
२६ भदौ २०८१ मा मिस युनिभर्स नेपालको फिनालेमा एउटा इतिहास रचियो । त्यो इतिहास रच्ने काम गरिन् सुजल बम, २३ ले । जन्मिंदै श्रवणशक्ति गुमाएकी उनले बहिरा प्रतिस्पर्धीको रूपमा पहिलो पटक मिस युनिभर्स नेपालमा प्रतिस्पर्धा गरिन् । सबलांग युवतीले मात्रै भाग लिने गरेको इतिहास भत्काउँदै उनले प्रतिष्ठित ब्युटी पेजेन्टको घरेलु संस्करणमा लाखौं अपांगता भएकाहरूको प्रतिनिधित्व गर्दै उपस्थिति जनाइन् ।
पेजेन्टमा उनको उपस्थिति प्राविधिक रूपमा मात्रै सीमित रहेन, बरु एकसे एक सुन्दरीलाई उछिन्दै उनी फोर्थ रनरअप बनिन् । क्याटवाक् सहितका विधामा उत्कृष्ट प्रस्तुति दिंदै उनी फाइनलिस्ट बनिन् । सबलांग युवतीसँग प्रतिस्पर्धा गरेर उनले जुन स्थान हासिल गरिन् यसले घरेलु सौन्दर्य प्रतियोगिताको मापदण्ड, सोच र मानकलाई तोडेको छ । मुलुकका लाखौं अपांगता भएका युवतीलाई उनले सन्देश दिएकी छन्– ‘अपांगता भएका युवतीले सबलांगसँग प्रतिस्पर्धा गर्न सक्छन् ।’
पछिल्लो समय सहभागीको मापदण्डमा उदार बनिरहेको मिस युनिभर्समा जुनसुकै उमेर समूह, क्षमता र वर्गका सुन्दरीले भाग लिन पाउँछन् । प्लाटफर्मको यो नियमलाई सुजलले सम्भावना र सन्देशको रूपमा मात्रै प्रयोग गरिनन्, आउँदा सुन्दरी प्रतियोगिता पनि समावेशी हुनुपर्छ भन्ने सन्देश यसले दिएको छ । यो नजिर बसाल्ने काममा सुजलको योगदान महत्वपूर्ण छ ।
सौन्दर्य प्रतियोगितामा मात्र सुजलको उपस्थिति खुम्चिएको छैन । उनी मोडल सहित कन्टेन्ट क्रिएटर र कुशल नृत्यांगना पनि हुन् । नृत्य क्षमतालाई तिखार्न उनी अहिले हिपहप र बी–बोइङ सिकिरहेकी छिन् । जेन–जी पुस्तामा लोकप्रिय यी दुई नृत्यका शैली सिकिरहेकी सुजल आफ्ना नृत्य अभ्यासका आकर्षक भिडियो टिकटकमा समेत पोस्ट गर्छिन् ।
डान्ससँगै उनी अहिले म्युजिक भिडियोमा पनि काम गर्दैछिन् । टिकटकमा कन्टेन्ट क्रिएट गर्नु उनको सोख हो । नृत्य प्रतिभा र प्रतिभाको संयोजन मार्फत उनले आर्थिक फाइदादेखि आफूलाई चिनाउने काम गरेकी छन् । ‘टिकटकमा पनि भिडियो बनाउँछु । विदेशमा पनि डान्समा सहभागी हुन मन छ । सानैदेखि म डान्स कम्पिटिसनमा सहभागी हुन पाएको छैन’ उनी भन्छिन्, ‘आशा छ, म सफल हुन्छु ।’
एकातिर टिकटक प्रयोगकर्ताको ठूलो संख्यामाझ आफूलाई चिनाउनु र अर्कोतिर प्लाटफर्म मार्फत अर्थ उपार्जन गर्नु, उनलाई दुवैतिर फाइदा मिलेको छ । सुजललाई टिकटकमा पछ्याउनेको संख्या झण्डै ७ लाख छ । उनले डान्स सहित प्रतिभा प्रस्फुटन गर्ने र आफ्नो पुस्तासँग अन्तरक्रिया गर्ने प्लाटफर्मको रूपमा टिकटकको उपयोग गरिरहेकी छिन् । ‘साथीभाइ, दर्शकले टिकटकमा मेरो भिडियो हेर्नुहुन्छ । आम्दानी पनि भएकै छ’, दोभाषे मार्फत अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन् ।
सुदूरपश्चिम डोटीको दुर्गम बोगटानमा जन्मिएकी सुजलको परिवार कालान्तरमा काठमाडौं बसाइँ सर्यो । काठमाडौंमा उनी आफ्नो मात्रै पहिचान होइन, आफू जस्ता लाखौं बहिरा र अपांग कलाकारको पहिचानको खोजीमा संघर्षरत छिन्, त्यो पनि ग्ल्यामरको क्षेत्रबाट । यसमा उनलाई परिवारको सहयोग छ ।
परिवारले उनलाई आम छोरीहरूभन्दा भिन्न महसुस हुन दिएको छैन । यही स्नेहले उनी कला र मोडलिङमा अघि बढिरहेकी छिन् । डान्सरको रूपमा नेपाल सहित विदेशमा पनि स्थापित हुने सपना उनको छ ।
‘म चाहिं डान्सरकै रूपमा आफूलाई चिनाउन चाहन्छु । म्युजिक भिडियोमा खेलेको कारण पनि यही नै हो’ उनी भन्छिन्, ‘टिकटकले मद्दत गरेको छ । यो गीतमा यस्तो शब्द छ भने परिवारले भन्नुहुुन्छ । यसमा नृत्य र हाउभाउ मिसाएर भिडियो बनाउँछु । मलाई मनपर्छ ।’
सानैदेखि हिपहप र बी–बोइङ नृत्य हेरेपछि यसतर्फ आकर्षित भएको सुजल बताउँछिन् । ‘होस्टलमा बस्दा एक जना व्यक्तिले त्यस्तै डान्स गरेको देखेपछि सिकाइदिन भनें । उहाँको मद्दतमा सिकेपछि म यसतर्फ आकर्षित भएकी हुँ ।’
एसईई दिनुअघि सुजललाई र्याम्पमा कसरी हिंड्ने भन्ने कुरा थाहा थिएन । हाउभाउ, शृंगार, फेसनका कुरामा अनभिज्ञ थिइन् । सन् २०२३ मा एउटा सौन्दर्य प्रतियोगितामा उनलाई भाग लिन अनुमति दिइएन ।
‘यो माथिल्लो लेभलको हो, तपाईंले सक्नुहुन्न भनियो । जब मैले यसमा भाग लिएँ, यसमा सफल पनि भएँ’ उनी भन्छिन्, ‘२०२३ मा मलाई बहिरा र अपांग हुँ भन्दा सहभागी हुन दिइएन । मैले प्रतियोगितामा भाग लिएर बहिरा र अपांगता भएकाले पनि भाग लिन सक्छ भनेर देखाउन खोजेकी थिएँ ।’
सन् २०२४ को मिस युनिभर्स नेपालमा सहभागी भएपछि हौसला प्राप्त भएको उनको कथन छ । ‘हामी त्यहाँ बसेको बेला मेन्टरहरूले कसरी आई–कन्ट्याक्ट गर्ने, कसरी र्याम्पमा हिंड्ने भन्ने सिकाउनुहुन्थ्यो’ उनी भन्छिन्, ‘मेरो प्लस प्वाइन्ट भनेको क्याटवाक् सबैभन्दा राम्रो थियो । यो प्रस्तुतिले मलाई चौथो स्थानसम्म पुर्यायो ।’
बहिरा कलाकारको रूपमा आफू ‘रोलमोडल’ बन्न चाहेको र यस्ता प्रतिस्पर्धामा भाग लिएको उनको कथन छ । ‘सुजलले गर्न सक्यो भने अरू बहिरा साथीहरूले पनि गर्न सक्छन् भन्ने सकारात्मक सन्देश जान्छ’ उनले भनिन्, ‘अपांगताले केही अवरोध गर्दैन, हामी अघि बढ्न सक्छौं । चासो दिन आवश्यक पर्छ ।’ बोल्न सक्ने मान्छेले बोल्न नसक्नेलाई पछाडि पार्न नहुने उनको धारणा छ ।
‘बोल्न सक्ने मान्छेले, हामी बोल्न नसक्ने मान्छे भनेर संचारबाट हामीलाई पछाडि पार्नुभएन । हाम्रो सञ्चार भनेको सांकेतिक भाषा हो । सांकेतिक भाषाको माध्यमबाट पनि मनका कुरा भन्न सक्छौं’ भन्छिन्, ‘यसले चाहिं अपांगता भएका व्यक्ति पनि यो क्षेत्रमा जान सक्छन् भनेर राज्यले पनि खोज्नुपर्ने हुन्छ । यसमा राज्यले चासो लिनुपर्छ भन्ने मलाई लाग्छ ।’
सार्वजनिक जीवनमा बहिरा व्यक्तिले भोग्नुपरेको कठिनाइले आफूलाई समुदायमा कार्य गर्न प्रेरित गरेको उनको भनाइ छ । सार्वजनिक यातायात चढ्दा होस् या अस्पतालमा, दैनन्दिन बहिरा व्यक्तिले समस्या भोग्नुपर्छ । ‘हामीले दैनिक रूपमा देख्छौं कि, बहिरा व्यक्ति बाटोमा हिंड्दा दुःख पाइरहेका हुन्छन् । बस स्पिडमा गइसक्या हुन्छ । बहिराले रोक भनेर भन्न पनि सक्दैन’ उनको दुःखेसो छ । यस्तो परिस्थितिमा सडक दुर्घटना हुने जोखिम रहेको उनी बताउँछिन् ।
‘दुर्घटना भयो भने अस्पताल जानुपर्ने हुन्छ, यसमा जिम्मेवार को ?’ उनी प्रश्न गर्छिन् । भन्छिन्, ‘सञ्चार नहुँदा समस्या हुन्छ । हस्पिटल गयो, त्यहाँ पनि त्यस्तै हुन्छ । डाक्टरले बुझ्नुहुन्न, अभिभावकलाई संकेतका विषयमा सबै थाहा हुँदैन । डाक्टरले बहिरा व्यक्तिलाई नभएर अभिभावकलाई भन्दिनुहुन्छ ।’
सार्वजनिक जीवनमा मात्र नभएर परिवारमा समेत बहिरा शिशु जन्मिएपछि माया नगर्ने, हेलाँ र विभेद गर्ने समस्या देखेको उनको अनुभव छ । ‘अभिभावकले पनि सांकेतिक भाषा सिकेर कम्युनिकेसन गर्ने प्रयास गर्नुपर्छ । यस्ता कुराले समुदायमा काम गर्न मलाई प्रेरित गरेको हो’, समुदायको हितमा काम गर्ने आफ्नो उत्साहका सन्दर्भमा उनले भनिन् ।
कलाकारितामा पनि दोभाषे नहुँदा समस्या भोग्नुपरेको उनको गुनासो छ । सफलता मिहिनेतमा निर्भर हुने बताउँदै उनले यसमा राज्य र परिवार पनि जिम्मेवार हुनुपर्ने तर्क गरिन् । सुजल अभिनय र फिल्म क्षेत्रमा पनि काम गर्न चाहन्छिन् । विदेश गएर मोडलिङ गर्ने र प्रतिभा प्रस्तुत गर्ने रुचि छ । यसअघि बहिरा प्रतियोगिताको लागि विदेशबाट अफर आएको तर, कोरोना महामारीले जान नपाएको बताइन् ।
अनलाइनखबरसँग कुरा गरिरहँदा दोभाषे शिलु शर्मा र बुवा टेकबहादुर बम पनि सँगै थिए । बुवा टेकबहादुर छोरीप्रति खुशी देखिए । ‘हाम्रो संयुक्त परिवार हो । नेपाली समाजमा अरू अभिभावकले छोराछोरीलाई जसरी लिन्छन्, त्यसरी नै मैले पनि सामान्य रूपमा लिन्छु’ उनी भन्छन्, ‘प्रायः अपांगता भएका व्यक्तिलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिन्छ । यो भ्रमलाई हामीले चिर्ने प्रयास गरेका छौं ।’
छोरीलाई समाजले हेर्ने नजर र नानाथरी कुराले पीडा अनुभूति हुने गरेको बुवा टेकबहादुर बताउँछन् । ‘व्यक्ति जन्मिने वित्तिकै विभिन्न कुरा घरमा आउँछन् । जसले गर्दा अपांगता भएका व्यक्ति र अभिभावकलाई पीडा भइरहेको हुन्छ’ उनी भन्छन्, ‘त्यो पीडा अनुभूत गरेको छु । तर उसको चाहनालाई हामीले सपोर्ट गरेका छौं ।’
सुजललाई आफूले परिवर्तनको प्रेरणादायी व्यक्तिको रूपमा स्थापित गर्न चाहेको उनले बताए । ‘अपांगता क्षेत्रको लागि मैले यसलाई सकारात्मक आन्दोलनको रूपमा लिएको छु’ उनी भन्छन्, ‘सबैलाई भगवान्ले यस्तो सन्तान दिउन् । अहिले मेरो आफ्नो परिचय नै छैन । छोरीको नामले मेरो परिचयलाई गुमनाम गरिदियो ।’
यसर्थ, सुजल धेरै नेपाली अपांगता भएका युवा पुस्ताको लागि प्रेरणाको स्रोत हुन् । जसले सबलांगसँग प्रतिस्पर्धा गरेर पहिचान बनाउने कार्य गरिरहेकी छिन् र सौन्दर्य प्रतियोगिताको मानक बदल्न भूमिका खेलेकी छिन् ।