
सेयर बजार परिसूचक (इन्डेक्स) ले स्टक एक्सचेन्जमा भएको कारोबारको स्थिति बताउँछ । समग्रमा बजार घटेको छ वा बढेको छ, कतातिर गइरहेको छ भन्ने संकेत बजार परिसूचकले गर्छ ।
प्राविधिक रुपमा यो एउटा औसत अंक हो । सामान्यतया बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घट्दा सेयर परिसूचक घट्छ, बढ्दा बढ्छ ।
नेपाल स्टक एक्सचेन्जले पनि बजारको चाल बताउने यस्तै परिसूचक २०५० सालदेखि प्रकाशनमा ल्याएको हो । यो परिसूचकलाई नेप्से नाम दिइएको छ ।
भारतको बम्बई स्टक एक्सचेन्जको यस्तै परिसूचकलाई सेन्सेक्स, नेसनल स्टक एक्सचेन्जको परिसूचकलाई निफ्टी भन्छन् । लन्डनको फुट्सी, जापानको निक्की, अमेरिकाको एसएन्डपी अरु चर्चित बजार परिसूचक हुन् ।
नेपाल स्टक एक्सचेन्जले आधार वर्ष (२०५० साल माघ ३०) मा सूचीकृत सबै सेयरको संख्यालाई र त्यसको बजार मूल्यले गुणा गर्दै नेप्सेको मान निकालेको हो । यस किसिमको बजार पुँजीकरणमा आधारित परिसूचकलाई भ्यालु वेटेड इन्डेक्स भन्छन् । संसारका धेरैजसो स्टक एक्सचेन्जले यही विधि प्रयोग गर्छन ।
ठूलो पुँजीकरण भएका कम्पनीहरुको सेयर मूल्यमा भएको उतारचढावको प्रभाव नेप्से परिसूचकमा धेरै हुन्छ भने साना कम्पनीको कम हुन्छ ।
नेप्से परिसूचक २०७८ भदौ २ गतेको दिनमा ३२०० को विन्दुसम्म पुगेको थियो । यो नै नेप्सेले छोएको हालसम्मकै उच्च विन्दु हो ।
सेन्सेटिभ, फ्लोट, सेन्सेटिभ फ्लोट लगायतका अरु पनि परिसूचक नेप्से इन्डेक्स परिवारमा छन् । बजारको उतारचढावलाई विभिन्न कोणबाट मापन गर्ने उद्देश्यले यस्ता परिसूचकहरु बनाइएका हुन्छन् ।
सेन्सेटिभ इन्डेक्सः बजारमा भएका सबै कम्पनीको सट्टा तुलनात्मक रुपमा वित्तीय हिसाबले बलियो, पारदर्शी, संस्थागत सुशासन भएका कम्पनीलाई मात्रै समेटेर परिसूचक बनाउने क्रममा नेप्सेले सेन्सेटिभ इन्डेक्स ल्याएको हो । यसका लागि कम्पनी छनौट गर्दा चुक्ता पुँजी कम्तिमा २ करोड भएको, सेयरधनी संख्या कम्तिमा एक हजार जना रहेको, कम्तिमा तीन वर्षदेखि लगातार नाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आय व्यय विवरण पेश गरेको भन्ने मापदण्ड नेप्सेले तय गरेको थियो ।
त्यसरी छनौट गरिएका कम्पनीहरुको सेयरको आधार वर्ष मूल्य र वर्तमान बजार मूल्यका आधारमा सेन्सेटिभ इन्डेक्स गणना गरिन्छ । नेप्सेले २०६३ पुस १७ गतेदेखि सेन्सेटिभ इन्डेक्स गणना गर्न थालेको हो ।
फ्लोट इन्डेक्सः बजारमा तत्काल किनबेच गर्न सकिने सेयरलाई मात्रै समेटेर इन्डेक्स गणना गर्नुपर्छ भन्ने तर्कका आधारमा फ्लोट इन्डेक्स गणना गरिएको हो । त्यसैले सर्वसाधारणमा जारी भएका कारोबारयोग्य सेयरको आधार मूल्य र वर्तमान बजार मूल्यलाई लिएर फ्लोट इन्डेक्स गणना गरिन्छ ।
नेप्सेले यो परिसूचक गणना २०६५ भदौ ३० गतेदेखि थालेको हो । यसमा सूचीकृत सेयरमध्ये करिब एक तिहाई समावेश हुन्छन् । यस किसिमको परिसूचकलाई यथार्थपरक मानिन्छ । तापनि नेपालमा यो परिसूचक लोकपि्रय हुन सकेको छैन ।
सेन्सेटिभ फ्लोट इन्डेक्सः सेन्सेटिभ इन्डेक्स गणना गर्ने डालोमा भएका कम्पनीहरुले सर्वसाधारणमा जारी गरेका तत्कालै किनबेच गर्न सकिने कारोबारयोग्य सेयर मात्रैको आधार मूल्य र वर्तमान बजार मूल्यलाई लिएर गणना गरिएको परिसूचकलाई सेन्सेटिभ फ्लोट इन्डेक्स भनिन्छ । नेप्सेले २०६५ भदौ ३० गतेदेखि यो परिसूचक गणना सुरु गरेको थियो ।
इण्डेक्स गणना विधिः
कुनै पनि बजारको परिसूचक गणनाका लागि निश्चित स्थापित सूत्र प्रयोग गरिन्छ । नेप्से परिसूचकका लागि सूत्र अबलम्बन गरिन्छ ।
नेप्से इण्डेक्स = (सूचिकृत कम्पनीको बजार पूँजीकरण / सूचीकृत कम्पनीहरुको आधार (Base Period) पूँजीकरण) x १००
उदाहरणका लागि–
सूचिकृत कम्पनीहरुको अहिलेकाे बजार पूँजीकरण रु. = ५०,००,०००
आधार पूँजीकरण रु. = १०,००,०००
गुणक = १०० हुँदा
नेप्से इण्डेक्स = (५०,००,०००÷१०,००,०००) x १०० = ५००
यस परिसूचकमा बेलाबेलामा हुने विभिन्न संस्थागत घटनाहरुलाई समायोजन गरिएकाे हुन्छ । संस्थागत घटनाहरु भन्नाले कम्पनीले प्रदान गर्ने बाेनश शेयर, हकप्रद शेयर, मर्जर तथा प्राप्ति हुने घटनाहरु हुन्छन् । ती सबै घटनाहरुलाई समायाेजन गर्नुपर्ने हुन्छ ।
इण्डेक्समा संस्थागत घटनाहरुलाई समायोजन गर्ने विधिः
यसका लागि सबैभन्दा पहिले समायोजित आधार पूँजीकरण निकाल्ने गरिन्छ र समायोजित आधार पूँजीकरण निकाल्नका लागि निम्नानुसारको सूत्र प्रयोग गरिन्छ । समायाेजित आधार पूँजीकरण भनेकाे २०५० माघ ३० गतेकाे आधार पूँजीकरणमा त्यसपश्चात संस्थागत घटनाहरुलाई समायाेजन गरी कायम गर्दै आएकाे नयाँ आधार पूँजीकरण हाे ।
नयाँ समायोजित आधार पूँजीकरण = (संस्थागत घटना भएपछि कम्पनीको कायम नयाँ बजार पूँजीकरण / कम्पनीको पुरानो बजार पूँजीकरण) x बजारकाे पुरानो आधार पूँजीकरण
अब सूचीकृत कम्पनीहरूकाे संस्थागत घटनाहरुकाे समायाेजन गरेर नयाँ समायाेजित आधार पूँजीकरण निकालेपछि त्यसकाे आधारमा नेप्से इण्डेक्स गणना गरिन्छ ।
नेप्से इण्डेक्स = (सूचिकृत कम्पनीको नयाँ कायम बजार पूँजीकरण /सूचीकृत कम्पनीहरुको नयाँ आधार (Base Period) पूँजीकरण) x १००
उदाहरणका लागि-
सूचिकृत कम्पनीहरुको बजार पूँजीकरण रु. ५०,००,०००
थप भएको नयाँ पूँजिकरण रु. १०,००,०००
आधार पूँजीकरण रु. १०,००,०००
नयाँ समायोजित आधार पूँजीकरण = (५०,००,०००+१०,००,०००)÷५०,००,०००)x१०,००,००० = रु. १२,००,०००
नयाँ समायोजित आधार पूँजीकरण अनुरुप नयाँ इण्डेक्स गणना गर्दा
(५०,००,०००+१०,००,०००)÷१२,००,०००)x१००= ५००
यसरी नेप्से परिसूचकमा विभिन्न संस्थागत घटनाहरु समायोजन गरेर व्यवस्थापन गर्दै आएको पाइन्छ ।
प्रतिक्रिया 4