
सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा महासंघका पूर्व सभापति र अध्यक्षहरूको तस्बिर लहरै राखिएको छ । कृष्णप्रसाद भट्टराईदेखि विपुल पोखरेलसम्मका निर्वाचित सभापति र अध्यक्षहरूमा सबै पुरुष छन् । तीन महिना अघिको निर्वाचन परिणामले त्यहाँ अब एक जना महिलाको पनि तस्बिर रहनेछ । उनी हुन्, निर्मला शर्मा ।
सातदशक लामो इतिहास भएको महासंघको नेतृत्वमा उनी कसरी पुगिन् ? यो थाहा पाउन तीन दशक अघि फर्कनुपर्छ । २०५३ सालको कुरा हो, निर्मला शर्मा भर्खरै पत्रकारितामा प्रवेश गरेकी थिइन् । त्यतिबेला खुलेको श्री सगरमाथा दैनिकमा उनले संसद्को रिपोर्टिङको जिम्मेवारी पाएकी थिइन् । २०५१ सालको मध्यावधि निर्वाचनपछि नेपालमा ‘हङ पार्लियामेन्ट’ थियो । दुई वा तीन दल मिलेर सरकार बनाउनुपर्ने अवस्था थियो । गठन भएका सरकार प्रायः एक वर्ष नहुँदै ढल्थे ।
त्यसबेला हरेक बैठकपिच्छे भोलिपल्टका लागि प्रतिनिधिसभा बैठकको समय तोकिन्थ्यो । अनि बिहान सूचना टाँसेर बैठक स्थगित हुन्थ्यो । बेलुकी ५/६ बजेतिर मात्रै बैठक शुरू हुन्थ्यो । संसद्को बैठक सकिंदा कहिलेकाहीं त मध्यरात नै हुन्थ्यो ।
एक दिन प्रतिनिधिसभाको बैठक राति झन्डै १ बजेसम्म चल्यो । बैठक सकिएपछि उनी कार्यालयका एक सहकर्मीसँग सिंहदरबारबाट श्री सगरमाथा दैनिकको कार्यालय बागबजारतिर लागिन् । सिंहदरबारको मूल गेटमा पुगेपछि ती सहकर्मी छिटो–छिटो आफ्नो बाटो लागे ।
‘त्यो मध्यरातमा म एक्लै सिंहदरबारबाट पुतलीसडक र बागबजारको गल्ली हुँदै कार्यालय पुगेर समाचार लेखेकी छु’ उनी सम्झिन्छिन्, ‘त्यतिबेला अहिले जस्तो गाडी चढ्ने पत्रकार थिएनन् भन्दा हुन्छ । बाइक र स्कुटर चढ्ने हैसियतमा पनि थोरै मात्रै थिए । गल्लीभरि भुकिरहेका कुकुर छलेर अफिस पुग्नुपथ्र्यो । कहिलेकाहीं त समाचार सकेर घर पुग्दा उज्यालो नै हुन्थ्यो ।’
छोरी होस्टलमा छोडेर रिपोर्टिङमा
निर्मला शर्माले पोखरामा विद्यालय र आई.एड. (त्यतिबेलाको शिक्षा समूहको प्लस टु सरह) अध्ययन गरिन् । ब्याचलर पढ्न काठमाडौं आइन् । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अंग्रेजीमा एमए गरिन् । अनि मावि तहको शिक्षकका लागि प्रतिस्पर्धा गर्न खोजिन् । तर, रिजल्ट आउन समय लाग्यो ।
यहीबेला श्री सगरमाथा र एभरेष्ट हेराल्ड दैनिक प्रकाशनको चरणमा थिए । श्री सगरमाथा दैनिकले अंग्रेजीबाट नेपालीमा समाचार सामग्री उल्था गर्ने अनुवादक मागेको थियो । शर्माले आवेदन दिइन् । उनलाई अन्तर्वार्तामा बोलाइयो । रुचिको विषय सोधेपछि उनले जवाफ दिइन्, ‘मलाई रिपोर्टिङ गर्ने रुचि छ ।’
तीन महिना प्रशिक्षार्थीका रूपमा काम गरेपछि उनले रिपोर्टरको भूमिका पाइन् । पहिलो जिम्मेवारी नै संसद् रिपोर्टिङको दिइयो । अरू विधाका रिपोर्टिङमा महिलाहरू भए पनि संसदीय रिपोर्टिङमा उनी एक्ली जस्तै थिइन् । श्री सगरमाथाबाट मात्रै होइन, अन्य सञ्चारमाध्यमबाट पनि राजनीतिक मामिला रिपोर्टिङ गर्ने महिला प्रायः देखिंदैनथे । रमा पराजुली भने त्यसबेला नियमित संसद् गइरहन्थिन् ।
संसदीय गतिविधिको समय निश्चित नहुने भएकाले प्रायः बेलुकी शुरू हुने बैठक राति अबेर मात्रै सकिन्थे । त्यहाँबाट हिंडेर कार्यालय पुगेर कागजमा हातले समाचार लेख्नुपथ्र्यो । रिपोर्टरहरूले समाचार टाइप गर्ने चलन नै थिएन । उनीहरूले लेखेको समाचार टाइप गर्न छुट्टै कर्मचारी हुन्थे ।
श्री सगरमाथाका प्रधान सम्पादक हिरण्यलाल श्रेष्ठ पछि सांसद पनि बने । समाचार कक्षले प्राथमिकतामा राखेकाले संसदीय गतिविधिलाई रिपोर्टरहरूले प्राथमिकता दिनुपथ्र्यो । समाचार कक्षमा राजनीतिक समाचार लेख्ने एक्लो महिला, रातिसम्म बसेर रिपोर्टिङ गर्नु, बागबजारको गल्ली छिचोल्दै कार्यालय पुग्नु र काम सकेर मध्यरातमा घर फर्किनु उनको नियमित कर्म थियो ।
४ असोज, २०५३ को कुरा हो; बहुचर्चित महाकाली सन्धिको पक्ष/विपक्षमा मतदान हुँदा रात निकै छिप्पिएको थियो । त्यस्तै कतिपय बेला अविश्वास प्रस्ताव माथि मतदान भएर अफिस पुग्दा झण्डै बिहान हुन्थ्यो । ‘मध्यरातको परिश्रमले होला त्यतिबेला पत्रिकाको ले–आउट प्रिन्ट नभएसम्म अफिसबाट निस्कन मन लागेन’ उनी भन्छिन्, ‘घर पुग्दा अर्को दिनको बिहान भइसकेको थियो ।’
छापामाध्यमको दबदबा भएकोले त्यतिबेला पत्रकारहरू बाइलाइनबाट चिनिन्थे, जसको प्रभावकारी रूपमा बाइलाइन आयो, ऊ स्थापित हुन्थ्यो । ‘हामीलाई बाइलाइनको असाध्यै लोभ हुन्थ्यो’ उनी सम्झिन्छिन्, ‘पत्रिकाहरूले राजनीतिक समाचार र संसदीय गतिविधिलाई उच्च प्राथमिकता दिएर पहिलो पेजमा छाप्थे । आफ्नो समाचारले प्राथमिकता पनि पाउने र प्रायः बाइलाइन पनि पाइने हुँदा म राजनीतिक रिपोर्टिङमा आकर्षित थिएँ ।’
शर्माले पत्रकारिता शुरू गर्दा दुई छोरीहरू सानै थिए । ठूली कक्षा एकमा पढ्थिन्, सानी भर्खरै स्कूल जान थालेकी थिइन् । उनको कार्यालय जाने समय ठेगान हुन्थ्यो, फर्कने हुँदैनथ्यो । हरेक दिन घर फर्कंदा मध्यरात हुन थालेपछि कठिनाइ भयो ।
‘आफ्नो समस्या अफिसमा बतायो भने त्यसलाई नै कमजोरी मानेर प्रहार हुन्छ भन्ने मेरो मनोविज्ञान थियो’ उनी भन्छिन्, ‘अनि केही समयपछि नै स–साना छोरीहरूलाई होस्टलमा राखिदियौं । ८/९ कक्षामा पुगेर ठूला भएपछि बल्ल घरबाट पठाउन थालेका हौं ।’
संसददेखि देहातसम्म
२०५४ सालमा शिक्षक सेवा आयोगले मावि शिक्षकको परीक्षाफल प्रकाशित गर्यो । लिखित परीक्षामा शर्माको नाम निस्कियो । तर उनी अन्तर्वार्तामा गइनन् । ‘मलाई त्यतिबेला पत्रकारितामा यति लत बसेको थियो कि, मैले अरू पेशाबारे सोच्नै खोजिनँ’ उनी भन्छिन्, ‘यो थाहा पाएर मलाई बुबाले निकै गाली गर्नुभयो ।’ आफैं पनि शिक्षक रहेका शर्माका बुबालाई छोरी शिक्षण पेशामै भए हुन्थ्यो भन्ने लागेको रहेछ ।
त्यसबेला पत्रकारहरूलाई टेलिफोन सुविधा थिएन । अफिसको कुनामा टेलिफोन बुथ हुन्थ्यो, त्यहीं गएर समाचार स्रोतहरूलाई फोन गर्नुपर्थ्यो । त्यतिबेला उनको ‘न्याय दिलाउनेहरूकै घरमा अन्याय’ शीर्षकमा समाचार छापियो । कानूनतः गैरकानूनी भए पनि त्यतिबेलाका कतिपय सांसद, कानून व्यवसायी, पूर्वप्रधानमन्त्री लगायतले बहुविवाह गरेका थिए ।
त्यसमाथि प्रश्न उठाई गरिएको रिपोर्टिङ निकै चर्चित भयो । तत्कालीन महान्यायाधिवक्ता समाचारका कारण निकै आक्रोशित भए । ‘कानून छ तर त्यसको पालना भएन भन्ने एङ्गलमा समाचार लेखिएको थियो’ उनी भन्छिन्, ‘कानून कार्यान्वयन हुनेभए सबैलाई लागू हुनुपर्छ, नभए खारेज हुनुपर्छ भन्ने आशयमा समाचार थियो ।’
श्री सगरमाथा दैनिक लामो समय बजारमा टिक्न सकेन, बन्द भयो । शर्मा त्यसपछि रेडियो नेपालमा संलग्न भइन् । बिहान ‘आजको अखबार’ कार्यक्रम चलाएर दिउँसो उनी सारथि साप्ताहिकका लागि काम गर्न थालिन् ।
त्यतिबेला (अहिले पनि) रेडियो नेपालमा चरम राजनीतिक हस्तक्षेप हुन्थ्यो । रेडियो नेपालका कार्यक्रमहरूमा सरकार फेर–बदलको तत्काल असर पथ्र्यो । दुई वर्ष काम गरेपछि सरकार बदलियो, उनले रेडियो नेपाल छाडिन् । अनि रेडियो सगरमाथामा आवद्ध भइन् । २०६२/६३ को आन्दोलन अघिसम्म उनले यहाँ रेडियो पत्रकारिता गरिन् ।
करीब एक दशक पत्रकारिता गर्दा उनी महिलाहरूले स्थापना गरेर सञ्चालनमा ल्याएको सञ्चारिका समूहमा विभिन्न भूमिकामा संलग्न थिइन् । २०६२ सालमा उनी सचिव भएको बेला सञ्चारिका समूहले ‘सञ्चारिका फिचर सेवा’ शुरू गर्यो । उनले त्यहाँ आउने सामग्रीहरू संयोजन र सम्पादन गर्न थालिन् । केही समय कम्युनिकेसन कर्नरमा कार्यक्रम सञ्चालन गरिन् ।
एक दिन शान्ति र लोकतन्त्रका लागि पेशागत संगठन (पापड) ले आन्दोलनको तयारीका क्रममा कार्यक्रम राखेको थियो । सबै पेशाकर्मीका संघ–संगठनका प्रतिनिधि उपस्थित हुँदा त्यहाँ नेपाल पत्रकार महासंघका पदाधिकारी अनुपस्थित थिए । केन्द्रीय सदस्य निर्मला शर्मा कार्यक्रममा सहभागी हुन नभई रिपोर्टिङका लागि त्यहाँ पुगेकी थिइन् ।
कार्यक्रममा सहभागी पेशाकर्मीहरूले शर्मालाई नै पत्रकार महासंघको प्रतिनिधित्व गरेर मञ्चमा बोलाए र बोल्ने अवसर दिए । उनले ‘नागरिक अधिकार हनन् भएको अवस्थामा पत्रकारहरू मौन रहन सक्दैनन्, महासंघले शाही कदमको विरोध गर्छ’ भनेर मन्तव्य दिइन् । केही दिनपछि पत्रकार महासंघले पनि सडकमा जाने निर्णय गर्यो ।
पत्रकारिताका दौरान शर्माले व्यावसायिक उतारचढाव मात्रै होइन, हिंसा र दुर्व्यवहार पनि भोगेकी थिइन् । उनका भनाइमा, सूचना दिने स्रोतहरूले कहिलेकाहीं समस्यामा पार्न खोज्थे । पेशागत कामले भेटघाट भइसकेपछि उनीहरूले कहिलेकाहीं विना काम ‘फेरि भेटौं न’ भनेर प्रस्ताव गर्थे । घरमा फोन राखेपछि पनि यस्तो हैरानी खेप्नुपर्यो । उनी भन्छिन्, ‘घरको फोनमा कलर आईडी राख्नैपर्यो ।’
सञ्चारिका समूहमा सक्रिय हुन थालेपछि उनी महासचिव बनिन् । त्यतिबेला लैंगिक मुद्दा लगायतका सवालमा पुरुषहरूकै कलम बढी चल्थ्यो । पछि महिलाहरूले तालिम पाउन थाले, अनि उनीहरूका लेखहरूले सञ्चारमाध्यममा ठाउँ पाउँदै गए । उनका भनाइमा, त्यतिबेला सञ्चारिका समूहले बहुविवाह, भ्रूणहत्या लगायत विषयमा नीतिगत प्रभाव पार्ने गरी फिचर सामग्री प्रकाशित गरेको थियो ।
२०७० सालमा महिलाहरूका समस्या र लैंगिक न्यायलाई केन्द्रमा राखेर सञ्चारिका समूहले समकोण टेलिभिजन कार्यक्रम शुरू गर्यो । टेलिभिजनको प्राइम टाइममा महिला सम्बन्धी छलफल र बहस कार्यक्रम नराखौं भनेर जोडबल पनि भयो । उनी भन्छिन्, ‘टेलिभिजन व्यवस्थापक र सम्पादकहरूले समेत प्राइम टाइममा यस्ता विषय कसले हेर्छ र भनेर प्रश्न गर्थे !’
समकोणले त्यतिबेला तराईका देहातदेखि कर्णालीका डाँडाकाँडा पुगेर स्थानीय मुद्दा र सवालहरू उठाएको थियो । शर्माका भनाइमा, करीब साढे ३०० अंक प्रसारण हुँदा संविधान निर्माणदेखि लैंगिक न्याय लगायत विषयहरू नै कार्यक्रमका विषयवस्तु बने । कोरोना महामारी फैलिनु अघिसम्म ‘समकोण’ कार्यक्रम सञ्चालनमा थियो ।
सञ्चारिका समूहको नेतृत्वमा रहँदा र देशभर महिला पत्रकारहरूको नेटवर्क बनाएकी शर्मा स्वयंलाई पनि ‘समकोण’ ले दूरदराजमा ज्यादा चिनायो ।
उनी भन्छिन्, ‘महिला मुद्दामा महिलाहरूले नै आवाज उठाउनुपर्छ भन्ने तर्कहरू एकातिर छन् । तर, हामीले उठाएका कैयौं सवालबारे पुरुषहरूले पनि स्पष्ट रूपमा आफ्नो दृष्टिकोण राख्ने र समाज सुधारको विषयमा वकालत गर्नुभएको थियो । त्यसले मलाई निकै उत्साहित बनाएको थियो ।’
अनि बनिन् पत्रकारको नेता
अनुभव र नेटवर्कका कारण पत्रकार शर्मालाई पत्रकारको नेता पनि बन्न मन थियो । उनले नेपाल पत्रकार महासंघको नेतृत्वमा पुग्ने चाहना राखिन् तर पहिलो पटक सफल भइनन् । कोषाध्यक्ष, महासचिवको प्रतिस्पर्धामा पराजित भएकी शर्मा अध्यक्ष पदमा पनि पराजित भइन् । तर २०८१ पुसमा भएको निर्वाचनमा महासंघको नेतृत्वमा पुगिन् ।
सात दशक लामो इतिहासमा महासंघले पहिलो पटक महिला नेतृत्व पाएको हो । यति लामो इतिहास बोकेको मुलुकको नागरिक संस्थाको नेतृत्वमा पुरुष विरासत तोड्दै उनी नेतृत्वमा पुगेकी हुन् । हत्तपत्त महिलालाई नेता मान्न तयार नहुने समाजमा १३ हजार पत्रकारको नेतृत्व गर्दै शर्मा अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।
अध्यक्ष निर्वाचित भएयताका साढे दुई महिना अवधिमा उनी पत्रकारको समस्यासँग अझ नजिकबाट परिचित हुन पाइन् । कैयौं सक्रिय पत्रकारहरूले विभिन्न कारणले पेशा छाड्दै गएका छन् । मिहिनेत गरेर हिंडेकाहरूले पनि प्रतिकूल परिस्थिति बेहोरिरहेका छन् । ३० वर्षसम्म पत्रकारितामा सक्रिय भएकाहरू अन्यत्र हिंडेका उदाहरण छन् । यो अवस्थामा व्यावसायिक संस्थाको नेतृत्व गरेकी शर्माका अगाडि प्रशस्त चुनौती छन् ।
‘वर्षौंदेखि काम गरेका पत्रकार विभिन्न बाधा–अड्चन खेप्नु परेर अन्यत्र लागेका उदाहरण छन्’ उनी भन्छिन्, ‘काम गर्ने वातावरण एउटा कुरा हो, त्यसमा पनि महिलालाई स्वीकार गर्नु अर्को सवाल हो । उसको नेतृत्वलाई समाजले कत्तिको स्वीकार्छ भन्ने मुख्य प्रश्न हो ।’
महासंघको नेतृत्वमा आएपछि भने उनले समग्र पत्रकारहरूको समस्या सम्बोधन गर्नुपर्नेछ । महिला पत्रकारलाई समाचार कक्षको नेतृत्वमा पुर्याउनुपर्ने वकालत गरिरहने उनी अहिले भने पत्रकारहरूलाई पेशामै टिकाउन चुनौती व्यहोरिरहेकी छिन् ।
एउटा कार्यक्रमको सिलसिलामा अमेरिका पुग्दा नेपालमा कुनै समय सक्रिय पत्रकारहरूको ठूलो संख्या भेला भएको देखेपछि उनी छक्क परेकी थिइन् । उनी भन्छिन्, ‘पत्रकारका आधारभूत सुविधाका विषय छन् । पेशामा भविष्य नदेखेकाहरू अन्यत्र लागेका छन् । कोभिडपछि त झन् थुप्रै पत्रकारहरू पलायन भएका छन् । अब त पत्रकारहरूलाई पेशामा टिकाउनु नै मुख्य चुनौती देख्छु ।’