
बाँसुल्ली र कालोपोथीजस्ता शक्तिशाली सिनेमा बनाएर विश्वमन्चमा प्रभाव छाड्दै गरेका निर्देशक मीन भामले पछिल्लो सिनेमा शाम्बाला मा खासै नचिनिएका केही अनुहारहरुलाई स्पेस दिए । तीमध्ये कति त नन्–एक्टर पनि थिए ।
थिन्ले ल्हामो तिनैमध्ये एक थिइन्, जसले यसअघि पनि केही प्रोजेक्ट गरिसकेकी थिइन् । तर शाम्बालामा उनले ६ हजार मिटरभन्दा माथिसम्म गएर गरेको जीवन्त अभिनयले देशविदेशमा प्रसिद्दि पायो ।
त्यही सिनेमाकी मूल पात्र पेमाले आफ्नो लोग्ने खोज्न नाम्खा नामको सेतो घोडा हिमालै हिमाल दाैडाइरहन्छिन् । लाग्छ सेतो घोडामा सवार थिन्ले ल्हामोको यात्रा नेपाली सिनेमामा नारी चरित्रको जोडदार हैसियतको वकालत हो ।
थिन्ले ल्हामो, नेपाली सिनेमा वृत्तमा उतिसारो चिनिएको नाम होइन । तर, डोल्पो भाषामा बनेको सिनेमामार्फत छाएको त्यही नाम जसले अन्तर्राष्ट्रिय जगतमा नेपाली सिनेमा चिनाउन जोडदार उपस्थिति जनाइन् । अभिनेत्रीको रूपमा फुत्त देखापरेकी थिन्लेले ‘साम्बाला’ जस्तो गहकिलो सिनेमालाई बोकेर विश्वका प्रतिष्ठित फिल्म महोत्सवको फन्को लगाइन् ।
नेपाली सिनेमाको इतिहासमा साम्बाला यस्तो कीर्तिमानी सिनेमा हो, जो पहिलो पटक बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भयो । पछिल्लो तीन दशकयता कुनै पनि दक्षिण एशियाली सिनेमा यति अग्लो प्रतिस्पर्धामा उक्लन सकेको थिएन । यस्तै लोकार्नो फिल्म फेस्टिभलको मुख्य विधामा छनोट हुनु पनि साम्बालाको अर्को उपलब्धि थियो ।
अरू थुप्रै अन्तर्राष्ट्रिय मञ्चहरूमा यो सिनेमाको जोडदार उपस्थिति रह्यो । साम्बालाको यस गौरवशाली कीर्तिमानको अहम् हिस्सा हुन्, थिन्ले । उच्च हिमाली भेगमा विद्यमान बहुपति प्रथाको कथामा आधारित फिल्ममा थिन्ले नै कथाको मियो हुन् । तीन पतिको साझा पत्नीको रूपमा उनले सिनेमाको सिङ्गो कथालाई आफ्नो काँधमा बोकेकी छिन् ।
स्विट्जरल्यान्डमा सम्पन्न लोकार्नो फिल्म फेस्टिभलमा उनको अभिनय कौशलले समीक्षकहरूको मन जित्यो । उनले त्यहाँ ‘बोक्कालिनो डिओर’ अवार्ड पाइन् । युरोपभरका फिल्म समीक्षकले उत्कृष्ट अभिनय गर्नेमध्ये कुनै एक कलाकारलाई यो सम्मान दिइन्छ । यसअघि कुनै पनि दक्षिण एशियाली कलाकारले यो सम्मान प्राप्त गरेका थिएनन् ।
अभिनेत्री थिन्लेले यो सम्मान पाएपछि साम्बालाका निर्देशक मीन भामले खुशी प्रकट गर्दै लेखेका थिए— ‘यो अवार्ड नेपाली कलाकारले जित्नुको अर्थ फिल्मको विश्वव्यापी मञ्चमा दक्षिणएशियाको बढ्दो प्रभावको उदाहरणको रूपमा लिन सकिने हामीले विश्वास गरेका छौं ।’
साम्बालामा थिन्लेको उपस्थिति र उपलब्धि एक संयोग मात्र होइन । बरु हिरोइनको परम्परागत मानकको क्रमभंग हो । साम्बाला जस्तो ओजिलो सिनेमाका लागि छनोट हुनु मात्र थिन्लेका लागि महत्वपूर्ण मोड थिएन । फिल्मको केन्द्रीय चरित्रमा प्राण भर्न सक्नु उनको खास खुबी थियो । यही खुबी, जसले उनलाई अचानक लाइमलाइटमा उभ्याइदियो ।
देश–परदेश सबैतिर उनीबारे चासो र चर्चा नहुने कुरै भएन । उनी को हुन् ? कहाँबाट फिल्म क्षेत्रमा आइन् ? यसअघि के गर्थिन् ? सोधीखोजी भयो ।
हुनु पनि त्यसअघि थिन्लेलाई सिनेमा क्षेत्रले नै चिनेको थिएन । जबकि उनले साम्बाला भन्दा पहिले ‘नाका’ नामक फिल्ममा काम गरिसकेकी थिइन् । त्यसपछि ‘हरि’ मा काम गरिन्, भलै त्यो छोटो भूमिका किन नहोस् । यी दुवै फिल्म व्यावसायिक रूपले सफल भएनन् । तर, आर्ट र क्राफ्टको हिसाबले अब्बल दरिए ।
फिल्ममा काम गर्नुअघि उनले केही म्युजिक भिडियो गरिन्, जसको खास चर्चा भएन । यसर्थ उनको करिअरमा साम्बाला नै एउटा यस्तो मोड थियो, जहाँबाट उनको जीवनको नयाँ अध्याय पदार्पण हुन्छ ।
थिन्लेका पुर्खा तिब्बतबाट आफ्नो थातथलो छाडेर काठमाडौं आए । बौद्ध आसपासमा बसोबास गर्न थाले । थिन्ले त्यहीं जन्मिइन्, हुर्किइन् । आफ्नो समुदाय र त्यस क्षेत्रको एउटा घेराभित्र उनको किशोरवय गुज्रियो ।
उनको पारिवारिक पृष्ठभूमि यस्तो होइन, जहाँ कला मनोरञ्जनप्रति लगाव राखिन्छ । तर, थिन्ले अपवाद हुन् । उनी सानै उमेरदेखि नाच्न र गाउन रुचाउँथिन् । पारिवारिक समारोहमा, विद्यालयको कार्यक्रममा अग्रसर हुन्थिन् । नाचगानको त्यही मोहले डोर्याउँदै उनलाई म्युजिक भिडियोसम्म पुर्यायो ।
उनले नेपाल–तिब्बत ओपेरा संघमा आबद्ध भएर अभिनयको प्रशिक्षण लिएकी थिइन् । त्यहीबेला उनलाई चिनजानकै एक जना दाइले ‘फिल्ममा खेल्छ्यौ ?’ भनी सोधे । उनले नाइँनास्ति गर्ने कुरै भएन । किनभने उनलाई यस्तै अवसर त चाहिएको थियो ।
तर, कलेजको पढाइ छुट्न सक्थ्यो । किनभने उनी नयाँबानेश्वरको के एन्ड के कलेजबाट मनोविज्ञान र सामाजिक कार्य विषय अध्ययन गर्दै थिइन् । अर्कोतिर घरपरिवारलाई मन्जुर गराउनुपर्ने हुन्थ्यो । उनले दिदीको स्वीकृति लिएर पहिलो पटक फिल्म खेलिन् ।
दोस्रो फिल्म ‘हरि’को प्रस्ताव पनि यसैगरी आयो र उनले त्यसमा छोटो भूमिका निर्वाह गरिन् । पहिलो फिल्म खेलेको एक दशक पुग्नै लाग्दा उनले साम्बालाको लागि अवसर पाएकी थिइन् ।
फिल्मको तयारी भइरहँदा निर्देशक मीन भामले उनलाई ‘एक पटक भेट्न’ भनी बोलाएका थिए । तर, यो भेट पटक–पटक भइरह्यो । जति पटकको भेटमा पनि भामले चुरो कुरा भने खोलेनन् । बस्; भेट्यो, दिनचर्या सोध्यो, सामान्य बातचित गर्यो, कफी खायो, छुट्यो । यो उपक्रम चलिरहँदा बल्ल उनले थाहा पाएकी थिइन्, निर्देशक भामले आफूलाई साम्बालाको केन्द्रीय भूमिका बोकाउन खोज्दैछन् ।
नभन्दै उनलाई अडिसनमा बोलाइयो । अन्ततः उनी छनोट भइन् । त्यसपछि थिन्लेले अनुप बरालसँग अभिनय सम्बन्धी तालिम लिइन्, तीन महिनासम्म । घोडसवारीको पनि तालिम लिइन् । किनभने सिनेमामा उनले घोडा चढेर हिमाली भेगको यात्रामा निस्कनुपर्ने थियो जसको बारे माथि पनि चर्चा भइसकेको छ ।
यो एक महत्वाकांक्षी फिल्म थियो, त्यसमाथि निर्देशक मीन भाम । त्यहाँ कुनै र केही कुरा सम्झौता हुनेवाला थिएन । त्यसैले हिमाली भेगमा गएर, त्यहीं डेरा जमाएर, कडा अनुशासनमा रहेर, पूर्ण समर्पणका साथ अभिनय गर्नु सजिलो थिएन । त्यही असजिलो काम गरेर उनले दुनियाँको मन जितिन् ।
कला मनोरञ्जनको क्षेत्रमा उनको समुदायबाट विरलै व्यक्ति चिनिएका छन्— हिरोइन, त्यसमाथि केन्द्रीय भूमिकामा । थिन्लेका लागि यति नै काफी थियो । जबकि उनी अभिनित फिल्मले नयाँ–नयाँ कीर्तिमान बनाउँदै विश्वको फन्को लगायो ।
फिल्ममा खेल्दै गर्दा उनलाई कहिल्यै पनि लागेन, म अभिनेत्री हुँ । तर उत्कृष्ट अभिनेत्रीको रूपमा अवार्ड उचालेपछि उनलाई लाग्यो, ‘अब त अभिनेत्री बन्नुपर्छ ।’