+

स्वर्ण धाविका

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
नेपाली खेलकुदमा ‘गोल्डेन गर्ल’ को नामले परिचित छिन् एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ । उनले जहाँ सहभागिता जनाइन्, त्यहाँ पहिलो हुने आदत बनाइन् । त्यसले नेपाली खेल जगतले उनलाई नयाँ नाम दियो– गोल्डेन गर्ल ।
सन्तोषी श्रेष्ठ

सन्तोषी श्रेष्ठ (३१) को पछिल्लो उपमा हो– ओलम्पियन । पेरिस ओलम्पिकमा उनले महिला म्याराथनमा प्रतिस्पर्धा गरिन् । पहिलो पटक ओलम्पिकको महिला म्याराथनमा सहभागिता जनाएकी उनले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेण्डमा पूरा गरिन् ।

नेपाली महिला धावकले यसअघि दुई पटक मात्र ओलम्पिकमा सहभागिता जनाएका छन् । पहिलो पटक १९८८ मा नेपालबाट राजकुमारी पाण्डे र मेनुका रावतले म्याराथन दौडिएका थिए भने १९९६ मा विमला राना मगरले भाग लिइन् । २८ वर्षपछि सन्तोषीले पेरिस ओलम्पिकको महिला म्याराथनमा नेपालको प्रतिनिधित्व गरिन् ।

‘हरेक खेलाडीलाई जस्तै मलाई पनि ओलम्पियन हुन पाए भन्ने हुन्थ्यो’ सन्तोषी भन्छिन्, ‘स्पिरिचुयलतिर लाग्नेहरूले मोक्ष भन्छन् नि ! मेरा लागि ओलम्पिक त्यही मोक्ष थियो । ओलम्पिक खेलेपछि मेरो जीवनले एउटा सार्थकता पायो भन्ने लाग्छ ।’

ओलम्पिकको महत्व दर्शाउँदै उनले अगाडि भनिन्, ‘डाक्टरको डीआर, इन्जिनियरको ई. भने जस्तो ओलम्पिनयको ओएलवाई ठूलो अचिभमेन्ट हो । ‘वान्स अ ओलम्पियन, अलवेज दि ओलम्पियन’ भन्ने लाइनले मलाई निकै हिट गर्छ ।’

सागको स्वर्णसँगै चम्किएकी

पब्लिक हेल्थ अध्ययन गरेकी सन्तोषीको सफलताको सुरुवात भने २०१९ डिसेम्बरमा १३औं दक्षिण एशियाली खेलकुद (साग) बाट सुरु भएको थियो । काठमाडौंमा भएको सागमा उनी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेकी थिइन्, अनि नेपाली महिलाले एथ्लेटिक्समा अन्तर्राष्ट्रिय स्वर्ण जितेको थिएन ।

१० हजार मिटरमा दौडिएकी सन्तोषीले स्वर्ण पदक नै जितिन् । भारतकी खेलाडीलाई १० मिलि सेकेण्डले उछिनेर उनी पहिलो भएकी थिइन् । त्यसपछि त उनले मध्यम दूरीको जुन प्रतियोगितामा भाग लिइन्, यहाँ पहिलो नै भइन् ।

नेपाली एथ्लेटिक्समा विभागीय खेलाडीहरूकै दबदबा थियो । सेवासुविधा राम्रो नभएका कारण खेलाडीहरू पनि विभागमा आवद्ध भएर सुरक्षित हुन चाहन्छन्, विभागीय टिमहरू पनि स्टार खेलाडीलाई अनुबन्ध गर्न आतुर हुन्छन् । सन्तोषी अवपाद रहिन् । विभागीय टिमभन्दा बाहिर बसिन्, अनि विभागीय टिममा आवद्ध भएका एकसेएक खेलाडीलाई उछिनेर पहिलो भइन् ।

सागपछि उनले छोटो तथा मध्यम दूरीमा १० भन्दा बढी प्रतियोगितामा भाग लिइन्, सबैमा पदक जितेकी थिइन् । नवौं राष्ट्रिय खेलकुदमा ५ हजार र १० हजार दुवैमा स्वर्ण पदक जितेकी थिइन् । यस्तै ४४औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा उनले १५०० र ३ हजार मिटरमा स्वर्ण जितेकी थिइन् । पहिलो अन्तर प्रदेश खेलकुदमा उनले ५ हजार र १० हजार दुवै विधामा स्वर्ण पदक जितिन् ।

त्यसपछि उनी लामो दूरीको दौडमा आइन्, त्यहाँ पनि उनको पहिलो हुने क्रम रोकिएन । २०२१ मा पहिलो पटक नेपालगञ्ज हाफ म्याराथन दौडिंदा रेकर्ड नै बनाइन् । उनले १ घण्टा १४ मिनेट १४ सेकेण्डको कीर्तिमान बनाएकी हुन् ।

त्यसपछि पोखरा, प्रधानसेनापति हाफ म्याराथन, लुम्बिनी पिसको हाफ म्याराथन जितेकी उनले नेपालगञ्ज हाफ म्याराथन २०२३ मा ह्याट्रिक नै पूरा गरिन् ।

अब बाँकी थियो म्याराथन । २०२४ को सुरुमा बंगबन्धु अन्तर्राष्ट्रिय म्याराथन मार्फत उनले म्याराथनमा डेब्यु गरिन् । ढाकामा २ घण्टा ४६ मिनेट २३ सेकेन्डमा दौड पूरा गरेकी उनले स्वर्ण मात्रै जितिनन्, नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाइन् ।
उनले पुष्पा भण्डारीको नाममा रहेको २ घण्टा ४८ मिनेटको राष्ट्रिय रेकर्ड समेत तोडिन् । पहिलो म्याराथनको त्यही कीर्तिमानी प्रदर्शन उनलाई पेरिस ओलम्पिक पुर्‍याउने आधार बन्यो ।

‘आई एम सेल्फ मेड प्लेयर’

धादिङको ज्वालामुखी गाउँपालिका ६ सुनखानीकी सन्तोषीले कक्षा ६ मा पढ्दा पहिलो पटक दौड जितेकी थिइन् । एसएसली दिएपछि खाली समयमा ट्रेनिङ पनि लिइन् । तर प्लस टुमा साइन्स पढ्न थालेपछि गेम र ट्रेनिङ दुवै छुट्यो ।

स्नातक तहमा पब्लिक हेल्थ पढ्दै गर्दा आफ्नो प्यासन दौडतर्फ पनि जाने रहर लाग्यो । ‘पढ्दै खेल्न सक्छु भन्ने लागेर नेक्स्ट जेनेरेसन र मेरै सहपाठीका लागि पनि उदाहरण सेट गर्छु र हौसला दिन्छु भन्ने लाग्यो’, उनले भनिन् ।

फेरि दौडिन सुरु गरेकी उनले सन् २०१५ मा ४०औं राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसिपमा भाग लिइन् । कान्छीमाया कोजु, विश्वरुपा बुढा जस्ता चर्चित खेलाडीहरूले भाग लिएको दौडमा उनले तेस्रो हुँदै काँस्य पदक जितिन् । त्यसले एथ्लेटिक्स करिअरलाई अघि बढाउन सहयोग गर्‍यो ।

यहीबेला उनको भेट ओलम्पियन प्रशिक्षक रघु वन्तसँग भयो, जसले दौडमा निरन्तरता दिन इन्फ्लुएन्स र इन्फोर्स गरेको सन्तोषी बताउँछिन् । सायद रघु वन्तसँग भेट नभएको भए सन्तोषीको करिअर यहाँसम्म नपुग्न पनि सक्थ्यो । त्यसैले उनी वन्तलाई आफ्नो मेन्टर जस्तै मान्छिन् । भन्छिन्, ‘आफ्नै बाटोमा गइरहेको मान्छेलाई तिम्रो डेस्टिनेसन टपमा छ, तिमी पुग्छौ भनिदिने मेन्टर हुनुहुन्छ ।’

२०१९ मा भएको १३औं सागमा स्वर्ण जितेपछि त उनको करिअरले अर्कै गति लियो । उनी तत्कालै विभागीय टोलीहरूको नजरमा परिहालिन् । ‘सुरुमै पुलिसले प्रस्ताव गरेको थियो । केहीअघि मात्र एपीएफले पनि प्रस्ताव गरेको थियो’, सन्तोषीले सुनाइन् ।

एथ्लेटिक्स मात्रै होइन, नेपाली खेलकुद नै तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र एपीएफले धानेको छ भन्दा फरक पर्दैन । भविष्य सुरक्षित गर्न मात्र होइन, निरन्तर अभ्यासकै लागि पनि विभागमा जोडिनुपर्ने अवस्था छ ।

सामान्य परिवारमा जन्मिएकी उनलाई काठमाडौंमा बस्न, न्युट्रिसन र चोट लागेको बेला उपचार गर्न आर्थिक रूपमा निकै गाह्रो थियो । तथापि एक दशकमा उनले सिभिल खेलाडीका रूपमा पनि राम्रो गर्न सकिन्छ भन्ने प्रमाणित गरेकी छन् ।

‘अरू देशहरूमा खेलाडीहरू कर्पोरेट हाउसहरूमा अनुबन्ध हुन्छन्, तर नेपालमा त्यस्तो छैन’ सन्तोषी भन्छिन्, ‘विकल्प भनेको विभागमा जाने हो, नभए भविष्य सुनिश्चित नै छैन ।’

सुरु–सुरुमा सन्तोषीलाई पनि मानिसहरूले विभागीय टिमकै खेलाडी भएको अनुमान गरेका थिए । ‘म पब्लिक खेलाडी हो भन्दा सबैले अचम्म मान्थे, कसरी भयो भन्थे’ उनको तितो अनुभव सुनाइन्, ‘होइन होला भन्दा आफ्नो आत्मसम्मानमा ठेस पुगेको महसुस गर्थें ।’

उनले आफैंलाई प्रश्न गरिन्, ‘विभागभन्दा बाहिरको खेलाडी के च्याम्पियन नै नबन्ने त ?’ अनि अठोट गरिन्, ‘च्याम्पियनहरू विभागका खेलाडीहरू मत्र हुन्छन् भन्ने सोचलाई चिर्छु ।’

सामान्य परिवारमा जन्मिएकी उनलाई काठमाडौंमा बस्न, न्युट्रिसन र चोट लागेको बेला उपचार गर्न आर्थिक रूपमा निकै गाह्रो थियो । तथापि एक दशकमा उनले सिभिल खेलाडीका रूपमा पनि राम्रो गर्न सकिन्छ भन्ने प्रमाणित गरेकी छन् ।

‘म चाहिं विभाग बाहिरको सेल्फ मेड प्लेअर हुँ’, सन्तोषीले आफूलाई यसरी चिनाउँछिन् । आफ्नो नाम सन्तोषी श्रेष्ठलाई नै ब्रान्ड बनाइसकेकी उनी आगामी दिनमा पनि विभागीय टोलीमा जाने पक्षमा छैनन् ।

परिवार, प्रशिक्षक र साथीभाइले यहाँसम्म आइपुगेकी उनी भनिन्, ‘मेरो जीवन नै पूरै उथुपुथल हुनेभयो भने सोच्नुपर्ला, नभए आफ्नो ब्रान्ड बिगारेर विभागमा जान्नँ ।’

उनी विभागीय टोलीमा जान नसकेका वा जान नचाहेका लागि थप प्रेरणा बन्न चाहन्छिन् । ‘अबको लक्ष्य भनेको खेलकुदमा व्यावसायिकता सुरु गर्नु हो’ देश बाहिरका कम्पनी तथा संस्थाहरूलाई नेपालमा क्षमता छ भन्ने परिसकेको भन्दै सन्तोषी श्रेष्ठले भन्छिन्, ‘अन्तर्राष्ट्रिय एरिनामा नेपालको एउटा खेलाडी यस्तो राम्रो छ है भन्ने पार्छु । स्पोन्सर लिनसक्ने प्रदर्शन गर्छु ।’

गोविन्दराज नेपाल