
सर्लाहीको बरहथवा नगरपालिका–१० की वडाअध्यक्ष शर्मिला घरभित्र बुहारी र घर बाहिर जनप्रतिनिधिको भूमिकामा उभिनुपर्छ । घर–व्यवहार उनको बाध्यता हो, समाजसेवा रहर । उनले रहरले गर्ने काममा लगनशीलता देखाएकी छन्, आफ्ना मतदातालाई खुसी राख्ने कोसिस गरेकी छन् ।
उनको कामबाट उनी आफूभन्दा बढी वडावासी सन्तुष्ट छन् । ‘जतिबेला खोज्दा पनि हाम्रो काममा तयार रहनुहुन्छ । चाहिएको बेलामा हामीसँगै भइदिनु नै हाम्रा लागि खुसीको कुरा हो’, स्थानीय पुनिता यादव भन्छिन् ।
शर्मिलाका लागि पनि आफ्नो व्यक्तिगत जीवन भन्नु नै वडावासीको सेवा हो । ‘मलाई जनताका काम गरेरै खुसी मिल्छ । कति गर्न सकेकी छु भन्ने अरूले मूल्यांकन गर्ने कुरा हो’ शर्मिला भन्छिन्, ‘मैले सक्ने जति गर्नुपर्छ भनेर लागिरहेकी हुन्छु । आपत्विपद् वा समस्यामा सक्ने सहयोग गर्न प्रयासरत रहन्छु । मलाई विश्वास गरी जिताउने जनताको लागि म अग्रसर त हुनैपर्यो नि !’
उनका लागि काम गर्न सजिलो हुनु वडाका अन्य जनप्रतिनिधिको साथ पनि हो । शर्मिलाका देवर हरिनन्दन रामले निर्वाचनको दुई महिनाअघि मात्रै आयोगमा दर्ता गरेको बहुजन एकता पार्टीबाट उनी सहितको प्यानल नै वडामा विजयी भएको थियो ।
पार्टी नयाँ भए पनि समाजमा लामो समयदेखि आफूले गरेको कामले चुनाव जितिन्छ भन्ने विश्वास उनलाई थियो । ‘जितिन्छ भन्ने विश्वास मलाई थियो । चुनावमा मसँगै सबै वडा सदस्यहरूको प्यानलले नै जित्यो । त्यसमा मेरो विगतले काम गरेको हो’, शर्मिला भन्छिन् ।
तलब बालबालिकाको शिक्षामा खर्च
निर्वाचित भएपछि पहिलो आर्थिक वर्ष २०७९/८० मा उनको वडाले पालिकाबाट ४४ लाख रुपैयाँ बजेट पाएको थियो । त्यसलाई उनले वडाको शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारमा खर्च गरेकी छन् ।
महेन्द्र रत्न माध्यमिक विद्यालय सीतापुरमा सरकारी जागिरमा नाम निकाल्न चाहनेका लागि उनले तीन महिने लोकसेवा कोचिङ सञ्चालन गराएकी थिइन् । बालबालिकालाई विद्यालय जान र पढ्नप्रति जागरुकता बढाउन ८०० वटा किताब बोक्ने झोला वितरण गरिन् । यस्ता सबै काम गर्न वडामा बजेट हुँदैन । उनी आफ्नो तलब भत्ता खर्च गरेर भए पनि शिक्षा क्षेत्रमा काम गरिरहेकी हुन्छिन् ।
वडाका किसनपुर र सीतापुर लगायत बस्तीमा विपन्न बालबालिकाका लागि उनले नियमित ट्युसन सञ्चालन गरेकी छन् । जहाँ करिब ३०० बालबालिका पढ्छन् । त्यसको खर्च सबै उनले आफ्नै तलबबाट व्यवस्था गरिदिएकी छन् ।
उनी आउने वर्षदेखि केही सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गराउने योजनामा छिन् । यसले आम मान्छेको सामुदायिक विद्यालयप्रति विश्वाससँगै गुणस्तर पनि बढ्ने शर्मिलाको बुझाइ छ । सिंचाइको समस्या रहेका क्षेत्रमा उनले ३४ वटा स्यालो ट्युवेल खेतमा जोडेकी छन् ।
‘म महिला, त्यसमा पनि दलित । तल्लो जातकी छोरीलाई नमस्कार गर्नुपर्छ भन्ने संकीर्णता देखाउँछन् । केही राजनीतिक दलका व्यक्तिहरू मान्छेलाई उक्साउँछन्’ शर्मिला भन्छिन्, ‘जसरी मैले काम गरिरहेकी छु, भोलि गएर आफ्नो राजनीतिक भविष्य चौपट हुन्छ कि भन्ने चिन्ताले पनि उनीहरू कुनै कुनै काममा अड्चन हाल्छन् ।’
वडाअध्यक्ष जित्नुअघि पनि उनी ६ वर्षदेखि समाजसेवामै थिइन् । राजनीतिसँगै समाजसेवामा सक्रिय रहेकी उनी आम समस्या बारे परिचित छन् । मधेशी समुदायमा दलित त्यसमा पनि महिलामाथि हुने उत्पीडन चरम छ । उनले यी सबै चुनौतीलाई चिर्न सकेकी छन् । उनले त्यसलाई राजनीति र समाजसेवा मार्फत चिर्न सकेकी छु भन्ने बुझेकी छन् ।
महिला जागरणका लागि आवाज उठाउने उनले समानताका लागि मधेशी महिला आफूले लगाउने घुम्टोबाट बाहिर आउनुपर्छ भनेर अभियान चलाएकी थिइन् । घरको आर्थिक अवस्थाका कारण पढ्नबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्याउन अभिभावकलाई परामर्श दिनेदेखि विपन्न परिवारलाई कापी–कलम समेतमा उनी सहयोग गर्छिन् ।
कोरोना महामारीको बेला भोकमरीको चपेटामा परेका विपन्न परिवारका लागि उनले राहत संकलन र वितरण अभियान चलाएकी थिइन् ।
अहिले वडाध्यक्ष निर्वाचित भएर काम गरिरहँदा पनि उनका सामु चुनौतीका चाङ छन् । आफू निष्पक्ष रूपमा काम गर्दा पनि अन्य राजनीतिक दलका व्यक्तिहरूबाट अवरोध सिर्जना हुने गरेको उनको गुनासो छ । महिला र त्यसमा पनि दलित समुदायप्रति संकीर्ण मानसिकता भएका व्यक्तिहरूले आफ्नो सुधारका काम पचाउन नसकेको उनको बुझाइ छ ।
‘म महिला, त्यसमा पनि दलित । तल्लो जातकी छोरीलाई नमस्कार गर्नुपर्छ भन्ने संकीर्णता देखाउँछन् । केही राजनीतिक दलका व्यक्तिहरू मान्छेलाई उक्साउँछन्’ शर्मिला भन्छिन्, ‘जसरी मैले काम गरिरहेकी छु, भोलि गएर आफ्नो राजनीतिक भविष्य चौपट हुन्छ कि भन्ने चिन्ताले पनि उनीहरू कुनै कुनै काममा अड्चन हाल्छन् ।’
यद्यपि, समाजमा काम गर्ने क्रममा घरपरिवार र समाजबाट पाउने सहयोगले शर्मिलाको आत्मबल बढेको छ । आफू समाजसेवामै रहँदा पहिल्याएका समस्यालाई क्रमिक रूपमा समाधान गर्ने प्रयासमा उनको लगाव छ ।
तीन वर्षभित्र शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडकसँगै भौतिक पूर्वाधारको न्यूनतम समस्या हल गर्ने उनको लक्ष्य छ । यदि पूर्ण रूपमा समाधान गर्न नसके आगामी चुनावमा पुनः वडाअध्यक्ष दोहोर्याउने योजनामा छिन् शर्मिला ।
बुबाको प्रेरणा
बुबा रामआश्रय राम नेकपा एमालेको स्थानीय कार्यकर्ता थिए । शर्मिला ५ वर्षकै हुँदा बुबा रामआश्रयको जनकपुरको एक आन्दोलनमा सहभागी हुन पुगेका बेला सवारी दुर्घटनामा परेर मृत्यु भयो । परिवारकी कान्छी छोरी ३४ वर्षीया शर्मिलाले आफ्नै बुबाको प्रेरणा पाएर सामाजिक कार्य थालेकी हुन् ।
बुबा रामआश्रय गाउँमै दलित समुदायका अगुवा नेता थिए । मृत्यु पश्चात् बुबाले समाजमा छाडेको छापको चर्चा हुन्थ्यो । समाजसेवा तथा राजनीतिमा लागेर बुबाको सपना पूरा गर्नुपर्छ भन्ने सोच सानैबाट शर्मिलामा थियो ।
‘बुबाको राजनीतिक प्रेरणाले नै समाज रूपान्तरणमा लागें । बुबाको चाहना थियो समाज रूपान्तरण होस् । जातीय विभेद अन्त्य होस् । विकास र समृद्धि होस् । कोही भोकै र अशिक्षित नहोस्’ उनी भन्छिन्, ‘बुबाको त्यो अधुरो सपना पूरा गर्ने उद्देश्यले म राजनीतितिर लाग्न खोजें । यसमा मेरो घरपरिवारले पनि जोडबल गर्यो ।’
गाउँकै मध्यमवर्गीय घरपरिवार, विवाह पछि पारिवारिक सदस्यहरू शिक्षित हुँदा उनी समाजसेवातिर लागिन् । दाजु भुपेन्द्र विज्ञान विषयका शिक्षक छन्, दिदी निर्मला मिथिला आर्टको काम गर्छिन् । शर्मिला १३ वर्षकै छँदा उनको विवाह रामनरेश रामसँग भयो । श्रीमान् रामनरेशको जोडबलमाा बिहेपछि नै उनले २०६५ मा एसएलसी पास गरिन् । खरिदारबाट सरकारी जगिरेमा प्रवेश रामनरेश अहिले मलंगवा नगरपालिकामा शाखा अधिकृत छन् ।
१५ वर्षकी छोरी र १३ वर्षका छोरा छन् । छोरी अनमिका कक्षा ७ र छोरा अनाम ६ मा पढ्छन् । शर्मिलाको संयुक्त परिवारमा देवरानी र सासूले घरको भार सम्हालेपछि उनलाई सामाजिक सेवामा लाग्न सहज भएको छ । घरपरिवारको सहयोगले समाजसेवासँगै राजनीतिमा उनी अब्बल बन्दै गइरहेको स्थानीयहरू बताउँछन् ।
केही वर्ष यता थाइराइड रोगबाट पीडित उनको स्वास्थ्यमा बेलाबेलामा समस्या देखिइरहन्छ । त्यस्तो बेलामा उनी वडाका अरू सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएर आराम गर्छिन् । समाज रूपान्तरणमा काम गरेबापत थुप्रै सम्मान प्राप्त गरेकी शर्मिलाका लागि जनताको माया नै सर्वेसर्वा हो भन्ने लाग्छ ।
– शैलेन्द्र महतो