
यमुना भट्टराई सन् १९९६ मा पहिलो पटक अमेरिका पुगिन्, श्रीमान् उनीभन्दा दुई वर्षअघि नै अध्ययनका लागि गएका थिए । अमेरिका पुग्ने अधिकांश आप्रवासी जस्तै रेस्टुरेन्टमा घन्टाको ५ डलरका दरले काम गर्न थालिन् ।
त्यसयताका करीब तीन दशक उनले निकै उकाली–ओराली बेहोरिन् । नोकरीबाट व्यवसायमा हात हालिन् । मिहिनेतले उनलाई सफलताको चुली पुर्यायो । र, अहिले हिसाबै गरेर भन्दा यमुनाको ‘नेटवर्थ’ आधा अर्ब डलर नाघेको छ । सामान्य स्टोरबाट शुरू भएको उनको व्यवसाय लिकर स्टोरदेखि रियलस्टेट र सौर्य ऊर्जासम्म विस्तार भएको छ ।
नेपालमा यमुना र उनका श्रीमान् नन्दी भट्टराई नेपाल टेलिकममा जागिर खान्थे । त्यही बेला नन्दीले अमेरिकामा पाइलट तालिमको अवसर पाए र सन् १९९४ मा उनी अमेरिका गए । त्यसको दुई वर्षपछि यमुना पनि अमेरिका पुगिन् । अनि, शुरू भयो अमेरिकाको युटा राज्यमा श्रीमान्–श्रीमतीको संघर्ष ।
उनले त्यहाँ एक नेपाली रेस्टुरेन्टमा प्रति घन्टा ५ डलरवाला काम पाइन् । त्यसक्रममा बेकरीमा पनि काम गरिन् । दुई वर्षपछि एक फास्टफुडमा म्यानेजर बन्ने प्रस्ताव आयो । तर, उनले त्यो काम गरिनन् ।
बरु कलेज गएर कम्प्युटर इन्फर्मेसन पढ्न थालिन् । उनले पढाइ पूरा गरिनन् । तर, त्यसले एउटा फाइदा गर्यो । त्यो भनेको उनी अंग्रेजीमा पोख्त भइन् । पढाइ र काममध्ये एउटामा केन्द्रित हुनुपर्दा पढाइ छुट्यो, उनी काममा केन्द्रित भइन् ।
तर, रेस्टुरेन्टमा काम गरेर जीवन बिताउने सोच उनमा थिएन । किनभने, श्रीमान्ले नेपालमै हुँदा व्यवसाय पनि गर्थे । उनका ११ वटा कम्युनिकेसन सेन्टर थिए– टेलिफोन तथा फ्याक्स सेवा प्रदान गर्ने । चार वटा मनी एक्सचेन्जको लाइसेन्स पनि लिएका थिए । फर्निचर फ्याक्ट्री तथा शोरुम पनि थियो । त्यसो हुँदा व्यापारमा रस बसेको थियो ।
दम्पती मिलेर काम गर्दै डेढ लाख अमेरिकी डलर जम्मा गरे । यो सन् २००१ को कुरा हो । त्यो पैसा लगानी गर्न भनेर उनीहरूले एक जना साथीलाई दिए । उनीहरू मिलेर साझेदारीमा तीन वटा ग्यास स्टेसनमा लगानी गरे ।
‘श्रीमान्का साथी भएकाले विश्वास गरेर लगानी गरेका थियौं, तर व्यापार र व्यवहार दुवै राम्रो भएन । तीनवटै स्टेसन बन्द भए’ यमुना सम्झिन्छिन्, ‘साहुले चाबी लगायो, डेढ लाख डलर पैसा डुब्यो ।’ जागिरमा राम्रो करिअर थियो । तर, व्यापार गर्ने भनेर लगानी गरेपछि पैसा पनि गुम्यो, करिअर पनि गुम्यो । उनीहरू फेरि सडकमा आइपुगे ।
टेक्सासको डालसमा व्यापार गर्ने भनेर उनीहरू आएका थिए, जागिर खान कुनै सम्पर्क पनि थिएन । त्यसपछि उनीहरू फेरि युटाको सल्टलेक सिटी नै फर्किए । त्यसबेला यमुना गर्भवती थिइन् । तर, आराम गर्ने छुट थिएन । ‘गर वा मर’ को अवस्था थियो । उनले ७–८ महिनाको गर्भवती हुँदा पनि श्रम गरिरहिन् ।
पहिलेको तुलनामा तलब पनि केही बढ्यो । डेढ वर्षमा सन् २००३ सम्म उनीहरूले ३५ हजार डलर बचत गर्न सके । तर, त्यसले व्यवसाय हुने थिएन । सन् २००६ सम्म पुनः १ लाख डलर जम्मा गरेपछि उनीहरू पुनः व्यवसाय गर्न भनेर डालस नै आए । ६ महिनाजति पछि साझेदारीमा स्टोर चलाए, तर त्यसबाट खासै कमाइ भएन ।
पहिले एक साथीले ३ लाख डलरको एउटा स्टोर खोजिदिए । पुरानो स्टोर बेचेर उनीहरूले यो स्टोरमा लगानी गरे । तर, अब भने अरू साझेदार नराखी व्यवसाय गर्ने सोच यमुनाले बनाइन् । ‘अब श्रीमान् र श्रीमती मात्रै मिलेर व्यवसाय गर्ने हो, अब म तपाईंको पार्टनर बन्छु’, यमुनाले श्रीमान्सँग भनिन् ।
व्यवसाय पनि यमुनाकै नाममा शुरू गरे, नेतृत्व पनि उनैले गरिन् । डालसमा चलाइरहेको स्टोर ठिकठाक चलिरहेको थियो, तर कमाइबाट यमुना सन्तुष्ट हुनसकेकी थिइनन् ।
सन् २००४ तिर टेक्सासको डालस असुरक्षित शहर मानिन्थ्यो, त्यसमध्ये पनि ओक क्लिफमा अपराधका घटना भइरहन्थ्यो । त्यहाँ उनले एक स्टोर फेला पारिन् । ‘हाइ क्राइम’ भएको ठाउँमा व्यवसाय गर्ने कि नगर्ने भन्ने द्विविधाबीच उनले दुई वर्ष मात्रै काम गर्ने भनेर त्यो लिइन् ।
दुई वर्ष त्यहाँ काम गर्दा दुई पटक गोली चल्यो । तर, भाग्यवश उनी जोगिइन् । त्यस अवधिमा स्टोरबाट डेढ लाख डलर बचत भयो । उनले त्यो स्टोरबाट लगानी निकालेर अन्यत्र व्यवसाय विस्तार गर्न थालिन् ।
उनी डालसको फ्रिस्को भन्ने स्थानमा बस्थिन् । टेक्सासकै पेरिस भन्ने स्थानमा दुइटा स्टोर किनिन् । एकतर्फी दूरी ९० माइल पर्थ्यो । आउजाउ गर्न १८० माइल अर्थात् २९० किलोमिटर पर्थ्यो । आउजाउ गर्न मात्रै दिनको चार घन्टा खर्च गर्नुपर्थ्यो ।
यसरी उनले पाँच वर्षमा पाँच वटा ग्यास स्टेसन बनाइन् । बालबच्चा साथै थिए, हरेक दिन त्यति लामो यात्रा गर्नु सुरक्षित हुँदैन भन्ने त छँदैथियो, ग्यास स्टेसनको भविष्य पनि सुरक्षित छैन भन्ने उनलाई लागिरहेको थियो । त्यसैले लगानी विविधीकरण गर्न चाहन्थिन् उनी । अनुसन्धान गर्दै जाँदा उनले थाहा पाइन्– लिकर स्टोर (मदिरा पसल) मा राम्रो नाफा छ ।
लिकर स्टोर खोज्दै जाँदा एउटा स्टोरको अक्सन (बोलकबोल) गरेको विज्ञापन देखिन् । त्यसमा सहभागी भइन् । अक्सन बढ्दै गयो, उनले ३५ हजार डलरमा त्यो स्टोर हात पारिन् । तर, लिकर स्टोर सञ्चालन गरेको अनुभव थिएन उनको ।
यो पसल कसरी चलाउने होला भन्ने सोच्दासोच्दै दोस्रो बोलकबोलकर्ताले उनलाई प्रस्ताव गर्यो, ‘तिमीसँग स्टोर सञ्चालनको अनुभव रहेनछ, मलाई बेच, म किन्छु ।’ त्यो स्टोरको भण्डार (इन्भेन्ट्री) मा मात्रै करीब ३ लाख डलरका मदिरा थिए । उनले दोस्रो अक्सनरलाई १ लाख ५० हजार डलरमा त्यो इन्भेन्ट्री बेचिदिइन् ।
अक्सन–अक्सनमै फाइदा कमाएपछि उनी लिकर स्टोरका लोकेसन खोज्न थालिन् । सबैभन्दा पहिलो लिकर स्टोर उनले जेमेस्टिकमा खोलिन् । त्यसपछि थप तीन लिकर स्टोरको इन्भेन्ट्री किनिन् । एउटा मात्रै होइन, लिकर स्टोरको चेन नै निर्माण गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेपछि उनी त्यसका लागि सम्भावित ठाउँको खोजीमा लागिन् ।
२०१४ मा ट्रिनिटीमा एउटा लोकेसन भेटियो । अमेरिकामा मदिरा बेच्न पाउने काउन्टीलाई ‘वेट लोकेसन’ भनिन्छ, बेच्न नपाउनेलाई ‘ड्राई’ । उनले जुन मलमा व्यापारका लागि खाली ठाउँ भेटिन्, त्यसको वरिपरि १० माइलसम्म पूरै ड्राई लोकेसन थियो ।
उनलाई लाग्यो, ‘यहाँ लिकर स्टोर खोल्न पाइयो भने पैसा छापिन्छ ।’ तर, मल मालिकले उनलाई त्यो स्पेस दिनै मानेको थिएन, न उनलाई भेटेर कुनै कुरा नै गर्थ्यो । उनले जोरजबर्जस्ती गरेरै उसलाई भेटिन् । ‘यहाँ लिकर स्टोर चलाउन स्टेटले अनुमति दिंदैन । त्यसैले तिमीलाई लिकर स्टोरका लागि यो स्पेस दिन सक्दिनँ । अरू, केही गर्ने हो भने दिन्छु’, उसले भन्यो ।
त्यसो भए एउटा शर्तमा स्पेस देऊ भन्ने प्रस्ताव राखिन् उनले । ‘लाइसेन्स पाएँ भने यो स्पेसमा लिकर स्टोर नै चलाउँछु । पाइनँ भने स्पेस छाडिदिन्छु, त्यही शर्तमा स्पेस देऊ’, उनले भनिन् । त्यसमा मल मालिक सहमत भयो, सशर्त सम्झौता गर्यो, त्यहाँ लिकर स्टोर चलाउने लाइसेन्स यमुनाले नै लिने, लिन नसकेको अवस्थामा स्पेस छाड्ने ।
सम्झौतापछि मल मालिकले भन्यो, ‘स्टेटबाट लाइसेन्स ल्याउन सकिस् भने तँ यही स्टोरबाट करोडपति (मल्टिमिलिनायर) बन्छेस्, तैंले पछि फर्केर हेर्नै पर्दैन !’
अनि शुरू भयो करोडपति यात्रा
साँच्चै त्यही भयो । यमुनाले त्यहाँ मदिरा पसल खोलेकै दिनमा ४ हजार डलरको व्यापार भयो । दिनमा उनले ८९ हजार डलरसम्मको व्यापार गरिन् । महिनामा औसत ९ लाख डलरसम्मको व्यापार भयो । त्यसको ३० प्रतिशत खुद नाफा हुन्थ्यो ।
‘अर्थात्, महिनामै २ लाख ७० हजार डलर फाइदा हुन्थ्यो, वर्षमा साढे ३२ लाख डलर (हालको विनिमयदर अनुसार ४५ करोड रुपैयाँ)’, उनी भन्छिन् ।
मानिसहरू लामो लाइन लागेर मदिरा खरीद गर्ने । लाइन व्यवस्थापन गर्न चार/पाँच जना सुरक्षा गार्ड राख्नुपर्थ्यो । पाँच वर्षसम्म एक हिसाबमा यमुनाले निकै राम्रो व्यापार गरिन् । अहिले वरिपरिका सिटी पनि वेट भएका छन्, त्यसो हुँदा त्यो स्टोरको व्यापार पहिले जस्तो छैन । तर, अहिले पनि यो अमेरिकामा उनको प्रमुख स्टोर हो ।
लिकर व्यवसाय थालेको पाँच वर्षमा उनले स्टोरको चेन नै निर्माण गरिन् । लिकरको व्यवसायमा लागेपछि उनले केही ग्यास स्टेसन बेचिन्, केही भाडामा दिइन् । अहिले लिकरकै मात्र २१ वटा स्टोर छन्, तीन–चार वटा ग्यास स्टेसन बाँकी छन् । उनले आफ्नै नाममा पनि लिकर ब्रान्ड बनाएर बिक्री गरिन् । उनका धेरै वटा स्टोरको चेन ‘रिजिस्’ नाममा छन् । केही स्टोर अन्य नाममा पनि छन् ।
अहिले यी स्टोरमा १०० भन्दा बढीले काम गरिरहेका छन् । तर, केही वर्षदेखि उनलाई लागिरहेको छ, लिकरको व्यवसाय पनि दिगो हुँदैन । वालमार्ट जस्ता स्टोरहरू टेक्सासमा पनि मदिरा बेच्न पाउनुपर्छ भनेर कानूनी लडाइँ लडिरहेका छन् । ‘अन्य धेरै स्टेटमा वालमार्टले लिकर बेचिरहेको छ, यहाँ पनि अनुमति पायो भने हामी जस्ता लिकर स्टोरको व्यवसाय सुक्छ’, उनी भन्छिन् ।
५६ हजार रोपनी जग्गा
२०१८ देखि उनले लगानी थप विविधीकरण गर्न लागिन् । र, लगानीको नयाँ क्षेत्र भयो– जग्गा । शुरूमा उनले फ्लोरिडामा १५६ एकड जमिन किनिन् ११ लाख डलरमा । अहिले त्यो जग्गाको भाउ प्रति एकड २० लाख डलर भएको छ, अर्थात् त्यसको मूल्य नै ३१ करोड डलर बराबर पुगेको छ ।
त्यसपछि उनले टेक्सस फ्रिस्कोबाट २० मिनेट दूरीमा ८५१ एकड जमिन किनेकी छिन् । हाल उनको स्वामित्वमा ७ हजार एकडभन्दा बढी जमिन छ । अर्थात्, करिब ५६ हजार रोपनी । २०१८ मा एक जना ब्रोकर ‘एउटा जमिन राम्रो छ’ भन्दै किन्ने प्रस्ताव लिएर आए । उनले ५५० एकड जग्गा किनिन् । केही वर्षअघि फेरि ‘त्यही जग्गा बेच, राम्रो मूल्य आउँछ’ भन्दै आए ।
‘म त्यो जमिन बेच्दिनँ भनेको, त्यसो भए भाडामा देऊ न त’ भन्यो ।
‘किन चाहिएको त जमिन ?’ भनेर सोधें ।
‘यहाँ कुनै लगानीकर्ताले सौर्य ऊर्जाको प्लान्ट लगाउन खोज्दैछ’, उनले भने । अनि, यमुनाले भनिन्, ‘त्यो जमिन त मैले भाडामा लगाएँ, राम्रो भाडा आउँछ ।’
अनि, यमुनाले १ हजार एकड जमिन प्रति वर्ष १० लाख डलर भाडामा दिइन् । तर, जसले त्यहाँ सोलार प्लान्ट लगाएको छ, उसले वर्षमा ४० लाख डलर कमाउँछ । उनले अर्को ८८० एकड जमिन पनि भाडामा दिएकी छिन् । यो सबै गरेर उनलाई भाडा मात्रै वर्षमा ३० लाख डलर आउँछ ।
‘सँगसँगै मैले सोलार ऊर्जाको लगानीबारे पनि अनुसन्धान गर्न थालें, छोरीले यसमा काम गरेकी छिन्’ यमुना भन्छिन्, ‘वास्तवमा सोलार प्लान्ट लगानीको नयाँ क्षेत्रका रूपमा विकास हुँदै गएको देखिन्छ ।’
सोलारको काम आधाउधी सकिएको उनी बताउँछिन् । ४ हजार एकडमा सोलार प्लान्ट लगाउने योजनासाथ काम गरिरहेकी छिन् । यसबाट वार्षिक ५० देखि ६० लाख डलर आम्दानी हुने अपेक्षा उनको छ ।
‘अहिलेको फोकस सोलारमा छ, त्यसपछिको लगानीको क्षेत्रबारे पनि सोचिरहेकी छु’, उनी भन्छिन् ।
उनले स्टार्टअपहरूमा लगानी गरेकी छिन्, केही राम्रा छन्, केही डुबेका । अहिले आफ्नो नेटवर्थ कति छ भन्ने हिसाब चाहिं यमुनाले गरेकी छैनन्, आधा अर्ब अमेरिकी डलर नाघिसकेको अनुमान उनको छ ।
उनलाई यती च्याम्बर अफ कमर्सले सन् २०२४ को अक्टोबरमा वर्ष उद्यमीको रूपमा सम्मान गरेको थियो ।
‘पहिलो डलर अर्बपति नेपाली महिला बन्ने चाहना छ, तर चाहनाले मात्रै हुँदैन, त्यही अनुसार मिहिनेत पनि गरिरहेकी छु’ उनी भन्छिन्, ‘लगानी गर्दा गलत ठाउँमा नपरोस् भनेर विशेष सचेत हुने गरेकी छु ।’ उनी विभिन्न सामाजिक संस्थामा पनि आबद्ध छिन् । ‘सामाजिक काम गर्दा व्यापारमा धेरै कुरा गुम्छ, तर त्यसले आत्मसन्तुष्टि दिन्छ’, उनी भन्छिन् ।