+

सल्मा खातुनले भत्काएका अनेकौं पर्खाल

पूरा सूची
Shares
राजनीतिमा लागेपछि प्रश्न गर्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगिन्छ भन्ने सल्मा खातुनलाई थाहा थियो । तर, महिला प्रतिनिधिलाई स्वीकार गर्न समाजलाई यति सकस होला भन्ने चाहिं उनलाई थाहा थिएन । ‘रोल मोडेल’ सल्माले नजिर स्थापित गरेरै छाडिन् । 
सल्मा खातुन

उनी यस्तो बस्तीमा जन्मिइन्, त्यहाँ छोरी मान्छेले स्कूल जाने त टाढाको कुरा, घुम्टो निकालेर घर बाहिर निस्किने छुटसम्म थिएन । उनी जन्मिएको त्यो तराई/मधेशमा वर्षौंदेखि महिलामाथि जे विभेद र असमानता थियो, त्यो कहर उनीमाथि पनि पर्ने निश्चित थियो ।

तर, त्यस्तो ठाउँको अल्पसंख्यक मुसलमान परिवारमा जन्मेर पनि उनले स्कूल जान, पढ्न पाइन् । यो चानचुने विषय थिएन । विभेद, असमानताले जकडिएको समाजमा हुर्किए पनि उनले भने परिवारबाट विभेद भोग्नु परेन । घरभित्रै सीमित हुनु परेन । खुला आकाशमुनि स्वच्छन्द भएर सुन्दर भविष्यको खोजीमा पखेटा फिंजाएर उड्न पाइन् ।

हामी कुरा गर्दैछौं तराई/मधेशकी यस्ती एक रोल मोडेलको जो त्यस क्षेत्रकै एक अब्बल उदाहरण हुन् । उनी हुन् पर्सा पोखरिया नगरपालिका– ४ की ३७ वर्षीया सल्मा खातुन । उनले स्कूल तहको शिक्षा स्थानीय पोखरियामै पूरा गरिन् ।

‘उच्च शिक्षा अध्ययन गर्न भने वीरगञ्ज जानुपर्ने भयो । वीरगञ्जमा उनको आफ्नै घर थिएन । त्यहाँ कि त कोठा लिएर बस्नुपर्ने हुन्थ्यो कि क्याम्पसको होस्टलमा । बाहिर बसेर पढ्ने कुरामा परिवारले ठूलै आलोचना सहनुपर्‍यो’ सल्मा विगत सम्झिन्छिन्, ‘आफन्तले समेत छोरीलाई बाहिर राखेर पढाउँदा बिग्रिन्छे, बरु बिहे गरेर पठाइदिन भनेर सुझाउँथे ।’

सल्माको पढाइ निरन्तर अघि बढिरहेको थियो । अचानक कक्षा ९ पढ्दै गर्दा उनको विवाहको कुरा चल्यो । यसले सल्मालाई फसाद पार्‍यो । उनी रोइकराइ गर्न थालिन् । अन्ततः उनको आमाबुबा विवाहको कुराबाट पछि हटे । 

‘छोरीले पढ्न चाहन्छे भने उनलाई पढ्न दिनुपर्छ’ भन्दै सल्मालाई अघि बढ्न हौसला दिए । त्यो समय विवाह भाँडिएपछि आफन्तहरू बुबाआमासँग धेरै रिसाए । छोरीको भविष्य राम्रो हुन्छ भने जो रिसाए पनि अर्थ छैन भन्ने बुबा–आमाको बुझाइ थियो । 

यसरी उच्च शिक्षा पढ्न बुबा–आमाबाट उनले अनुमति पाइन् । ‘छोरीले पढ्न चाहेकी छिन्, पढाउनुपर्छ’ भनेर परिवार उनको पक्षमा उभियो । ‘बुबाआमाले मप्रति देखाउनुभएको विश्वास ठूलो थियो । त्यही विश्वासले हरेक पाइलामा म सजग बन्थें । क्याम्पसमा केटा साथीहरूसँग बोल्न पनि डराउँथें’ उनी सुनाउँछिन्, ‘कसैले आक्षेप मात्रै लगाएर नराम्रो कुरा बुबाआमासम्म पुर्‍याइदिन्छ कि भन्ने डर बोकेर हिंड्थें ।’

मधेशी समुदायमाथि काठमाडौं र यहाँको सत्ताले गरेको शोषण, विभेद विरुद्ध राणाकालदेखि नै आवाज उठ्दै आइरहेको थियो । यो विषयमा सल्मा जानकार नै थिइन् । उनी जान्ने–बुझ्ने हुँदाको समयमा मधेश आन्दोलनको बीजारोपण भयो । २०६३ सालमा पहिचान सहित संघीयता, प्रादेशिक स्वायत्तता र आत्मनिर्णयको अधिकार सहितको संघीय लोकतान्त्रिक संविधान बन्नुपर्ने चर्को आवाज मधेशमा उठ्यो । 

सल्मा आन्दोलनमा सक्रिय भएर लागिन् । ‘मधेश आन्दोलन त सकियो, राजनीतिकर्मीहरू आ–आफ्नो ठाउँमा पुगे । तर, भावनात्मक रूपमा अझै केही गर्नुपर्छ भन्ने तिर्खा मेटिएको थिएन’ उनी भन्छिन्, ‘यही समयमा तराई मधेशमा एफएम रेडियोहरू खुल्ने क्रम चुलियो । अनि त्यो तिर्खा मेट्ने माध्यम खोज्ने क्रममा रेडियो पत्रकारितामा जोडिन पुगें ।’

पत्रकारिता क्षेत्रमा संलग्न भएपछि ‘एक्सपोजर’ बढ्दै गयो । अरूको पीडा, वेदनालाई आफ्नो जीवन भोगाइसँग जोडेर अगाडि बढ्दा आत्मविश्वास पनि बढ्दै गयो । यसले व्यक्तित्वलाई पनि निखार्दै लगेको उनी सुनाउँछिन् । यसरी रेडियोबाटै मधेशको भाषा, संस्कृति जगेर्नामा जमेर उनी लागिन् । 

‘त्यो समयमा एफएम रेडियोहरूको ठूलो प्रभाव थियो । मधेशी समुदायले खोजेका कुरा रेडियोबाटै पस्किंदै अघि बढें । रेडियोमा काम गर्ने महिलाको संख्या न्यून थियो’ उनी भन्छिन्, ‘मधेशी महिलाको संख्या झनै कम । मुस्लिम समुदायबाट त म बाहेक अरू कोही थिएनन् ।’ 

मधेशका धेरै पालिकाका महिला प्रमुख, उपप्रमुखहरूको कार्यक्षमतामा प्रश्न गरेर आलोचना भइरहँदा उनको भने ठूलै चर्चा थियो । मुख्य कारण थियो– उनको इमानदारी, निडर, धैर्य, शालीन स्वभाव र अडान । उनी कसैको पनि दबाब र प्रभावमा नपरी कानून विपरीतका काममा सम्झौता गर्दिनथिइन् ।

कामलाई बोझभन्दा पनि ‘इन्जोय’ का रूपमा लिने सल्माको यही स्वभावले उनलाई वीरगञ्जबाट काठमाडौंहुँदै बंगलादेशसम्मको यात्रा गरायो । पत्रकारितामा ‘बेस्ट’ दिनुपर्छ भन्ने आत्मविश्वास साथ टेलिभिजनमा सक्रिय भइरहेको बेला उनी छात्रवृत्तिमा बंगलादेश पढ्न गइन् । सन् २०१२ मा ढाका युनिभर्सिटीबाट पत्रकारितामा स्नातकोत्तर गरिन् ।

फर्केर उनी पत्रकारितामा सक्रिय भइन् । बंगलादेशमा सँगै पढेका साथीहरू मिलेर ‘कृषि र प्रविधि’ मासिक पत्रिका निकाले । ६ महिनासम्म उनले सम्पादक भएर काम गरिन् । पत्रिकाले राम्रै गति लिंदै गइरहेको थियो । तर, त्यही बेला सल्माको बिहेको कुरा चल्यो । बिहेसँगै उनले पत्रिका र काठमाडौंको बसाइ छाडिन् । 

फेरि, वीरगञ्जको एउटा एफएममा काम गर्न थालिन् । उनी रेडियोमा पुनः सक्रिय भइरहँदा मुलुक संघीयतामा गइसकेको थियो । २०७९ सालको स्थानीय तह चुनावको सरगर्मी बढिसकेको थियो । मधेशका पालिकामा सम्भावित मधेशी महिला उम्मेदवारहरूसँग अन्तर्वार्ता लिने दौडधुपमा उनी व्यस्त थिइन् । 

एक्कासि उनलाई नै उम्मेदवारको प्रस्ताव आयो । जनता समाजवादी पार्टी (जसपा) बाट चुनाव जितेर उपप्रमुख बनिन् । पोखरियाको इतिहासमा पहिलो उपप्रमुखको नाम राख्न सफल भइन् । यसरी उम्मेद्वारसँग प्रश्न गर्ने हैसियतकी पत्रकार सल्मा अब जनप्रतिनिधि भएर जवाफ दिने ठाउँमा पुगिन् ।

‘जितको त्यो क्षण जीवनकै अत्यन्तै महत्वपूर्ण पल थियो । जहाँ म जन्में, हुर्कें र स्कूल तहको शिक्षा लिएँ । विवाहपछि पाहुनाको रूपमा बाहेक पोखरिया फर्किन्छु भन्ने लागेको थिएन । प्रायः छोरीहरू माइत पाहुनाका रूपमा मात्रै आउँछन्’ उनी त्यो दिन स्मरण गर्दै भन्छिन्, ‘तर, मैले त्यो ठाउँको नेतृत्व गर्ने अवसर पाएँ । त्यसैले कार्यकालभरि एक सेकेन्ड पनि आफ्नो जिम्मेवारी भुलिनँ ।’

पाँचवर्षे कार्यकालमा सहयोग भन्दा विरोधका धेरै स्वर सुनिएको उनी सुनाउँछिन् । कार्यपालिका बैठकमा एजेन्डा समेत प्रमुख प्रशासकीय अधिकृत मार्फत लैजानुपर्ने अवस्था थियो । ‘मैले लैजाने हरेक एजेन्डामा अवरोध हुन्थ्यो । लाभका लागि कहिल्यै सम्झौता गरिनँ’ उनी भन्छिन्, ‘अनुगमनका क्रममा राम्रो काम नभएका योजनाहरूमा प्रश्न गर्थें । जसका कारण सहयोग भन्दा विरोधका धेरै स्वर सुनिए ।’

राजनीतिमा बहुमत–अल्पमतका कुरा त हुन्छन् नै । उनी चाहिं आफ्नो कुरामा अडिग रहिन् । महिला हुँदैमा झुक्नुपर्छ भन्ने सोचबाट मैले कहिल्यै सम्झौता गरिनँ । कारण जनताबाट अहिले पनि सम्मान पाइरहेकी छु । 

प्रायः पालिकामा महिला जनप्रतिनिधिलाई हेर्ने नजर फरक रहेको उनी सुनाउँछिन् । शिक्षित व्यक्तिहरूबाटै असहयोग भएको उनको अनुभव छ । समानता, दलित अधिकारका कुरा गर्ने, मञ्चमा ठूल्ठूला भाषण दिने केही व्यक्तिबाटै विभेद सहनु परेको उनको अनुभव छ । 

सल्माका बुझाइमा, ठूलो अहम् केमा हुँदोरहेछ भने महिला भएर हाम्रो कुरामा नाइँ भन्ने ? उसले कसरी नाइँ भन्न सक्यो ? ऊ आफूलाई के ठान्छे ? अझ कतिपयले त नामै तोकेर ‘तिमी आफूलाई के ठान्छ्यौ ?’ भनेर धम्की दिने गर्थे । कतिसम्म भने कार्यपालिका बैठकमा यो सल्माको एजेन्डा हो भन्ने थाहा हुने वित्तिकै विरोध शुरू हुन्थ्यो । तर उनले हिम्मत हारिनन् । 

लोग्ने र आफन्तको हैकम

सल्माको पर्सामा मात्र होइन, देशभरि चर्चा चुलियो । मधेशका धेरै पालिकाका महिला प्रमुख, उपप्रमुखहरूको कार्यक्षमतामा प्रश्न गरेर आलोचना भइरहँदा उनको भने ठूलै चर्चा थियो । मुख्य कारण थियो– उनको इमानदारी, निडर, धैर्य, शालीन स्वभाव र अडान । उनी कसैको पनि दबाब र प्रभावमा नपरी कानून विपरीतका काममा सम्झौता गर्दिनथिइन् ।

उनकै अगुवाइमा जिल्लाभित्रका पालिका उपप्रमुखहरू सहभागी ‘डेपुटी मेयर क्लब’ गठन भएको थियो । यो क्लब मार्फत एक–अर्काका समस्या समाधान गर्ने, एक–अर्काका सफल कार्य सेयर गर्ने लगायत काम हुन्थ्यो । क्लबको प्रभावकारिताबाट अन्य जिल्लाले पनि सिको गरेका थिए ।

न्याय सम्पादन कार्यशैली प्रभावकारी रह्यो । न्यायिक समितिले अन्यायमा परेका विपन्न वर्गलाई न्याय दिन थाल्यो, त्यसको प्रभाव पालिकाभरि पर्न थाल्यो । त्यसपछि निवेदनको चाप बढ्दै गयो । कानूनी आधार टेकेर न्याय सम्पादन गर्ने भएकाले विवादरहित ढंगले मेलमिलाप गराउन उनी सफल भइन् । 

अहिले हामी हिंडिरहेको बाटो पनि अग्रज महिलाको संघर्षबाट निर्माण भएको हो । आजका महिला पहिलेका भन्दा बढी सशक्त छन्, बोल्ड छन् । समस्याहरू आइरहन्छन्, तर पछाडि फर्केर हेर्नुहुँदैन । आत्मसम्मान र स्वाभिमानमा चोट पुग्ने गरी सम्झौता गर्नुहुँदैन । डटेर अगाडि बढिरहनुपर्छ । अवश्य सफलता मिल्नेछ ।

संविधानले स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेकोले देशभरिका महिलाले अवसर पाए । तर तुलनात्मक रूपमा मधेशका महिला जनप्रतिनिधिको भूमिकाप्रति गम्भीर प्रश्नहरू उठे । खासगरी प्रमुख, उपप्रमुखका श्रीमान्हरू व्यवहारमा जनप्रतिनिधि हुन थालेकोमा गम्भीर आलोचना भयो ।

सशक्त महिला नेतृत्वमा नपुग्दा यस्तो आलोचना हुनु स्वाभाविक छ । तर, सल्मा यसमा महिलाको दोष देख्दिनन् । ‘घरमा जस्तो व्यवहार गरिएको छ, जनप्रतिनिधि भएपछि पनि उनीहरूलाई त्यस्तै व्यवहार भइरहेको छ । ती महिला जनताबाट निर्वाचित जनप्रतिनिधि हुन् भन्ने महसुस हुनै दिइएको छैन’, सल्मा थप्छिन् ।

जनताबाट निर्वाचित उपप्रमुख छेउमा गएर बस्ने, उनका श्रीमान् वा आफन्त कुर्सीमा बसिदिने, फोन उठाइदिने जस्ता हर्कत मधेशका पालिकाहरूमा हुने गरेको उनी स्वीकार्छिन् । उनले भनिन्, ‘म आफैंले पनि सहकर्मी जनप्रतिनिधिलाई फोन गर्दा उहाँको श्रीमान्ले उठाइदिने, भेट गर्न नदिने जस्तो व्यवहार भएको छ ।’ 

दलहरू महिला ‘लिडर’ चाहँदैनन्

नेपालका राजनीतिक दलहरूले अझै पनि महिलालाई नेतृत्वको रूपमा स्वीकार गर्न नसकेको सल्माको बुझाइ छ । हरेक कमिटीमा ३३ प्रतिशत देखाएर महिलालाई अवसर दिएको भन्ने भ्रम छर्ने काम दलहरूले गरेको उनी बताउँछिन् । 

उनका विचारमा गाउँ, वडा, पालिका लगायत हरेक ठाउँमा महिलाले नेतृत्व गर्न सक्छन् । तर, दलभित्र पुरुषवादी अहम् सोचले नेतृत्वमा सोचेजति महिला आउन सकेका छैनन् । नातावाद, कृपावादले गर्दा सीमित महिला मात्रै नेतृत्वमा पुगेका छन् । तिनैलाई देखाएर दलहरूले भ्रमको खेती गरिरहेका छन् । 

नेतृत्व तहमा पुग्न सकिनँ भनेर महिलाहरूले हरेस खान नहुने सल्मा बताउँछिन् । ‘यो संघर्ष अझै चलिरहन्छ, निरन्तरता दिन छाड्नुहुँदैन । अहिलेका पुस्ताले बाहिरी समाजलाई बुझ्ने अवसर पाइरहेका छन् । राजनीतिले कसरी काम गरिरहेको छ भन्ने विश्वव्यापी अध्ययन गरिरहेका छन्’, उनी भन्छिन् । 

संसारका धेरै उदाहरणीय व्यक्तित्वहरूको अनुभवबाट महिलाले सिकिरहेका छन् । आफूलाई यो समाजमा स्थापित गर्न उनीहरू संघर्षरत छन् । उनीहरू यो समाजमा स्थापित हुँदा भावी पुस्ताका लागि पनि बाटो सहज हुने उनको तर्क छ ।

‘अहिले हामी हिंडिरहेको बाटो पनि अग्रज महिलाको संघर्षबाट निर्माण भएको हो’ उनी भन्छिन्, ‘आजका महिला पहिलेका भन्दा बढी सशक्त छन्, बोल्ड छन् । समस्याहरू आइरहन्छन्, तर पछाडि फर्केर हेर्नुहुँदैन । आत्मसम्मान र स्वाभिमानमा चोट पुग्ने गरी सम्झौता गर्नुहुँदैन । डटेर अगाडि बढिरहनुपर्छ । अवश्य सफलता मिल्नेछ ।’

यसो भन्ने उनी अहिले राजनीतिमा सक्रिय छिन् । उनी जसपा नेपालकी केन्द्रीय सदस्य हुन् । नेपाल भोजपुरी समाजकी उपाध्यक्ष एवं भोजपुरी प्रतिष्ठान वीरगञ्जकी सदस्य समेत रहेकी उनले भोजपुरी भाषा, साहित्यको विकासका लागि काम गरिरहेकी छन् । मुख्यतया युवा, महिला, अल्पसंख्यक, सीमान्तकृत वर्गको हक–अधिकारका लागि उनी सक्रिय छिन् ।

वास्तवमा सल्मा मधेशमा पछिल्लो पुस्ताकी ‘रोल मोडेल’ नै हुन् । पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान सल्मालाई सकारात्मक सोच भएकी बौद्धिक महिलाको रूपमा लिन्छन् । मुस्लिम अल्पसंख्यक समुदायकी महिला भए पनि मधेशी समुदायका लागि उनी उदाहरणीय भएको उनको भनाइ छ ।

वीरगञ्जका डा. अनिल यादव सल्मालाई मधेशको ‘रोल मोडेल’ महिलाको रूपमा लिन्छन् । उनले सबैप्रति गर्ने व्यवहार समान रहेको यादव बताउँछन् । पोखरिया अस्पतालका मेसु समेत रहेका डा. यादवले यहाँको स्वास्थ्य लगायत क्षेत्रमा उनले गरेका कामको पोखरियावासीले स्मरण गर्ने बताउँछन् ।  

आफूले यस्तो क्षमता विकास गर्ने अवसर परिवारबाटै पाएको उनले बताइन् । ‘बुबाले बच्चादेखि अहिलेसम्म भन्ने एउटै लाइन हो, जीवन संघर्ष हो, संघर्षबाट आत्तिनुहुँदैन । यसले नै हामीलाई बलियो बनाउने हो’ उनी भन्छिन्, ‘तिमी सक्छ्यौ, पछाडि नहट । बुबाको यही हौसलाले हरेक पाइलामा देखिने चुनौतीहरू सामना गर्न हिम्मत दियो ।’

लेखक
प्रेम लामा

लामा अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।