
अहिले उनलाई धेरैले ‘मदर रेबिका’ भनेर चिन्छन् । बाल्यकालमा उनको नाम उर्मिला थियो । बालखैदेखि जीवन संघर्षमा बित्यो । जीवनका पाना पल्टिंदै जाँदा २०५१ सालतिर बुटवलको एउटा चर्चमा उनको पुनः नामकरण भयो– ‘रेबिका’ ।
त्यसपछि उनी आफ्नो पुरानो नाममा फर्किइनन् । परिवारबाट भोग्नुपरेको तिरस्कार, चोट, अपमानकै कारण अहिले रेबिकालाई ‘उर्मिला’ नामतिर फर्किन मन लाग्दैन । उनी भन्छिन्, ‘मलाई बाल्यकालको नाम मात्रै होइन, बिहेपछिको थरसँग पनि सेन्टिमेन्ट छैन ।’
सोही कारण उनले ठूलै संघर्ष गरेर नागरिकतामा आफ्नो माइतीकै नाम फर्काएकी छिन्– ‘रेबिका सहाने क्षेत्री’ । अहिले काठमाडौं बबरमहलस्थित ‘विवेक स्वच्छ केन्द्र बाल आश्रम’ मा भेटिन्छिन् रेबिका । ‘विवेक’ रेबिकाको स्वर्गीय छोराको नाम हो । जसको नामबाट आश्रम चलाएर उनी ३५ बढी बालबालिकाकी सहारा बनिरहेकी छिन् ।
०००
रेबिकाको परिचयात्मक पृष्ठभूमि फरक छ । उनी देशकै पहिलो ‘हेभी गाडी चालक महिला’ हुन् । उनलाई अहिले पनि धेरैले पहिलो महिला चालक भनेर नै चिन्छन् । टेम्पोदेखि साझा बस हुँदै लामो दूरीको बस चलाएको अनुभव उनीसँग छ । रेबिका विगतमा आफूले गरेको कर्मप्रति गर्व गर्छिन् । तर, पछिल्ला दिनमा चालकभन्दा पनि ‘मदर रेबिका’ नै भन्दा आफूलाई बढी न्याय भएको उनलाई लाग्छ ।
‘मेरो पृष्ठभूमि त सवारी चालककै हो, तर समयले मलाई विस्तारै सेवाभावमा अघि बढायो’ रेबिका भन्छिन्, ‘मसँग रहेका सबै बच्चाले मलाई आमा भन्छन् । अब सबैले मदर रेबिकाकै नामबाट चिनिदिए हुन्थ्यो जस्तो लाग्छ ।’
आमाबुबा नभएका, शारीरिक अक्षम र सडकमा अलपत्र छाडिएका बालबालिका उनको आश्रममा हुर्किरहेका छन् । आश्रममा छिर्नेबित्तिकै छेउमै रहेको एउटा कोठामा उनको छोरा विवेकको ठूलो तस्वीर छ । यही आश्रममा उनले विवेकलाई पनि भेट्छिन् ।
सोही तस्वीर अघिल्तिर बसेर आश्रमका बालबालिकाको रेखदेखमा रेबिकाको दिनचर्या बित्छ । यसैमा उनी खुशी छिन् । राज्यका निकाय र सहयोगी संस्थाको हात पाए अझै धेरै बालबालिकाको सहारा बन्ने उत्कट इच्छा उनमा छ ।
बाल्यकाल
रेबिकाको पुर्ख्यौली थलो बागलुङ गलकोट हो । बुबाले दुइटी बिहे गरे । जेठी आमातिर चार सन्तान छन् । ‘आमा बितेपछि बुटवलमा आएर बुबाले अर्को बिहे गर्नुभएछ’ रेबिका विगत सुनाउँछिन् । २०४८/४९ मा बाँच्ने उपाय खोज्दै बाल्यकालमै रेबिका काठमाडौं छिरिन् । बुबाले गलैंचा कारखानामा काम गर्न पठाए ।
६ महिनासम्म उनले काठमाडौंको बौद्धमा एउटा गलैंचा कारखानामा काम गरिन् । यहीबेला आमा बिरामी भएको खबर आयो । उनी काठमाडौंबाट हतार–हतार बुटवल फर्किइन् । बुटवल पुग्दा आमाले बितिसक्नुभएको रहेछ । रेबिकालाई अहिले पनि आमाको अन्तिम पटक मुख हेर्न नपाएको कुराले सताइरहन्छ ।
बुटवलमा रेबिकाको घर थियो । जन्म दिने बुबा थिए । सौतेनी दाजुभाइ, दिदीबहिनी थिए । तर, भावना बुझिदिने कोही थिएनन् । आमा बितेपछि काठमाडौंको कारखाना छाडेर फर्किएकी रेबिकालाई जेठी आमाका चारवटै सन्तानबाट अपहेलित हुनुपर्यो ।
बुटवलमै केही समय बालुवा–गिट्टी बोक्ने काम पनि गरिन् । त्यहीं छँदा उनलाई आफन्तले मिलेर ‘हत्या गर्ने प्रयास’ पनि गरेछन् । ‘मलाई गाउँलेले बचाएका हुन्’ उनी भन्छिन्, ‘भोलिपल्ट गाउँमा ठूलै हल्ला भयो । समाजका अन्य व्यक्तिले पनि परिवारबाटै मेरो असुरक्षा भएको महसुस गरे । अनि, गाउँकै एउटा चर्चको जिम्मा लगाइदिए ।’
‘मैले हड्डी चपाउन सक्ने, बदलाको भावना नलिने, क्षमा गर्नुपर्छ भन्ने सिकेको चर्चबाटै हो’, उनी भावुक हुन्छिन् । त्यही चर्चबाट उनले आफ्नो नाम पनि फेरिन् । तर, धर्म के हो ? उनलाई थाहा छैन । भगवान् कहाँ छन् ? त्यो पनि थाहा छैन । केवल असहायको सेवा नै ‘धर्म र भगवान्’ हुन् भन्ने अहिले रेबिकालाई लाग्छ ।
०००
२०५४ साल । रेबिकाको जीवनले नयाँ मोड लियो । उनको विवाह भयो । दुःखको कुरा बिहे गरेकै दिनदेखि अपहेलना शुरू भयो । पाल्पाको ब्रिटिश लाहुरेका छोरासँग उनको बिहे भएको थियो । ब्रिटिश लाहुरेको परिवार पाल्पाबाट बुटवल झरेको थियो । बिहेकै भोलिपल्टदेखि यातना सहन सकिनन् ।
दुई/तीन पटकसम्म घर छाड्दै, फर्किने गरिन् । ‘बच्चा भएपछि माया आउँछ’ भन्ने सोच आयो । अर्को वर्ष बच्चा भयो । बाबु (विवेक) जन्मियो । तर, रेबिकाको यातना कम भएन । ‘उहाँ पछिसम्म केही न केही त सुध्रनुहोला भन्ने लाग्थ्यो’, रेबिकाको आश थियो । तर, केही सीप लागेन ।
त्यसपछि एक्लै बस्ने निधो गरिन् । काठमाडौं आएर डेढ वर्ष दुःखसुख गरेर छोरा हुर्काइन् । काम खोजी रहन्थिन् । सहारा कोही थिएन । छोरालाई आश्रममा राखेर साउदी अरब पुगिन् । बालखै छोरो छाडेर विदेशिएकी उनी ४ महिनामै फर्किइन् । ‘मलाई मात्रै बाबुको याद आयो, जे पर्छ यहीं गर्छु भनेर साहस लिएर फर्किएँ’, रेबिका ती दिन सम्झिन्छिन् ।
काठमाडौं फर्किएपछि रेबिकाका नयाँ दिन शुरू भए । उनी अहिले पनि ‘लीला दिदी’ सम्झिरहन्छिन् । उनै दिदीले रेबिकालाई टेम्पो चलाउन सुझाव दिइन् । लगभग २०६० सालतिर टेम्पोको लाइसेन्स निकालिन् । सहयोग पनि गरिन् । छोरो विवेक सानै थियो । टेम्पो चलाएर गुजारा चलाउने काम शुरू गरिन् ।
‘बिहानै उठेर चाँडै टेम्पो चलाउन जान्थें । कति पटक टिप सकेर फर्कंदा बाबु झ्यालबाट बाटोमा हिंड्नेहरूलाई नै आमा, बुबा भन्थ्यो’, रेबिका सम्झिन्छिन् ।
केही वर्ष काठमाडौंमा टेम्पो चलाएपछि हेभी बस चलाउने निधो गरिन् । रेबिकालाई विस्तारै आफूमाथि विश्वास जाग्दै गएको थियो । टेम्पो चलाउन छाडेर रेबिका पर्यटक बोक्ने ‘हाइस’ चलाउन थालिन् । विस्तारै चिनजान बढ्दै जान थालेको थियो । ट्राभल एजेन्सीमा हुँदा चिनजान बढ्दै थियो । तत्कालीन सिंचाइ मन्त्रालयमा चालककै जागिर पाइन् ।
‘सबै साथीले बिहे गर भनिराख्थे, उसको श्रीमान् कहाँ होला भनिराख्थे’ उनी भन्छिन्, ‘बाबुलाई बाहिर पठाउँछु, अनि बाजा बजाएरै बिहे गर्छु भनेर जवाफ दिन्थें ।’ तर, बाजा बजाएर बिहे गर्ने उनको ‘धोको’ पूरा हुन पाएन । छोरा विवेक गुमाइन् ।
‘पैसाले पनि पुगेको थियो । सबै कुराले म खुशी हुँदै थिएँ । एकाएक बाबु बित्यो’, भावुक हुँदै सुनाइन् । रेबिकालाई बाबु बितेको दिन पटक्कै सम्झिन मन छैन । तिथिमिति पनि उति याद गर्दिनन् । ‘ती दिन सम्झिएर किन आफैंलाई कमजोर बनाउनु ?’ उनी भन्छिन्, ‘मलाई उसले काँधमा हालेर बिदा गर्नुपर्थ्यो, मैले चाहिं उसलाई बिदा गर्नुपर्यो ।’
कक्षा १२ पास गरेर भविष्य बनाउन खोजेको छोरालाई बचाउन अनेक प्रयास गरिन् । चिनेजाने जति सबैको सहयोग मागेर छोरो बचाउने प्रयास गरिन् । तर, पल्लो कोठामा सुतेको छोरो बितेको उनले भोलिपल्ट बिहान मात्रै थाहा पाइन् ।
०००
विवेकले संसार छाडेपछि सबै कुरा सकिए झैं लाग्न थाल्यो । रेबिकालाई अब फेरि उठ्छु जस्तै लागेन । एक जना दिदीले उनलाई अत्यन्तै हेरचाह गर्थिन् । छोरा बितेको बेलामा पनि धेरैजसो उनी नै आउने–जाने गर्थिन् । रेबिकालाई ती दिदीमाथि ठूलो भरोसा थियो ।
विवेक गुमाएको एक डेढ महिनापछि उनले तारन्तार फोन गरिरहिन् । तर, उठेन । पछि उनले सुनिन्, ‘जतिबेला पनि रोइरहन्छ रेबिका, फोन उठाएर के भन्नूँ–भन्नूँ ।’ त्यसपछि रेबिकालाई लाग्यो– ‘अब म आफैं बलियो बन्नुपर्छ ।’
‘मैले आफ्नो आँसुु पुछेर अगाडि बढ्नुपर्छ भन्ने लाग्यो । आफैं भित्रबाटै एक प्रकारको शक्ति आर्जन भयो’ रेबिका सुनाउँछिन्, ‘यदि मलाई पनि नरोऊ, नरोऊ भनिदिने मान्छे भएको भए, म आज त्यस्तै कमजोर भइराख्थें होला ।’
२०६९ साल अन्तिमतिर एक जना साथीले साझा बसमा ड्राइभरका लागि आवेदन खुलेको सुनाए । उनलाई साझा बस हाँक्ने रहर जाग्यो । २०७० सालमा पटक–पटक ट्रायल दिएर साझा बस चलाउने चालक बनिन् । त्यसपछि उनी चर्चाको चुलीमा पुगिन्– ‘नेपालकै पहिलो महिला हेभी चालक’ बनेर ।
चालक बनेरै संघर्ष गर्दै थिइन् । एक जना पुरुषले उनलाई साथ दिएर सम्झाए । विवाह भयो । ‘उहाँ शिक्षा क्षेत्रको मान्छे, मलाई बुझिदिनुभयो’ उनी भन्छिन्, ‘संयोग नै मान्नुपर्छ, केही शुभचिन्तकले भेटाइदिनुभयो । मन मिल्यो ।’
अहिले रेबिकाका अर्का छोरा छन्, ७ वर्षका । ‘म एउटा आमा पनि हुँ, म आश्रममा छिरेपछि धेरै विवेक एकै ठाउँमा भेट्छु’, रेबिका भन्छिन् ।
०००
कोरोना महामारीको बेला थियो । रेबिकाको नजर सडकमा धेरै अलपत्र बालबच्चामा गयो । विवेक बचाउन नसकेकी उनले एकाएक सडकका बालबच्चामा विवेक देख्न थालिन् । सहयोगी हातहरू भेटाइन् । आफूले कुनै कसुर बाँकी नराखी काम अघि बढाइन् ।
रेबिकाको भनाइमा विवेक भन्ने गर्थे, ‘ममी, आमाबुबाका माया नपाएकालाई हामी सँगै राख्नुपर्छ ल !’ अनि विवेककै नाममा आश्रम खोलिन् । देश नै पूरै संकटमा थियो । त्यही बेला रेबिकाले काठमाडौंका सहाराविहीन बालबालिकालाई जम्मा गरिन् ।
अहिले यो संस्थामा ४० बालबालिका बस्छन् । बिदाका दिन तिनै बालबालिकासँग दिनभरि रेबिका रमाउँछिन् । छुट्टै अनुशासन सिकाएकी छिन् । सबैले सबैलाई सम्मान गर्छन् । ‘यिनीहरूसँगै मैले गोठालोको सेवा गर्ने अवसर पनि पाएँ । यी बच्चाहरूमा विवेक पाउँछु । यिनीहरूलाई नै हेरेर दिन बिताउँछु’, उनले भनिन् ।