधारको नाटक, त्यसमा पनि समुदायका कथा आउन बाँकी परिवेशमा यसरी पस्कनु रंगमंचमा आउँदै गरेको ‘लोकतन्त्र’को सुन्दर बाछिटा थियो ।

‘गँगटो’बारेको त्यो नाटक संगीताको सबैभन्दा प्रिय लाग्ने रंगमञ्च सिर्जना हो । ९ वर्षे करिअरमा उनले अभिनय गरेका २० नाटकमध्ये ‘गँगटो’ शीर्ष स्थानमा छ । पेटमा दाँत हुने र वर्षायाममा खेतमा स्याउँस्याउँ पाइने जन्तु गँगटोको लाक्षणिक कथ्यबाट उनले उराँव समुदायको कथा र काठमाडौंको सत्ताले बुझ्न बाँकी सीमान्त समुदायको व्यथा उधिनेकी छन् ।

कुरा ‘गँगटो’ को मात्र होइन, संगीताले जति नाटकमा अभिनय गरिन् ती रंगमञ्चका एकसे एक ‘मास्टरपिस’ थिए । यी प्रत्येक सिर्जनामा राज्यबाट विभेदमा पारिएका समुदायको कहर, पितृसत्ताको जाँतोमा दबिएको लैंगिक छटपटी, तराईको भूगोल र छालाको वर्णसँगको विभेद, पहिचान र सम्मानको खोजीको कथा भनिएको छ । यी कथा भन्न संगीताले जति अब्बल कलाकारिता गरिन्, यसले मात्र उनको पहिचान, योगदान र प्रयत्नको आयामलाई परिभाषित गर्दैन ।

जुन समाजको पिंधबाट माथि उठेर उनले राजधानीसम्म कलाकारिताको यात्रा तय गरिन्, यो असाधारण हो । सामाजिक र आर्थिक रूपमा पिछडिएको उराँव समुदाय, हातमुख जोर्न मुस्किल पर्ने परिवारको आर्थिक अवस्था र एसएलसी उत्तीर्ण गरेपछि छोरीको विवाह गराइदिनुपर्छ भन्ने सामाजिक चेत छिचोल्दै उनी कसरी रंगमञ्चमा स्थापित भइन् भन्ने कुरा अहिलेका युवाको लागि प्रेरणाको स्रोत हो ।

आदर्श हराइरहेको र नायक खोजिरहेको समाजमा संगीताले छोटो समयमै आफूलाई जसरी सपनातर्फ डोर्‍याइन्, स्वप्नजीवीका लागि उनी आदर्श हुन् । गणतन्त्रको १५ वर्षमा कला क्षेत्रमा आएको परिवर्तनको संवाहकको रूपमा संगीता उराँवहरू छन् जो सीमान्तकृत समुदाय र पात्रको रूपमा कलाको मूलधारमा समावेशी आवाज उराल्दै र अरूलाई प्रेरित गर्दैछन् । पछिल्लो जनगणना अनुसार नेपालमा उराँवको जनसंख्या ८० हजार मात्रै छ ।

सडक नाटकदेखि शिल्पीसम्म

सुनसरीको गढी गाउँपालिकामा जन्मिइन् संगीता । उराँव समुदायको बाक्लो बस्ती छ त्यहाँ । कृषिकर्म र बिहेबारीको मौलिक परम्परा आजपर्यन्त छ । मौलिक संस्कृति र परम्परा उराँव जातिको विशेषता हो । प्रकृतिपूजक उराँव समुदाय आफ्नो ठूलो पर्वको रूपमा करमपूजा मनाउँछन् । नाचगानसँगै कथावाचन परम्परा छ । संगीतका अनुसार ‘स्टोरी टेलिङ’ यहाँ देख्न पाइन्छ । एउटा गीत यस्तो छ:

केटी : करम खन्डा केरका रो जोंखा रो
ककडो लाता नू दरबर दरबर नन्दर ।

केटा : पूप तोख्खा केरका रो पेल्ला रो
ककडो लाता नू होम्बेचे होम्बेचे नन्दर ।

केटी : तिमी करमको हाँगा काट्न जाँदैछौ
तिमी गँगटाको प्वालभित्र दौडिन्छौ ।

केटा : तिमी ककड़ोको फूल टिप्न जाँदैछौ
तिमी गँगटोको प्वालभित्र दौडिन्छौ ।)

यही कथा र संगीत पृष्ठभूमि बोकेको पारम्परिक अभ्यासको आञ्चलिकतामा हुर्किइन् संगीता । घरमा सपना देख्ने वातावरण थिएन । आर्थिक अवस्था जर्जर । घरमा बस्दाको सपना विवाह नै हुन्थ्यो । विवाह गरेर पठाउनुपर्छ भन्ने सपना बाबुआमाको थियो/छ ।

संगीताले पछि मात्र थाहा पाइन् सपना देख्न पाइन्छ । सपना देख्न अरू बाटा पनि छन् । ज्ञान निर्माणको प्रक्रियामा संगीतालाई उनको रैथाने परम्परा सहायक बन्यो । यो परम्पराले उनलाई कथा भन्न, नाचगान गर्न र कलाप्रति अनुराग दर्शाउन मद्दत गर्‍यो ।

क्रमशः उनले आफूलाई नृत्य र अभिनेत्रीको रूपमा अघि बढाउँदै लगिन् । ‘कथामा पनि कल्पना हुन्थ्यो’ हालैको एकदिन शिल्पी थिएटरमा कुराकानीको क्रममा उनले भनिन्, ‘म यहीं खेल्दै, नाचगान गर्दै हुर्किएकी हुँ ।’

त्यसपछि उनले गाउँमै हुने सडक नाटक र स्टेज कार्यक्रममा भाग लिन थालिन् । बाल क्लबले आयोजना गर्ने यस्ता नाटकमा बालअधिकार र बालविवाहका दुर्दान्त देखाइएका हुन्थे । क्लबमा नाटक गर्न थालेपछि उनमा कलाकारिताको झिल्को बल्न थालेको थियो ।

बल्ल उनले नाटकको शक्ति बुझ्न थालिन् । ‘म चुलबुले थिएँ । बढार्दा पनि जीउ हल्लाउने र नाच्ने । छम्मक छल्ला आयो भनेर भन्ने । मलाई ती शब्द मनपर्ने’ उनी भन्छिन्, ‘म पनि त्यसरी नै जवाफ दिन्थें । यो तरिकाले पनि भन्न सकिने रहेछ भन्ने लाग्यो । बालविवाहको नाटक गर्दा अरू मान्छेले मजाले सुन्ने रहेछन् । कुरा आदानप्रदानको माध्यम नै भयो ।’

विवाहको दबाबलाई इन्कार गर्दै संगीता सपना पछ्याइरहेकी छन् । ‘अर्को वर्ष गर्छु, ब्याचलर सकिएपछि गर्छु, मास्टर सकिएपछि गर्छु भनेर टारेकी छु’ उनी भन्छिन्, ‘यो वर्ष पनि कुरा भयो । घरबाट पछि गाह्रो हुन्छ । यो–त्यो भन्नुहुन्छ । मैले हुन्छ भन्छु । यसरी नै सम्हालेकी छु ।’

कचहरी गर्दागर्दै उनी कला तिखार्न विराटनगर पुगिन्, जहाँ अभिनय कार्यशाला गरिएको थियो । वर्कशपमा उनले मातृभाषा कुडुखमा बोल्न पाइन् । आफ्नै भाषामा नाटक गर्दा प्रस्तुति तिखारियो । यहाँनेर संगीतालाई भाग्य र मिहिनेत दुवैले साथ दिएको थियो । वर्कशपमा उनको भेट नाटक निर्देशक तथा अभिनेता घिमिरे युवराजसँग भयो ।

वर्कशपमा युवराजले संगीताभित्र लुकेको अभिनयको हुटहुटी र सम्भावना देखे । वर्कशप सकिएपछि आफूसँगै संगीतालाई काठमाडौंको शिल्पी थिएटरमा ल्याए । मेन्टरको रूपमा युवराजले संगीतामा अभिनयको प्राण भरिरहेका छन् । त्यो गढी गाउँपालिकाकी उनै संगीता यतिबेला शिल्पी थिएटरकी उम्दा कलाकार हुन् । शिल्पीसम्मको उनको यात्रा कुनै फिल्मको पटकथा भन्दा कम छैन ।

उनी यतिबेला आफ्नै समुदाय र बाल्यकाल सम्झिएर कथा लेख्दैछिन् । उनी भन्छिन्, ‘एकदमै दुःख छ । दुःखमा पनि सिकाइ र भोगाइले राम्रो–राम्रो अनुभव दिलाएको छ ।’ अहिले समाजशास्त्रमा स्नातकोत्तर संगीता शिल्पीमा अभिनेत्रीसँगै कस्ट्युम विभाग हेर्छिन् ।

विवाह टार्दै अघि बढ्दै

१० कक्षा पास गरेपछि विवाहको दबाब आउन थाल्यो । दबाब छिचोल्ने साहस जुटाउन सजिलो थिएन । संगीता जस्ता उराँव युवतीसामु नदेखिने ‘बाउन्ड्री’ छ, त्यो भनेको विवाह हो । विवाह संस्कारप्रति रैथाने समुदायको धारणा यति बलियो छ कि संगीतालाई अहिले पनि विवाहको निरन्तर दबाब छ ।

संगीताभन्दा कान्छी फुपूका दुई छोरीले विवाह गरे । संगीताकी बहिनी दिदीले विवाह नगरेसम्म आफू पनि गर्दिनँ भनेर बसेकी छिन् । ‘जब छिमेकीको कुरा सुनेर बाबा–आमा थिचिनुहुन्छ, त्यसपछि मलाई प्रेसर दिनुहुन्छ । ब्याचलर पढ्दाखेरि मलाई गाह्रो भएको थियो’ उनी भन्छिन्, ‘बहिनी किन रोकिएको छ भने ऊ चाहिं दिदीको विवाह नगरिकन म चाहिं गर्दिन भन्छे ।’

विवाहको दबाबलाई इन्कार गर्दै संगीता सपना पछ्याइरहेकी छन् । ‘अर्को वर्ष गर्छु, ब्याचलर सकिएपछि गर्छु, मास्टर सकिएपछि गर्छु भनेर टारेकी छु’ उनी भन्छिन्, ‘यो वर्ष पनि कुरा भयो । घरबाट पछि गाह्रो हुन्छ । यो–त्यो भन्नुहुन्छ । मैले हुन्छ भन्छु । यसरी नै सम्हालेकी छु ।’

घरपरिवारको सपना छाडे पनि आफ्नै सपनामा खुसी छिन् उनी । ‘यो समयमा मैले गर्न खोजेको काम गर्न पाएँ । दिदीको रूपमा गर्नुपर्ने जिम्मेवारी कतै छुट्यो’ भन्छिन्, ‘यसबीच थिएटरमा मैले धेरै माया पाएँ, नाटक हेरेपछि जुन प्रतिक्रिया आउँछ, म त्यसमै खुसी छु ।’

समुदायलाई नाटकबाट चिनाउन सकेकोमा प्रफुल्ल छिन् उनी । ‘उराँव भन्ने सुन्दा पनि मान्छे छक्क पर्थे । अहिले उराँव भनेर चिनिन थालिएको छ । मेरो आफ्नो माध्यमबाट पनि समुदायलाई चिनाउने काम गरेकी छु’, उनी भन्छिन् ।

बेलाबखत अखबारमा समुदायका कथा पनि लेख्छिन् । सिर्जना मार्फत दर्शक र पाठकले आफूलाई चिन्ने गरेको अनुभव उनीसँग छ । एकदिन बच्चासँग शिल्पीमा नाटक हेर्न पुगेकी एक महिलाले चिनेर उनीप्रति माया दर्शाइन् । ‘उहाँहरूले मेरो आर्टिकल पढ्नुभएको रहेछ । त्यो दिदीले मलाई देखाउँदै छोरीसँग भन्नुभयो– उहाँले लेखेकै कथा पढेर मैले तिमीलाई सुनाएको छु नि !’

संगीतालाई लाग्छ, उराँव सहित पिछडिएका समुदायबारे नाटक र कलाका अन्य माध्यममा जति भनिएको छ, त्यो पर्याप्त छैन । समुदायले भोगेका अझै धेरै कुरा आउन जरूरी देख्छिन् उनी । ‘समुदाय र जातलाई हेर्ने विभेदपूर्ण दृष्टि, लवाइ–खवाइ, शारीरिक बनोट, छालाको रङ र भाषाको कारण पिछडिनुपर्ने जुन पीडा र अनुभव छ, उनीहरूकै दृष्टिकोणबाट कथा आउन जरूरी छ’ उनको धारणा छ ।

दशक लामो करिअरमा संगीताले जति नाटकमा अभिनय गरिन्, ती अर्थपूर्ण र सन्देशपरक रहे । चरित्रको जीवन बाँच्ने कुरामा उनको मिहिनेत प्रष्ट देखिन्छ । हुनत आफूले बाँचेका चरित्र सबैलाई प्रिय लाग्छ, यद्यपि गरेका २० नाटकमध्ये रोजाइमा पाँच नाटक छन् जुन उनका लागि प्रिय छन् र जीवनको नजिक ।

‘यो त झिल्को मात्रै हो । यो झिल्कोलाई उज्यालो बनाउन बाँकी नै छ । यसकारण धेरै पहल गर्न जरूरी छ’ उनी भन्छिन्, ‘यसका लागि मिहिनेत र निरन्तरता जरूरी हुन्छ । कथा र आवाज भन्नको लागि आफू यो क्षेत्रमा टिक्न जरूरी छ ।’
संगीता शरीरको आकारप्रकार र लवजको आधारमा हुने विभेद अन्त्य हुनुपर्ने बताउँछिन् । ‘यी कुराबाट अहिले पनि कति जना पीडित छन् । यी कुरा आउनुपर्छ’, उनी भन्छिन् ।

माथि नै भनिए जस्तो उनको एकल नाटक ‘गँगटो’ले उराँव समुदायको कथा भन्छ । यो नाटकलाई उनले खस नेपाली भाषामा मञ्चन गरेकी छन् । तर, अब उनी मातृभाषा कुडुखमा नाटक बनाउने तयारीमा छिन् । ‘कुडुख अहिलेसम्म रंगमञ्चमा आएको छैन । मातृभाषामा नाटक गर्छु । समय लाग्ला तर यसको तयारीमा जुटेकी छु’, मातृभाषालाई रंगमञ्चसँग जोड्ने तयारीबारे उनी भन्छिन् ।

दशक लामो करिअरमा संगीताले जति नाटकमा अभिनय गरिन्, ती अर्थपूर्ण र सन्देशपरक रहे । चरित्रको जीवन बाँच्ने कुरामा उनको मिहिनेत प्रष्ट देखिन्छ । हुनत आफूले बाँचेका चरित्र सबैलाई प्रिय लाग्छ, यद्यपि गरेका २० नाटकमध्ये रोजाइमा पाँच नाटक छन् जुन उनका लागि प्रिय छन् र जीवनको नजिक ।

नाटक ‘गँगटो’मा उनले प्रप्सविना कस्ट्युम लगाएर मात्रै ८ पात्र निर्वाह गरिन् । शीर्ष पात्र गँगटो त भैहाल्यो, रेखा नामक क्यारेक्टरमा पनि उनी देखिइन् । यो नाटकबाट उनले उराँव समुदाय र बाल्यकालको तस्वीर उतार्ने प्रयत्न गरिन् ।

‘पाहुना घरको साहुनी’ उनको अर्को दमदार नाटक हो जसमा उनले केटा पात्र बनेर अभिनय गरिन् । यसमा उनी नोकरको भूमिकामा थिइन् । उनको भनाइमा, जब मैले केटाको कस्ट्युम लगाउँथे नि, म बिन्दास थिएँ । आफू केटी हुनुको कुरा बिर्सिन्थें ।

स्वतन्त्रता र लैंगिक विभेद झल्काउने यो नाटकबारे उनी भन्छिन्, ‘केटाको लुगा लगाउने वित्तिकै फ्रिडम थियो । फ्रिडम महसुस हुन्थ्यो । केटाहरूले यस्तै फ्रिडम फिल गर्छन् भन्ने लाग्थ्यो । जब म त्यो कस्ट्युमबाट संगीताको क्यारेक्टरमा आउँथें कति कुराले बाँधिए जस्तो हुन्थ्यो ।’

कचहरी नाटक ‘कल्पना र उर्मिला दुःखमा छन्’ अर्को मर्मस्पर्शी सिर्जना हो । यसको कथा उनको जीवनसँग अभिन्न थियो । ‘थिएटर र पढाइको बाटो नरोजेको भए म पनि विवाह गरेर जान्थें’ भन्छिन्, ‘त्यो भोगाइ अहिले पनि मेरा साथीहरूको देखेकी छु । जो बच्चा पाएर घरमा बसिरहेका छन्, काम छैन । कसरी बाँचिरहेका छन्, जीविकोपार्जन गरिरहेका छन् । यो कुरा देख्दाखेरि दुःख लाग्छ ।’

यो नाटकले बालविवाहको यथार्थ पस्किएको थियो । ‘नाटकमा मैले यो कुराको महसुस गर्थें । पर्फमेन्स गर्दा हजारौंको भीडमा ५ मिनेटको मोनोलग थियो । हरेक अडियन्सको दर्शकको आभा रोएको देखें’ नाटकबारे उनले सम्झिइन् ।

अर्को नाटक ‘आँधीको मनोरम नृत्य’ले तराईको युवाको कथा भन्छ । ‘यसमा मेरो स्कुलको बच्चा थियो । यसले मेरो कुरा भन्दैछ भन्ने लाग्थ्यो । मेरो रङको कारणले गर्दा साथी नबन्ने, तराईको मान्छेलाई हेर्ने दृष्टिकोण मोनोलगमा थियो’, उनले भनिन् ।

पछिल्लो नाटक ‘अग्नि चक्षु’ मा उनको दोहोरो रोल छ । यो नाटकमा प्राचीन समयका दुई भिन्न पात्रको कथा छ । समाजशास्त्र अध्ययन गरिरहेको पात्र कुमारी र प्राचीनकालकी देवी तलेजु भवानी पात्र यसमा छन् । दुईटै आ–आफ्नो ठाउँमा शक्तिशाली चरित्र थिए । यी पात्रले त्यतिबेला पुरुषले गर्ने दुर्व्यवहारलाई खबरदारी गर्छन् ।

ती पात्रले अहिले पनि ह्यारेसमेन्टलाई खबरदारी गरेको जस्तै कथा भन्छन् । ‘भन्नुको अर्थ– त्यो बेला र अहिले पनि महिला संघर्ष गरिराख्या छन् तर पनि समानता पाइरहेका छैनन् भन्ने मलाई फिल भयो’, पछिल्लो नाटकबारे उनले भनिन् । तर, उनी कुनै पात्र भन्दा संगीता भएर बाँच्न चाहन्छिन् । ‘किनभने अरू जीवन बाँच्न सकिन्छ । मैले गरेका सबै पात्र प्यारा हुन्’, उनी भन्छिन् ।

नाट्य क्षेत्रमा पनि आफूले केही विभेदको महसुस गरेको अनुभव उनीसँग छ । नाटकमा महिला समानता कायम गर्ने हो भने महिलाको नेतृत्वलाई स्वीकार्नुपर्ने मत उनको छ । ‘यसका लागि विभेद र दमन हुनुभएन । महिला भएकै कारण हेर्ने दृष्टिकोण गलत हुनुभएन’ संगीता भन्छिन्, ‘महिलालाई सुन्ने र महिलाको नेतृत्वलाई स्वीकार्ने हुनुपर्छ । त्यो स्वीकार्य र गर्न खोजेको कुरालाई बुझिएन भने हराउँदै जान्छ ।’ पछिल्लो समय नाटकले समानताको कुरालाई बोकिरहेको र यो भारलाई अझै बढाउनुपर्ने उनको धारणा छ ।

हामीले फिल्म र पुस्तकमा बुझ्दै आएको कुरा के हो भने– हरेक नायकको पछाडि एक जना ‘मेन्टर’ हुन्छ । रंगकर्मी घिमिरे युवराज उनै हुन् जसले संगीतालाई शिल्पीसम्मको यात्रामा सँगै हिंडाए । यी पथप्रदर्शक संगीताको जीवन र नाट्य यात्राका साक्षी समेत हुन् ।

घिमिरे संगीताका दुई कुरा महत्वपूर्ण रहेको बताउँछन् । आफूले पाएको चरित्र निर्वाहको जिम्मा जतिसुकै सानो किन नहोस्, संगीताले त्यसलाई रोचक बनाउने उनको बुझाइ छ । दोस्रो– संगीता फिजिकल थिएटरमा ठीक छिन् । ‘उसको बडी थिएट्रिकल छ’, घिमिरे भन्छन् ।

विष्णु शर्मा