
अहिलेसम्म (२१ फागुन) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट हेर्दा नेपाल सरकारका निकायगत सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीहरूको संख्या ७१ देखिन्छ । यो सूचीको १५औं नम्बरमा छिन् सरिता दवाडी ।
सूचीमा रहेका नेपाल सरकारका सचिवमध्ये दवाडी सबैभन्दा कान्छी हुन् । यति मात्र होइन, नेपालको इतिहासमै इन्जिनियरिङ क्षेत्रबाट सबैभन्दा कम उमेरमा सचिव हुने ‘रेकर्ड’ पनि उनैले बनाएकी छिन् । पूर्वसचिव समेत रहेका लोक सेवा आयोग सदस्य माधव बेल्वासे भन्छन्, ‘प्राविधिकतर्फ खुला प्रतिस्पर्धाबाट उपसचिवमा सेवा प्रवेश गरी कम उमेरमै सचिव बन्ने सरिता पहिलो प्रशासक हुन् ।’
देशकै एक प्रतिष्ठित क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ (वातावरण इन्जिनियरिङ) विषयमा स्नातकोत्तर गरेकी उनी जम्मा ३१ वर्षको उमेरमा सहसचिव र ४२ वर्षको उमेरमा सचिव बनिन् । उनी २८ वर्षको उमेरमा उपसचिवबाट सरकारी सेवामा प्रवेश गरेकी थिइन् ।
दवाडी २०८० चैतदेखि नेपालको ‘आकर्षक’ मानिने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय हाँकिरहेकी छिन् । यो मन्त्रालयमा हुने दुई सचिवमध्ये उनको जिम्मा जलस्रोत र सिंचाइ हो । मन्त्रालयको ३०/३२ अर्ब बजेट परिचालन उनकै कमान्डमा भइरहेको छ ।
दवाडीलाई शुरूमा निजामती कर्मचारी बन्न मन थिएन । एकेडेमिक क्षेत्रमा करिअर बनाउने योजना थियो । सोही योजना अनुसार उनले २०६१ सालमा थापाथली इन्जिनियरिङ क्याम्पसमा टिचिङ एसिस्टेन्टको पदमा प्राध्यापन पेशा शुरू गरिन् ।
करार सेवामा त्रिवि प्रवेश गरेकी उनी सेवा आयोगको परीक्षा पास गरेर स्थायी हुन चाहन्थिन् । तर, लामो समयसम्म परीक्षा नभएपछि उनले बाध्य भएर लोक सेवा आयोगले लिने उपसचिवको परीक्षा दिइन् । खुला प्रतिस्पर्धाबाट पहिलो प्रयासमै पास पनि भइन् ।
‘वास्तवमा मलाई सरकारी कर्मचारी बन्न मन नै थिएन । म त अध्यापनमै करिअर बनाउन चाहन्थें’ दवाडी भन्छिन्, ‘तर, समय र परिस्थितिले यहाँसम्म आइपुगियो ।’ रमाइलो संयोग भन्नुपर्छ करिअरमा पनि उनको नाम ‘सरिता’ को अर्थ जस्तै नदी, खोला र पानीसँग साइनो जोडियो ।
२८ वर्षको उमेरमा उपसचिवका रूपमा तत्कालीन सिंचाइ मन्त्रालय प्रवेश गरेकी उनले अहिलेसम्म यो मन्त्रालय छाड्नु परेको छैन । उनले जलस्रोत तथा सिंचाइ क्षेत्रको नीति–निर्माण, योजना निर्माणका साथै नीति, कार्यक्रम र बजेट कार्यान्वयनसम्मका कार्यमा भूमिका निर्वाह गर्दै आएकी छिन् ।
एकै पटकमा उपसचिव
लमजुङ बिचौरमा २९ असार २०३८ मा शिक्षित र आर्थिक रूपमा सम्पन्न परिवारमा जन्मिएकी सरिता सानैदेखि पढाइमा अब्बल थिइन् । परिवारकी जेठी छोरी पाँच वर्ष पुगेपछि अभिभावकले राम्रो पढाइ हुने स्कूल खोजे । उनलाई चितवन भरतपुरस्थित ठूलो बुबा (बुबाका दाइ) को घरमा राखियो ।
उनको स्कूले शिक्षा बाल मन्दिरबाट शुरू भयो । त्यसपछि चितवनकै नारायणी माविबाट २०५३ सालमा एसएलसी पास गरिन् । ‘७५ प्रतिशत अंक सहित एसएलसी पास गरें । त्यतिबेला म स्कूलको टपर भएँ’, उनले भनिन् ।
एसएलसी पास गरिसकेपछि के पढ्ने भन्ने छलफल चल्यो । उनलाई प्राविधिक विषय पढ्ने चाहना थियो । पारिवारिक छलफल विज्ञान विषयमा केन्द्रित थियो । विज्ञान विषय अरूभन्दा ‘गाह्रो’ हुन्छ भन्ने आमबुझाइ थियो । तर, सरितालाई ‘सक्छु’ भन्ने आँट थियो ।
उनले बायोलोजी साथसाथै गणित विषय समेत लिएर कलेज पढ्ने कुरा गरिन् । किनकि, बायोलोजी विषयमा गणित समेत पढेपछि भविष्यमा अरू जे विषय लिएर पनि पढ्न पाइन्छ भन्ने थियो । छोरीको यो हिम्मतमा उनका ठूलो बुबा (जो हाईस्कूलको अंग्रेजी शिक्षक हुनुहुन्थ्यो) ले साथ दिनुभयो ।
‘म आफैंले बायोलोजी र म्याथ पढ्ने निर्णय गरें । घर–परिवारबाट पनि ठीक छ भन्ने भयो । त्यतिबेला चितवनमा निजी कलेज खासै थिएनन् र छोरीलाई टाढा काठमाडौं राखेर पढाउन पनि परिवारमा सहमति जुटेन’ उनी सम्झिन्छिन्, ‘अनि, म भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस, जुन मेरो घरबाट ५ मिनेटको पैदल यात्रामा पुगिन्थ्यो, सोही क्याम्पसमा आईएस्सी भर्ना भएँ ।’
सरकारी क्याम्पस भएकाले राजनीतिक गतिविधि बढी हुन्थ्यो । नियमित कक्षा आक्कल–झुक्कल मात्रै हुन्थ्यो । त्यसैले ट्युसनका भरमा आईएस्सी पास गर्नुपरेको उनी बताउँछिन् ।
‘आईएस्सी पहिलो वर्ष कलेजमा अलि–अलि कक्षा भएको याद छ । दोस्रो वर्षमा त एउटा कक्षा पनि राम्रोसँग पढ्न पाइएन । साइन्सको विद्यार्थी भएकाले प्रयोगात्मक कक्षा भने हुन्थ्यो, त्योबाहेक थ्यौरी क्लास भएन’ दवाडी भन्छिन्, ‘मैले ट्युसनका भरमा २०५६ सालमा आईएस्सी सेकेन्ड डिभिजनमा पास गरें ।’
आईएस्सी सकिएपछि के पढ्ने भन्ने दोधार भयो । बुबा इन्जिनियरिङ पृष्ठभूमिको भएकाले छोरीलाई आर्किटेक्ट इन्जिनियरिङ पढाउने मन थियो । आर्किटेक्ट इन्जिनियरिङमा बढी ‘टेबुल वर्क’ हुने भएकाले काममा सहज हुन्छ भन्ने बुबाको तर्क थियो । तर, उनलाई सजिलो होइन, अप्ठ्यारो मन पर्थ्यो । उनले बुबाको सल्लाह विपरीत सिभिल इन्जिनियरिङ रोजिन् ।
अनि, स्वाध्यायनबाटै प्रवेश परीक्षा पास गरेर पुल्चोक इन्जिनियरिङ क्याम्पसमा बीई पढ्न थालिन् । उनी पुल्चोक क्याम्पसकै होस्टलमा बसेर पढ्न थालिन् । त्यतिबेला इन्जिनियरिङमा महिला विद्यार्थी खासै हुँदैनथे । उनी भन्छिन्, ‘हाम्रो कक्षामा ४८ जना विद्यार्थीमध्ये तीन जना मात्र महिला थियौं । दुई जना त काठमाडौंकै थिए । पूरै होस्टलमा काठमाडौं उपत्यका बाहिरका महिला चार–पाँच जना मात्र थियौं ।’
उनले २०६० सालमा विशिष्ट श्रेणी (डिस्टिङ्सन) मा बीई पास गरिन् । त्यतिबेला उनी २२ वर्षकी थिइन् । बीई सकिएलगत्तै चितवनमै उनको बिहे भयो । बिहेलगत्तै उनले एउटा निजी कन्सल्टेन्सीमा जागिर पाइन् । करिब पाँच वर्ष इन्जिनियरिङ अध्ययन संस्थान थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यापन गरिन् ।
कलेज पढाउँदा पढाउँदै पुल्चोक क्याम्पसबाटै वातावरण इन्जिनियरिङमा स्नातकोत्तर पढ्न थालिन् । २०६४ सालमा विशिष्ट श्रेणी (डिस्टिङ्सन) मा मास्टर्स इन सिभिल इन्जिनियरिङ (इन्भायरोमेन्टल इन्जिनियरिङ) पास गरिन् । तर, जब स्थायी जागिर चाहिन्छ भन्ने सोच आयो, तब उनले एकै पटकमा लोक सेवा आयोगको परीक्षा पास गरेर उपसचिव बनिन् ।
३१ मा सहसचिव, ४२ मा सचिव
उनको कार्यक्षेत्र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय केन्द्रित रह्यो । उनीसँग अध्यापन क्षेत्रको अनुभव त थियो, तर सरकारी कर्मचारीको कामको अनुभव थिएन । निजामती सेवाभित्रको वातावरण, काम गर्ने तौरतरिका थाहा थिएन ।
कतिपयले त ‘यस्तो ठाउँमा जागिर खान किन आएको ? तपाईंको क्षमता मर्छ’ पनि भने । तर, उनले हिम्मत हारिनन् । इन्जिनियर श्रीमान् डा. सुरज लामिछानेको बलियो साथ पाइन् । विस्तारै अनुभवले खारिंदै गइन् । काममा गति दिन भने अझै चुनौती थियो । किनकि, उमेर र अनुभव दुवै कम भएकाले माथिल्लो तहका कर्मचारीले शंकाको दृष्टिले हेर्थे । जिम्मेवारी दिन हच्किन्थे ।
अधिकांश फिल्डमा गएर काम गर्नुपर्ने हुँदा सिभिल इन्जिनियरिङ समूह इरिगेसन उपसमूहमा महिला कर्मचारी अत्यन्तै कम हुन्थे । उनले सेवा प्रवेश गर्दा जम्मा थर्ड क्लास अफिसर (अधिकृत तह) मा दुई–तीन जना महिला इन्जिनियर भर्खर सेवा प्रवेश गरी कार्यरत थिए ।
‘म पहिलो महिला सिनियर डिभिजनल इन्जिनियर (उपसचिव), त्यसमा पनि खुला प्रतिस्पर्धाबाट छनोट भएको भनेपछि जिम्मेवारी दिन र काममा विश्वास गर्न अलि गाह्रो मानेको जस्तो बुझिन्थ्यो’ दवाडी भन्छिन्, ‘सेकेन्ड क्लास अफिसरको त अलि जिम्मेवारी बढी हुने पद भएकाले जिम्मेवारी पूरा गर्न सक्दैन कि भन्ने लाग्यो होला । त्यसैले अरू साथीहरूको पोस्टिङ भइसक्दा पनि मेरो पोस्टिङ धेरै दिनपछि मात्रै भयो । ढिलो भयो, तर मन्त्रालयमै भयो ।’
उनले राष्ट्रसेवक कर्मचारीका रूपमा पनि आफ्नो क्षमता सिद्ध गरिन् । त्यतिबेला अनिल पोखरेल (हाल स्वर्गीय) सिंचाइ विभागको महानिर्देशक थिए । रानीजमरा–कुलरिया सिंचाइ आयोजना निर्माण शुरू गर्नुअघि वातावरणीय अध्ययनको काम भइरहेको थियो । पोखरेलले त्यो अध्ययनको जिम्मा दवाडीलाई दिए ।
‘त्यो मेरो पहिलो काम थियो र त्यसमा मैले आफूलाई प्रमाणित गरें भन्ने लाग्छ । त्यसलगत्तै सिंचाइ विभागको वातावरण शाखामा मेरो जिम्मेवारी तोकियो । मेरो काम देखेपछि सक्षम रहिछ भन्ने पर्यो होला’, दवाडीले भनिन् । विभागमा धेरै वातावरणीय अध्ययन पनि हुँदैनथ्यो । काम खासै नहुने र आफ्नो क्षमता विकास पनि नहुने महसुस गरेपछि उनले त्यहाँबाट सरुवा हुने इच्छा व्यक्त गरिन् ।
उनलाई सिंचाइ विभागबाट डिभिजन कार्यालय प्रमुखको जिम्मेवारी दिइयो । ‘इन्जिनियरिङ पढेर भर्खर सरकारी सेवामा आएको भनेर होला, मलाई नचिन्नेहरूले त्यहाँ पठाउनुहुँदैन भन्थे । डिभिजन कार्यालयहरूलाई अनुगमन गर्ने निकाय तत्कालीन मध्यमाञ्चल क्षेत्रीय सिंचाइ निर्देशनालयका क्षेत्रीय निर्देशक प्रदीपराज पाण्डे सरले मलाई धेरै सपोर्ट गर्नुभयो’ उनले भनिन्, ‘मेरो कामबाट उहाँ प्रभावित हुनुभयो ।’
२०६८ साल भदौदेखि डेढ वर्षसम्म उनी सिंचाइ विकास डिभिजन काठमाडौंको डिभिजन प्रमुख बनिन् । त्यतिबेला डिभिजन कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला हेर्नुपर्थ्यो । हाल यो कार्यालय प्रदेश सरकार मातहत छ ।
त्यहीबेला उनले लोक सेवा आयोगको परीक्षा पास गरी फर्स्ट क्लास अफिसर अर्थात् सहसचिव बनिन् । भदौ २०६८ मा डिभिजन कार्यालयको नेतृत्व गरेकी उनी फागुन २०६९ मा सहसचिव बनेर पुनः सिंचाइ मन्त्रालयमा आइन् । त्यतिबेला उनी ३१ वर्षकी मात्र थिइन् ।
सहसचिवमा बढुवा भएपछि उनले सिंचाइ विभाग अन्तर्गत एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित सामुदायिक व्यवस्थापन सिंचाइ कृषि क्षेत्र परियोजनाको प्रोजेक्ट म्यानेजरको पदमा काम गरिन् ।
त्यसपछि क्रमशः पश्चिमाञ्चल क्षेत्र निर्देशनालयको क्षेत्रीय निर्देशक पदमा सिंचाइ विभागको उपमहानिर्देशक हुँदै पुस २०७५ मा जलस्रोत तथा सिंचाइ विभागको पहिलो महानिर्देशक बनिन् । ‘इन्जिनियरिङ विभागहरूमध्ये महानिर्देशक पदमा पुग्ने पहिलो महिला म नै भएँ’, उनी भन्छिन् ।
दवाडीले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको महत्वपूर्ण जलस्रोत महाशाखामा सहसचिव पदमा करिब साढे दुई वर्ष काम गरिन् । त्यसपछि मन्त्रालयकै जलस्रोत क्षेत्रको अनुसन्धान गर्ने निकाय जलस्रोत अनुसन्धान तथा विकास केन्द्रमा कार्यकारी निर्देशक पदमा दुई वर्ष काम गरिन् । त्यसपछि मंसिर २०८० मा उनी सचिवमा बढुवा भइन् ।
सचिव बनेपछि पहिलो पोस्टिङ जल तथा ऊर्जा आयोगमा भयो । साढे तीन महिना जल तथा ऊर्जा आयोगमा काम गरेपछि उनको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको सचिवमा तोकियो । उनले निजामती सेवामा गरेको कामको मूल्यांकन गर्दै नेपाल इन्जिनियर्स एशोसिएसनले ‘उत्कृष्ट सार्वजनिक सेवा प्रवाह पुरस्कार’ दियो । यो पुरस्कार पाउने उनी पहिलो महिला इन्जिनियर सचिव पनि हुन् ।
‘स्काडा’ देखि ‘टीबीएम’ सम्म
जलस्रोत अनुसन्धान तथा विकास केन्द्र प्रमुख भएर काम गर्दा उनले आयोजनाहरूमा नवीन प्रविधि प्रयोगमा जोड दिइन् ।

उदाहरणका लागि उनको परिकल्पना र डिजाइन अनुसार बाहुनटार सिंचाइ आयोजना धादिङमा पहिलो पटक नेपालको सिंचाइ योजनामा ‘स्काडा’ नामको नयाँ प्रविधि प्रयोग भयो ।
यो प्रविधिबाट कम्प्युटर प्रोग्राम/मोबाइल एपबाट कुन बालीलाई कति पानी चाहिन्छ भन्ने लेखाजोखा गरेर किसानको खेतमा सिंचाइ गर्ने काम हुन्छ । अन्य विकसित देशमा ठूल्ठूला सिंचाइ आयोजना, जल वितरण प्रणाली, ऊर्जा उत्पादन र उद्योग स्वचालनमा समेत यस्तै प्रविधि प्रयोग हुन्छ ।
काठमाडौं उपत्यकामा पानी आपूर्ति पूर्वाधारका लागि पनि ‘स्काडा’ प्रणाली समावेश गरिएको छ।
रिभर ट्रेनिङमा पनि उनले नयाँ प्रविधिको अनुसन्धान गरिन् । अहिलेसम्म परम्परागत प्रविधि जस्तै, ग्याबिन तारको जालीमा ढुंगा भरेर बाँध बाँध्ने गरिएकोमा त्योभन्दा टिकाउ ‘फेब्रिक फम क्रंकिट म्याट्रेस’ पहिलोपटक प्रयोगमा ल्याइन् । यो चितवन सौराहामा सफल प्रयोगमा आएको छ ।
उनका अनुसार यस्तै खालको प्रविधि तिनाउ नदीमा पनि प्रयोग गरिएको छ । त्यो प्रविधिको अनुसन्धान सफल भएपछि यसलाई लागत अनुमान तयार गर्ने इन्जिनियरिङ नर्म्समा समेत समेटिएको छ ।

२०४१ सालपछि सिंचाइ क्षेत्रको रेट एनालाइसिस (लागत विश्लेषण) नर्म्स अपडेट भएको थिएन । प्रविधि विकास साथसाथै विकास निर्माण कार्यको लागत अनुमान तयार गर्ने नर्म्स पनि अपडेट गर्नुपर्ने हुन्छ ।
सिंचाइ विभागको महानिर्देशक हुँदा २०७६ सालमा आफैंले शुरू गरेको उक्त नर्म्स अपडेट गर्ने काम दवाडीले सिंचाइ सचिव हुँदा नेपाल सरकार मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेश गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिन् । उनका अनुसार उक्त नर्म्स अहिले मन्त्रिपरिषद्बाट स्वीकृत हुने अन्तिम चरणमा छ ।
‘हामी टीबीएम मेसिनबाट सुरुङ खन्ने भइसक्यौं । नदी प्रणालीमा पनि नयाँ प्रविधि आइसके । विकसित देशमा प्रयोग भइराखेका जलस्रोत तथा सिंचाइका विभिन्न प्रविधि हामीले प्रयोग गर्नुपर्नेछ । तर, हामीसँग ती प्रविधिका लागत अनुमान तयार गर्ने नर्म्स नहुँदा हरेक वर्ष महालेखा परीक्षणमा बेरुजु आउने गरेकाले काममा अप्ठ्यारो भइरहेको थियो’ सचिव दवाडीले भनिन्, ‘समय सान्दर्भिक त्यसलाई अपडेट गर्नैपर्ने थियो ।’ उनका अनुसार जलस्रोत तथा सिंचाइ विभागका लागि यो एक महत्वपूर्ण काम हो र त्यो स्वीकृत भई लागू हुने क्रममा छ ।

उनी जलस्रोत अनुसन्धान तथा विकास केन्द्र प्रमुख हुँदा सम्पन्न भएका पहिरो मापन तथा पूर्वसूचना प्रणाली, स्वचालित भूमिगत पानीको सतह मापन प्रणाली जस्ता प्रविधि विकासमा समेत गरेको योगदान स्मरणीय छ । सिंचाइ गुरुयोजना २०२४ स्वीकृत गरी लागू गर्ने काम पनि उनकै पहलमा भएको छ ।
सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) प्रयोग गराउनुमा उनको मुख्य पहल रह्यो । ‘भेरी–बबई डाइभर्सन आयोजनामा मेरा सिंचाइका अग्रजहरूबाट नेपालमै पहिलो पटक टीबीएम प्रयोग गरेको अनुभव थियो । त्यही अनुभवका आधारमा सुनकोशी मरिनमा पनि टीबीएम प्रयोग गरौं भन्ने निर्णय लिइयो र यसमा हामी सफल पनि भयौं’, उनी भन्छिन् ।
सिंचाइ एक प्राविधिक मन्त्रालय हो । त्यो काममा सफलता हासिल गर्न तीनै तहका सरकार, स्थानीय उपभोक्ता, विभिन्न राजनीतिक दल, निर्माण व्यवसायी लगायत सबै सरोकारवालाको सकारात्मक साथ र सहयोग चाहिन्छ ।
दवाडीले ४२ वर्षकै उमेरमा नेपाल सरकारको सचिव पदमा पुगेर जलस्रोत तथा सिंचाइ जस्तो ठूलो र चुनौतीयुक्त मन्त्रालयको बागडोर सफलतापूर्वक सम्हालिरहेकी छिन् । उनको यो सफलताले कैयौं नेपाली महिलालाई उच्च प्रशासनिक भूमिकामा आउन प्रेरणा मिलिरहेको नेपाल सरकारका पूर्वसचिव सागरकुमार राई बताउँछन् ।
फोटोः आर्यन धिमाल