
अलिसा श्रेष्ठको जन्म ललितपुरको पाटनढोकामा एक मध्यमवर्गीय परिवारमा भयो । परिवारका तीनमध्ये दोस्रो सन्तानको रूपमा अलिसाको बाल्यकाल र विद्यालयको पढाइ राम्रैसँग बित्यो । विद्यालय शिक्षा हासिल गर्दासम्म उनी वकिल बन्न चाहन्थिन् । तर, जब उनले नेपाली भाषामा पनि धेरै कोर्स हुन्छन् भन्ने थाहा पाइन्, वकिल बन्ने विचार त्यागिन् ।
बुवाले २०५५ सालतिर किनिदिएको पहिलो कम्प्युटरले उनलाई प्रविधितर्फ लाग्ने प्रेरणा दियो । उनी त्यही कम्प्युटरको अगाडि सधैं बसिरहन्थिन् । ‘मेरो आमाबाबुले मलाई पहिलो कम्प्युटर किनिदिनुभयो । म आज पनि त्यो क्षण सम्झन्छु ।’
‘जब इन्टरनेटको संसार खुल्यो, तब फर्केर हेर्ने कुरा थिएन’ उनी सम्झिन्छिन्, ‘त्यतिबेला इन्टरनेटमा धेरै सामग्री थिएन, तर म सधैं मेरो कम्प्युटरको अगाडि हुन्थें । यद्यपि म कम्प्युटरको अगाडि समय बिताउन मन पराउँथें ।’
उनले त्यतिबेला त्यही कम्प्युटरलाई आफ्नो पेशाको बनाउने नसोचे पनि सपना भने पैसा कमाउने र आफूले चाहेको सामान किन्न सक्ने हैसियत बनाउन पाए हुन्थ्यो भन्ने थियो । त्यो उद्देश्य पूरा गर्न उनी स्नातक तह अध्ययनका लागि अमेरिका जान चाहन्थिन् ।
तर अङ्ग्रेजी भाषाको भयले उनी चाहिं काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसीएम) मा व्यवसाय सूचना प्रणाली (बीआईएस) मा अध्ययन गर्न पुगिन् । अध्ययन गर्दै जाँदा उनले वास्तविक रुचिको विषय प्रोग्रामिङ र कोडिङ फेला पारिन् । त्यसप्रति उनमा थप रुचि बढ्दै गयो ।
उनले त्यतिबेला ‘हेल्लो वर्ल्ड ’ शब्द टाइप गरेर विभिन्न भाषामा प्रिन्ट गरेकी थिइन् । कलेजमा हुँदा उनले मिल्ने साथीहरूसँग मिलेर फ्रिलान्सिङ प्रोजेक्टमा काम गरिन् । जब बीबीआईएसमा स्नातक पूरा गरिन्, उनले एक आउटसोर्सिङ कम्पनीमा डटनेट डेभलपरको रूपमा एक वर्ष काम गरिन् ।
तर उनले बीचमै त्यो काम छाड्नुपर्यो । उक्त कम्पनीले सन् २००९ मा नेपाल शाखा बन्द गर्यो । त्यसपछि उनले अब आफ्नै केही नयाँ काम गर्ने बारेमा साथीहरूसँग छलफल गर्न थालिन् ।
अनि स्थापना भयो ‘एमनिल टेक्नोलोजी’
आउटसोर्सिङ कम्पनीले नेपाल शाखा बन्द गर्दा अलिसाका अगाडि चुनौतीसँगै अवसरका ढोकाहरू खुले । साथीहरू अमित जोशी, निशित राजभण्डारी र अलिसा मिलेर ९ भदौ २०६५ मा एमनिल टेक्नोलोजी स्थापना गरे ।
कम्पनीको नाम यी तीनै जनाको नाम मिलाएर राखिएको उनको भनाइ छ । उनी भन्छिन्, ‘कम्पनीको नाम के राख्ने भनेर हामीले सोच्यौं र छलफल पनि गर्यौं । पछि हामी आ–आफ्नो नामबाटै मिलाएर कम्पनीको नाम एमनिल राख्यौं ।’
कम्पनी शुरू गरेपछि उनीहरूलाई धेरै राम्रा अवसरहरू आए । तर उनीहरू त्यता लोभिएनन्, एकले अर्कोलाई सहयोग गरिरहे । केही महिनासम्म दुई वटा ल्यापटपमा उनीहरू तीन जनाले काम गरे । साथीको घरमा एउटा कोठालाई कार्यालय बनाए ।
जब कामबाट ३० हजार रुपैयाँ आयो । उनीहरू ठूलो सपना देख्न थाले । ‘शुरूमा एउटा सानो फ्ल्याट भाडामा लिएर कार्यालय सेटअप गर्यौं, फर्निचर र उपकरणहरू किस्ताबन्दीमा किन्यौं’ ती दिन सम्झिंदै उनी भन्छिन्, ‘महिनौंसम्म आर्थिक हिसाबले हामी निकै कमजोर थियौं, कर्मचारीलाई समयमै तलब दिए पनि हामी आफैंले लामो समय तलब लिएनौं ।’
प्रविधि क्षेत्रमा लाग्दा अलिसाले थुप्रै चुनौती पार गर्नुपर्यो । कहिलेकाहीं ग्राहकहरूले उनलाई महिला भएकै कारण पत्याउन गाह्रो मान्थे । ‘क्लाइन्टले मेरो पुरुष साझेदारहरूलाई बढी विश्वास गर्थे, तर मलाई खासै विश्वास गर्दैनथे ।’ उनलाई घरमा पनि पत्नी, बुहारी, आमा लगायतको भूमिका एकैपटक निभाउनुपर्थ्यो ।
यसकारण उनलाई धेरै जिम्मेवारी पूरा गर्दै जाँदै कतिपय जिम्मेवारी व्यावहारिक रूपमा पूरा गर्न निकै सकस हुन्थ्यो । ‘घरबाट गर्नुपर्ने अपेक्षाहरू धेरै थिए, जुन कहिलेकाहीं सहन गाह्रो हुन्थ्यो, मैले आफ्ना विभिन्न भूमिकाको जिम्मेवारी पूरा गर्न सक्दिनथें । जुन मलाई आफैंलाई सहन गाह्रो हुन्थ्यो’ उनी भन्छिन्, ‘तर यति हुँदाहुँदै पनि तपाईं रुचिको काम गर्नुस्, संघर्षहरू मूल्यवान् हुन्छन् ।’
१६ वर्ष यस्तै संघर्षका दिनहरू बिताएर उनी अहिले एमनिल टेक्नोलोजीकी सह–संस्थापक र प्रमुख सञ्चालन अधिकारी (सीओओ) को रूपमा कार्यरत छिन् । एमनिल टेक्नोलोजी अहिले नेपालको प्रमुख प्रविधि कम्पनीको रूपमा परिचित छ । कम्पनीमा १५० बढी कर्मचारी छन् । कम्पनीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रविधिका परियोजनाहरूमा काम गर्दै आएको छ ।
एमनिल टेक कम्पनीले औषधि उद्योगदेखि बैंकिङ क्षेत्रमा, विकास संस्थादेखि सिनेमा हल, निजी कम्पनीहरूदेखि सार्वजनिक संस्थानहरूमा आफ्नो सीप र दक्षता मार्फत सेवा दिइरहेको छ । उनी भन्छिन्, ‘हाम्रो कम्पनीले शुरूमा फर्मास्युटिकल र थिएटर क्षेत्रबाट सेवा शुरू गर्यो । त्यसपछि औषधि उद्योग । पछिल्लो समय निजी कम्पनी, सिनेमा हल अनि सार्वजनिक संस्थानमा पनि प्रविधिलाई सदुपयोग गर्दै सेवाहरू प्रदान गर्दै आइरहेका छौं ।’
अलिसा फर्मास्युटिकल पृष्ठभूमि भएको परिवारमा हुर्किएकीले उनी सधैं प्रविधि र चिकित्सा संयोजन गर्न चाहन्थिन् । त्यसकारण उनले ई–फार्मेसी डटकमको सह–संस्थापक भएर काम गरिन् जहाँ अनलाइन मार्फत औषधि, स्वास्थ्य र सौन्दर्य उत्पादनहरूको खुद्रा बिक्री गरिन्थ्यो ।
कोभिड–१९ महामारी शुरू हुनुअघि मात्र कम्पनीले लोकप्रियता प्राप्त गर्न थाल्यो । अहिले पनि फर्मास्युटिकलका लागि भनेर फर्मा सोलुशन नामक प्रडक्ट बनाएकी छिन् अलिसाले । उनको यो प्रडक्ट क्वेष्ट फर्मास्युटिकल, नेपाल फर्मास्युटिकल ल्याब्रोटोरिज, एकोर्ड फर्मास्युटिकल, देउराली जनता फर्मास्युटिकल र टाइम्स फर्मास्युटिकल्सले प्रयोग गरिरहेका छन् ।
‘हामीले बनाएको यो फर्मा सोलुशन प्रडक्टले फर्मास्युटिकलहरूले उत्पादन गर्ने शुरूदेखि अन्तिमसम्मको औषधि बन्ने प्रक्रियागत रिपोर्टहरू देखाउँछ । यसले कसरी औषधि तयार हुन्छ भन्ने बारेमा विवरण दिन्छ’, उनी भन्छिन् ।
बैंक–वित्तीय संस्था, फर्मास्युटिकल तथा निजी क्षेत्रमा सफलता अघि नै अलिसाको टिम मूभी र थिएटरमा पनि डिजिटलाइज्ड गर्न अग्रसर भएकी छिन् । उनले अहिले सिनेमा क्षेत्रलाई डिजिटलाइज्ड गर्नका लागि भनेर हलमा टिकट काट्न सजिलो हुने गरी ‘एमटिक्स’ नामक प्रडक्ट बनाएकी छिन् । यसले सिनेमा हलमा घरमै बसी–बसी अनलाइन मार्फत टिकट काट्न सकिन्छ ।
उनी भन्छिन्, ‘हामीले यसलाई सिनेमा, मल र थिएटरमा सजिलो होस् भनेर एमटिक्स नामक प्रडक्ट बनायौं । यसले अहिले सबैलाई सजिलो बनाइदिएको छ ।’ उनले बनाएको यो एमटिक्स एफक्यूब काठमाडौं, बीएसआर मूभिज काठमाडौं र पोखरामा रहेको मिड टाउन मूभिजले लागू गरेको छ ।
कोरोनापछि बैंक तथा वित्तीय संस्थाका लागि पनि उनीहरूले काम गरे । अहिले उनले बनाएको एप्लिकेशनहरू कमर्सियल बैंक र विकास बैंकहरूले प्रयोग गर्दै आएका छन् । जसमा मुक्तिनाथ बैंक, ज्योति विकास बैंक, सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक, नबिल बैंक, सानिमा बैंक, गरिमा विकास बैंक छन् ।
यस्तै ग्लोबल आईएमई बैंक, प्रभु बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल बैंक, माछापुच्छ्रे बैंक, लुम्बिनी विकास बैंक, छिमेक लघुवित्त, एनआईसी एशिया लघुवित्त, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, मञ्जुश्री फाइनान्स र एभरेष्ट बैंक लगायतले वेबसाइट, ई–केवाईसी, अनलाइन अकाउन्ट ओपनिङ, अनलाइन क्रेडिट कार्ड, जेन अल्फा मोबाइल एप, लोन इलिजिबिलिटी, फिक्स डिपोजिट, युटीलिटी पेमेन्ट एमनिल टेकबाटै बनाएका छन् ।
यति धेरै बैंकहरू अनलाइनमा जानुको पछाडि उनी कोरोना काललाई सम्झिन्छिन् । उनी भन्छिन्, ‘जब कोरोना काल सकियो, तब सबै बैंक तथा वित्तीय संस्थाहरू अनलाइन सेवामा केन्द्रित हुन थाले । त्यतिबेला मेरो कम्पनीलाई बैंकहरूलाई अनलाइन मार्फत सेवा दिने सिस्टम बनाउने जिम्मेवारी एकपछि अर्को आइलाग्यो । हामीले प्रायः कोरोना कालपछि यी सबै अवसरहरू पायौं ।’
यति मात्रै होइन यी बैंकहरूले करिब ७० भन्दा बढी प्रक्रियागत सहायता (जस्तै क्रेडिट कार्ड रिक्वेस्ट, स्टाफ लोन, भ्यालुएटर प्रोसेस, इन्सिडेन्ट रिपोर्ट लगायत) बनाउन एमनिल टेककै प्रविधि प्रयोग गरेका छन् ।
‘हामीले बैंकहरूमा ७० भन्दा बढी प्रक्रियागत सहायताका लागि चाहिने अनलाइन सेवा बनाउन मद्दत गरेका छौं । साथै निजी कम्पनीहरूमा पनि काम गरिरहेका छौं’ उनी सुनाउँछिन्, ‘कोरोना भाइरसको डरले बैंक जान कोही नचाहने, सबैलाई अनलाइन मार्फत नै सेवा चाहिने भएकाले हामीले त्यतिबेला ७० बढी अनलाइन सहायताका कामहरू बैंकहरूका लागि गर्यौं । यही नै हाम्रो कम्पनीको लागि टर्निङ प्वाइन्ट हो ।’
जब निजी कम्पनी एनसेलले वेब पोर्टल बनाउन दियो, त्यसपछि मोबाइल एप बनाउन दियो र सन् २०१९ मा मल्टिपल प्रोजेक्टको काम दियो, अलिसाको कम्पनीको लागि त्यो झन् ठूलो मौका भएर आयो । उनी भन्छिन्, ‘हामीले जब एनसेलबाट एकैपटक मल्टिपल प्रोजेक्ट पायौं, हाम्रो कम्पनीको आर्थिक स्तर बढ्यो । हामी कोरोनाकाल र एनसेलको प्रोजेक्टले माथि उठ्यौं । यो क्षण हामीले भुल्नै सक्दैनौं ।’
उनका भनाइमा, अहिले बैंक बाहेक निजी कम्पनीहरू एनसेल, डाइट नेपाल, डिस होम, सिप्रदी, भ्रोक कम्पनी, एमएडब्लू इन्टरप्राइजेज (यामाहा), नेपाल रिपब्लिक मिडिया प्रालि, ट्रिनिटी कलेज, ट्रिनिटी हाईस्कूल, काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसीएम) ले एमनिल टेककै सेवा लिइरहेका छन् ।
डायस्पोराका लागि छुट्टै कम्पनी
अहिले एमनिल टेकले ५० हजार भन्दा बढी ग्राहकलाई सेवा पुर्याइरहेको छ । १५० सदस्यीय समर्पित टीमको महत्वपूर्ण भूमिका रहेको यो कम्पनीले प्रायःजसो नेपालभित्रै सेवा दिइरहेको छ । तर अब यो कम्पनीले बाहिर पनि आँखा लगाउन थालेको छ ।
नेपालको आईटी उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकिन्छ र स्वदेशमै युवाहरूलाई रोजगार दिन सकिन्छ भनेर अलिसा छुट्टै नयाँ कम्पनीमा शेयर संस्थापकका रूपमा रहेर काम गरिरहेकी छिन् । उनले त्यसका लागि सन् २०२२ मा क्विकफक्स टेक्नोलोजिज प्रालि नामक कम्पनीमा सह–संस्थापक भएर काम गर्न थालिन्, जुन एक उदीयमान स्टार्ट–अप हो ।
‘यो कम्पनीले अहिले सिंगापुर, यूके, अमेरिका र अस्ट्रेलियाका ग्राहकहरूसँग एप्लिकेशन विकास गर्ने काम गरिरहेको छ । हामी अहिले अन्तर्राष्ट्रिय परियोजनामा काम गर्ने निर्णय गर्यौं ।’ अलिसा जोड दिंदै भन्छिन्, ‘हामीले अमेरिकाको काम नेपालमै बसेर, बेलायत लगायत डायस्पोराका काम नेपालमै बसेर यही कम्पनी मार्फत गरिरहेका छौं ।’
व्यावसायिक प्रयासहरूको अतिरिक्त उनले नेपालको आईटी उद्योगको विकासको लागि सहयोग गर्ने संस्थाहरूमा सक्रिय रूपमा भाग लिइरहेकी छिन् । उनी नेपाल सफ्टवेयर र आईटी सेवा कम्पनीहरूको संघ (नास–आईटी) को कार्यकारी सदस्य, साउथ एशिया चेम्बर महिला उद्यमशीलता परिषद्को कार्यकारी सदस्य र नेपाल महिला उद्यमी संघमा साधारण सदस्य छिन् ।