+

कोहलपुरकी सर्वसम्मत स्वयंसेवक

पूरा सूची
Shares
बाटो ग्राभेल गर्ने, नाली बनाउने, बिजुलीका पोल गाड्ने, धारा जडान गर्ने, ट्युबेल गाडिदिने । हेर्दा सामान्य लाग्ने तर विपन्न बस्तीका लागि अर्थपूर्ण विकास आयोजनाको नेतृत्व गर्छिन्, रेखा सुनार । घर–दैलोमा लोकतन्त्रको आभास गराउने पात्र हुन्, उनी ।
रेखा सुनार

रेखा सुनार ४२, बाँकेको कोहलपुर नगरपालिका वडा नं ३ को दलित महिला सदस्यमा लगातार दोस्रो पटक निर्वाचित भइन् । पहिलो कार्यकालमा राम्रो काम गरेको भनेर नेकपा एमालेले रेखालाई दोस्रो पटक पनि सर्वसम्मत उम्मेदवार बनायो । मतदाताले अत्यधिक मत दिएर उनलाई निर्वाचित गराए । 

रेखाले कक्षा ८ सम्म मात्रै पढेकी छन् । उनको १६ वर्षकै उमेरमा बिहेबारी भयो । बिहेपछि पढाइलाई निरन्तरता दिन नसके पनि उनी घर–परिवारको जिम्मेवारी सम्हाल्दै सामाजिक काममा सक्रिय भइन् । 

सामाजिक क्षेत्रमा अग्रसर भएर काम गर्ने रेखाको रुचि देखेपछि श्रीमान् पूर्णबहादुर सुनारले उनलाई राजनीतिमा लाग्न सुझाव दिए । एमालेका सक्रिय कार्यकर्ता रहेका श्रीमान्को साथ र हौसलाले उनलाई राजनीतिमा लाग्न सहज भयो । सामाजिक काम र राजनीतिक रुचि मिसमास भइरहेका बेला २०७४ सालमा स्थानीय तहको निर्वाचनको तयारी शुरू भयो ।

एमाले कोहलपुर नगर कमिटीले रेखालाई नगरपालिकाको वडा नं ३ को दलित महिला सदस्यको सर्वसम्मत उम्मेदवार बनायो । निर्वाचनमा वडा अध्यक्ष सहित रेखाको टीम अत्यधिक मतका साथ विजयी भयो । दलित महिला सदस्य भएपछि उनको समाज सेवा गाउँ–टोलबाट वडासम्म फैलियो । 

वडामा बाटो, नाला, विद्युत्को पोल, सिंचाइका लागि बोरिङ गाड्ने, गाउँलाई खुल्ला दिसा मुक्त बनाउने, गाउँका सबै बालबालिकालाई विद्यालय भर्ना गराउने, गाउँघरमा हुने झगडा मिलाउने, कसैको जन्मदर्ता भए–नभएको ध्यान दिने जस्ता काममा रेखाको सहभागिता बढ्दै गयो । 

स्थानीयसँग सजिलै घुलमिल हुने, समस्यालाई धैर्यपूर्वक सुन्ने, यो पार्टीको र त्यो पार्टीको भनेर पक्षपात नगर्ने अनि हुनसक्ने काम तत्कालै गरिदिने भएकाले रेखा कोहलपुर नगरपालिका वडा नं ३ मा औधी लोकप्रिय छिन् । वडा अध्यक्ष माधव रिजाल भन्छन्, ‘उहाँ दलित महिला सदस्य मात्रै हुँदै होइन, यो वडाको स्थापित नेता हो । आइपरे सजिलै वडा अध्यक्ष चलाइदिनुहुन्छ ।’

रेखा भन्छिन्– जनताले जनप्रतिनिधिबाट के अपेक्षा गर्छन् भन्ने मैले बुझेकी छु । मलाई थाहा छ जनप्रतिनिधि भएपछि जनताका कुरा सुन्न सक्नुपर्छ । म धैर्यपूर्वक सुन्न सक्छु । आफू कम बोलेर जनतालाई नै धेरै बोल्न दिन्छु । आफ्नो र विपक्षी भनेर पक्षपात गर्दिनँ ।’ 

उनले भनिन्, ‘जनतालाई दुःख पर्दा म सधैं उनीहरूकै माझमा हुन्छु । खोजेको बेला सम्भव भएसम्म पुग्छु । उनीहरूका समस्या समाधान गर्ने कोशिश गर्छु । सक्ने भए तत्कालै गरिदिन्छु । नसक्ने भए वडामा राख्छु ।’ 

स्थानीय बासिन्दाका भनाइमा, काम गर्ने शैलीका कारण आफ्नै पार्टीका मात्रै नभएर विपक्षी पार्टीलाई समर्थन गर्ने मतदाताले समेत मतदान गरेर उनलाई दुई पटक अत्यधिक मतका साथ जिताएका हुन् । स्थानीय तहमा लगातार दोस्रो पटक सोही पदमा जित्न चुनौती नै हुन्छ । तर, रेखाले भने पहिलो निर्वाचनमा भन्दा दोस्रो निर्वाचन झन् धेरै मतान्तरले जितेकी थिइन् । 

टिकट पाउने बेलामा एमाले भित्र सर्वसम्मत उम्मेदवार थिइन् र विपक्षी उम्मेदवार भन्दा झन्डै दोब्बर मत ल्याएर विजयी भइन् । कोहलपुर ३ मा एउटा दलित महिला सदस्यको रूपमा रेखाको लोकप्रियता बढ्दो छ । उनी भन्छिन्, ‘म दलित परिवारकी छोरी हुँ । गरिबीका कारण कक्षा ८ भन्दा धेरै पढ्न सकिनँ । १६ वर्षमै बिहे भयो । यति हँुदाहुँदै पनि श्रीमान्को हौसला र प्रेरणाले राजनीतिमा लागें । जनताको मन जितेर जनप्रतिनिधि भएँ । मेरा लागि यो ठूलो कुरा हो ।’ 

राजनीतिले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो । यसको श्रेय उनी वर्तमान संविधानलाई दिन्छिन् । पछिल्लो परिवर्तनले आफूहरू जस्तालाई बोल्न सक्ने बनाएको उनको बुझाइ छ । हुन पनि सानोमा उनी नचिनेको मान्छेसँग बोल्नै डराउँथिन् । सकभर बोल्न नपरोस् भनेर टाउको निहुराएर हिंड्थिन् तर पछिल्लो परिवर्तनले उनको सोच बदलियो । 

उनी भन्छिन्, ‘म अहिले निर्धक्क बोल्न सक्छु । अवसर पाए मञ्चमै उभिएर हजारौं जनताका बीचमा भाषण गर्न सक्छु ।’ समाजमा अरूले मानसम्मान गर्दा कसलाई पो खुशी लाग्दैन र ! रेखालाई पनि असाध्यै खुशी लाग्छ । अझ उनको पारिवारिक पृष्ठभूमि र नेपाली समाजमा जरा गाडेर बसेको जात प्रथामा त उनी कथित तल्लो जातकी हुन् । तर हिजोआज गाउँ र जिल्लाका धेरै कार्यक्रममा उनलाई निम्ता आउँछ । समाजमा सम्मानजनक व्यवहार गरिन्छ ।

उनी भन्छिन्, ‘म जस्तो धेरै पढ्ने अवसर नपाएको जातीय विभेद, छुवाछूत, गरिबी जस्ता अनेकौं समस्या खेप्दै आएका दलित महिलाका लागि यो अवसर र सम्मान ठूलो कुरा हो । बदलिंदो समयको चेत र मेरो कर्मले यो आर्जन गरेकी हुँ ।’ 

उनका भनाइमा, जब राजनीतिका माध्यमबाट उनले समाजमा रहेको विभेद हटाउने, विकास निर्माणका काममा सक्रिय हुने, दलित लगायत पछाडि पारिएका समुदायका समस्याका बारेमा आवाज उठाउने काम गर्न थालिन् समाजबाट पाइने माया र सम्मान झन्–झन् बढ्यो । उनी भन्छिन्, ‘अहिले त म त्यसैमा रमाएकी छु ।’ 

उनी थप्छिन्, ‘गरिबीका कारण पढ्ने अवसर नपाएका बालबालिकालाई विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षकहरूलाई अनुरोध गरेर भर्ना गराउने र छात्रवृत्तिको व्यवस्था मिलाएर पढ्ने वातावरण मिलाउँदै आएकी छु ।’ यस्तै समाजमा गहिरो गरी बसेको जातीय विभेद अन्त्य होस् भन्ने उनको चाहना छ । तर उनको चाहनाले मात्रै यो पूरा हुनेवाला छैन । 

उनको बुझाइमा जातीय विभेदको मुख्य कारण गरिबी र पछौटेपन हो । हुनेखाने, पढ्ने–लेख्ने अवसर पाएका, पेशा–इलम भएका दलित समुदायका मानिसहरू जातीय विभेदमा परेको विरलै सुनिन्छ । जो गरिब छ; जसले राम्रोसँग पढ्न–लेख्न पाएको छैन, पेशा–इलम छैन उनीहरू नै धेरै जातीय विभेदमा छन् । त्यसैले यो विभेदको अन्त्यका लागि आर्थिक र शैक्षिक अवस्थामा सुधार ल्याउनुपर्छ भन्ने उनको विश्लेषण छ । 

वडा सदस्य पदमा चुनाव जितेपछि रेखालाई धेरै नै गर्न सक्छु जस्तो लाग्थ्यो । विस्तारै थाहा पाइन् सोचे जति गर्न सकिंदो रहेनछ । तर बजेटको सीमितता भित्र पनि आफ्नो टीमले गर्न सकिने जति काम गरेको उनको दाबी छ । 

उनी भन्छिन्, ‘वडा कार्यालय जनताको काम धेरै हुने ठाउँ हो । हामीले छिटो–छरितो र सहजै गरिदिने व्यवस्था मिलाएका छौं । जनप्रतिनिधि नभएका कारण जनताको काम नरोकियोस् भनेर वडा अध्यक्ष सहित हामी वडा सदस्य नियमित रूपमा कार्यालय पुग्छौं । जनताले खोजेका बेला हामी सधैं भेटिने अवस्थामा हुन्छौं ।’ 

कोहलपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्षले आफू वडा बाहिर हुँदा अरूलाई जिम्मेवारी दिने गरेका छन् । दर्जनौं पटक रेखा कार्यवाहक वडा अध्यक्ष भएकी छन् । वडा अध्यक्षको उदार साथ र जनताको समर्थनका कारण पनि उनी काम गर्न यो विघ्न हौसिएकी हुन् । 

गाउँ–ठाउँमा जनतालाई जेमा साह्रो–गाह्रो पर्छ ती सबै जनप्रतिनिधिका काम हुन् । यहाँ यो मेरो काम होइन भन्नै पाइन्न । रेखा भन्छिन्, ‘जनतालाई समस्या पर्दा प्रहरी/प्रशासनमा गएर छलफल गर्ने, समाधानका लागि पहल गर्ने काम पनि मेरै हो । महिनामा दुई/तीन पटक प्रहरी/प्रशासनमा पुगेकै हुन्छु ।’ 

उनी नागरिकता नभएका कारण समस्यामा परेकालाई विधि र प्रक्रिया बताएर नागरिकता बनाउन सहयोग गर्छिन् । आफैं संयोजक भएर अति नै विपन्न १० दलित परिवारका लागि जनता आवास कार्यक्रम मार्फत दुई कोठा, भान्सा र बरन्डा अनि शौचालय सहितको घर बनाएकी छिन् । 

गाउँ–टोलको बाटोमा ग्राभेल गर्ने, नाली बनाउने, विद्युत्का पोल गाड्ने, खानेपानीका धारा जडान गर्ने, सिंचाइका ट्युबेल गाडिदिने जस्ता हेर्दा सामान्य लाग्ने तर गरिब तथा विपन्न बस्तीका लागि ठूला विकास आयोजनाको नेतृत्व गर्छिन् उनी । यस अर्थमा जनताको घरदैलोमा लोकतन्त्रको आभास गराउने पात्र हुन्, रेखा । 

गाउँ–ठाउँमा जनतालाई जेमा साह्रो–गाह्रो पर्छ ती सबै जनप्रतिनिधिका काम हुन् । यहाँ यो मेरो काम होइन भन्नै पाइन्न । रेखा भन्छिन्, ‘जनतालाई समस्या पर्दा प्रहरी/प्रशासनमा गएर छलफल गर्ने, समाधानका लागि पहल गर्ने काम पनि मेरै हो । महिनामा दुई/तीन पटक प्रहरी/प्रशासनमा पुगेकै हुन्छु ।’ 

आफू जनप्रतिनिधि भएर गरेका काम निर्धक्कसँग भन्छिन् रेखा । हामी आउँदा भाडाको सानो कोठामा वडा कार्यालय थियो । हामीले सार्वजनिक जग्गा खोजेर वडा कार्यालय, स्वास्थ्य चौकी, खानेपानीको ट्यांकी र भवन बनाएका छौं । नगरपालिकाका मेयर, उपमेयर, प्रदेशका माननीय मन्त्री, संघीय मन्त्रीसँग समन्वय गरेर पक्की सडक लगायत संरचनाहरू बनाएका छौं । 

बढ्दो शहरीकरणका कारण कोहलपुरमा पनि वृद्धवृद्धाहरूलाई बस्ने, गफ गर्ने, हिंडडुल गर्ने ठाउँको अभाव हुँदै गएको छ । वडा कार्यालय नजिकै रहेको खाली जग्गामा एउटा ठूलो हल सहितको भवन, सानो पार्क बनाएर हिंडडुल गर्ने, भेटेर दुःख–सुखका कुरा गर्ने ठाउँ बनाउन पाए हुन्थ्यो भन्ने लागेको रेखा बताउँछिन् । 

उनी भन्छिन्, ‘गाउँमा बिहे भयो भने बाटो नै बन्द गरेर टेन्ट लगाएर भोज गर्नुपर्ने बाध्यता छ । मृत्यु संस्कारका लागि वडामा किरियापुत्री भवन छैन । त्यो भए विपन्न नागरिकलाई धेरै नै सहज हुनेथियो । अब हामी ती योजना अगाडि बढाउने सोचमा छौं ।’

लेखक
कृष्ण अधिकारी

कृष्ण अधिकारी नेपालगञ्जबाट खोजमूलक स्टोरी लेख्छन् ।