
१६ वर्षको उमेरमै सिनियर महिला क्रिकेट टोलीबाट खेल्ने र त्यसपछि उमेर समूहको टोलीलाई नेतृत्व गर्दै ऐतिहासिक सफलताको बाटोमा पथप्रदर्शक बनेकी पूजा महतो अहिले नेपाली क्रिकेटमा चौतर्फी प्रशंसा भइरहेको एउटा नाम हो ।
नेपाली महिला यू–१९ क्रिकेट टोलीको कप्तानी गर्दै महिला क्रिकेट इतिहासमै पहिलो पटक विश्वकप खेल्न छनोट गराउन महत्वपूर्ण भूमिका खेलेकी पूजा अहिले सिनियर टिममा गरिरहेको प्रदर्शनले पनि थप चर्चाको शिखरमा चढिरहेकी छन् ।
अलराउन्डरको भूमिकामा खेल्ने पूजा दायाँ हाते ब्याटर र मिडियम पेसर बलर हुन् । उनकै कप्तानीमा नेपाल ऐतिहासिक विश्वकपमा छनोट भएको थियो भने यू–१९ महिला एशिया कपमा पाकिस्तानलाई समेत हराएको थियो ।
सफल कप्तान मात्र नभएर पूजा ब्याटिङ र बलिङमा पनि अब्बल छिन् । सिनियर टिममा पहिले मौका पाएर यू–१९ मा परेकी खेलाडी पूजाले पछिल्लो समय सिनियर टिमका लागि पनि प्रभावशाली प्रदर्शन गरेकी थिइन् । भर्खरै नेपालमा भएको थाइल्याण्ड र नेदरल्याण्ड्ससँगको शृंखलामा पूजा उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी थिइन् ।
सानैदेखि क्रिकेटमा रुचि राख्ने पूजा भारतमा हुर्किएका कारण क्रिकेटको माहोलमा भिज्ने मौका पाएकी थिइन् । जब उनी क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) को नजरमा परिन्, त्यसबेलादेखि उनले पछाडि फर्कनु परेको छैन ।
उनी खेल्दा प्रत्यक्ष हेर्ने होस् वा स्क्रिनमा हेर्ने, समर्थकहरू उनको प्रदर्शन देखेर निकै खुसी र उत्साहित हुने गरेका छन्, जुन कुरा गत महिना कीर्तिपुरमा भएको महिला टी–२० आई शृंखलाका बेला पनि देखिन्थ्यो । जति दर्शकहरू मैदानमा आएका थिए, उनीहरूले पूजाको समर्थनमा नारा लगाउँदा ती सबै पूजाकै प्रदर्शन हेर्न आएको अनुभूत हुन्थ्यो ।
मैदानमा फ्यानहरूले ‘पूजा…पूजा’ को नारा लगाउँदा गर्वको महसुस हुने अनुभव साट्दै पूजाले कतिपय अवस्थामा भित्रभित्रै भावुक पनि बन्ने गरेको सुनाइन् । ‘अहिले धेरै जनाको मनमा पूजा महतो छ, म खेलिरहँदा मेरो नाम लिएर समर्थन गरिदिनुहुन्छ, त्यसले एकदम खुशी महसुस गराउँछ’ उनले भनिन्, ‘कहिलेकाहीं भित्रभित्रै आँसु आउँछ यति धेरै समर्थन देखेर । उहाँहरूको लागि अझै राम्रो प्रदर्शन गर्दै जान्छु भन्ने सोचेकी छु ।’
समर्थकहरू देखेर आफ्नो कन्फिडेन्स धेरै बढ्ने बताउँदै उनी फ्यानहरूलाई निरन्तरको साथ र सहयोगको लागि धन्यवाद दिन्छिन् । आगामी दिनहरूमा पनि यसरी नै खुशी बनाउने गरी खेल प्रदर्शन गर्ने प्रतिबद्धता उनको छ ।
परिवारले बढाएको आत्मविश्वास
पूजा महोत्तरी जिल्लाको गौशालामा जन्मिएकी भए पनि उनको बाल्यकाल भारतको दिल्लीमा बितेको थियो । उनले क्रिकेट कला सबै भारतमै सिकेकी हुन् । दिल्लीबाट राष्ट्रिय टिम हुँदै यू–१९ विश्वकपसम्मको उनको यात्राको बारे सुन्दा जति रमाइलो देखिन्छ, त्यसका पछाडि उनको परिवारको संघर्षपूर्ण कथा छ ।
‘मैले क्रिकेट शुरू गर्दा बुबाआमाले धेरै संघर्ष गर्नुभएको छ, उहाँहरूले धेरै आलोचना समेत खेप्नुभएको थियो’ पूजाले भनिन्, ‘त्यतिबेला छोरीलाई क्रिकेट खेलाउनु नै ठूलो विषय थियो, पछि बिहे गर्नुपर्छ होश गर भनेर समाजले धेरै नै अत्याएको थियो ।’
आमाको प्रोत्साहन र बुबाको संघर्ष नै आफ्नो जीवनको ‘टर्निङ पोइन्ट’ भएको पूजा बताउँछिन् । ‘बुबाले धेरै नै दुःख गर्नुहुन्थ्यो मलाई क्रिकेट खेलाउन’ पूजाले भनिन्, ‘एकदिन आमाले पनि तिमी क्रिकेट खेल, भविष्यबारे धेरै नसोच, जे हुन्छ राम्रैको लागि हुन्छ भन्नुभयो । अनि मेरो आत्मविश्वास बढ्यो ।’
निम्नमध्यम आर्थिक अवस्था र परिवारको भविष्य सुधार्ने सपना बोकेर पूजाका बुबा रञ्जित महतो महोत्तरीबाट दिल्ली पुगेका थिए । तीन छोरी र एक छोराका पिताको एउटै लक्ष्य थियो, आइपर्ने सबै दुःख सहेर पनि पैसा कमाउने । उनीसँगै दिल्ली पुगेका थिए परिवारका सदस्य । माइली छोरी पूजाले संयोगवश भाइले क्रिकेट सिक्ने एकेडेमीमै क्रिकेट सिक्ने मौका पाएकी थिइन् ।
‘भाइले क्रिकेट खेल्न थालेको थियो । हामी उसलाई एकेडेमीमा लैजान्थ्यौं । एक दिन एकेडेमीको कोचले मेरो बुबासँग कुरा गर्दै तिम्रो छोरीसँग पनि क्षमता छ क्रिकेट खेल्नुपर्छ भन्नुभयो’ पूजाले क्रिकेट करिअरको सुरुवाती दिन सम्झँदै भनिन्, ‘अनि बुबाले तिमीले पनि खेल्नुपर्छ भन्नुभयो र म क्रिकेटसँग जोडिएँ ।’
तर, पूजाका बुवासँग दिदीबहिनी र भाइका लागि पैसा पुर्याउन कठिन थियो । पछि एकेडेमीमा निःशुल्क प्रशिक्षणको व्यवस्था भएपछि पूजाले सिक्न थालिन् । त्यसो त पूजाको नेपाल आगमनको प्रसंग पनि भाइसँग जोडिएको छ । दुई वर्षअघि बुबा र भाइ एक कार्यक्रमका लागि नेपाल आएका थिए । त्यही बेला उनको भाइ जिल्लाको यू–१५ क्याम्पमा परे ।
‘मेरो भाइले एक खेल खेलेर प्लेअर अफ दि म्याच अवार्ड पाएको थियो र उसलाई रोशन सर (तत्कालीन क्यान कोषाध्यक्ष) ले अवार्ड दिनुभयो’, पूजाले भनिन् ।
भाइले आफ्ना दिदीहरूले पनि क्रिकेट खेल्ने कुरा रोशन सिंहलाई बताए । दिल्ली फर्केपछि भाइले दिदीहरूलाई यसबारे जानकारी गराए । खेलको भिडियोहरू रोशन सिंहलाई पठाए । सिंहले यी विषयमा क्यानमा जानकारी गराए । त्यसपछि पूजा र आरती क्रिकेट खेल्न महोत्तरी आए । ‘रोशन सरले मलाई खेलाउन सबै पहल गर्नुभयो’, पूजाले भनिन् ।
प्रशिक्षणमा सहभागी हुन थालेसँगै पूजाको राष्ट्रिय टिममा इन्ट्री भयो । गत वर्ष मलेशियामा भएको आईसीसी महिला टी–२० वर्ल्डकप एशिया रिजनल क्वालिफायरका लागि उनी पहिलो पटक राष्ट्रिय टोलीमा परिन् ।
वर्ल्डकप क्वालिफायर अघि चार देश सम्मिलित सिरिजमा हङकङ विरुद्ध खेल्दै उनले सिनियर टिममा डेब्यु गरिन् । पहिलो खेलमै पूजाको अलराउन्ड प्रदर्शन थियो । ३ ओभर बलिङ गरेर १ मेडन राख्दै ५ रन मात्र खर्चेर १ विकेट लिएकी उनले ब्याटिङमा ओपनिङ गर्दै १८ बलमा १६ रन बनाइन् ।
इतिहास बनाउने टिमको नेतृत्व
पूजा महतो सिनियर टिममा पहिले खेलेर त्यसपछि यू–१९ टिममा छानिएकी हुन् । उनकै कप्तानीमा नेपालले ऐतिहासिक महिला विश्वकप पनि खेलेको थियो । पूजाले आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटदेखि नै नेपालका लागि शानदार प्रदर्शन गरिन् । उनले छनोट चरणमा नेपालका लागि सर्वाधिक रन बनाएकी थिइन् भने दोस्रो सर्वाधिक विकेट पनि लिइन् ।
पूजाले एशिया छनोट अन्तर्गत कुवेतसँगको खेलमा शतक प्रहार गर्दै सोही खेलमा ५ विकेट लिएकी थिइन् । प्रतियोगिताभर उनले २७२ रन बनाएकी थिइन् भने १० विकेट पनि लिइन् । त्यसैगरी, पूजाकै कप्तानीमा नेपालले यू–१९ महिला एशिया कप खेलेको थियो, जहाँ पाकिस्तानलाई पराजित गर्दै अघिल्लो चरणसम्म पुग्न सफल भएको थियो ।
विश्वकपको समूह चरणबाट अगाडि बढ्न नसके पनि उनको उत्कृष्ट प्रदर्शन भने सारा विश्वले देखेको थियो । प्रतियोगिताको अन्त्यमा आईसीसीले सार्वजनिक गरेको ‘टिम अफ दि टुर्नामेन्ट’ मा पूजा पनि समावेश थिइन् । उक्त टिममा पर्ने पूजा एक्ली एशोसिएट खेलाडी थिइन् । उनले प्रतियोगिताभर नेपालका लागि सर्वाधिक रन बनाउँदै सर्वाधिक विकेट पनि लिएकी थिइन् ।
सिनियर राष्ट्रिय टिमबाट २६ खेलमा २० इनिङ्स ब्याटिङ गरेकी पूजाले दुई अर्धशतक सहित ३१९ रन बनाएकी छन् । यस्तै बलिङमा २५ इनिङ्समा ३ विकेट पनि लिएकी छन् । साँच्चै भन्नुपर्दा उनले १८ वर्षको उमेरमै सिनियर टिमको प्रमुख खेलाडीको रूपमा पहिचान बनाइसकेकी छन् ।
‘अझ धेरै मिहिनेत गर्नु छ’
छोटो समयमै चर्चाको शिखरमा पुगेकी पूजा भने वास्तविक सफलता हासिल गर्न अझै बाँकी भएकाले यसलाई एउटा सानो कथा मात्रै ठान्छिन् । ‘धेरैलाई लाग्छ मैले छोटो समयमै धेरै हासिल गरें तर मलाई चाहिं केही हासिल गरेको छु जस्तो लाग्दैन’ उनले भनिन्, ‘अझै धेरै कडा परिश्रम गर्न बाँकी नै छ, अझ धेरै सफलता हासिल गर्न बाँकी नै छ ।’
आफ्नो क्षेत्रमा संघर्ष गरिरहेका महिलाहरूका लागि पनि पूजाको सन्देश छ, मिहिनेत गर्न कहिल्यै पनि नछाड्ने । ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको मिहिनेत नै हो, आफ्नो काममा राम्रोसँग लाग्यो भने सफल भइन्छ’ पूजा भन्छिन्, ‘नतिजा के हुन्छ त्यसबारेमा धेरै नसोचिकन मिहिनेत गरिरहनुपर्छ, त्यसले पक्कै पनि सफलताको बाटोमा लैजान्छ ।’