+

देउडा चिनाइरहेकी जेनजी गायिका

पूरा सूची
Shares
आफूलाई गाउँले गायिका भन्न रुचाउने कालीकोटकी २१ वर्षीया इब्सल सन्ज्यालले सुदूरपश्चिम र कर्णालीमा सीमित देउडालाई देश–देशावर फैलाउन भूमिका खेलिरहेकी छन् । 
इब्सल सन्ज्याल

पप, र्‍याप, हिपहप र रक गीत–संगीतमा रमाउने अहिलेको ‘जेनजी’ पुस्तामा कालीकोटकी २१ वर्षीया इब्सल सन्ज्याललाई अपवाद मान्नुपर्छ । सुदूरपश्चिम र कर्णालीमा सीमित लोकगीतको एउटा विधा देउडाको संरक्षण र प्रवर्द्धनमा सन्ज्यालले छोटो समयमै महत्वपूर्ण काम गरेकी छन् । 

संरक्षणका लागि भन्दै प्रदेश र स्थानीय सरकारले समेत योजना सार्वजनिक गरिरहेका बेला सन्ज्याल एक्लैले देउडालाई देश–विदेशसम्म फैलाइरहेकी छन् । देउडा र ठाडी भाका गायनमा सन्ज्यालको प्रवेशपछि उनको पुस्ताका अरू थुप्रैको पनि यसमा ध्यान तानिएको छ । 

देउडा केवल गीत मात्र नभई एउटा खेल पनि हो । देउडा समूहमा पैतालाको चाल मिलाउँदै खेल्न, छमछम नाच्न सकिन्छ । इब्सलको प्रवेशले सुदूरपश्चिम र कर्णालीमा सीमित लोक संस्कृति देउडाको दायरालाई फराकिलो बनाउन सहयोग गरिरहेको छ । 

स्थानीय भेषभूषामा सजिएर झर्रा नेपाली शब्दबाट गर्ने चोटिलो प्रश्नोत्तर पृथक् भएकैले छोटो समयमै उनलाई धेरैले मन पराएका हुन् । उनले दिएका प्रस्तुतिका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहन्छन्, देश–विदेशसम्म पुगिरहन्छन् । 

‘देउडा खस भाषीको संगीत हो, खस नेपाली भाषाको जननी हो । त्यसैले जहाँ नेपाली छन्, त्यहाँ देउडा दोहोरी चल्छ’ भारतको बेंग्लुरु, मुम्बई लगायत शहर पुगेर देउडा दोहोरी सुनाएकी इब्सल भन्छिन्, ‘नेपाली भाषी जो–कोहीले देउडा सुन्नुपर्छ, त्यही उद्देश्यमा म लागिरहेकी छु ।’

एक वर्षको अवधिमा काठमाडौंमा समेत चर्चा कमाउन सफल इब्सललाई देउडा दोहोरीका पारखीले मात्रै नभई सबै क्षेत्रका युवाले मन पराउन थालेका छन् । काठमाडौंका लोकदोहोरी साँझदेखि बाग्लुङ, पाल्पा, पोखरा, नुवाकोट, सिन्धुपाल्चोक हुँदै चितवनसम्मका मेला–महोत्सवसम्म इब्सलको स्वर गुन्जिन थालेको छ । 

‘जहाँ जहाँ पुग्छु ठाडी र देउडा सुनाउँछु, मन पराइदिनुभएको छ । माया गर्नुभएको छ’, उनी खुशी व्यक्त गर्छिन् । गायनमा मात्रै नभई अभिनयमा पनि त्यत्तिकै दक्खल राख्ने उनी पछिल्लो समय प्रत्यक्ष दोहोरी गीत गाएर चर्चामा छिन् । उनको ‘फ्यान फलोइङ’ पनि ह्वात्तै बढ्दै गएको छ । 

बाल्यकालदेखि नै नृत्यमा औधी रुचि राख्ने इब्सलले सुदूरपश्चिमको ठाडी भाका ‘पापी बुढीगङ्गा’ बाट कला क्षेत्रमा डेब्यु गरेकी थिइन् । ‘गायनभन्दा पनि अभिनयमा मेरो रुचि थियो । एक पटक गाएर हेरौं भन्ने लाग्यो’ इब्सलले भनिन्, ‘गायनमा लागेपछि राम्रो प्रतिक्रिया आयो, श्रोता, दर्शकले रुचाउनुभयो ।’ 

यस अवधिमा उनले राजु परियार, मिलन लामा, सुरेश शाही र छत्र शाही जस्ता हस्ती गायकलाई दोहोरी खेल्दै हायलकायल पारेकी छन् । मेला, उत्सव, महोत्सवमा देउडा खेल्दै र दोहोरी गाउँदै इब्सलको कलाकारिता कालीकोट, धनगढीदेखि काठमाडौं हुँदै विदेशसम्मै झाँगिंदै गएको छ ।

दुई दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेकी इब्सलले त्यस्तै दुई दर्जन हाराहारीमा गीत रेकर्डिङ गरेकी छिन् । प्रत्यक्ष दोहोरी भने करीब दुई सय बढी गाइसकेको उनी बताउँछिन् । उनले ऐंसेलु, न्याउला चडिय, सुइना, मुटुको टुक्रा, मालु पात र झुपडी लगायत गीतहरूमा स्वर दिएकी, अभिनय गरेकी छन् । 

अनि गायनतिर मोडियो यात्रा

कालीकोटको पचालझरना–६, नानीकोटमा निम्न मध्यमवर्गीय परिवारमा २०६१ सालमा जन्मिएकी इब्सल सानैदेखि अभिनय र नृत्यमा औधी रुचि राख्थिन् । बुबा हरिनारायण र आमा सीतादेवीकी जेठी छोरी इब्सल २०७७ सालमा एसईई परीक्षा सकेर बाजुरास्थित मामाघर गएकी थिइन् । त्यहींबाट उनले अभिनयमा औपचारिक प्रवेश गर्ने मौका पाएकी थिइन् । 

कोरोना महामारीका बेला मामा नाता पर्ने सङ्गीतकार हर्क खडायतले उनलाई सुदूरपश्चिमको ठाडी भाका ‘पापी बुढीगंगा’ नामक गीतमा अभिनय गर्ने अवसर दिए । ‘त्यो बेला टिकटकमा अभिनय गरेका भिडियो हाल्थें, राम्रै भ्यूज जान्थ्यो’ उनले सम्झिइन्, ‘गाउँमा हुने प्रायःजसो मेला महोत्सवमा पनि अवसर पाएसम्म नाच्थें । त्यही देखेर हर्क मामाले मलाई अवसर दिनुभएको थियो ।’

त्यो समयमा बुढीगंगा बाढीले थुप्रै बस्ती बगाएको थियो । समय सान्दर्भिक भएकाले त्यो ठाडी भाकाको गीत राम्रो चल्यो । त्यसपछि उनलाई थप दुई/तीन गीतमा अभिनयको अफर आयो । त्यहीबेला उनी कर्णाली मल्टिपल क्याम्पस (केएमसी) धनगढीमा पढ्न झरिन् । 

‘छोरी–चेलीलाई गायन क्षेत्रमा लगाउनु समाजका अगाडि सानोतिनो हिम्मतले पुग्दैन’ इब्सलका बुबा हरिनारायणले भने, ‘तर नाम कमाउन घरभन्दा बाहिर नगएर पनि हुँदैन ।’

केएमसीमा ‘प्लस टु’ सकेपछि पछि उनलाई फेरि कालीकोट बोलाइयो । ‘खगेन्द्र न्यौपाने गुरुले कालीकोट बोलाएपछि मैले गीत संगीतसँग जोडिएर थुप्रै काम गर्ने अवसर पाएँ’ उनी भन्छिन्, ‘म कलाकार बन्नमा खगेन्द्र गुरुको ठूलो भूमिका छ ।’

त्यतिबेला दर्जन बढी गीतहरूमा अभिनय गरेको इब्सल बताउँछिन् । कर्णाली र सुदूर कर्णालीमा चर्चित गीतका भिडियोहरूमा अभिनय गर्न उनी कैयौं बस्तीमा हिंडेरै पुगेकी थिइन् । खस सभ्यतासँग जोडिएको पहिरन पहिरिएर अभिनय गर्दा आफूलाई छुट्टै आनन्द मिल्ने उनी बताउँछिन् । 

भिडियोमा अभिनय गर्दागर्दै एक दिन इब्सललाई गाउन मन लाग्यो । पहिले विद्यालयमा हुने कार्यक्रममा गाउँदा खुब वाह्–वाही पाउँथिन् । आफ्नो स्वर राम्रै छ भन्ने उनलाई लाग्थ्यो । ‘मैले अभिनय गरिरहेको ‘झुपडी’ भन्ने गीत असाध्यै मन पर्‍यो । त्यो गीत पुरुषको स्वरमा आइसकेको थियो’ उनले भनिन्, ‘पछि, काठमाडौं आएर पहिलो पटक त्यही गीत रेकर्ड गरेकी थिएँ ।’ 

कुशल अधिकारीको स्वर र खगेन्द्रप्रसाद न्यौपानेको शब्द रहेको त्यो गीत राम्रै चल्यो । अभिनयबाट गायनतिर लाग्दा उनको भविष्यलाई लिएर परिवारमा भने चिन्ता थियो । ‘पहिलो पटक यो क्षेत्रमा लाग्छु भन्दा बुबा रिसाउनुभएको थियो’ उनी भन्छिन्, ‘गीत–संगीत क्षेत्रको बारेमा बुझ्दै नबुझेको मान्छे एक्कासि यसै क्षेत्रमा लाग्दा चिन्ता हुनु स्वाभाविक पनि थियो ।’

उनको ढिपीका अगाडि बुबाआमाको केही चलेन । विस्तारै बुबाआमालाई सम्झाउँदै आफूले गरिरहेको काम बुझाउन थालिन् । ‘सबैभन्दा ठूलो साथ परिवारकै चाहिन्छ, अहिले पनि म संघर्षमै छु, यत्तिको पनि हुन्छ कि हुन्न भन्ने चिन्ता परिवारमा थियो’, उनी भन्छिन् । 

परिवारकै सल्लाहमा उनी इन्द्रेणी कार्यक्रममा गीत गाउन काठमाडौं आइन् । दुई वर्षअघि उनले मिलन लामाको चर्चित गीत ‘बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको…’ बोलको दोहोरी गाइन् । त्यो गीतले उनलाई नसोचेको चर्चा दियो । गीतका टुक्राहरू सामाजिक सञ्जाल फेसबुक, टिकटक र यूट्युबमा भाइरल हुन थाले । 

काठमाडौंमा इब्सललाई एकपछि अर्को लाइभ दोहोरी गाउने अवसर मिल्यो । सामाजिक सञ्जालका कारण गीतलाई श्रोतासम्म पुर्‍याउन झन् सजिलो भयो । ‘कर्णालीका धेरै गाउँमा अहिले पनि यातायात चल्दैन, तर हात–हातमा मोबाइल पुगेको छ, टिकटक पुगेको छ’ इब्सल भन्छिन्, ‘सामाजिक सञ्जाल मार्फत गीत–संगीत हेर्ने दर्शकहरू ह्वात्तै बढेका छन् ।’

इब्सलको आफ्नै यूट्युब च्यानल पनि छ । डिजिटल माध्यमबाटै राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण उनले देखाइरहेकी छिन् । पछिल्लो समय स्टेज कार्यक्रममा पनि उनलाई भ्याई–नभ्याई छ । अहिलेको समयमा ठाडी र देउडा गीत व्यावसायिक रूपमा चल्दैनन् भन्ने भाष्य नै परिवर्तन गरिदिएकी छन् उनले ।

‘छोरी–चेलीलाई गायन क्षेत्रमा लगाउनु समाजका अगाडि सानोतिनो हिम्मतले पुग्दैन’ इब्सलका बुबा हरिनारायणले भने, ‘तर नाम कमाउन घरभन्दा बाहिर नगएर पनि हुँदैन ।’ 

शिक्षा, चेतना, अभावसँग जुध्दै पढाइ र गायनलाई सँगसँगै अघि बढाइरहेकी इब्सल दर्शकको रुचि अनुसार मायाप्रीतिका गीतमा मात्र सीमित छैनन् । सामाजिक कुरीति विरुद्ध गीतका माध्यमबाट समाजमा चेतनाको बिगुल फुक्ने काममा पनि त्यत्तिकै सक्रिय रहेकी छिन् । ‘समाजमा व्याप्त बालविवाह, छाउपडी प्रथा, लैङ्गिक विभेदका विरुद्ध चेतना र सन्देशमूलक गीत मार्फत समाज परिवर्तनका लागि पनि काम गरिरहेकी छु’, उनी भन्छिन् । 

संस्कृतिको संरक्षण 

इब्सललाई लाग्छ, गीत–संगीतमा संस्कार र संस्कृति सँगसँगै हुनुपर्छ । उनी स्टेजमा होस् वा अन्य देउडा दोहोरीमा नै किन नहोस् कर्णालीको खस सभ्यतासँग जोडिएका पहिरन पहिरिन्छिन् । बजारमा नयाँ–नयाँ फेसन चलिरहेका बेला उनी धोती–चोलीमा सजिन्छिन् । 

नाकमा फुली, बुलाकी, गलामा मागल, कानमा बाला लगाउँछिन् । ‘हाम्रो संस्कृतिलाई अरू कोही आएर बचाइदिने हैन । संस्कृति आदानप्रदान हुन जरूरी छ’ इब्सल भन्छिन्, ‘मैले आफ्ना कार्यक्रममा सकेसम्म हाम्रै कर्णालीको भाषा, भेषभूषा र पहिरन लगाउने गरेकी छु ।’

छोटो लुगा लगाएर देउडा गाउनु र धोती–चोलोमा गाउनुमा धेरै फरक हुने उनी बताउँछिन् । ‘हामीले बोकेको भाषा, भेषभूषा र संस्कृतिले नै फरक पर्ने हो । हामीलाई नयाँ पहिचान दिने, जीवन्त राख्ने हो, दृष्टिकोणमा बदलाव ल्याउने हो’ उनी भन्छिन्, ‘यो क्षेत्रमा गरेको काम पुस्तौंसम्म रहिरहन्छ । हाम्रो काम सन्ततिले हेर्ने हो ।’

कुनै समय देउडा र दोहोरीमा ‘बाज, सुवा’ लगायतका भाका विरलै सुनिन्थे । अहिले व्यापक बनेको छ । पहिले कर्णालीको भाषा, भाका र लय सुन्दै अभाव र विपन्नताको भाव देखाउनेहरूले अहिले देउडा र दोहोरी मन पराउन थालेको इब्सल बताउँछिन् । 

हिजो विभेद र लाञ्छना लगाउने समाज आज उनलाई गाउँ जाँदा फूलको गुच्छा लिएर स्वागत गर्न आउँछ । ‘हिजो एउटा छोरा नभए वंश रहँदैन भन्ने समाजको दबाबले छोरा जन्माएँ’ इब्सलकी आमा सीतादेवीले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘तर आज छोरीले नै मलाई चिनाएकी छिन् । छोरीलाई राम्रो संस्कार दिऊँ, हुर्काऊँ । म सबैलाई अनुरोध गर्दछु, छोराछोरी भनेर विभेद नगरौं ।’

पुस्तान्तरणसँगै देउडाको लय र भाकामा भने परिवर्तन भइरहेको इब्सलको बुझाइ छ । तर त्यो अहिलेको पुस्ताको माग भएको उनी बताउँछिन् । ‘पहिले मेलापात र गाउँका चाडपर्वमा गाउने जस्तो ठेट भाका नहुन सक्छ, त्यो अनुभव नहुँदा अहिलेकोलाई त्यो नआउने भएको छ’ उनी भन्छिन्, ‘तर संस्कृति मार्ने गरी गीत–संगीतलाई तोडमोड भने गर्नुहुँदैन ।’ 

इब्सल फरक भाषा र संस्कृति भएको समाजमा पनि अन्तरघुलन हुँदै आएकी छिन् । उनले बाराको सिमरामा आयोजित कार्यक्रममा पनि देउडा र दोहोरी गाएकी छिन् । भोजपुरी गीतको प्रभाव रहेको क्षेत्रमा पनि दर्शकले दोहोरी सुने । 

‘यसरी संस्कृतिको आदानप्रदान गरिरहनुपर्छ, हाम्रो क्षेत्रका गीत–संगीतमा लाग्ने युवा पुस्ताले आफ्नो भोकल पनि पहिचान गर्नुपर्छ’, उनी भन्छिन् । पछिल्लो समय त र्‍यापमा समेत देउडा मिसाउन थालिएको छ । तर, जतासुकै जोडे पनि देउडाको आफ्नोपन मार्न भने दिन नहुने इब्सलको बुझाइ छ । 

नेपालका जुनसुकै स्टेजमा चढे पनि इब्सललाई दर्शकले देउडा सुनाउन लगाउँछन् । ‘देउडा गाउन सक्नु सानो कुरा होइन, अझ देउडाको ठाडी भाका गाउन जो–कोहीले सक्दैन’ उनी भन्छिन्, ‘धक नमानेर हाम्रो पुस्ताले आफ्नो गीत–संगीत र संस्कृतिलाई अगाडि बढाउनुपर्छ ।’

पछाडि फर्केर हेर्दा 

चार वर्षअघिसम्म इब्सलसँग न प्रसिद्धि थियो, न वैभव । धरातल साँघुरो थियो । त्यहाँ अभावको चाङ थियो । उनी विकटमा जन्मिइन्, अभावमा हुर्किइन्, विभेद र अपमान सहिन् । यो थिचोमिचोलाई उनले धैर्यपूर्वक सहिन्, त्यही अनुभूतिलाई आज उनले सिर्जनाको स्रोत बनाएकी छन् । शायद त्यसैले होला उनीमा दरिलो आत्मविश्वास छ । 

तेज र आक्रामक सवाल–जवाफ । अविच्छिन्न रचना शिल्प । सुरिलो स्वरले उनको उपस्थिति र प्रस्तुति यति जोडदार हुन्छ, उनको देउडा र ठाडीमा दर्शकहरू रम्न थाल्छन् । उनको धारिलो शब्दहरूले सुन्नेहरूलाई कम्पन छाड्छ । चयन गर्ने शब्दमा बुढापाकाले प्रयोग गर्ने शब्द भेटिन्छन् भने समकालीन युवाहरूले प्रयोग गर्ने लवज भेटिन्छ । यसरी शब्द, संगीत र प्रस्तुतिको एउटा प्याकेज हुन्, इब्सल । 

‘आज मैले गाउने हरेक शब्दहरू, मेरै गाउँका डाँडा–पाखाका हुन् । मेरा जीवन–भोगाइ हुन्’ उनी भन्छिन्, ‘छोरा नजन्माउँदा मेरी आमाले भोगेका पीडा हुन् । अभाव झेल्न हामीले गरेका संघर्ष हुन् । हिजोका भोगाइ नै आज मेरा रचना बनेका छन् ।’

इब्सल आफूलाई गाउँले गायिका भन्न रुचाउँछिन् । उनले गाउने ठाडी र देउडामा आफ्नो गाउँको स्वाद मिसाउने गर्छिन् । जबकि, हिजो उनका लागि यो गाउँ–समाज त्यति हार्दिक थिएन । ‘हिजो गाउँलेहरूले खुब कुरा काटे’ उनी भन्छिन्, ‘केटी बिग्री नाच्नाले, पाइप बिग्रियो काट्नाले भन्ने त हाम्रो गाउँको उखानै थियो ।’

एसईई दिनुभन्दा अगाडिसम्म धर्तीमा उज्यालो खस्न नपाउँदै बिहान ५ बजे इब्सल आमासँग घाँस, दाउरा जान्थिन् । घाँस–दाउराको भारी ल्याएर घर आइपुग्दा बिहानको ९ बजेको हुन्थ्यो । हतार–हतार हात–मुख धोएर, खाना खाएर विद्यालय जान्थिन् । गाउँमा फल्ने कोदोले ६ महिना मात्रै खान पुग्थ्यो । परिवारको आर्थिक अवस्था त्यति राम्रो थिएन । 

‘म बचपनमा एकदमै चन्चले थिएँ । नाच्ने, गाउने सबै कुरामा हात हालिहाल्थें’ उनले भनिन्, ‘मलाई नाच्न भने मेरो सानीआमा गीता रेग्मीले बच्चैमा सिकाउनुभएको थियो, उहाँ एकदमै राम्रो नाच्नुहुन्थ्यो ।’ 

इब्सल अहिले आफ्नी आमासँग काठमाडौंमा बस्दै आएकी छिन् । हिजो विभेद र लाञ्छना लगाउने समाज आज उनलाई गाउँ जाँदा फूलको गुच्छा लिएर स्वागत गर्न आउँछ । ‘हिजो एउटा छोरा नभए वंश रहँदैन भन्ने समाजको दबाबले छोरा जन्माएँ’ इब्सलकी आमा सीतादेवीले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘तर आज छोरीले नै मलाई चिनाएकी छिन् । छोरीलाई राम्रो संस्कार दिऊँ, हुर्काऊँ । म सबैलाई अनुरोध गर्दछु, छोराछोरी भनेर विभेद नगरौं ।’ 

आज इब्सलकै आडमा उनको परिवार अडिएको छ । ‘छोरीले के नै गर्न सक्छे र ?’ भन्ने समाजलाई आज उनी आफैं एउटा जवाफ भएकी छन् ।

लेखक
यज्ञ खत्री