+

कर्पोरेट करिअरमा छलाङ

पूरा सूची
Shares
जीवन, निर्जीवन तथा पुनर्बीमा गरेर कुल ३८ बीमा कम्पनीमध्ये व्यवस्थापन नेतृत्व गर्ने उपासना एक्ली युवा महिला हुन् ।
उपासना पौडेल

उनी यस्तो परिवारमा जन्मिइन्, जसलाई खासै आर्थिक अभावले गाँजेन । बुवा व्यवसायी, आमा बैंकर तर परिवार मध्यम वर्गीय । खान, लाउन र पढ्न दुःख चाहिं थिएन । राम्रा स्कुल, कलेज र विश्वविद्यालयमा शिक्षा हासिल गरेकी उपासना पौडेलको सपना खासै ठूलो पनि थिएन । ‘जीवनमा केही नयाँ चाहिं गर्नैपर्छ’ भन्ने हुटहुटी चाहिं थियो ।

त्यही हुटहुटीलाई अथक् मिहिनेतकै कारण विपनामा बदल्न सफल भइन् । स्वदेशअघि विदेशमै एक खालको ‘हाइप’ वाला जागिरमा सफलता हात पारेर अनुभव सँगाल्दै मातृभूमि फर्केकी उपासनाले नेपालको वित्तीय क्षेत्रमै एक इतिहास रचिन् ।

उमेरले तीन दशकमा दौडिरहेकी उपासना ललितपुरको एक मध्यम वर्गीय परिवारमा हुर्किइन् । त्यो मध्यम वर्गीय परिवारकी छोरी उपासना अहिले १० अर्ब चुक्ता पूँजी भएको हिमालयन रि–इन्स्योरेन्स कम्पनीको नेतृत्व हाँकिरहेकी छिन् ।

नेपालमा महिलाले कुनै पनि सार्वजनिक संस्थाको नेतृत्व, अझ युवा उमेरमा ‘लिड’ गरेका उदाहरण ज्यादै कम पाइन्छ । उपासना अहिले हिमालयन रि–इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छिन् ।

उनी अन्तर्राष्ट्रिय बजार गएर नेपाल चिनाउँदै व्यापार ल्याउनुपर्ने पुनर्बीमा व्यवस्थापकीय नेतृत्वमा छिन् । शिक्षित परिवारमा नै हुर्के पनि युवावयमै यति ठूलो सफलता हासिल गर्ने महिलामा उनी दरिएकी छिन् ।

को हुन् उपासना ?

एकल परिवार भए पनि संयुक्त संस्कृतिमा हुर्किइन् उपासना । बिहे, व्रतबन्ध वा अरू चाडपर्वमा संयुक्त परिवारका रूपमा मनाउने चलन थियो । उनी परिवारको जेठो सन्तान हुन् ।

परम्परागत शैली नै भए पनि आफू आधुनिक संस्कृतिमा हुर्किएको उपासना बताउँछिन् । छोरी भनेर भेदभाव हुने पारिवारिक संस्कार नभएकाले उनले संघर्ष भने गर्नुपरेन । उपासनाले स्कुल शिक्षा ललितपुरकै डीएभी स्कुलबाट हासिल गरिन् । अनि, डन बस्कोबाट कक्षा १२ सिध्याइन् ।

त्यसपछि काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट स्नातक सकेर एमबीए गर्न भारत गइन् । दिल्ली युनिभर्सिटीमा थप अध्ययन गरिन् । पढ्दापढ्दै ‘इन्टर्नसिप’ जस्तै समर प्लेसमेन्ट भन्ने हुने गरेको उनी बताउँछिन् । अन्तर्वार्ता दिएर उनले ‘कमिन्स इन्डिया लिमिटेड’ मा इन्टर्न गर्ने अवसर पाइन् ।

उपासनाको व्यावसायिक करिअर त्यहींबाट सुरु भयो । कमिन्स केही परम्परागत शैलीमा काम गर्ने कम्पनी भए पनि कम्पनीमा युवा जोश भएको प्रमुख कार्यकारी अधिकृत रहेको र त्यसबाट उनले धेरै सिक्ने अवसर पाइन् । ‘मेरो अहिलेको सफलताको पहिलो खुड्किलो कमिन्स इन्डिया नै हो’, उनी गर्वसाथ सुनाउँछिन् ।

उक्त कम्पनीभित्र ‘रिकन्डिसन इन्जिन’ को नयाँ व्यवसाय सुरु भएको थियो । त्यसका लागि अमेरिकाबाट युवा नेतृत्व ल्याइएको थियो । तिनको काम गर्ने संस्कृतिबाट प्रभावित भएको उनी सुनाउँछिन् । पुनेमा उक्त कम्पनीमा काम गर्दैगर्दा मुम्बई बस्न मन लागेपछि मुम्बईबाट उनले बीमा करिअर सुरु गरिन् ।

मुम्बई ‘माइलस्टोन’

मुम्बईमा उनले ‘आईसीआईसीआई लाम्बार्ड’ नामक जनरल इन्स्योरेन्स कम्पनीमा काम सुरु गरिन् । ‘इन्स्योरेन्समै भविष्य छ र यही नै मेरो चाहना हो भनेर भन्दा पनि मुम्बई बस्ने रहरले सुरुमा त्यसमा जागिर खान पुगें’ उपासना सम्झिन्छिन्, ‘कमिन्सको मुम्बईमा अफिस नभएका कारण आफूले खाएको तलबभन्दा कममा नै इन्स्योरेन्सको जागिर सुरु गरें ।’

इन्स्योरेन्समा पोलिसी बिक्री, अन्डरराइटिङ, आईटीको जिम्मेवारी पनि पूरा गरेको उनी बताउँछिन् । तर, ‘कन्जुमर एक्स्पेरियन्स’ का लागि उक्त जागिर छाडेर भोडाफोन नामक टेलिकम्युनिकेसन कम्पनी पुगिन् । भोडाफोन बहुराष्ट्रिय कम्पनी भएकाले ‘वर्किङ कल्चर’ नै फरक प¥यो ।

बीमामा आज दिएको काम दुई दिन वा आजै दिनुपर्ने तर भोडाफोनमा भने दुई वा तीन महिनाको ‘असाइन्मेन्ट’ हुने भएपछि कामको ‘कल्चर’ नै नमिलेको उनको अनुभव छ ।

‘मलाई छिटो काम गर्ने बानी लागेकाले विस्तारै काम गर्न गाह्रो हुने रहेछ’ उनले सुनाइन्, ‘भोडाफोनका कर्मचारीको भने आफ्नै कल्चर हुँदा मसँग काम गर्न उनीहरूलाई पनि समस्या भयो । त्यसपछि भोडाफोनमा काम गर्नु उपयुक्त होइन भन्ने लाग्यो ।’

त्यहीबेला ‘भारती एक्सा’ नामक जनरल इन्स्योरेन्स कम्पनीमा उनलाई काम गर्ने अफर आयो । बीमामा काम गरेको अनुभव र बीमामा नै काम गर्ने बानी परिसकेकी उपासनाले नाइँ भनिनन् ।

‘उक्त टिमले कम्पनीलाई नाफामा लैजाने लक्ष्य लिएको थियो । कम्पनीले अफर गरेपछि मैले पनि इन्स्योरेन्स नै आफ्ना लागि रहेछ भन्ने महसुस गरें’ उनी भन्छिन्, ‘अनि मैले बीमामा आफ्नो भविष्य खोज्न सुरु गरें ।’

भारतको अनुभवपछि स्वदेश

उपासना आफ्नो करिअरका लागि भारतले नै ‘एक्स्पोजर’ दिएको बताउँछिन् । तर, सबै परिवार नेपालमै रहेकाले ‘एक दिन देश फर्किनैपर्छ’ भन्ने सोच कहीं न कहीं उनमा थियो । बिदामा नेपाल आउँदा जोश–जोशमै सानिमा जनरल इन्स्योरेन्समा आबद्ध भइन् ।

पैसा र पहिचानका हिसाबले ६ वर्ष अगाडि भारतमा कमाउने बराबर कमाइ भए पनि देश फर्किनुपर्छ भन्ने सोचले सन् २०१८ अगस्टमा सानिमा जनरल इन्स्योरेन्समा सहायक महाप्रबन्धकको करिअर सुरु गरिन् ।

भारतमा काम गर्दा नै कुनै पनि संस्थाको नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास आर्जन गरेकी उपासनाले केही समयमै सानिमा इन्स्योरेन्स छाडेर समस्यामा रहेको युनाइटेड इन्स्योरेन्समा काम गर्न पुगिन् । ‘मैले त्यो बेला जोखिम नै लिएकी थिएँ’, उनी भन्छिन् ।

वर्षौंदेखि समस्यामा रहेको र लाभांश दिन नसकेको युनाइटेड इन्स्योरेन्सको माथिल्लो व्यवस्थापकीय भूमिकामा उनी पुगिन् । लामो समयदेखि सीईओ नियुक्त नगरी निमित्त सीईओका भरमा चलेको कम्पनीमा उपासना डेपुटी सीईओ भइन् ।

यो अहिले अजोड इन्स्योरेन्ससँग मर्ज भएर युनाइटेड अजोड इन्स्योरेन्स बनेको छ । भारती एक्सा जस्तो डुबेको कम्पनीमा काम गरेर नाफामा लगेको अनुभवले पनि युनाइटेडलाई राम्रो बनाउन सकिन्छ भन्ने आत्मविश्वास उनमा थियो ।

‘बजारमा नयाँ भएको र बजार पनि बुझ्नुपर्छ भन्ने भएकाले सीधै सीईओ नै बन्छु भन्ने हुँदैन’ उपासना युनाइटेड प्रवेशको क्षण सम्झिन्छिन्, ‘निमित्त सीईओले छाडेपछि पनि मलाई सीईओ बन्छु भन्ने थिएन । अर्को सीईओ खोजेको थिए, नभएपछि आफैंले नेतृत्व गर्नुपर्ने अवस्था आयो । त्यसलाई स्वीकारें ।’

परिवर्तन गर्न हिम्मत गरेकै कारण अहिलेको अवस्थामा आइपुगेको उनको अनुभव छ । ‘मैले इन्जिन पनि बेचें, बीमा पनि बिक्री गरें र सिमकार्ड पनि बेचें’ उनी खुसीसाथ भन्छिन्, ‘मैले जहाँ पनि पर्फर्मेन्स गरेकी छु । त्यो फ्याक्टमा गर्व पनि गर्छु । त्यो मेरो मिहिनेतले दिएको हो ।’

दुई महिनाको बच्चा घरमा छाडेर महिनामा १० देखि १५ दिन बाहिर काम गर्नुपर्ने अवस्थामा युनाइटेडमा संघर्ष गरेको र नेपालमा आफ्नो पहिचान पनि युनाइटेडले दिएको उनी बताउँछिन् ।

नेपालमा पुनर्बीमा व्यवसाय सुरु भएको धेरै भएको छैन । सरकारको समेत लगानीमा नेपाल पुनर्बीमा कम्पनी सुरु भएको एक दशक पनि भएको छैन भने दोस्रो पुनर्बीमा कम्पनीका रूपमा हिमालयन रि–इन्स्योरेन्स कम्पनी १० अर्ब चुक्ता पूँजी सहित बजार प्रवेश गरेको केही वर्ष मात्रै भएको छ ।

पुनर्बीमा व्यवसाय भनेको बीमा कम्पनीले लिन नसक्ने र हस्तान्तरण गर्ने जोखिमलाई व्यवसायका रूपमा स्वीकार गर्ने व्यवसाय हो । यसमा नेपाल मात्रै नभएर विश्व बजारबाट व्यवसाय ल्याउनुपर्छ ।

‘काममा चुनौती छैन । नेपालमा मात्रै सीमित भएर बस्नेभन्दा अन्तर्राष्ट्रिय बजारमा काम गर्ने योजना छ’ उनी भन्छिन्, ‘अन्तर्राष्ट्रिय बजारमा काम गर्न जान रेटिङ हुनुपर्ने र दुई वर्ष अवधिमा हिमालयनले रेटिङ समेत अपग्रेड गरेको छ ।’

युवा पुस्तालाई प्रेरणा

सफलता प्राप्त गर्न अथक् मिहिनेत चाहिन्छ भन्ने आफ्नो जीवनदर्शन रहेको उपासना बताउँछिन् । भोडाफोनमा जति राम्रो पारिश्रमिक भए पनि मेरा लागि टेलिकम्युनिकेसन इन्डस्ट्री होइन रहेछ भनेर महसुस गरें’ उनी भन्छिन्, ‘तर सुरु गर्नासाथ मलाई बीमा नै मेरा लागि हो भन्ने महसुस भयो ।’

परिवर्तन गर्न हिम्मत गरेकै कारण अहिलेको अवस्थामा आइपुगेको उनको अनुभव छ । ‘मैले इन्जिन पनि बेचें, बीमा पनि बिक्री गरें र सिमकार्ड पनि बेचें’ उनी खुसीसाथ भन्छिन्, ‘मैले जहाँ पनि पर्फर्मेन्स गरेकी छु । त्यो फ्याक्टमा गर्व पनि गर्छु । त्यो मेरो मिहिनेतले दिएको हो ।’

सफलताले सन्तुष्टि र त्यही सन्तुष्टि नै कर्पोरेट क्षेत्रमा सफल बन्ने प्रेरणा बनेको उनको अनुभव छ । ‘जागिर गयो भने पनि बाँच्न र खान सक्छु भन्ने लाग्थ्यो । जसले कहिल्यै पनि जोखिम लिन पछि हटिनँ । जसले मलाई सफल बनाउँदै लग्यो’, उपासना भन्छिन् ।

वर्षौंदेखि सीईओ नियुक्त गर्न नसकेको युनाइटेडमा काम गर्न नजान धेरैले सुझाएका थिए । त्यहाँ कतिपयले ‘मोसो दल्छु’ समेत भन्दा ‘फेसवासले मुख धुन्छु’ भन्दै काम गरेको उनी सगर्व सुनाउँछिन् ।

भारतमा आईसीआईसीआईमा काम गर्दा उनी एक्लो बीमा कर्मचारी थिइन् । ‘बीमामा काम गर्दा केटी हो यसले गर्न सक्दिनँ’, ‘यसलाई यो प्रिजेन्टेसन गर्न नदिनू, सक्दैन रातभरि लगाउँछ’ भन्ने व्यवहार उपासना स्मरण गर्छिन्, ‘त्यहाँको वातावरणमा काम गर्न एक–दुई महिना लाग्यो । तीन–तीन दिन घर नगई काम गरेर देखाएँ । त्यो मेरा लागि चुनौती थियो ।’

जीवन र निर्जीवन तथा पुनर्बीमा गरी ४० कम्पनीमध्ये व्यवस्थापन नेतृत्व गर्ने उपासना एक्ली हुन् । ‘५०/६० वर्षको मान्छेले नेतृत्व गरेका कम्पनी र त्यसमा पनि २०/२५ वर्षदेखि नेपाली बजारमा काम गरेका सीईओ हुनुहुन्थ्यो । त्यसमा मलाई काम गर्न केही चुनौती थियो । तर, सुरुमा आफ्नो उपस्थिति जनाउन केही गाह्रो भयो’ उपासना भन्छिन्, ‘बजार जाँदा पनि उहाँ नै हो सीईओ भनेर प्रश्न गर्ने अवस्था थियो ।’

कम्पनीका लागि ४० प्रतिशत अनुत्पादक देखिएका कर्मचारीलाई कम्पनीबाट बाहिर जाऊ भनेर निर्णय गर्नुपरेको धेरै नै गाह्रो अनुभव उनले सुनाइन् । ‘आफूले काम गर्ने कल्चरमा परिवर्तन गर्न धेरै नै प्रयास गरेको र त्यो कार्यान्वयन भएर सफल पनि भएकाले अहिले खुसी छु’ उनी भन्छिन्, ‘हिमालयनमा पनि काम गर्ने कल्चर परिवर्तन गर्ने सोचसाथ काम गरिरहेकी छु ।’

विश्व समुदायले नेपाललाई अहिले पनि परम्परागत रूपमा नै हेर्ने गरेको उनको अनुभव छ । पुनर्बीमा मार्केटिङ गर्न अन्तर्राष्ट्रिय बजारमा जाँदा नेपालसँग क्षमता नै छैन भन्ने बुझाइ रहेको उनले सुनाइन् । कतिपय ठाउँमा पुग्दा नेपाल भन्ने देश नै थाहा नभएको अवस्था समेत पाएको उनी बताउँछिन् ।

‘नेपाल भनेको सगरमाथा र बुद्धको मात्र देश होइन, व्यावसायिक वातावरण भएको पनि देश हो भनेर चिनाउने चुनौती छ, म त्यो चुनौती स्वीकार गरेर काम गर्दै आएकी छु’, उपासना भन्छिन् । हाल ३२ देशमा हिमालयन रि–इन्स्योरेन्सको उपस्थिति छ ।

– विजय पराजुली

फोटोः चन्द्रबहादुर आले